अनुशासन र एकता नभए पार्टी कस्तो हुन्छ ? ‘नेकपा’ बाट सिकौं

  • मोहन बिक्रम सिंह

पार्टीमा अनुशासनको धेरै ठुलो महत्व छ । अनुशासन र एकता विना पार्टीले आफ्नो लक्ष्य पुरा गर्न सक्दैन । त्यसकारण सबै पार्टी सदस्यहरु अनुशासन र एकता कायम गर्न ध्यान दिनुपर्छ ।

यदी अनुशासन र एकता भएन भने पार्टी नेकपा (सत्तारुढ नेकपा) जस्तो बन्छ । त्यहाँ अनुशासन कति तल्लो स्तरमा छ भन्ने कुरा बाहिरैबाट स्पष्ट देखिन्छ । जस्तो कि गत उपनिर्वाचनमा हाम्रो पार्टी र नेकपाबीच चुनावी तालमेलको सहमति भयो । त्यस अनुसार हामीलाई नेकपाले प्रदेशसभा सदस्यको निर्वाचनमा बागलुङ २ (ख) मा सहयोग गर्ने र बाँकी क्षेत्रमा हामीले नेकपालाई सहयोग गर्ने सहमति भयो । त्यस्तै स्थानीय निर्वाचनमा प्युठानको बरौंलाको एउटा वडामा हामीले उम्मद्वारी दिने र बाँकी ठाउँमा हामीले नेकपालाई सहयोग गर्ने सहमति भएको थियो ।

तर, नेकपाले बालगुङमा सहमति पालना गरेपनि प्युठानमा पालना गरेन । हामीले सहमतिलाई सबै ठाउँमा इमान्दारीपूर्वक पालना गर्यौं । तर, नेकपाले प्युठानको बरौंलामा पार्टीको तर्फबाट नभएर विद्रोही उम्मेद्वार खडा गरे र जिताए ।

प्रश्न हाम्रो हारको होइन, उनीहरुको अनुशासनको हो । यो विषय उनीहरुको स्थानीय स्तरको विषय मात्रै थिएन । राष्ट्रियस्तरमा सहमति भएपछि त्यसलाई पालन गर्ने दायित्व पनि केन्द्रीय नेतृत्वकै हुन्छ । तर, सहमति पालना नगरेर उनीहरुले अनुशासनहीनता प्रदर्शन गरे ।

नेकपाले राष्ट्रिय सभामा कसलाई पठाउँछ हाम्रो सरोकारको विषय होइन । तर, त्यो पार्टीको सचिवालयले वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्य बनाउने निर्णय गर्यो । आफ्नै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय ओलीले मानेनन् । उनले पार्टी निर्ण विपरित युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउने सार्वजनिक घोषणा गरे । यो त्यहाँ भित्रको अनुशासनहीनताको गतिलो उदाहरण हो ।

यद्यपी अहिले फेरि उनीहरुले लेनदेन गरेर वामदेवलाई राष्ट्रियसभामा लैजाने र खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने कुरो आएको छ ।

एमसीसीका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलले एउटा सुझाव दिएको छ तर ओलीले त्यसलाई नमान्ने र संसदबाट एमसीसी पास गर्ने बताउँदै आएका छन् । पार्टीले एउटा निर्णय गर्छ, नेताहरु आफ्नो अनुकुल निर्णय नभए त्यसको विरुद्ध सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै हिँड्छन् ।

उनीहरुबीच चरम गुटबन्दी छ, अराजकता छ, तल्लोस्तरको अनुशासन र एकता छ । यदी हाम्रो पार्टी नेकपा (मसाल) मा पनि अनुशासन कायम नभए पार्टी त्यस्तै (नेकपा जस्तै) बन्छ ।

हामीले पार्टीमा अनुशासन र एकता कायम गर्न विगत ३० वर्षदेखि संघर्ष गर्दै आएका छौं । पार्टी अनुशासन र एकता निरन्तर संघर्षको प्रश्न पनि हो ।

हाम्रो पार्टीले आठौं महाधिवेशन पछि यति धेरै कार्यक्रम आयोजना गरेको छ । कम्युनिष्ट पार्टीले आफ्नो इतिहासमा यतिधेरै कार्यक्रम यसअघि कहिल्यै पनि गरेको थिएन । पार्टीका विभिन्न जनवर्गीय संगठनहरुले छुट्टा छुट्टै विषयमा संघर्ष अगाडि बढाइरहेका छन् । राष्ट्रिय जनमोर्चाले धर्म निरपेक्षता र गणतन्त्रका पक्षमा अभियान चलाइरहेको छ । युवामोर्चाले भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्ध मेची महाकाली खबरदारी अभियान सञ्चालन गरेको छ । महिला संघले महिला हिंसाविरुद्ध अभियान चलाउने तयारी गरेको छ । महिला संघको राष्ट्रिय सम्मेलन पनि भर्खर सकिएको छ । जनजाती सम्मेलनले मुक्त कमैया पुनर्स्थापनाका लागि कञ्चनपुरदेखि दाङसम्म अभियान सञ्चालन गरेको छ ।

यस्तै, विद्यार्थी संगठनले संघीयता विरुद्ध काठमाडौं मार्चको तयारी गरेको छ । जातीय समता समाजले राष्ट्रिय सम्मेलनको तयारी गर्दैछ । त्यसपछि छुवाछुत विरुद्ध अभियान सञ्चालन हुनेछ । अन्य जनवर्गीय संगठनहरुले पनि कार्यक्रम चलाईरहेका छन् ।

पार्टीका जनवर्गीय संगठनहरुले यति धेरै कार्यक्रम चलाईरहेका छन् । त्यो सँगै हामीले अन्य राजनीतिक दलसँग मिलेर एमसीसी र सीमा अतिक्रमण विरुद्ध पनि संघर्ष गरिरहेका छौं । हाम्रो पार्टीमा अनुशासन र एकता कायम नभएको भए हामीले यतिधेरै गतिविधि गर्न सक्ने थिएनौं । आठौं महाधिवेशनपछि पार्टीमा कायम रहेको अनुशासनकै कारण हामी एकतावद्ध भएर संघर्ष गर्न सकेका हौँ ।

हामीले संविधानसभाका लागि विगतमा करिब ६० वर्ष संघर्ष गर्र्यौं । अरुले संविधानसभाको विरोध गरे । हामीले संविधानसभाको मागलाई निरन्तरता दियौं । अन्ततः संविधानसभाको निर्वाचन भयो र नयाँ संविधान बन्यो । यस्तै, राजतन्त्र विरुद्धको आन्दोलनमा पनि कतिपयले सम्झौता गर्दै गए तर हाम्रो संघर्ष दृढतापूर्वक अघि बढ्यो ।

अहिले हामीले सञ्चालन गरिरहेको एमसीसी विरुद्धको संघर्षको पनि दिर्घकालिन महत्व छ । यो विषय राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको विषय हो । यसका विरुद्धको संघर्षलाई यदी अरुले सम्झौता गर्छन् वा बिचमा छोड्छन् भने पनि हामीले निरन्तरता दिनेछौं ।

यस्तै, संघीयता विरुद्धको आन्दोलनको पनि एतिहासिक महत्व छ । संघीयता खारेज गर्न हामीले दृढतापूर्वक संघर्ष गर्न आवश्यक छ । निरन्तरको संघर्षले हामी सफल हुने छौं ।

पार्टीको लक्ष्य र उद्देश्य पुरा गर्न दृढतासँगै अनुशासन र एकताको उच्च महत्व हुन्छ ।

(नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले ‘संघीयता विरुद्ध काठमाडौं मार्च–२०७६’ का सन्दर्भमा शनिबार आयोजित राजमोको उपत्यकास्तरीय भेलामा दिनुभएको प्रशिक्षणात्मक मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार