अपर कर्णाली हाम्रो क्षमताभित्रको योजना हो : पौडेल

  •   
  •  
  •  
  •  
  •  
  •  

15133 जनाले पढ्नु भयो ।

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले अपर कर्णाली परियोजना स्वदेशी क्षमताभित्रको योजना बताउनुभएको छ । राष्ट्रिय जनमोर्चासहित १३ पार्टी तथा सङ्घसंस्थाको आयोजनामा २०७७ साउन १८ गते आयोजित अन्तरक्रियामा कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

अपर कर्णाली जलविद्युत परियोजनामा जिएमआरको म्याद एक वर्षअघि नै समाप्त भएको प्रसङ्गबारे मन्तव्य राख्दै सांसद पौडेलले भन्नुभयो– ‘अपर कर्णालीका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था नै थिएन ।’ स्वदेशी लगानीबाट नै अपर कर्णालीजस्ता परियोजना सम्पन्न सकिने आत्मविश्वासका साथ उहाँले भन्नुभयो– ‘अपर कर्णाली हाम्रो क्षमताभित्रको कुरा हो, त्यसका लागि विदेशीका सामु हात फैलाउनुपर्ने आवश्यकता हिजो पनि थिएन र आज पनि छैन ।’ उहाँले सरकारले नागरिक सेयर आह्वान गरेमा लगानीको समस्या नरहने उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले आफूहरूले अपर कर्णाली परियोजनाप्रतिको असहमति विरोधका लागि विरोध मात्रै नभएको बताउनुभयो । ‘कुनै पनि परियोजना सम्पन्न गर्दा राष्ट्रहितलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ’ प्रवक्ता पुरीले भन्नुभयो– ‘माफिया र भ्रष्टलाई पोस्नका लागि कुनै योजना अगाडि सारिनु हुन्न ।’ उहाँले पनि अपर कर्णाली परियोजना नेपाली जनता आफैले बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले देशमा राष्ट्रहितको पक्षमा सामूहिक रूपमा संवाद गर्नुपर्दछ भन्ने जागरण आएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणसम्बन्धी राष्ट्रिय नीति बनाउन सरकारसित आग्रहसमेत गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव लोकनारायण सुवेदीले शासक वर्गमा कुरा आत्मनिर्भरताको गर्ने, तर काम परनिर्भरताको गर्ने प्रवृत्ति रहेको बताउनुभयो ।

राष्ट्रिय जागरण परिषदका संयोजक गुणराज लोहनीले २०० मेगावाट विद्युतको अभावमा अहिलेसम्म नेपालमा मल कारखाना खोल्न नसकिएको बताउँदै यस्तो देशबाट तत्कालै विद्युत निर्यातको आशा राख्नु व्यर्थ रहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देशमा शासकसित शासन गर्ने तरिका नभएको र प्रतिपक्षीमा खरबदारी गर्ने चरित्र नभएको बताउँदै देशभक्तिको मार्गमा आइपरेका कठिनाइँ भोग्न तयार रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा जलश्रोतविद तथा विज्ञहरू दीपक ज्ञवाली र रतन भण्डारीले सम्बोधन गर्दै जिएमआरको खराब रेकर्ड, विद्युत निर्यातको व्यर्थको सपनाबारे देशलाई सजग गराउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा पूर्व उद्योगमन्त्री कर्ण थापा, जनसमाजवादी पार्टीका डम्बरविक्रम कार्की र नेकपा (माओवादी–केन्द्र) का गोपाल किराँतीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरत शाहीले “सरकार, माथिल्लो कर्णाली जिएमआरसँगको सम्झौता खारेज भएको घोषणा गर !” शीर्षकको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन दीपकबहादुर शाहीले गर्नुभएको थियो ।

कार्यक्रमको आयोजक नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जागरण मञ्च, नेकपा, नेकपा (माओवादी–केन्द्र), जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), पुष्पलाल अध्ययन समाज काठमाडौँ, राष्ट्रिय जागरण परिषद् र माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *