
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संसद् विघटन लोकतन्त्रमाथिको प्रहार भएको धारणा व्यक्त गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ भदौ २८ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।
पूर्व प्रधानमन्त्री सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने क्रममा गरिएको संसद् विघटनले लोकतन्त्रलाई मिचेको वक्तव्यमा उल्लेख छ ।
जेनजीले संसद् विघटनलाई पूर्वशर्त बनाउनु गलत भएको बताउँदै राजमोले उक्त गलत मागका सामु राष्ट्रपतिले अडान लिन नसकेको पनि वक्तव्यमा उल्लेख छ ।
यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :
“१. यही भदौ २७ गते राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन तथा “नवगठित” अन्तरिम सरकारबाट संसद् विघटनको सिफारिसप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।
२. राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद्बाहिरबाट गठन गरेको हुनाले राष्ट्रपतिको उक्त कार्यको हामीले विरोध गर्दछौँ । सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम भएको छ ।
३. सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो काम प्रतिनिधिसभालाई भङ्ग गर्ने भएको छ । हामीले प्रतिनिधिसभालाई विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णयलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ । जेनजी आन्दोलनका अगुवाले संसद् विघटनलाई पूर्वशर्त बनाएका थिए, जुन गलत थियो । उनीहरूका गलत मागका विरुद्ध राष्ट्रपतिले अडान लिन नसकेको नै स्पष्ट हुन्छ । संसद् विघटन नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण हो ।
४. जेनजी आन्दोलनलाई आफ्नो प्रतिगामी उद्देश्यका पक्षमा लैजान राजावादीले पूरा शक्ति लगाएका थिए । त्यसमा उनीहरू पूरा सफल हुन सकेनन् तर संसद् विघटनले उनीहरूको प्रतिगामी उद्देश्यलाई केही मदत पुग्नेछ । त्यसकारण संसद् बाहिरबाट अन्तरिम सरकारको गठन र संसद् विघटनबाट प्रतिगामी शक्तिलाई मदत पुग्न नपाओस् । त्यसतर्फ गणतन्त्रका पक्षधर सम्पूर्ण राजनीतिक दलको ध्यानाकर्षण गर्दछौँ ।”
















