निर्मलाकी आमालाई

–जीवित खड्का

आँगनमा खेलिरहेका चल्ला छोपेर
केहीपर पखेटा चपाउँदै हराइसकेका स्यालहरू झैँ
भैँसीगोठका नानीहरूको आन्द्रा लुछेर
अग्लो ढुङ्गामाथि घामको सिरकभित्र
सुतिरहेका ब्वाँसाहरू झैँ
यो देशमा
गरिब आमाहरूको
निर्दोष छोरीका फरार हत्याराहरू
आफ्नै समाचार टेलिभिजनमा हेर्दै
हुस्की–बोत्तलको सिरानी हालेर
मस्त सोफामा सुतिरहन सक्छन् ।

भाउजू !
तिनलाई यहाँ कानुन छैन
नुन मात्रै छ, नुन
सरकारी नुन

हत्याराको खोजी गर्दै शहरसहर
गाउँ र गल्लीहरूमा आन्दोलन चर्किरहोस्
आक्रोश फैलिएर समथर, भीरपखेरा
र लेकमा आगो दन्दनी बलिरहोस्
आँखाको किनारछेउ उर्लेर नदीहरू
विद्रोहको समुद्र खोज्दै बगिरहोस्
अहँ !
यो न्यायालयले समातेको तराजुमा
हत्याराको कर्तूत जोखिने छैन् भाउजू
जोखिने छैनन् ।

जसरी चुम्बकले फलामका टुक्रा तान्छ
त्यसैगरी यो राज्यसत्ताले
तस्करहरू
गुण्डाहरू
हत्याराहरू
आफैतिर तान्छ
र, मजबुत सरकार बनाउँछ
भन्नोस् भाउजू
यस्तो सरकारले न्याय दिलाउँछ ?

छोराको हत्यारा खोज्दाखोज्दै
कृष्णप्रसादले प्राणपखेरू उडाए
मैना सुनारको हत्यारा खोज्दाखोज्दै
उनकी आमा
जीवनभर भावविह्वलको इनारबाट
निस्किन सकेकी थिइनन्
यस्ता अनगिन्ती ! रहस्यमयी घ् घटनाहरूका
तिनीहरु साक्षी हैनन् ?
तिनीहरुलाई थाहा छैन हत्याराको नाम ?
तिनीहरुलाई सबथोक थाहा छ
सबै सबै थाहा छ

तर तिनलाई यहाँ कैद छैन
डकैत मात्रै छ, डकैत
राज्यको डकैत

यो देशका लाखौँ गरिब आमाहरू
आफ्ना छोराछोरीहरूका लागि
स्कुल फी र कापीकलमको खर्च जोहो गर्न
गिट्टी कुट्छन्
बालुवा बोक्छन्
ढुङ्गामाटोमा खेल्छन्
चिया बेच्छन्
बाध्यता बेच्छन्
र, नखाई नखाई स्कुल फी बुझाउन
स्कुलको ढोकानेर पुग्नै लाग्दा
आफ्ना नानी अपहरणमा परेको खबर सुन्छन्

हो, तपाईकी छोरी निर्मलाको हत्या
त्यस्तै अपहरणमध्येको एउटा हो
जसलाई यो राज्यसत्ताले
सुरक्षाको घेराभित्र बिछ्याइएका
काँडेतारहरू काट्नै सक्दैनँ

अनि भन्न कर लाग्छ–
हामी यो देशका अभागी
त्यस्ता नागरिक हौँ
जसको हकमा
सरकार छैन
न्यायालय छैन
पुलिस छैन
प्रशासन छैन
छ त उनीहरूकै छ
सबथोक उनीहरूलाई छ ।

जब हाम्रो हकमा कोही छैन
अनि, यो सडक भिजाउनेगरि
आँसु बगाएर तपाई कोस“ग
न्यायको भिख माग्दै हुनुहुन्छ, भाउजू ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार