अनुशासनहीन प्रवृतिलाई निश्तेज पारौं

नरमती सिंजाली

अनुशासन भनेको मानव जातिको सर्वोत्तम गुण हो । अनुशासित व्यक्तिलाई सबैले मन पराउँछन् । अनुशासन भनेको नियम पालन हो । प्रकृतिले पनि नियम पालना गरेको पाईन्छ । पृथ्वीले एक निश्चित गतीमा परिक्रमा गरिरहेको हुन्छ र यस आधारमा दिन रातको प्रक्रिया चालु भई रहन्छ । गर्मी र जाडो मौसम पनि नियम अनुसारनै आउँछ । विशाल ब्रमाण्ड पनि निश्चित सीमामा अडेको हुन्छ ।

अनुशासन मानिसका लागी अति आवश्यक छ । अनुशासन पालना गर्ने विद्यार्थी नै पछि उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ । त्यसरी नै हरेक सफल व्यक्ति निश्चित नीति नियम भित्र रहेर काम गरिरहेका हुनछन् । लक्ष्य प्राप्तिका लागि सधैँ अनुशासनको निश्चित घेरामा रहेर काम गर्नु अनिवार्य हुन्छ । यस्तो व्यक्ति सबैको नजरमा असल ठहरिन्छ ।

अनुशासनको छेत्र ज्यादै फराकिलो पनि छ । घरपरिवारदेखी लिएर समाज संस्कृति राजनीति जस्ता सबैछेत्रमा अनुशासन चाहिन्छ । एउटा घर परिवारमा बाबु आमा, छोरा छोरी, दाजु भाइ आदी सबैले एक अर्कालाई आदर माया गर्नु पर्छ । समाजमा बसेपछी एक अर्काको कदर गर्ने, समाजिक नीति नियमको पालना गर्ने, दुःख परेको बेलामा एक अर्कालाई सक्दो सहयोग गर्ने अनि कसैप्रति भेदभाव नगर्ने जस्ता आचरण अनुशासन कै घेरा भित्र पर्दछन् ।

राजनीतिक छेत्रमा त झन् अनुशासनको ठुलो भूमिका रहन्छ । राजनीति गर्नेहरु अनुशासनहीन भए भने त्यसको असर सिंगो राष्ट्रलाई पर्न जान्छ र सम्पुर्ण जनतालाई पनि पर्दछ । वित्तीय क्षेत्र, सरकारी वा गैर सरकारी क्षेत्र, प्रहरी, सेना सबैतिर अनुशासन नभै हुँदैन । यस्ता हरेक छेत्रमा अनुशासन नहुने हो मानव जीवन नै कति अस्तव्यस्त होला, कल्पना गर्न पनि गाह्रो छ ।

त्यसकारण सबै सचेत नागरिक आ–आफ्नो नीति नियमका घेरा भित्र रहेर काम गर्नु पर्छ । यदी आफू अनुशासनमा रहने हो भने अरुलाई पनी अनुशासनको पाठ सिकाउन सकिन्छ । जुन व्यक्ति आफू अनुशासित छैन त्यसले अरुलाई अनुशासित पार्न या अनुशासनको पाठ सिकाउन सक्दैन । त्यसैले सबै भन्दा पहिले आफैँ अनुशासनमा बस्नु जरुरी छ । यस अर्थमा आत्मअनुशासन नै अनुशासनको पहिलो शर्त हो । अनुशासनको बाटोमा हिँड्ने मानिसले जीवनमा सफलताको शिखर चुम्न सक्छ । अनुशासनले व्यक्तिसँगै परिवार, समाज, रास्ट्र र विश्वलाई नै सभ्य बनाउँछ ।

एउटा राजनीतिक दलको लागी यो अझ महत्वपुर्ण कुरा हो । कम्युनिष्ट पार्टी सदस्यको हकमा अनुशासनको झन् धेरै महत्व छ । कम्युनिस्ट पार्टी लेनिनवादी संगठनात्मक पद्धतीअनुसार चल्दछ । संगठनात्मक पद्धती अनुरुप पार्टीले गरेको निर्णय मान्नुपर्ने हरेक पार्टी सदस्यको कर्तव्य हो । बहुमतले गरेको निर्णय सबैको साझा निर्णय हो । यदी कसैको फरक मत भएमा त्यसलाई सुरक्षित राखि महाधिवेशनमा लैजान सकिन्छ । महाधिवेशनले जे फैसला गर्छ त्यो नै पार्टीको स्वीकृत नीति हुन्छ । त्यसलाई उल्लंघन गर्न कसैले पनि मिल्दैन । यदि यसो गरिएन भने अनुशासनको उल्लंघन मानिन्छ ।

पार्टीको अनुशासनमा नरहने तर खुब क्रान्तिकारी कुरा गर्नेदेखी अहिले सचेत हुनु जरुरी छ । परिवर्तन चाहना गर्ने हो भने अनुशासनमा पनि बस्न सिक्नुपर्ने जरुरी छ । अराजकताबादीले मनगढन्ते कुरा बढी गर्दछन् तर आफू अनुशासनमा रहन सक्दैनन् तिनीहरुबाट परिवर्तन हुन्छ भन्नु भ्रम हो । त्यसखालका भ्रमबाट मुक्त नभै परिवर्तनको बाटोमा अगाडि बढ्न सम्भब हुँदैन ।

पार्टीमा मतमतान्तर हुनु अन्यथा होइन तर त्यो पद्धती भित्रै हुनुपर्छ । पार्टीको बैठक, भेला, सम्मेलन वा महाधिवेशनले निर्णय गरिसकेपछि त्यसलाई मान्नु सबैको दायित्व हुन्छ । संगठनमा कसरी आफ्नो मत राख्ने भन्ने कुरालाई सही किसिमले अवलम्बन गर्न सकिएन भने त्यसले पार्टीलाई हानी पुर्याउँछ ।

नेकपा (मसाल) को आठौँ महाधिवेशनपछी पनि कतिपय व्यक्तिहरुले पार्टी पद्धति विपरित मत प्रकट गर्ने गरेका छन् । कतिपय सदस्यहरु पार्टी नीतिविरुद्ध समाजिक संस्थामा सामेल हुने गरेका छन् । अझ कैयौंले पार्टी भित्रै पार्टी चलाएका छन् । यस खालका अभियान पार्टी नियम र अनुशासन विपरितका गतिविधि हुन् । उनीहरुको गतिविधिले कतिपय इमान्दार साथीहरुलाई भ्रममा पार्ने गरेको छ ।

कतिपय व्यत्तिले जानी जानी पार्टी विधी र पद्धती मिच्ने गरेका छन् भने कयौं व्यक्ति नजानेर जा भ्रमबस पनि अनुशासन उल्लंघन गर्ने गरेको पाइन्छ । भ्रममा परेर वा अरुको लहैलहैमा लागेर विधि पद्धती विपरित जानेलाई सम्झाई बुझाई गर्न सकिन्छ । तर जानाजान पद्धती विपरित जानेले पार्टीलाई नोक्सान पुर्याउने उद्देश्य राखेको बुझ्न गाह्रो पर्दैन । त्यसखाले प्रवृतिप्रति सम्झौताहीन संघर्षको आवश्यकता छ ।

महाधिवेशनले तय गरेको नीति र विधान विपरित जाने छुट कुनै पार्टी सदस्यलाई छैन । यदी त्यसो गरिएमा अनुशासनको गम्भीर उल्लंघन हुन्छ र त्यसले पार्टीलाई नोक्सान पुर्याउँछ । पार्टी विधान र पद्धती उल्लंघन गर्ने प्रवृति विरुद्ध पार्टी सदस्यहरुले निर्मम संघर्ष गर्नुपर्छ । त्यसरी नै पार्टी विधान, नीति र अनुशासनको पालना हुनुका साथै संगठनलाई जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार