अब घरबाटै पिसिआर परीक्षण हुने

काठमाडौँ । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो ।

जनस्वास्थ्य प्रयोगशालाले घरमै पिसिआर गर्न “घरमै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड–२०७८” ल्याएको छ ।

कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पिसिआर परीक्षणका लागि स्वाब दिन सक्ने व्यवस्था गरिएको हो । यसअघि पिसिआर परीक्षणका लागि प्रयोशगाला वा अस्पताल जानुपर्ने थियो ।

जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले मापदण्ड लागु गरेपछि अब कोही पनि व्यक्तिले पिसिआर परीक्षणका लागि घरमा नै स्वास्थ्यकर्मी बोलाउन सक्ने बताउनुभयो । उहाँले बिरामी भएको वा सङ्क्रमण लक्षण देखिएका व्यक्तिलाई प्रयोगशालाबाट खट्ने स्वास्थ्यकर्मीले घरमै आएर पिसिआरका लागि नमूना सङ्कलन गर्ने जनाउनुभयो । उहाँले यसरी घरमा नै बोलाएर पिसिआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त रु. ५०० लाग्ने बताउनुभयो ।

अहिले सरकारी प्रयोगशालामा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई निःशुल्क र आफूखुसी पिसिआर गराउनेलाई रु. एक हजार तथा निजी प्रयोगशालाले रु. दुई हजार लिने गरेका छन् । मापदण्डमा बिरामीले इच्छाएको अवस्थामा कोभिड–१९ पिसिआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट खटिएका स्वास्थ्यकर्मीबाट बिरामीको घरबाटै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्ने उल्लेख गरिएको छ ।

घरमा गएर स्वाब सङ्कलन गराउने सेवाग्राहीको विवरणसँगै स्वास्थ्यकर्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना सङ्कलन भएको स्थान र समय खुल्ने गरी विवरण फारममा भर्नुपर्ने हुन्छ । अहिले देशभरि सरकारी र निजी गरी ९० प्रयोगशालाले पिसिआर परीक्षण गर्ने अनुमति पाएका छन् । ती प्रयोशगालाले अहिले दैनिक करिब २० हजार पिसिआर परीक्षण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार