काठमाडौँ । राष्ट्रिय जनमोर्चाले साफ वुमन्स च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेकोमा नेपाली टोलीप्रति बधाई ज्ञापन गरेको छ । राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ कात्तिक १२ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै बधाई ज्ञापन गरिएको हो ।
प्रेसवक्तव्यमा बुधबार हुने फाइनल खेलमा जितका लागि अग्रिम शुभकामना व्यक्त गरिएको छ । नेपालको खेल क्षेत्रका प्रशस्त सम्भावना रहेकाले त्यसतर्फ समयमै ध्यान दिन आग्रह गरिएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“हिजोको साफ वुमन्स च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकोमा राष्ट्रिय जनमोर्चाले हर्ष तथा बधाई ज्ञापन गर्दछ । साथै बुधबार हुने च्याम्पियनसिपको फाइनल खेलमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गर्दछ ।
हिजोको खेलमा नेपाली महिला खेलाडीको प्रदर्शनले नेपालको खेल क्षेत्रमा प्रशस्त सम्भावना रहेको पुष्टि गरेको छ । त्यसका लागि हामीले सम्पूर्ण खेलाडीहरूलाई धन्यवाद ज्ञापन व्यक्त गर्न चाहान्छौँ । यस सन्दर्भमा खेल क्षेत्रको विकासका लागि समयमै आवश्यक ध्यान दिन सरकारसमेतको ध्यान आकर्षण गर्न चाहान्छौँ ।”
हिजो कात्तिक ११ गते दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई ४–२ गोलअन्तरले हराएर फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल कात्तिक १४ गते बुधबार बङ्गलादेशसँग हुने छ ।