अनुशासनहीन तत्वलाई निस्तेज पारौं : खनाल

हैदरावाद।  मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले संगठनविरुद्ध केही व्यक्तिहरुले भ्रम छर्ने प्रयास गरिरहेको भन्दै त्यस्ता तत्वहरुलाई निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदरावाद उत्तर नगर समितिको हैदरनगर एरियामा आयोजित प्रशिक्षण कार्यक्रममा महासचिव खनालले संगठनको इतिहासलाई धुमिल बनाउन खोज्नेहरुलाई निस्तेज पार्न आग्रह गर्नुभयो ।

उहाँले मूल प्रवाहको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित गरिएका व्यक्तिहरुले मूल प्रवाहकै नाममा भ्रम छर्न खोजेको भन्दै उनीहरुको भ्रमममा नपर्न सचेत गराउनुभयो ।

‘संगठनको अनुशासनमा बस्न नसक्ने केही व्यक्तिहरुलाई हामीले साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका थियौं । अहिले उनीहरु आफूलाई मूल प्रवाहको नेता भन्दै भ्रम छर्ने प्रयास गरिरहेका छन्’ खनालले भन्नुभयो, ‘संगठनको इतिहासलाई धुमिल पार्न खोज्ने त्यस्ता अराजक तत्वहरुको भ्रममा कोही पनि पर्न जरुरी छैन । बरु उनीहरुलाई निस्तेज पार्न सबै तहका नेता कार्यकर्ता एकजुट बन्नुहोस् ।’

कार्यक्रममा अर्का प्रशिक्षक केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव खिम बहादुर विकले संगठनात्मक अनुशासन, मूल प्रवाहको एैतिहासिकताबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीकोसमेत आतिथ्यता रहेको थियो ।

भरत परियारको अध्यक्षता, खैसरा थापाको स्वागत मन्तव्य र जिबनाथ शर्मा अधिकारीको सन्चालनमा अगाडि बढेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सचिव प्रेम पौडेल, केन्द्रीय महिला विभाग संयोजक फूलबिना पौडेललगायत नेताहरुको आथित्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार