नेपालीहरुको महान् चाड दशैं हाम्रो घर–आँगनमा छ । आज फुलपाति भित्र्याइँदैछ । विषेगरी अष्टमीका दिन बलि दिने भनिएपनि दशैंमा मिठो खाने क्रम चलि नै रहेको छ । यो चाडमा कस्ता परिकार खाने, कस्ता पेयपदार्थ खाने र कसरी पर्वलाई रमाइलो बनाउने भनेर योजना बनाउन थालिसकेका छन् । नेपालीमध्ये पनि हिन्दू धर्मावलम्बीले दशैँलाई निकै महत्वका साथ लिने गर्छन् । दशैँका अवसरमा हिन्दू धर्मावलम्बीहरूले घरको पूजाकोठामा राखेको जमरामा खसी, बोका, हाँस, कुखुरा, राँगा आदिको बलि दिने गर्छन् । उक्त बलिलाई प्रसादको रुपमा उनीहरूले ग्रहण गर्ने गर्छन् ।
दशैँमा जस्तोसुकै आर्थिक हैसियत भएका मानिसले पनि क्षमताअनुसार मीठो–मसिनो खानेकुरा र मासुको जोहो गर्छन् । त्यही भएर पनि यो चाडलाई ‘मीठो खाने र रमाइलो गर्ने’ पर्वको रुपमा लिइन्छ । दशैँको अर्को रमाइलो पक्ष भनेको राम्रो र नयाँ लुगा लगाउने पनि हो । साथै कतिपयले दशैँमा लामो समय बिदा हुने हँुदा आफन्तसँग भेटघाट गर्ने, मनोरञ्जन गर्ने, आराम गर्ने सूची पनि बनाएका हुन्छन् । चाडपर्व भन्नासाथ खानपानकै कुरा बढी आउँछ ।
दशैँमा मात्रै नभई अन्य चाडमा पनि हामी अव्यवस्थित तरिकाले खानपान गर्छौं । जुन गलत हो । सन्तुलित आहार नभए चाडबाडमा दुःख पाउने अवस्था पनि आउन सक्छ । स्वस्थ र निरोगी हुनको लागि सन्तुलित आहार अनिवार्य छ । आवश्यकताअनुसार खानेकुरा खाए मात्रै शरीर स्वस्थ र तौल यथोचित रहन सक्छ । सन्तुलित आहारमा पाँच समूहका खानालाई मिलाएर खानुपर्छ ।
खाद्यान्न समूह
♦ तरकारी र गेडागुडी समूह
♦ माछा, मासु, अण्डा अथवा गेडागुडी समूह
♦ दूध अथवा दूधबाट बनेका परिकारका समूह
♦ फलफूलका समूह
कसले कति खाने ? एउटा वयष्क मानिसले खाना कति मात्रामा खाने भनेर उसको उमेर, लिङ्ग, उचाइ, जीवनशैली, शारीरिक परिश्रमअनुसार फरक हुन्छ । मासुमा प्रोटिन र बोसोको मात्रा धेरै हुन्छ । हाम्रो शरीरको लागि एक दिनमा ५० देखि ६५ ग्राम प्रोटिन आवश्यक पर्छ । प्रोटिनले शरीरको वृद्धि र विकास गर्छ ।
दशैँमा हामीले धेरै मासु सेवन गर्छौं । यसले गर्दा हाम्रो शरीरमा अवश्यकताभन्दा बढी प्रोटिन जम्मा हुन्छ । प्रोटिनको मात्रा बढी हुँदा कलेजो र मृगौलालाई अनावश्यक दबाब पर्छ र तिनीहरूमा हानि पुग्न सक्छ । दशैँमा प्रत्येकको घरमा प्रशस्त मासु हुने हँुदा त्यसलाई स्वास्थ्यमा असर नगर्ने गरी बनाउनुपर्छ । चलनचल्तीअनुसार हामीले कवाफ लगाएर मासु बनाउँछौं । कवाफ लगाउँदा धेरै तेल राखेर अझ मीठो पार्ने कोशिश गर्छौं । यसो गर्नु गलत हुन्छ ।
हाम्रो शरीरलाई दैनिक १० देखि २० ग्राम बोसो भए पुग्छ । छाला र बोसोमा चिल्लो पदार्थको मात्रा धेरै हुन्छ । मासु पकाउनुअघि नै छाला र बोसो हटाएमा सो मासु खान स्वास्थ्यका लागि राम्रो मानिन्छ । तेलको मात्रा कम प्रयोग गर्ने र सकेसम्म घिउ नराख्दा नै स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । तेल पनि सकेसम्म तोरीको प्रयोग गर्नु उचित हुन्छ । चिल्लोले उच्च रक्तचाप, कोलेस्ट्रोल, ट्राइग्लिसेराइड बढाउँछ ।
गुलियो कति खाने ?
दशैँको अवसरमा धेरै दिन बिदा हुने हुँदा अधिकांश मानिस घरमै रमाइलो गर्ने गर्छन् । यसका लागि उनीहरूले पेयपदार्थ र मदिराको साथ पनि लिन्छन । पेयपदार्थ (कोल्ड ड्रिंक्स) मा चिनीको मात्रा धेरै हुन्छ । १ गिलास (२५० एमएल) कोकमा २७ ग्राम चिनी हुन्छ । एक दिनमा चिनीको मात्रा जसमा क्यालोरिको १० प्रतिशत अथवा २० ग्राम चाहिन्छ । चिनीको मात्रा धेरै प्रयोग गर्नाले मधुमेह हुन सक्ने सम्भावना हुन्छ । मदिराको सेवनबाट उच्च रक्तचाप, कलेजोमा खराबी तथा क्यान्सरजस्ता रोग लाग्न सक्छ ।
फलफूल धेरै, नून कम खाने
यस्तो बेलामा फलफूल र तरकारी दिनमा ५ सय ग्रामभन्दा बढी खानुपर्छ । दशैँमा थोरै मासु तर सागपात, मुला, काँक्रो, गाजरजस्ता तरकारी र फलफूल बढी प्रयोग गरेमा विभिन्न रोगबाट बच्न सकिन्छ । तरकारी र फलफूलले उच्च रक्तचाप घटाउने, मुटुरोग कम गर्ने, केही क्यान्सरलाई कम गर्ने र पाचन प्रणाली बलियो बनाउने हुन्छ ।
यस्तै नूनको प्रयोग सकेसम्म कम गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । मासु र अचारमा नूनको मात्रा बढी हुने गर्छ । एक दिनमा ५ देखि ८ ग्राम (एक चिया चम्चा) नून सेवन गर्नुपर्छ । नूनले उच्च रक्तचापका बिरामीलाई असर गर्छ ।
युरिक एसिडका बिरामीले रातो मासु नखाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसेराइड बढी भएका बिरामीले सेतो मासु जस्तै– छाला हटाएको कुखुराको मासु, छाला हटाएको माछा खानुपर्छ । यसले शरीरलाई आवश्यक मात्रामा प्रोटिन प्रदान गर्छ ।
व्यायाम गर्न नभुलौं
दशैँमा धेरै दिन बिदा हुने भएकाले मानिसहरू घरैमा बसेर खाने, तास खेल्ने, टिभी हेर्ने, चङ्गा उडाउने गर्छन् । कतै जानु परे पनि सवारीसाधनको प्रयोग गर्छन् । सकेसम्म हिँडडुल गर्दैनन् । शारीरिक व्यायाम पनि गर्दैनन् । बिहानै उठेर १० हजार पाइला पसिना निकालेर हिँडेमा खाएको खाना पचाउन मद्दत पुग्छ । धेरै खाएर आराम गर्दा मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । यसकारण चाडबाड भए पनि व्यायाम गर्न नभुलौं ।
यसरी सर्छ मासुबाट रोग
– काँचो, नपाकेको र पोलेको कालो मासु खाएमा
– बिजुली नभएका बेला पि|mजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा
– फ्रिजमा राम्रो भण्डारण प्रक्रिया नअपनाएमा
– मासु काट्ने स्थान, अचानो, काट्ने चक्कु तथा हतियार सफा नभएमा
– सडेगलेको मासुमा लोभिएमा
– मासुका परिकार तयार पार्ने व्यक्ति (कुक) स्वस्थ नभएमा
– अस्वस्थ्य तथा बिरामी पशुपन्छीको मासु खाएमा
– बध गर्नेवित्तिकै पकाएर खाएमा
स्वस्थ्य मासु कसरी छान्ने ?
-मासु हलुका गुलाबी, हरियो वा प्याजी रंगको भए त्यो खान अयोग्य भइसकेको हुन्छ
– मासुबाट कुनै पनि किसिमको अमिलो, बिगि्रएको, मन नपर्ने गन्ध नआएको हुनुपर्छ
– मासु सफा र चलेको फ्रिजमा अलग-अलग गरी छोपेर राखेको हुनुपर्छ
– मासु काट्दा र समाउँदा तन्के जस्तो हुनु हुँदैन
– मासु पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काट्नेको तरिका, तराजु सफा छ कि छैन हेर्नुपर्छ
कुन मासु खाने, कुन नखाने ?
-फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु नखानु राम्रो
– बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने
– काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा खानु हुँदैन । किनभने काँचो मासु नै रोगको भण्डार हो ।
– पोलेको मासु -सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाने । किनकि पोलेको मासु राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधीक हुन्छ ।
– राम्ररी पखालेको र पाकेको मासुमात्र खाने
– धेरै मसला र तेलीय पदार्थ कम प्रयोग गर्ने
– बोसो र छालारहित मासु प्रयोगमा जोड दिने
मासु भण्डारण गर्ने तरिका
– काँचो र पाकेको मासु एकै स्थानमा नराख्ने ।
-मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै नराख्ने
-ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । योभन्दा राम्रा फ्रिजिङका माध्यमहरू पनि छन्, जुन व्यावसायिक संस्थाहरुमात्र हुन्छन् ।
-मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्नेे गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरु मासुकै तरल पदार्थ तल्लो सतहमा राखिएका अन्य परिकार, सागसब्जी, फलफूलमा पर्ने सम्भावना हुन्छ ।
दशैंमा ध्यान दिनुपर्ने कुराहरू
-घरमा आफैंले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने
-विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने
-सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने
-टीका लगाउन जाने क्रममा दैनिक मासु नखाने
-मासु खानेवित्तिकै आइसक्रिम, दही, क्रिमका परिकारहरु नखाने
-दैनिक शारीरिक व्यायाम गर्ने
-आफूलाई स्वस्थ नभएको महसुुस नभएमा माछा-मासुको प्रयोग गर्दै नगर्ने
-सुरक्षित उपायहरु अपनाएर भण्डारण गरे/नगरेको आफैंले निरीक्षण गरेर मात्र खाने
-आफूले मासुसम्बन्धी पाएको जानकारी परिवार तथा आफन्तजनमा पनि बाँड्ने