अब उपत्यकाका सबै सरकारी अस्पताल कोरोना विशेष अस्पताल

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरूलाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालीन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सबै सरकारी अस्पताललाई कोभिड विशेष अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो ।

अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा संक्रमित विरामीलाई आईसीयू बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने डा. गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो ।

कोभिड अस्पतालका रुपमा सेवा दिने सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवा विभागले आईसीयू, भेन्टिलेटर र अक्सिजन लगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।

यसैगरी अस्पतालहरूले विभिन्न होटलहरूसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ । मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरूले होटलहरूलाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्न पाउनेछन् । यद्यपि त्यहाँ संक्रमित बाहेकका अन्य सर्वसाधारण राख्न भने पाइने छैन ।

यस्तै, कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार