रामप्रसाद पौडेल, अध्यक्ष, मध्य दक्षिण भारत क्षेत्रीय समिति, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
विक्रम संवत २०३५ श्रावण २६ गते, जैमिनी नगरपालिका ९ लाम्सु, बाग्लुङमा जन्म भएका रामप्रसाद पौडेल बाबा छायाँदत्त पाध्या र आमा कृष्णकला पाध्या का चार सन्तानहरु दुई छोरा दुई छोरी मध्य जेष्ठा सन्तान हुन् । जनता मावि पैयुँ थन्थापबाट एसएलसि पास गरेका पौडेल पढाइमा अति लगनशिल र अनुशासित भएको कारणले विद्यालयमा शिक्षकहरुद्वारा पाएको हौसला र सहानुभुति देशका लागि केही गर्नु पर्छ भन्ने प्रभाव परेको बताउँछन् । तर एसएलसी परिक्षा दिएपछि बुबा हैदरावादमा कार्यरत भएकोले एसएलसिको रिजल्ट निस्कँदा वित्तिकै अध्ययन गर्न नेपाल फर्कने सोंचेर एकपटक हैदरावाद देख्न आएको तर बुबाको दूर्घटनामा परि दुःखद निधन भए पश्चात थप अध्ययन गर्ने सपना केवल सपना नै सिमित भएको तितो यथार्थ बताउनु हुन्छ पौडेल ।
त्यस घरको जेष्ठ सन्तानको हैसियतले गर्नु पर्ने कर्तव्य र परिवार भित्रको भूमिका धेरै भएको कारणले भाई, बहिनी, आमा, हजुर आमा सबैलाई हेर्नु पर्ने अवस्था, त्यस माथि घरको अवस्था नाजुकमा पनि अभिभावकिय भूमिका निर्वाह गर्नुभएको थियो । सन १९९५ देखि उत्तर हैदरावाद नगर समितिद्वारा सञ्चालित सापुनगर एरिया समिति भित्र पर्ने टोल समितिको सह सचिवको पदमा सांगठनि यात्रा शुरुगरि क्रमशः सापुनगर एरिया सदस्य, कोषाध्यक्ष, सचिव र अध्यक्ष हुँदै नगर सचिव, नगर अध्यक्ष, क्षेत्रीय सदस्य, सहसचिव हुँदै अहिले मध्य दक्षिण क्षेत्रीय समितिको अध्यक्षमा कार्यरत रामप्रसाद पौडेलसँग भएको अन्तर्वार्ता हामीले यो साता प्रकाशित गरेका छौं ।
देशको तात्कालिक राजनीतिक अवस्थालाई कसरी हेर्नु हुन्छ ?
–देशमा राजतन्त्रको अन्त्य भएर र गणतन्त्रको स्थापना भएको छ । देशमा वामपन्थी शक्ति नेकपा बहुमतको सरकार छ, यद्धपी यो सरकारले जन अपेक्षा अनुरुपको काम गर्न सकिरहेको छैन । तथापी विगतका सरकारहरुको तुलनामा केपी ओलीको सरकारले कतिपय राम्रा कामहरु गरेको छ, त्यसको हामीले समर्थन गर्नु पर्दछ । तर यो सरकार पनि पूँजीवादी व्यवस्था भित्रको सरकार भएको कारणले सबै तह र तप्काका जनताका हितमा काम गर्न नसक्नु स्वभाविकै पनि भन्नुपर्ला ।
हाम्रो देशमा देशको विकास गरि देशलाई समृद्धितर्फ लैजाने, जनतालाई शान्ति र सुखी बनाउनका लागि अहिलेसम्मका कुनै पनि सरकारले गर्न सकिरहेका छैनन् । विदेशी शक्तिकेन्द्रहरुको रुची अनुसारको काम गर्ने गरेका छन्, त्यस्तो प्रकारको तरिकाको हामीले विरोध गर्नु पर्दछ । आफ्नो कुर्ची बचाउन सौदावादी गर्ने गरेका छन्, त्यसको हामीले विरोध गर्नुपर्दछ तर विरोधका लागि विरोध गरिरहेको देखिन्छ, यो सरकारले केही पनि गर्न सकेन भनेर । हुन त आफुले राखेका मागहरु, गरेका बाचा र प्रतिवद्धताहरु जो जनतासँग गरेका थिए लाई यो सरकारले सम्बोधन गर्न हिम्मत गरे सक्थ्यो होला तर गर्न सकेन । फेरी पनि यो पूँजिवादी गणतन्त्र ल्याउन लडेका प्रमुख राजनीतिक शक्तिहरु मध्ये कै वामपन्थी शक्तिको दुई तिहाईको सरकार बनेको छ, यसलाई विरोध मात्रै गरेर संधैभरि नकारात्मक सोंच लिएर यसका विरुद्ध खोइरो खन्नुको अर्थ प्रतिक्रियावादी शक्तिहरुलाई टेवा पुर्याउनु नै हुन्छ । किनकी अहिले विभिन्न कोणबाट भ्रष्टाचारको विरुद्धमा राष्ट्रियताको पक्षमा केही कुराहरु सतहमा ल्याएर जनतालाई जगाउने जस्तो दृश्य देखिन्छ । वास्तवमा यो आंशिक र आवरणको कुरा मात्र हो । गाँठी कुरा त गणतन्त्रका विरुद्ध कतिपय शक्तिहरुद्वारा विष वमन गरि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको मद्धतबाट नेपालमा पुनः राजा फर्काउने र हिन्दू राष्ट्र कायम गर्नेतिर लक्षित भएको आभाष मिल्छ । अर्को थरी शक्ति फेरी यो बुर्जुवा गणतन्त्र हो, यसबाट जनताका जल्दावल्दा समस्याको समाधान हुन सक्दैन भन्दै हिंड्ने पनि गरेका छन् । तर उनीहरुले विकल्प दिन भने सकेका छैनन् ।
हाम्रो जस्तो अविकसित, सानो र विविधतायुक्त देशमा संघीयताको अवधारणा ल्याएर देशलाई असाध्यै निम्छरो बनाए । संघीयता आउँदा वित्तीकै सबै कुराहरुको समाधान हुन्छ, कोही भोकै नाङगै बस्नु पर्दैन, अरबका खाडीमा गएर जीवन खेर फाल्नु पर्दैन, रोजगार देशभित्रै हुन्छ, शिक्षा स्वास्थ्य सबै सर्वशुलभ हुन्छ भनेर जनतालाई झूठा आशस्वासन दिएर आन्दोलित बनाएका थिए । तर त्यति वेला नै राष्ट्रिय जनमोर्चाले मात्रै संघीय प्रणाली नेपालमा लागु हुन सक्दैन, भयो भने चल्नै सक्दैन भनेर विरोध गरेको थियो । हुन पनि संघीयता कुनै जादूको छडि थिएन, जसको नतिजा संघ निर्माण गरेर पनि आजसम्म प्रदेशहरुको नामाकरण समेत गर्न सरकार असक्षम भएको छ । त्यसैले नेपालको संविधानमा संघीयताको अवधारणा उल्लेख गरिए पनि सबै राजनीतिक पार्टीहरुले रुवाण्डा, इथियोपिया, सुडान, नाइजेरिया जस्ता देशहरुको इतिहासबाट पाठ सिक्नु पर्छ । संघीयता नेपालबाट खारेज गराइनु पर्दछ । जसको ठाउँमा एकात्मक प्रणाली अन्तर्गत केन्द्रिकृत शासनलाई विकेन्द्रिकृत गरेर स्थानीय निकायलाई अझै बढि अधिकार दिनु पर्दछ । यसो भनिरहँदा कतिपयलाई अरु देश अघि बढिसक्यो त्यस्तो असंभव कुरा कहाँ हुन्छ भन्ने लाग्न पनि सक्ला तर लाग्छ संघीयताको खारेजी नभएसम्म नत राष्ट्रिय एकता दरिलो हुन सक्छ, नत राष्ट्रियता वलियो हुन सक्छ, नत अखण्डता जोगिन सक्छ, नत जनताको समृद्धि र सुनौलो नेपालको नै कल्पना गर्न सकिन्छ । बनका कन्दमूलदेखि लिएर बाख्रा र कुखुराको समेत कर तिर्न परेपछि संघीयताले सफलता प्राप्त गर्न सक्दैन । त्यसकारण अहिलेको तत्कालिक आवश्यकता भनेको यो बुर्जुवा गणतन्त्र भए पनि गुम्न नदिने, राष्ट्रियता, एकता र अखण्डताका लागि सबै एक हुने, संघीयतालाई खारेज गर्ने यी तत्कालिक महत्पूर्ण कार्यहरु हुन र यसैका निम्ति सबै सचेत हुन आवश्यकता छ ।
तपाईको त्यस क्षेत्रमा श्रमजिवी नेपालीहरुको स्थिति कस्तो प्रकारको छ ?
–हाम्रो क्षेत्रमा नेपाली श्रमजिवीहरु खासगरि बजार, होटेल र पातलो रुपमा कोठी र चौकिदार नै हो । पहिलेको जस्तो नेपालबाट आउने प्रकृया अहिले छैन । रोकिएको छ, किनकी यहाँ अब पहिले जस्तो प्रत्यक्ष काम मिल्न छाड्यो । एजेन्सीद्वारा काम गरेर उचित किसिमको ज्वाला र पारिश्रमिक नमिल्ने हुनाले नेपालीहरु आउने क्रम घट्दो छ । तथापी यहाँ काम गर्दै आइरहेका श्रमिकहरु माथि कम्पनि मालिक, कोठी मालिक, बजारको सोसाइटी आदिबाट तल्लो दर्जाको नागरिक जस्तो व्यवहार हुन्छ । यो यहाँ मात्र नभई भारतका लगभग सबै ठाउँमा यसप्रकारको भेदभावपूर्ण व्यवहार देख्न सकिन्छ । अर्कोकुरा नेपाली श्रमिकहरुको चेतनास्तर अझै माथि उठन सकेको छैन । कतिपय संगठनमा आवद्ध भएका नेपालीहरु पनि गैरसंगठित जमातसँग मिल्ने र नराम्रा दूव्र्यशनीहरुमा लाग्ने गर्दछन् । यसप्रकारको गतिविधिले उनीहरुमा चेतनास्तर माथि उठन सकिरहेको छैन । कतिपय असंगठित जमातभित्र पनि केही अनुशासित र कर्तव्य वोध भएका शक्तिहरु पनि भेटिन्छन् । जसले देश, जनता, राष्ट्र र राष्ट्रियताको खातिर सोंच्ने, मनन् गर्ने खालका कुराहरु पनि गर्दछन् । खासगरि नेपाली समाज नै त्यस्तै खालको विरासतबाट गुज्रिरहेको हुनाले उनीहरु नेपाल छाडि यहाँ आएर पनि त्यस्तै सोंच विचार र व्यवहार गर्ने गर्दछन् तर संगठनको प्रभाव परेका ठाउँहरुमा भने माहोल नै अर्कै हुने गर्दछ । संधैभरी देशका कुरा जनताका कुरा आउने भविष्यको बारेमा, आफ्ना सन्ततिका बारेमा, आफ्नो कला र साँस्कृतिको बारेमा सोंच्ने, विचरण गर्ने र व्यवहार गर्ने गर्दछन् । जस्तो कि दशैं तिहार छठ, ल्होसार, सँक्रान्ति, पूर्णीमा आदि चाड पर्व र रिती रिवाजहरु साथै खेलकुदलाई अंगाल्दै साँच्चै नै देशभित्रको झल्को मेटाउने प्रकारको प्रगतिशिल कार्यक्रमहरु गर्ने र रमाइलो गर्ने गर्दछन् । यसरी भन्न सकिन्छ कि यहाँका नेपाली श्रमिकहरु श्रम गरि रगत र पशिना बाध्य भएपनि राष्ट्र र राष्ट्रियताको लागि एकतावद्ध छन् ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ४० औं वर्ष पार गरिसकेको छ, त्यस क्षेत्रीय समिति अन्तर्गत के कस्ता गर्नुभयो र गर्ने योजना छ ?
–निश्चित रुपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ७ नोभेम्बर २०१९ बाट ४१ औं वर्षमा प्रवेश गरेको छ । संगठनको ४० औं वर्ष गौरवमय रह्यो । यसले हरेक प्रकारका समस्याहरु राजनैतिक, कानुनी, व्यवहारिक र सामाजिक समस्याहरु जो प्रवासी नेपालीहरु माथि आई पर्दछन्, त्यस प्रकारका समस्याहरु छानविन गरि उचित प्रकारले समाधान गर्दै आइरहेको छ । खासगरि सामाजिक क्षेत्रमा भन्ने हो भने, हरेक प्रकारका दुर्घटनाहरु हुने र नेपालीहरुका ज्यान जाने प्राय यस क्षेत्र अन्तर्गत हुने गर्दछन् । ती मुद्धाहरुको उचित किसिमले उठान गरि पिडित पक्षलाई राहत दिलाउने काम गर्दै आइरहेको छौं । सबै नेपालीहरुको बीचमा पुगी संगठनको सदस्यता वितरण गर्ने, प्रशिक्षण गर्ने, देशको तात्कालिक अवस्थाको जानकारी गराउने, त्यसका साथसाथै आवश्यक प¥यो भने देशभित्रको जनतान्त्रिक आन्दोलनलाई सफल पार्न आर्थिक, नैतिक तथा भौतिक रुपले मदत गर्ने, विभिन्न प्रकारका जटिल विमार लागेका नेपाली श्रमिकहरुलाई आवश्यकता अनुसारको उचित सरसल्लाह गरि उपचार गर्न सहयोग गर्ने, घरायसी र व्यवहारिक मुद्धा मिलाउनु, विभिन्न समयमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्नु, अलपत्र परेका चेलिवेटीहरुलाई उद्दार गरि गर्नु, खेलकुदको आयोजना गर्नु, विभिन्न समयमा संगठनप्रति अभिरुची जगाउनका लागि कार्यकर्ताहरुको चेतनास्तर अभिवृद्धि गर्नका लागि हाजिरी जवाफल प्रतियोगिता, विचार गोष्ठि, वक्तित्वकला प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गर्नु आदि कैयौं छन् । त्यसका अतिरिक्त नेपाल भित्र आइपर्ने प्राकृतिक आपत विपत जस्तो कि भूकम्प पिडित, बाढि पहिरो पिडितहरुलाई समेत आर्थिक संकलन गरि केन्द्रीय समिति मार्फत नेपाल पठाएका छौं । यस्ता प्रकारका थुप्रै कामहरु गर्दै आइरहेका छौं । क्षेत्रीय समितिले आगामी दिनमा पनि यस्तै प्रकारले निरन्तरता दिने र संगठनको चौतर्फि विकास गर्नका लागि नगर र एरिया स्तरबाटै कार्यकर्ताहरुलाई प्रशिक्षण गरेर परिचालन गर्ने योजना बनाएका छौं, जसबाट एउटा शसक्त संगठन निर्माण गर्न सकियोस् । यसका साथै अध्ययन गर्ने बानीको विकास गराउन पत्रपत्रिकाको ग्राहक बन्ने बनाउने । छलफल चलाउने, प्रश्नोत्तर गर्ने आदि रचनात्मक कार्यक्रमको पनि आयोजना गर्ने सोंचेका छौं ।
त्यस क्षेत्रमा नेपाली मजदुरहरु माथिको भेदभाव के कत्तिको छ ?
–नेपाली भएकै कारणले भेदभावपूर्ण व्यवहार गर्ने गरिन्छ । जबकी एकै प्रकारको काम गर्न स्थानीयलाई फरक निर्देशन हुन्छ भने नेपालीलाई अर्को प्रकारको निर्देशन हुने गर्दछ । यसको मतलब नेपालीले बढि जोखिम उठाउनु पर्ने, धेरै काम गर्नु पर्ने, जिम्मेवारी धेरै लिनु पर्ने, अनि तिरस्कार र गाली पनि सहनु पर्ने प्रकारको अवस्था छ । जो कि १९५० नेपाल–भारत बीच भएको मैत्रिपूर्ण शान्ति सम्झौता अनुसार जुन रुपमा एउटा भारतीयले नेपालमा निर्वाधरुपमा अधिकार प्रयोग गर्न पाउँछ त्यही रुपमा एउटा नेपालीले भारतमा पाउनु पर्ने हो, त्यसो हुने गरेको छैन । सरकारी संस्थानहरुमा त कुरै छाडौं प्राइभेट कम्पनीहरुमा पनि हाल नेपालीहरुलाई लिन छाडिसकेको स्थिति छ । एक त पूँजिवादको प्रतिस्पर्धाले गर्दा लघुउद्योगहरु प्रतिस्पर्धा गर्न नसकि बन्द भएर गएका छन् । कतिपय उद्योगहरु बैंकबाट ऋण लिने अनि पदमा बसेका कर्मचारीहरुले भ्रष्टचार गर्ने र कम्पनी घाटामा पु¥याउने, घाटा भएपछि चल्न सक्ने कुरा भएन अनि बन्द हुने, यसरी के देखिन्छ भने औधोगिक मजदुरको संख्या घटने स्वभाविक भयो र एकाध ठाउँमा नेपालीहरुले घरेलु नोकरको रुपमा १२ घण्टा र २४ घण्टा समेत काम गर्नु पर्ने अवस्था पनि छ । यस्तो छ स्थिति । समग्रमा भन्नु पर्दा नेपाली श्रमिकहरु माथि कदर र सम्मान भएको देखिदैन ।
यात्राका दौरानमा नेपालीहरु बढि मात्रामा लुटिने कुटिने घटनाहरु सुन्नमा आउँछन् नि त्यताबाट ?
– हो । खासगरि हैदरावाद देखि गोरखपुर जाने रेलमा भनौं या हैदरावाद देखि नागपुर, इटारसी र भोपालको बीचमा प्राय गरेर नेपालीहरु माथि लुटपाट र कुटपिट हुने गर्दछ । हालै दशैं र तिहार मनाउन हिंडेका २१ जना नेपालीलाई हैदरावादको सेकेन्दरावाद रेल्वे स्टेशनमा प्रशासनद्वारा सताउने र अपमान गर्ने काम भएको थियो । त्यस घटनाको समाधानका लागि हाम्रा नेता कार्यकर्ताहरु त्यहाँ पुगी वार्ता गरि समाधान गरेका थियौं । नेपाली श्रमिकहरुलाई अक्सर प्रशासनको आडमा फर्जि प्रशासन बनेर ठग्ने गरेका घटनाहरु पनि सुन्नमा आइरहेका छन् । यस प्रकारका घटनाहरु नेपाली श्रमजिवीहरुमा चेतनाको कमीको कारणले घट्ने गरेका छन् । समय मिलेको वेलामा सदुपयोग गर्ने, संगठनमा आवद्ध हुने भनेर संगठनले आव्हान गर्दा उनीहरु टाढिन खोज्छन् । जसको परिणाम सामाजिक चेतना विकासमा अवरोध उत्पन्न हुन्छ र ठगिनु पर्दछ । अज्ञानताको कारणले सबै प्रकारका अन्याय, अत्याचार, डकैति आदिबाट रेल तथा यात्राका दौरानमा यस्ता घटनाहरु घटने गरेका छन् । यद्यपी विगतको तुलनामा हालका दिनहरुमा मात्रात्मक कम भएको छ । विगतमा यस्ता घटनाहरुका विरुद्धमा केन्द्रीय समितिले सीमानामा हुने लुटपाटका विरुद्धमा कार्यक्रमको आयोजना गर्ने गरेको थियो । जसको प्रभाव अधिकांश ठाउँहरुमा परेको छ ।
अबको चुनावमा प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चितताको कत्तिको संभावना देख्नु हुन्छ ?
–खासगरि प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चत गर्न संविधान सभाको पहिलो निर्वाचनको समयदेखि नै मूल प्रवाहले आवाज उठाएको थियो । मूल प्रवाहको पहलमा नै भारत व्यापी हस्ताक्षर अभियान संकलन गरि राष्ट्रिय जनमोर्चाद्वारा सदनमा मुखरित गराइएको थियो । पहिलो, दोश्रो संविधान सभाको निर्वाचन सम्पन्न भयो, त्यसपछि फेरि संसदीय निर्वाचन भयो, प्रदेश निर्वाचन सम्पन्न भयो । केन्द्रमा नेकपाको दुई तिहाईको बहुमतको सरकार बन्यो र चलिरहेको छ । यदि यो सरकारको इच्छाशक्ति भयो भने गर्न सक्छ भन्ने लाग्छ ।
मलाई सुन्नमा आएको छ, यदि प्रवासी नेपालीहरुको मताधिकारको सुनिश्चितता भयो भने पनि त्यो दक्षिण एशियालाई छाडेर अरु देशमा रहने नेपालीहरु, जसलाई एनआरएन भनेर चिनिन्छलाई मात्र हुनेछ भन्ने कुरा छ । त्यसले वास्तावमा हामी भारतमा रहने नेपालीहरुलाई कुनै प्रभाव पार्ने छैन । त्यसो भएको हुनाले, रोजगारी, अध्ययन र अन्य कामका लागि भारतमा रहने नेपालीको संख्या करिब ५०/६० लाख भएको अनुमान छ । त्यो सबै मताधिकारबाट बञ्चित भइरहेका छन् र हुनेछ, त्यसकारण प्रवासी नेपालीहरुलाई मताधिकारको सुनिश्चित गर्नु भनेको केवल राष्ट्रिय जनमोर्चा समर्थितहरुलाई मात्र होइन । आम प्रवासी नेपालीहरुको मौलिक र नैसर्गिक अधिकारको अनुभूति गराउनु हो भन्ने सोंच्नु पर्दछ र त्यो सोंच लिएर सरकारले काम ग¥यो भने हुन सक्छ । अन्यथा भारतमा रहेका सम्पूर्ण नेपालीहरुले आन्दोलनको शसक्त रुपमा उठान गर्नु पर्ने आवश्यकता छ ।
यद्यपी प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्थापनको लागि नेपालको सर्वोच्च अदालतले सरकारलाई आदेश जारि गरिसकेको छ । यदि सरकारको यसप्रति जिम्मेवारी वोध भयो भने, सरकारले निर्णय गर्न सक्छ, यो ठूलो कुरा होइन । अहिलेको विज्ञान र प्रविधिले छलाङ मारेको युगमा मात्र इच्छा शक्ति चाहिन्छ, सम्भव छ ।
नयाँ परिस्थितिमा संगठनलाई अगाडि बढाउन के कस्ता आगामी कार्यनीति बनाउनु भएको छ ?
–स्वभाविक रुपले समय गतिशिल छ र परिवर्तनशिल छ । स्थापना कालदेखि आजसम्म आइपुग्दा विभिन्न आरोह अवरोहहरु पार गरेर यो संगठनको गौरवशाली इतिहास कायम भएको हो, यसमा दुईमत छैन । फरक चिन्तन र बुझाई अनि व्यवाहरमा पर्ने हो । चिन्ता चिन्तन राम्रो बनाउनु लागि गर्नु पर्दछ, नराम्रो निम्त्याउनका लागि होइन । यसै पनि हामीहरु समाजको ऐतिहाँसिक विकास द्वन्दात्मक रुपले हुने गर्दछ भनेर विश्वास गर्ने भएकाले एउटा सशक्त संगठन भित्र मत भिन्नता, फरक विचार र चिन्तनहरु हुन सक्छन् । ति सबैको एउटा निचोड निकालिन्छ । जसरी दही मथेर घ्यू निकालिन्छ, त्यसैगरि विभिन्न विचारहरुलाई मथेर एउटा मार्ग निर्देशन तयार गरिन्छ, त्यो नै सर्वोपरि हो र संगठनका सबैले मान्नु पर्दछ । निश्चित रुपमा नयाँ परिवेशमा नयाँ प्रकारले थप चुनौती र जिम्मेवारीहरु थपिएका छन् । ती चुनौतीहरुलाई पार लगाउनको लागि आवश्यक पर्ने तीन चिजहरु ख्याल गर्नुपर्दछ आवश्यक छ । संकल्प, सक्रियता र अनुशासन विषयहरुलाई आत्मासाथ गरि अघि बढ्यौं भने पक्कै पनि हामीले आशा गरे जस्तो समाजलाई दुर्गमबाट सुगम बनाउन सक्नेछौं । हामीले यस क्षेत्र भित्रका नगर समितिहरुलाई चुस्त दुरुस्त र कामकाजी बनाउन कार्यकर्ताहरुको चेतनास्तर वृद्धि गर्न प्रशिक्षण कार्यक्रमको आयोजन गर्ने, पत्रपत्रिकाहरुको अध्ययनलाई अनिवार्य र नियमित बनाउन जोड दिने, नेपालीहरुका साझा समस्याहरुका लागि प्रवासी नेपालीहरुलाई एकतावद्ध हुन आव्हान गर्ने र मूल प्रवाहको झण्डामुनी गोलवन्द बनाउन पहल गर्ने । विभिन्न किसिमका अनर्गल प्रचार गर्ने र संगठनलाई झाँजो हाल्ने प्रवृत्तिहरुलाई निस्तेज पार्नुका साथसाथै सामाजिक सञ्जाल मार्फत संगठन विरुद्धमा फैलाइएका सबै प्रकारका भ्रमजालहरुलाई स्पष्ट पार्दै जाने र संगठन भित्र सशक्त र फलामे अनुशासनको स्प्रीट कायम गर्ने जस्ता महत्वपूर्ण कार्यनीतिहरु बनाएका छौं ।
अन्त्यमा केही छुट्यो कि ?
–सर्वप्रथम जस्तोसुकै चुनौती र आँधीवेहरी आएर तगारो हान्न खोजे पनि जस्तो सुकै विषय र जोखिपूर्ण परिस्थिति सृजना भए पनि किन्चित नभइकन निरन्तर रुपमा अँघि बढिरहेकोमा नेपाली समाचार साप्ताहिकलाई वधाई दिन चाहन्छु । सत्ता सञ्चालन गरि बसेका पार्टीका छाता संगठनहरुले समेत भारतमा पत्रिका सञ्चालन गर्न नसकिरहेको सन्दर्भ र परिवेशमा मूल प्रवाहले नियमित प्रकाशन गर्नु सानोतिनो र चानचुने कुरा पक्कै पनि होइन । यसमा मूल प्रवाहका हजारौं लाखौं नेता कार्यकर्ताहरुको ठूलो लगानीको साझा प्रयासबाट ने यो सम्भव भएको हो । यो पत्रिकाको विचार पक्ष संधैभरि माथि रहोस् र अझै लम्कँदै जाओस् ।
अहिलेको विज्ञान र प्रविधिको विकाससँगै हाम्रो संगठनले पनि त्यसको सदुपयोग गरि नेपाली एकता अनलाईन र मोबाइल एप्लिकेशन समेत तयार पारेको छ । यो पनि मूल प्रवाह र नेपाली समाचार कै देन हो । यसले विश्वभरि छरिएर रहेका नेपालीहरुको दबिएको आवाजलाई प्रस्फुटन गर्न सकोस् । संधै अवसरवादी र मौकापरस्तहरुसँग सम्झौताहिन संघर्ष गर्ने आँट र अदम्य शाहस कहिल्यै नहटोस् भन्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
अन्तमाः मलाई आफ्ना विचारहरु प्रवाह गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।