अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा सरकारप्रति आक्रोश व्यक्त

  •   
  •  
  •  
  •  
  •  
  •  

1192 जनाले पढ्नु भयो ।

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले विदेशबाट नेपालीलाई ल्याउँदा सरकारले साविक भन्दा बढी भाडा तोकेको भन्दै आक्रोश व्यक्त गरेको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी अन्तर्राष्ट्रिय नेपाली एकता समाजले विदेशमा विभिन्न कारणले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरेको छ ।

अध्यक्ष दुर्गाबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा ढिलै भए पनि नेपाल सरकारले विदेशस्थित नेपाली नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेकोमा स्वागत गर्दै जहाजभाडा एकतर्फी प्रचलित दररेटअनुसार कायम गर्न माग गर्नुभएको छ ।

यस्तै, विमारी, लामो समयदेखि नोकरी छुटेर वा सम्बन्धित देशको कानुनअनुसार अवैधानिक भई अलपत्र परेका नेपालीलाई वैदेशिक रोजगार कल्याणकारी कोष वा सरकारको अन्य श्रोतबाट निःशुल्क स्वदेश फिर्ता ल्याउन र नेपाल फर्काउनुपूर्व पिसिआर टेस्टको प्रावधानलाई कडाइपूर्वक लागु गर्न पनि एकता समाजले आग्रह गरेको छ ।

यस्तो छ, विज्ञप्तिः

“सरकारले विदेशस्थित नेपाली नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेको छ, त्यसमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजको ध्यानाकर्षण भएको छ । अहिले विदेशमा रहेका नेपाली पनि आफ्नै नागरिक हुन् । उनीहरूले पठाउने रेमिट्यान्सले राष्ट्रिय आयमा योगदान पु-याइरहेको, गरिबी न्यूनीकरणमा सहयोग पु-याएको र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष योगदान पु-याउँदै आएको सर्वविदितै छ ।

अहिले कोरोना सङ्क्रमणका कारण अलपत्र परेका ती विदेशस्थित नेपाली नागरिकप्रति सरकार उत्तरदायी वा जवाफदेही हुनुपर्ने आवश्यकता आफैमा प्रष्ट छ । त्यसकारण सङ्कटको यस घडीमा विदेशस्थित नेपाली नागरिकप्रति सरकार गम्भीर, संवेदनशील र उत्तरदायी हुन आग्रह गर्दछौँ । त्यसका साथै निम्न समसामयिक विषयहरूमा सङ्गठनको धारणा सार्वजनिक गर्नका लागि यो प्रेसवक्तव्य जारी गरिएको छ ।

१. ढिलै भए पनि नेपाल सरकारले विदेशस्थित नेपाली नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेकोमा अन्तर्राष्ट्रिय नेपाली एकता समाज त्यसको स्वागत गर्दछ । त्यसका साथै निम्नलिखित विषयमा ध्यान दिन सरकारसित आग्रह गर्दछ:

क. सरकारले तेस्रो मुलुकबाट नेपालीलाई फिर्ता ल्याउन हवाइजहाजको दोहोरो भाडा निश्चित गरेको छ । त्यसले गर्दा विपन्न तप्काका तथा अलपत्र नेपालीले जहाजभाडा भुक्तानी गर्न सक्ने छैनन् । त्यसकारण जहाजभाडा एकतर्फी प्रचलित दररेटअनुसार कायम गरिनुपर्दछ ।

ख. विमारी, लामो समयदेखि नोकरी छुटेर वा सम्बन्धित देशको कानुनअनुसार अवैधानिक भई अलपत्र परेका नेपालीलाई वैदेशिक रोजगार कल्याणकारी कोष वा सरकारको अन्य श्रोतबाट निःशुल्क स्वदेश फिर्ता गरिनुपर्दछ । तेस्रो देशका लाखौँ नेपाली भित्राउँदा सरकारले निर्धारण गरेको प्राथमिकता क्रमलाई हामी स्वागत गर्दछौँ । सोही प्राथमिकतानुसार बिरामी, चार महिनाभन्दा बढी समयका गर्भवती, आफन्त गुमाएका शोकसन्तप्त र गम्भीर रोगका बिरामीलाई पहिला ल्याउनु उचित हुने छ ।

ग. ती नागरिकलाई फर्काउनुपूर्व पिसिआर टेस्टको प्रावधानलाई कडाइपूर्वक लागु गर्न अनुरोध गर्दछौँ । त्यसका लागि सम्बन्धित देशसित कूटनीतिक पहलकदमी गरेर सरकार आफैले पिसिआर टेस्टको व्यवस्था मिलाउनुपर्दछ ।

घ. नेपाल आइसकेपछि स्थानीय निकायको क्वारेन्टाइनसम्म पुग्न यातायातको व्यवस्था पनि निःशुल्क गर्न हामी अनुरोध गर्दछौँ । त्यसका साथै क्वारेन्टाइनको गुणस्तर सुधार गर्न हामी सरकार र स्थानीय प्रशासनसँग अनुरोध गर्दछौँ ।

२. देश कोरोना सङ्क्रमणमा पिल्सिरहेका बेला पनि सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न प्रयासरत छ । पहिले आ.व. २०७७/७८ को नीति तथा कार्यक्रममा र पछि बजेटमा एमसिसीसित सम्बन्धित परियोजना सामेल गरेबाट सरकारको त्यो प्रयासको पुष्टि हुन्छ । एमसिसी अमेरिकाको हिन्दप्रसान्त रणनीति (आइपिएस) को अङ्ग भएको अवस्थामा त्यसलाई समर्थन गर्दा नेपालको राष्ट्रिय सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिमाथि आघात पुग्ने हुनाले सो नीतिको देशविदेशमा देशभक्त शक्तिहरूले विरोध गरिरहेका छन् । हामी एमसिसी विरुद्ध देशभक्त शक्तिहरूको उक्त आन्दोलनप्रति एक्यबद्धता प्रकट गर्न चाहान्छौँ ।

३. सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा सार्वजनिक गरिसकेको छ । उक्त नक्सा संविधानको अनुसूचि र निशान छापमा राख्न सरकारले दोस्रो संविधान संशोधन संसदमा दर्ता गरेको छ । हामी सरकारको उक्त कदमको समर्थन गर्दछौँ । त्यसैगरी संविधान संशोधन गर्नुका साथै हामी भारतसित तत्कालै उच्चस्तरीय कूटनीतिक वार्ता मार्फत् अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन माग गर्दछौँ ।

४. देशमा अहिले पनि रुकुम पश्चिमको चौरजहारीजस्ता जातीय भेदभावसित सम्बन्धित घटना घटिरहेका छन् । देश छुवाछूतमुक्त राष्ट्र घोषणा भइसकेको र जातीय भेदभाव विरुद्ध संविधान र ऐनकानुनमा समेत उल्लेखनीय व्यवस्था भइसकेको अवस्थामा यस्तो घटना घट्नु दुःखद छ । हामी मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको उपचारको व्यवस्था गर्दै घटनाको निस्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग गर्दछौँ ।

५. भारतबाट नेपालीहरू घर फर्कने क्रममा कतिपय स्थानमा दुर्घटना भएका छन् । हामी दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली, सन्तप्त परिवारप्रति समवेदना र घाइतेको उपचार गर्न माग गर्दछौँ । त्यसका साथै उनीहरूको सुरक्षित नेपाल फिर्ताको व्यवस्था मिलाउन आवश्यक पहलकदमी गर्न पनि माग गर्दछौँ । एवम् प्रकारले भारतस्थित नेपालीहरू नेपाल फर्कने क्रममा बाटैमा बिरामी पर्ने, भारत वा नेपालका क्वारेन्टाइनको गुणस्तर कमजोर भएकाले थप बिरामी हुने र टेस्टको सर्वसुलभ व्यवस्था नभएकोप्रति पनि आवश्यक ध्यान दिन नेपाल र भारतका सरकारसित आग्रह गर्दछौँ ।

६. अहिले सम्पूर्ण विश्व कोरोना भाइरसको महामारीमा छ । यस्तो अवस्थामा उच्च मनोबल कायम राख्दै लकडाउन कार्यान्वयन गर्न तथा आवश्यक सतर्कता र सरसफाइप्रति उचित ध्यान दिन विश्वभरिका नेपालीसित आग्रह गर्दछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *