शोषणको परिष्कृत हतियारः परम्परा र पुँजीवादको अङ्कमाल

धर्म संस्कृतिमा अन्तर्निहित अन्धविश्वास र परम्परा हिजोको महिला दासताको कारण थियो । आज धार्मिक संस्कृतिमा नङ-मासु जसरी सहवरण गरिरहेको भूमण्डलीकरण महिला मुक्तिको सबैभन्दा ठूलो बाधक बनेको छ ।

हिजो सत्ता संरचनाले उपेक्षा गरेर दोस्रो दर्जाको मानिसमा सीमित पार्दा अशिक्षा र चेतनाको भासमा जकडिएका महिलालाई परम्परागत दासतामा अल्झाउन धर्म र धर्मको आडमा निर्मित संस्कृति पर्याप्त थियो । आज नयाँ युगका स्वतन्त्रता उन्मुख शिक्षित र आधुनिक भनिएका महिलालाई साँचो अर्थको स्वतन्त्रता र सशक्तीकरणबाट विभ्रमित पारी मुक्तिपथबाट बेखबर बनाउन धर्मसत्ता र पुँजीवादले शोषणको उद्देश्यसहित एकअर्कासँग व्यावसायिक अंकमाल गरिरहेका छन् । आजको धर्म विशुद्ध धर्म नभएर व्यावसायिक धर्म भएको दृष्टान्त हाम्रो अघि प्रशस्त छन् । त्यस्तै पुँजीवाद पनि मुनाफा कमाउन धर्म र धार्मिक मूल्य मान्यताभित्र घुसिरहेको यथार्थता छ । धर्मभित्र उपभोक्तावाद र उपभोक्तावादभित्र धर्म यी दुवैको अङ्कमालले नयाँ युगको अझै प्रभावशाली र बलियो शोषणको अस्त्र तयार पारिएको छ ।

आजका हामी विशुद्ध परम्परागत धार्मिक संस्कृतिबाट मात्रै शोषित नभएर यी दुवैको अङ्कमालले निर्माण गरिरहेको प्रभावशाली र आधुनिक अस्त्रबाट शोषणको निसानामा पारिएका छौँ । जसले निसानाको मुख्य केन्द्रमा राखेर अन्तरालको दासताले थलिएका र भर्खर-भर्खर उठ्न खोजिरहेका युगौँदेखिको उपेक्षित वर्ग, लिङ्ग महिलालाई झनै ठूलो शोषणको खाडलमा धकेलिरहेको छ ।

बदलिएको तीज, नबदलिएको दासता

हिजोको दिनमा हाम्रा मौलिक र परम्परागत भनिने हिन्दु पर्वहरूमा दशैँ/पन्ध्रौँ दिनसमेत मनाइने पर्व र तिहार महिनौँ मनाइने लामो पर्वको रूपमा परिचित थिए । तर, आज यी दुई पर्वको लम्बाइलाई समेत ब्रेक गर्दै महिनौँ भन्दा बढी तर अत्यन्तै खर्चिलो र भड्किलो गरी मनाइने पर्व बनेको छ महिलाहरूलाई लक्षित गरिएको ‘महिला विशेष’ भनिने पर्व तीज ।

महिलालाई कुनै व्यक्ति विशेषले त्यसो गर्न बाध्य पारिरहेको होइन । परम्पराको मामिलामा त्यसलाई लागू गर्न यहाँ सत्ताले अफगानिस्तानमा जस्तो डन्डा बर्साइरहन आवश्यक पर्दैन । सांस्कृतिक वर्चस्वद्वारा स्वयं खुसी-खुसी अवलम्बन गर्ने परिपाटी निर्माण गरिन्छ ।

हिजोको तीजको विशेषता र त्योसँगै गाँसिएका मान्यता त्यसलाई मनाउने परिपाटीमा आज स्वभावैले तात्त्विक भिन्नता देखिन थालेको छ । त्यो भिन्नता पनि लामो दासताबाट आजित भएर मुक्ति खोजिरहेका र परम्पराको आदिम पर्खालले थुनिँदा निसासिएर श्वास फेर्ने छिद्र खोजिरहेका महिलाले पर्खाललाई धक्का मुक्का नगरून् भन्ने मनोकांक्षासहित मुक्तिपथबाट विभ्रमित पारी छद्म स्वतन्त्रताको ‘ललिपप’ देखाएर अर्को कहालीलाग्दो दासताकै चक्कर लगाउन पितृसत्ताले रचेको भयङ्कर षड्यन्त्र हो भनेर आँकलन गर्न खासै कठिनाइ पर्दैन ।

हिजोको तीज विशुद्ध धर्ममा आधारित थियो र धार्मिक विधिबाट नै नीराहार व्रत बसी लोग्नेको खुट्टाको जलपान गरी पूजाआजासहित पितृसत्तात्मक समाजमा निरीह भएका, बनाइएका महिलाका बिलौना, विरह ओकल्ने दु:ख, वेदनासहितका गीतसङ्गीतमार्फत भोको पेटमा नाचगान गरी मनाइने गरिन्थ्यो । विरोधाभाष के छ भने महिला विशेष भनेर महिलालाई लक्षित गरिएको पर्वको उद्देश्य पनि पुरुषलाई पुज्य बनाएर उसकै दीर्घायुका खातिर महिलाले कष्टप्रद व्रत उपासना झेलेर नाचगान गरी मनाउनुपर्ने अवस्था छ ।

यसले के निश्चय गर्छ भने यो कुनै महिला खुसी र शसक्तीकरणसँग सम्बन्धित पर्व नभएर महिलालाई आफ्नो दमित अस्तित्व खुसी-खुसी स्वीकार गराउन निर्माण गरिएको सांस्कृतिक दबाब हो । पितृसत्तात्मक मूल्य मान्यतालाई लागू गर्न तयार गरिएको विशुद्ध पितृसत्ताकै उत्पादन हो । तर, धेरैलाई लागिरहेको छ र उस्तै खाले तर्क पनि गरिरहेको सुनिन्छ- ‘महिलालाई व्रत बस्न, लोग्नेको पूजा गर्न बाध्य पारिएको छैन । उनीहरू स्वइच्छाले त्यसो गरिरहेका छन् ।’

हो, महिलालाई कुनै व्यक्ति विशेषले त्यसो गर्न बाध्य पारिरहेको होइन । परम्पराको मामिलामा त्यसलाई लागू गर्न यहाँ सत्ताले अफगानिस्तानमा जस्तो डण्डा बर्साइरहन आवश्यक पर्दैन । सांस्कृतिक वर्चस्वद्वारा स्वयं खुसी-खुसी अवलम्बन गर्ने परिपाटी निर्माण गरिन्छ । यहाँसम्म कि अनुसरण गरिरहेकाहरूलाई यो महसुस नै हुँदैन कि म कुनै अदृश्य दासताद्वारा निर्देशित छु । बरु त्यसमै सुखानुभूति भेटेर आत्मसन्तुष्टिले रमाउने अवस्था संस्कृतिद्वारा नै निर्माण गरिन्छ ।

अमेरिकी उपन्यासकार हावर्ड फास्टले भनेका छन्- ‘कुनै काल्पनिक कुरा पनि पटक-पटक दोहोर्‍याइन्छ भने त्यसले संस्कृतिको रूप धारण गर्दछ । कालान्तरमा त्यो यथार्थ हुन पुग्दछ ।’ आज संस्कृति बनेका धार्मिक सामाजिक प्रथाहरू हावर्ड फास्टले भनेजस्तै काल्पनिक कुरा पटक-पटक दोहोर्‍याएर यथार्थ बनाइएका मात्रै होइनन् बरु धर्मसत्ताद्वारा लिखित रूपमा विधि विधान नै रचेर समाज चलाउने सामाजिक प्रथाको रूपमा स्थापित गरिएका हुन् । तिनलाई सदियौँदेखि व्यावहारिक रूपमा कार्यान्वयन गरेर संस्कृतिको रूपमा विकास गरिएका हुन् । जसले जनमानसको मथिङ्गलमा स्थान जमाइरहेका छन् । त्यस्ता परम्पराहरूलाई निर्वाह गर्नको निम्ति महिलालाई कसैले बाध्य पारिरहेको छैन, आदेश या जबरजस्ती गरिएको छैन, आफैँ गरिरहेका छन् भन्नु सत्ता संरचनाको ‘सांस्कृतिक वर्चस्व’ र त्यसको असर नबुझ्नेहरूले गरेको बेतुकको तर्क मात्र हो ।

स्वतन्त्रता कि विद्रोहमा रोकावट ?

इतिहासकै सबैभन्दा लामो दमन भोगेको दमित वर्ग हो महिला । यो सदियौँपहिले विभिन्न दार्शनिक र समाजशास्त्रीहरूले पुष्टि गरिसकेको यथार्थता हो । जो विवाहपूर्व माइती घरको निगरानीमा रहन्छ भने विवाहपश्चात् लोग्ने र उसको घरपरिवारको चौघेराभित्र । महिलाको उन्मुक्त जीवनशैली आजसम्म पनि सामाजिक रूपमा बर्जित गरिएको छ । फरक प्रकारले हिँडडुल गर्ने र उन्मुक्त हाँसबोल गर्ने महिला आज पनि समाजको आँखामा कुलङ्गार महिला बनाइन्छन् ।

दबाइएको थुनिएको र सताइएको वर्गले आफ्ना दबाइएका भावना र थुनिएका रहरहरूबाट बाहिर निस्किने अवसरको सधैँ खोजी गरिरहन्छ । भलै विद्रोह गर्ने साहस नभए पनि ऊ आफू रमाउने र एक पल भए पनि दमित अस्तित्व भुलेर उन्मुक्त हुने अवसरको अपेक्षामा रहन्छ नै । ठ्याक्कै त्यही अवसर बनिरहेको छ आजको तीज अर्थात् महिनौँसम्म लम्बिएको ‘दर खाने दिन’ । खास गरेर मध्यम र निम्न मध्यम सहरिया महिलाहरूको निम्ति यो एउटा रमाउने उल्लासमय अवसर बनेको छ ।

मेरी एक जना साथी छन् जो विभिन्न संघसंस्थामा आबद्ध पनि छन् । उनलाई तीज आउनु भनेको एउटा उल्लासमय पर्व आउनु जस्तै हो । एक/डेड महिनाअघिदेखि शुल्क तिरेर रकम जम्मा गरी-गरी दैनिक विभिन्न पार्टी प्यालेसका ‘दर खाने’ तीजका कार्यक्रममा सहभागी हुनु उनको दैनिकी जस्तै हो । अझ त्यति मात्रै नभएर तीज आउनु तीन महिनाअघिदेखि तीजको तयारी थरीथरी रङ्गिबिरङ्गी सारी गरगहना र शृङ्गारपटार गर्ने साधनको जोहो गर्ने उनको म नचाहेरै पनि प्रायः साक्षी हुन पुग्छु । उनी साथीहरूसित मागेरै भए पनि एउटा दर खाने दिन लगाएको पोसाक अर्को दिन नदोहोरियोस् भन्ने कुरामा सचेत हुन खोज्छिन् । अरुको भन्दा आफ्नो कपडा, गहना र शृङ्गारपटार कतै कमसल पो भयो कि भन्ने चिन्ताले उनलाई बेलाबेला निकै सताइरहेको हुन्छ । अझ डरलाग्दो कुरा यो दिनहुँको सास्ती र दु:खमा पनि उनले दिल खोलेर मनोरञ्जन गरिरहेकी हुन्छिन् । यदि कुनै दिन त्यस्तो दर खाने समारोह भएन भने उनी बेचैन जस्तै हुन थाल्छिन् ।

‘स्त्री उन्मुक्त हाँस्न हुन्न’ भन्ने समाजमा थाहा छैन यी र यस्तै बाहनामा महिलाहरू कति पुरानो दमित हाँसो हाँस्न पाइरहेका छन् । तर, विडम्बना यो छ कि यो उन्मुक्तता खुसी र रमाइलो ‘केही दिनको पाहुना’ जस्तो भएको कारण यस्तो क्षणिक रमाइलोले सधैँको महिला स्वतन्त्रतालाई सुनिश्चित नगर्ने निश्चित छ ।

के गरौँ कसो गरौँको छटपटी प्रस्ट देख्न सकिन्छ । अर्थात् त्यसरी दर खाँदै हिँड्नु र त्यसको निम्ति सजिनु, तयार हुनु उनको आदत जस्तै बनिसकेको छ । तर, उनलाई यसको महसुस नै हुँदैन कि- ‘म एउटा भयानक लतबाट ग्रस्त हुँदैछु । जो मेरो हितमा कतै छैन ।’

विडम्बना महिना दिनपछि उनी फेरि आफ्नै उही पुरानै परम्परागत जीवनशैलीमा फर्किन पुग्छिन् । निरस नै भए पनि त्यो जीवन उनले स्वीकार गरिरहेकी हुन्छिन् । यसले के स्पष्ट पार्छ भने हिजोको धार्मिक सत्ताले महिलाको चेतनालाई लठ्याएर मात्र परम्परामा लहरिने आफ्नै बसमा नभएको नियन्त्रित ‘दास मानवमा’ परिणत गरेजस्तै आजको पुँजीवादी सत्ताले पनि महिला चेतनालाई लठ्याएर त्यसरी नै आफू आफ्नै आदतबाट विवश र मजबुर बजारको ‘उपभोक्ता मानवमा’ परिणत गर्दै गै रहेको छ । वर्ष दिनमा एकपटक बेलाबेला हाँस्ने, बोल्ने, रमाउने, मात्ने र नाच्ने अवसर प्रदान गरेजस्तो गरेर आफ्नो दमित अस्तित्व मुक्तिको निम्ति गरिने सम्भावित विद्रोहबाट रोकिरहेको छ । यो अर्को नयाँ ‘अफिममै’ परिणत भइरहेको छ । बेलाबेला सेवन गर्नुपर्ने र पूर्वअवस्था यथास्थितिमै रहन शक्ति प्रदान गर्ने हानिकारक अफिम । यो कुरा म ती साथीको उपेक्षा या उपहासमा यहाँ जोडिरहेकी छैन । बरु ती साथीजस्ता धर्म सत्ता र पुँजी सत्ताले गरेको व्यावसायिक सहकार्यमा फसेर क्षणिक रमाइलोमा मस्त झुमिरहँदा त्यसले पार्ने दीर्घकालीन असरको आँकलन गर्न खोजिरहेकी छु ।

यो कुनै व्यक्ति विशेषमा मात्रै घटित हुने एक अपवाद घटना मात्रै नभएर आजको समयमा खासगरी मध्यम र निम्न मध्यम वर्गीय सहरिया महिलाहरूको आम प्रवृत्ति र दैनिकी भएको छ । तीजको एक महिनाअघिदेखि नै पार्टी प्यालेसहरू रातै हुने गरेको दृश्य तपाईं हामी सबैले देखिरहेकै दृश्य हो । महिलाहरू रातै पोसाकमा सजिएर पार्टी प्यालेसमा टेबलहरूमा बियर र वाइनका बोतलहरू छरपस्ट पारी ‘चियर्स’ भन्दै गिलास ठोक्याइरहेका दृश्यहरूले बेलाबेला सामाजिक सञ्जालका भित्ताहरूलाई विवादित पनि बनाइरहेका हुन्छन् । एकतर्फ महिला भएकै कारण उन्मुक्त जीवनशैली अपनाउन नपाउँदा कुण्ठित भएको स्वतन्त्रता यी र यस्तै अवस्थाहरूमा प्रकट भएको देखिन्छ ।

‘स्त्री उन्मुक्त हाँस्न हुन्न’ भन्ने समाजमा थाहा छैन यी र यस्तै बाहनामा महिलाहरू कति पुरानो दमित हाँसो हाँस्न पाइरहेका छन् । तर, विडम्बना यो छ कि यो उन्मुक्तता खुसी र रमाइलो ‘केही दिनको पाहुना’ जस्तो भएको कारण यस्तो क्षणिक रमाइलोले सधैँको महिला स्वतन्त्रतालाई सुनिश्चित नगर्ने निश्चित छ । त्यसो हुँदा सिङ्गो जीवन बन्धन मुक्त हुन नसक्ने पुनः खुम्चिएको परम्परागत जिन्दगीमा फर्कनुपर्ने दुःखदायी यथार्थता छ । बरु क्षणिक दिनको दिल बहलाउने माध्यम मात्र बन्दै त्यसले भनेको छ, ‘हे महिला तिमीहरू दमित अस्तित्व हौँ । केही दिन दिल बहलाउ । पीडा भुल, मनोरञ्जन पनि गर तर बाँकी दिन आफ्नो दमित अस्तित्वलाई स्वीकार गर ।’

सारांश

तीजका दुइवटा पक्ष छन्- तृतीया र पञ्चमी । मानवशास्त्री डोरबहादुर विष्टका अनुसार महिलासम्बन्धी र सँगसँगै आउने धार्मिक गतिविधिका कारण समग्रमा तीजलाई एउटै पर्वका रूपमा नेपाली समाजले लिए पनि यसका दुई खण्ड छन् । खासगरी ‘डेन्जरस वाइभ्स एन्ड स्याक्रिड सिस्टर्स सोसियल एन्ड सिम्बोलिक रोल्स अफ हाई-कास्ट वुमेन इन नेपाल’मा अमेरिकी मानवशास्त्री लिन बनेटले तीजका यी दुवै पक्षबारे सूक्ष्म ढङ्गले अध्ययन गरेकी छन् ।

पहिले, तृतीयाको निराहार व्रतको अर्थ हो- केवल पति ‘देव’ को सुस्वास्थ्य र दीर्घायु । पतिका खुट्टा धोएर पानी खानेसम्मका गतिविधि यसै पर्वको मान्यताका प्रतिफल हुन् । अझ तृतीयाको भन्दा भयावह पाटो छ, पञ्चमीको । अपमार्गले दतिउन गर्दै सहस्र धाराद्वारा नुहाएर समापन गरिने यस्तो गतिविधिको प्रमुख औचित्य भनेको वर्षभरि रजस्वला हुँदा जान-अन्जानबस पुरुषलाई छोइएको ‘पाप’ पखाल्नु हो ।

दमित जिन्दगीमा फर्कन नपर्ने विकल्प नभएको क्षणिक दिनको यस्तो स्वतन्त्रतालाई महिला सशक्तीकरणको भाष्यसँग जोडेर हेर्नु झनै आफैँमा विरोधाभासपूर्ण देखिन्छ । बरु यो मुक्तिको मार्ग नभएर दासताको पर्खालभित्र थुनिएका आदिम बन्दीहरूलाई श्वास दिएर जीवित राख्न बेला बेला खोलिने र पुन: बन्द गरिने आँखिझ्याल मात्र हो ।

प्राकृतिक रूपमा हुने एक शारीरिक प्रक्रियालाई लिएर पुरुषलाई छुनु ‘पाप’ करार गर्ने ऋषिपञ्चमी तीज पर्वकै एक अभिन्न अङ्ग हो । जबकी तीज पर्वको मूल्य मान्यता नै महिला अस्तित्वलाई उपहास गर्ने र ‘दासी’ मा सीमित पार्ने यस्ता विभेदकारी हिंसात्मक संस्कृतिमा अडिएका छन् भन्ने तथ्य कसैले निर्माण गरेर भनिरहनै पर्दैन । स्वयं यसै दौरान गरिने क्रियाकलाप र यिनले बोकेका धार्मिक मान्यताले स्वबखान गर्छन् । जुन आफैँमा हिंसात्मक छन् यिनको अनुसरण महिला विशेष पर्वको रूपमा गरिरहनु कतिको न्यायोचित होला ? ठिकै छ केही दिन खानपिन नाचगान गरी सांस्कृतिक रूपमै रमाइलो गरी मनाऊँ भने पनि यो पर्वसँगै जोडिएका यी हिंसात्मक मान्यतालाई उखेलेर फाल्न कति सम्भव होला ? या फेरि यी मान्यताबिना तीजको औचित्य रहला नरहला ?

अर्को तर्फ आधुनिकतामा अग्रसर भएर पार्टी प्यालेसमा महिनौँ दर खाने दिनमा लम्बिएको यो पर्वले भर्खर-भर्खर अर्थराजनीतिमा दखल राख्न सुरु गरिरहेका आत्मनिर्भर र स्वावलम्बी बन्न हिँडिरहेका महिलाको अर्थ जीवनमा कस्तो प्रभाव पारिरहेको छ ? फेरि खुसी उत्साह स्वतन्त्रता केही दिनको पाहुना मात्रै किन ? के हामी आजीवन यसको हकदार छैनौँ ? रक्सी पिउन, पार्टी गर्न, बन्धन मुक्त जिन्दगी बाच्न पुरुषलाई कुनै विशेष पर्वको आवश्यकता छैन भने महिलालाई मात्रै यो केही दिनको पावन्दी किन ? यसप्रकारले बाँधिएर निसास्सिएको मान्छेलाई केही दिन बन्धन मुक्त गरेर फेरि लामो अवधि बाँधिने शक्ति प्रदान गर्ने काम मात्रै भएको छ ताकी उसले बन्धन मुक्त हुनको निम्ति कुनै प्रभावशाली विद्रोह नरोजेर अर्को एउटा यस्तै क्षणिक उल्लासमय अवसरको प्रतीक्षा गरोस् !

पुन: दमित जिन्दगीमा फर्कन नपर्ने विकल्प नभएको क्षणिक दिनको यस्तो स्वतन्त्रतालाई महिला सशक्तीकरणको भाष्यसँग जोडेर हेर्नु झनै आफैँमा विरोधाभासपूर्ण देखिन्छ । बरु यो मुक्तिको मार्ग नभएर दासताको पर्खालभित्र थुनिएका आदिम बन्दीहरूलाई श्वास दिएर जीवित राख्न बेला बेला खोलिने र पुन: बन्द गरिने आँखिझ्याल मात्र हो । आजका युगका महिलाहरूका अघि यिनै र यस्तै थुप्रै संगीन प्रश्नहरूका चाङ चुलिएका छन् । महिला विशेष भनेर प्रकारान्तरले महिला अस्तित्वलाई उपहास गरिरहेका र महिला प्रगतिमा बाधक बनिरहेका यस्ता पर्व के हाम्रै हकहितमा छन् ?

कसैले मनाउने/नमनाउने र कसरी कुन प्रकारले मनाउने भनेर निर्देशित गर्नेभन्दा पनि आजका बुझ्न सक्ने महिलाले आ-आफ्नो स्वविवेकले सोच विचार गर्न आवश्यक छ । हामी विचार र मस्तिष्कसहितको सिङ्गो मानव हौँ । सोच्न सक्षम छौँ … सोचौँ !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार