- सुरेशकुमार पाण्डे
साँझको मिरमेरे भैसकेको थियो’ कल्पिको मन आत्तिएको थियो । आत्तिन पनि किन नआत्तियोस् । बिहानैदेखि तारे साहुको मेलामा काम गर्न आउँदा घरमा स–साना बाल बालिकाहरुलाई छाडेर आएकि थिइन् । एउटा बाबुले त अँझै आमाको दुध खान्थ्यो ।
अहिले मेलाको काम सिद्धाएर उनी तारेको घरको पेटिमा बसेकि थिईन् । अरुहरुसँग उतै मेलाबाट सिधै घर गए । उनी भने आफ्नो खर्च लिएर जाने उदेश्यले त्यसैको बाटो हेर्दै बसेकि थिईन् । घरमा साँझ पकाएर खाने पनि खर्च थिएन, त्यसैले यो मिरमिरे साँझमा साहुको पेटिकुर्नु परेको थियो ।
एकछिन पछि तारे साहु कि बुढि टपरिमा एकमाना मकैको आटो त्यसैको माथि एउटा नुनको ढिका राखेर बाहिर आईन्– “कति आत्तेकी भोलि पनि ता आउँने हौली काममा भोलि लिएर गएको भएपनि हुन्थ्यो” भन्दै टपरि थमाई दिन्छिन् ।
कल्पि नबोलि नबोली त्यो टपरिलाई आफ्नो बर्किमा कुटुरो पारेर मनमनै कसैलाई कसैको समस्या के थाहा भन्छिन्– “हौस् म लागे” भन्दै बिदा लिन्छिन् ।
उनी घर पुग्दा अँध्यारो भैसकेको थियो, सारा दिन मेलामा काम गरेर आएकि उनलाई घरको पिरले थकाई लागेको महेसुस गराएन । छिट्टछिटो हिँडेर घर पुगिन् । रोइरहेको काखको बाबुलाई आफ्नो छातिमा टाँसेर उसलाई चुप्प म्वइ खाईन् । अनि हातले आँशु पुच्छदै आफ्नु छाति चुसाउँन थालिन् । अर्कि सानी छोरी पनि आमाको नजिकै आएर काखलाई सिरानी गराई । अरुले अगेना वरिपरी बसेर आगो बाल्न थाले । एति बेरसम्म कसैले आगो पनि बालेका थिएनन् ।
ठुलेले केहि बेर पहिले गाई बस्तु बनबाट खेरेर ल्याएको थियो र काटेको घाँस हाल्दै थियो । अरुले त्यो रुने भाईलाई फुलाउँदै थिए । उसलाई आमाको सँझनाले सताएर रोईराखेको थियो ।
कल्पिले आफ्नो फाँदबाट एउटा मकैको रोटी निकालेर ओधान माथि राखेर तताउँछिन् र सबैलाई एक–एक चोईला दिन्छिन्, उनीहरु पनि खुसि हुन्छन् ।
“बाबु तल चाकि नेर सुपो छ ल्याउत !” कल्पिले ठुलेलाई अह्राउँ छिन् । उसले सुपो ल्याई दिन्छ । सानो भाईले आमालाई पटक्कै छाड्ने मन गर्दैन, बिचरा बच्चा त हो । आमाको मन त सबै बच्चाहरुप्रति उत्तिकै मायाँ लाग्ने उरु बच्चाहरु पनि त भोकाएका थिए ।
उनले आफ्नो बर्कोको त्यो कुटुरो खोल्छिन् र सुपामा मकैको आटोलाई राम्रैगरी सफा गर्छिन् । ठुलेले कसौँडी मसि लगाउँछ र ओधानको माथि राख्छ । उनीहरुलाई भर्खर दिएको एक एक चोईला रोटी खाईसकेका थिए । त्यो रोटी दिउँस तारे साहुले अर्नि खान दिएको कल्पिले आफुले नखाएर आफ्नो पटुकामा बाँधेर राखेकि थिइन् । उनको मनले खानै मानेन, बच्चाहरुको झल्को आईहाल्यो त्यहि भएर रोटी ल्याइन र अहिले बच्चाहरुले बाँडेर खाएका हुन् ।
सुपामा त्यो भर्खर लिएर आएको आटोलाई राम्रो गरि सफागरेर कसौँडीमा तातिरहेको पानीमा राख्छिन् । ठुलेले डालाबाट गुन्द्रुक निकालेर ल्याउँछ र आमालाई दिन्छ । उनीहरुको सानो गोठे घर थियो एकतिर डियाँ बाच्छा बस्थे, अर्को तिर आफुहरु ।
एकछिन पछि आटो र गुन्द्रुको झोल पाक्छ सबै आ–आफ्ना ठाउँमा थाल लिएर बसेका छन् । सबैले आटो अति मिठो खान्कि झैँ खुसि भएर खान्छन् । आमाले सबैलाई ख्वाएपछि थोरै आटो बटुकोमा राखेर त्यहि कसौँडीमा गुन्द्रुको झोल राखेर जो जति बचेको थियो खान्छिन् । कसैलाई के थाहा उनको पेट भरिन्थ्यो कि भरिंन्थ्यन । कसले सोध्ने उनीसँग । दिनभरी अर्काको मेलामा काम गर्दाको थकैले लखतरान भएकि कल्पिले सबै बच्चाहरुलाई सुताईन । उनले एउटा मकैको झोँता छोडाएर दुईटा घुँगा राखिन्, बाँकि चाकिमा पिसेर बिहानलाई आटो बनाईन् अनि बल्ल सुतिन् ।
उनी बिहानै उठेर बारीको आँठामा भएका डाले घाँस खसाल्छिन्, अनि मकैको नल ल्याएर डियाँलाई दिन्छिन् । गोठबाट बाहिर सारेर, गोठ सफा गर्छिन्, पंधेराबाट पानी ओसार्छिन् । यि सबै काम निप्टाए पछि ठुले उठ्छ– “उसलाई गाई समय मै फुकाएस् म आटो पकाएर राख्छु, खाए” कल्पिले अह्राउँछिन् । ठुलेले हुन्छ भन्दै फेरि त्यो कसौँडी माझेर दिन्छ । आमाले उनीहरुलाई खाना पकाई दिन्छन् । “धन्न घरमा एउटा दुहुनो गाई छ, त्यसैले त बच्चाहरुलाई हुर्काउँन मदत् गरेको छ” भन्दै कल्पीले सानो बाबुलाई दुधसँग आटो मुछेर ख्वाई दिन्छिन् ।
आफु फेरी त्यो तारे साहुको मेलामा छिट्टै पुग्नु थियो । यस्तो पर्याजसो हुन्थ्यो । कल्पिको श्रीमान चाहिँ बैँसैमा बितेका हुन् । ति स–साना बच्चाहरु हुर्काउन उनलाई आमा र बाबा दुबैको भुमिका निर्वाह गर्नु पर्दथ्यो । कल्पिको सानैमा बिबाह आफु भन्दा झण्डै २० बर्ष जेठा ब्यक्तिसँग भएको थियो । उनको भर्खर बैँस आउँने बेलामा बुढाको मृत्यु भएको थियो । उनलाई बैँस र सुख भन्ने कस्तो हुन्छ, थाहा नै भएन । अब झन् ति स–साना बच्चाहरुलाई हुर्काउन निमेक गर्नु पथ्र्यो । खान पुग्ने आफ्नो पाटो थिएन । कल्पिलाई दिन रात बराबर नै थियो । जसरी तसरी कहिले बाउ बनेर हपकाईन त कहिले आमा बनेर मायाँ गरिन उनीहरुलाई पढाउँने लेखाउँने गरिन् । त्यसैले उनलाई देख्ने मान्छेले नेपाल कि आमा भन्दथे । आज फेरी फटाफट तारे साहुको खेतमा पुग्नु थियो । यता सबैले कुसे औंशी मनाउँदै थिए तर कल्पि साहुको खेतमा मोल बोकेर हिंड्दै थिइन् । आफु भोकै बसेर पनि आफ्ना बाल बच्चालाई रिष्टपुष्ट गराउन र शिक्षित गराउँन ।
२३ अप्रेल २०२०