अन्यायका प्रतिवेदन गलैँचा मुनि छोपिन्छन्ः केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय व्यवस्थाबाट जनताको मुक्ति सम्भव नभएको बताउनुभएको छ ।

रुकुम पश्चिममा जातीय बिभेदका कारण भएको सोती नरसंहार विरुद्ध बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले संसदीय व्यवस्थाले आर्थिक, राजनीतिक, सामाजिक रुपमा दबिएको वर्गको हित गर्न नसक्ने बताउनुभयो । उहाँले नयाँ जनवादी व्यवस्थामा मात्रै गरिखाने वर्ग र उत्पीडित समुदायले वास्तविक न्याय पाउने बताउनुभयो ।

उत्पीडित वर्गले आफैँ आन्दोलनको नेतृत्व नगरेसम्म जातीय मुक्ति सम्भव नहुने भन्दै केसीले संसदीय व्यवस्थाले उच्च ठालु वर्गको प्रतिनिधित्व गर्ने स्पष्ट पार्नुभयो । अन्याय अत्याचारविरुद्ध जतिसुकै अध्ययन प्रतिवेदन बने पनि ति गलैँचा मुमि छोपिने केसीको भनाई थियो ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौंको आयोजनामा माइतीघर मण्डलामा भएको धर्ना तथा बिरोध कार्यक्रममा अध्यक्ष केसीले आन्दोलनमा राष्ट्रिय जनमोर्चाको साथ र समर्थन रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री एनपी साउद, त्रिवि मानव शास्त्रका केन्द्रीय विभाग प्रमुख डा. डम्बर चोम्जोङ, अधिकारकर्मी प्रकाश चन्द परियार, वैज्ञानीक समाजवादी कम्युनिष्ट पार्टि नेपालका धनकुमारी सुनार लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।कार्यक्रमको अध्यक्षता जातीय समता समाजका प्रतिनीधि भक्तबहादुर विकले गर्नुभएको थियो ।

यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा भएको जातीय हिंसाको घटनामा ६ जना युवाले ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार