अलविदा क. रुक बहादुर केसी दाई

193 जनाले पढ्नु भयो ।

  • धनवीर पुन मगर

२१ अप्रेलका दिन बिहानै मूल प्रवाहका केन्द्रीय एवं दक्षिण क्षेत्रीय समितिका सचिव जनकराज पौडेलले रुकबहादुर केसी जीको निधन भएको खबर फोनमार्फत दिनुभएको थियो । मलाई विश्वास नै लागेन, किनकी हिंजो मात्रै आफैले फोन गरेर हालचाल लिएको थिएँ । आत्तिदै फेसबुक हेर्दा जताततै “हार्दिक श्रद्धान्जलीले क. रुक बहादुर केसी” भन्दै सर्वत्र फेसबुक वाल सरंगाइएको थियो ।

जताततैबाट साथीहरुले घटनाको सत्यताबारे जानकारी लिन खोज्नु भयो तर परिवारका सदस्यहरुको सम्पर्कमा पुग्न करिब १ घण्टा लाग्यो । केन्द्रीय सदस्य गिरीराज परियारले परिवारको सम्पर्क नम्बर उपलब्ध गराएपछि मात्रै घटनाको सत्यता पुष्टि भयो । तर कतिपय घटना विश्वास लाग्दो रहेनछ । आज पनि वहाँसँग भएका विभिन्न अन्तरंग विषयमा भएका कुराहरुको संझना ताजै छन् ।

१७ अप्रेलका दिन फेसबुक म्यासेन्जरमा “सर मलाई कोरोना भयो” भन्ने लेखेर पठाउनु भएको थियो । त्यसको लगत्तै मैले रुक बहादुर दाईलाई फोन गरेर वहाँको हालचाल बुझेको थिएँ । वहाँले आफ्नो स्वास्थ्य अवस्था ठिकठाक भएको बताउनुभएको थियो ।

मैले वहाँलाई हरेक दिन जसो सम्पर्क गर्दै आएको थिएँ । १९ अप्रेलका दिन फोन गर्दा “सर म ठिकै छु, चिन्ता नमान्नु होला” भन्नु भएको थियो । २० अप्रेलका दिन विहान ठिक ११ः०९ बजे मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले फोन गर्दा “अलिक कम्जोरी भएको महशुस भएको छ, औषधी लिन जाँदैछु” भन्नु भएको थियो ।

तर दिनको १२ः०० बजेदेखि नै वहाँको स्वास्थ्यमा समस्या आएछ । छोरा विनोद र छोरी आशाले वहाँलाई दिउँसो ४ बजे स्थानीय ‘संयुक्त जिल्ला चिकिल्सालय बलरामपुर’ मा भर्ना गराएका रहेछन् । तर साँझ ८ः०० बजेदेखि वहाँको मोबाइल स्वीच अफ भए पछि आफूहरुलाई शंका लागेको छोरी आशा केसीले बताइन् । स्थानीय मिडियाकर्मीहरु र प्रशासनको रोहबरमा आईसियुमा पुग्दा आफूहरुले वहाँको मृत शरिर पाएको छोरीले बताइन् । घटना बारे छोरी आशाले दिएको कारुणीक रिपोर्टले म भावविवल्भ भएँ । “छोरी नआत्तिनु” मात्रै भनेर फोन काटें । छोरी आशाको कारुणीक शब्दहरुले छाती पोल्यो, आँखा रसाए, वक्य खुलेनन्, स्तब्ध भएँ । साहेद वहाँ र मेरो बीचमा भएको वर्ग संघर्षप्रतिको विश्वास, राजनीति विचार र एकताप्रतिको अघात विश्वासले नै होला । वहाँलाई मैले ‘दाई’ भन्ने गर्दथ्यें र वहाँले मलाई भाई । वहाँ र मेरो बीचमा संगठनको बिषयमा लगातार छलफल हुन्थ्ये ।

मिलनसार, प्रष्टवक्ता, जुझारू र कर्मठ, सहयोगी भावना तथा संगठनप्रति अत्यन्तै जुझारु हुनुका साथै संगठनलाई अनुशासित रुपमा अगाडि बढाउन सबै खाले मान्छेहरुसँग जुध्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो । कुनै एउटा बैठक सम्पन्न भएपछि वहाँले मलाई संझाउँदै भन्नुभएको थियो– “भाई ! तपाई जे हो-त्यही र प्रष्ट बोल्नु हुन्छ । यसले तपाईलाई थुप्रै मानिसहरुले आलोचना गरिरहेका छन् । तर प्रष्ट बोल्नु जुर्म होइन, यो स्प्रिड नछोड्नु होला ।….” वहाँले मलाई व्यक्तिगत रुपमा दिनुभएको शिक्षा मेरो जीवनभरि नै यथावत रहने छ ।

हाल वहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो । त्यसका साथै गतपटक सम्पन्न बैठकबाट वहाँलाई अरु धेरै जिम्मा थपिएको थियो, जो यहाँ प्रष्टपार्नु पर्ने आवश्यक देखिंदैन । वहाँको दुःखद निधनले संगठनलाई अपूरणीय क्षति पुगेको छ । वहाँको निधनप्रति भावपूर्ण हार्दिक श्रद्धान्जली साथै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।

२०२३ साल कार्तिक २३ गते बुबा शिबलाल खत्री र माता हुमादेवी खत्रीको कोखबाट साविक गोठिबाङ गाविस ५, हालको स्वर्गद्वारी नगरपालिका ४ जन्मनु भएका रुकबहादुर केसी पाँच भाई एक बहिनी मध्यको जेष्ठ सन्तान हुनुहुन्थ्यो । सन १९९९ सितम्बरमा चण्डीगढमा सम्पन्न अखिल भारत बामपन्थी युवा मोर्चाको सम्मेलनमा भेट भएका थियौं । त्यतिवेला वहाँ दक्षिण भारतदेखि प्रतिनिधि र म पश्चिम भारतबाट पर्यवेक्षकको रुपमा उपस्थित भएको थिएँ । त्यतीवेला नै उहाँसँग मेरो चिनाजानी भएको थियो । चण्डीगढमा वहाँ प्रष्ट वक्ताको रुपमा प्रस्तुत भएको देख्दा मनैदेखि आक्रर्षित भएको थिएँ ।

बुबा शिबलाल खत्रीको ईण्डिया बैंक चेन्नईमा चौकीदारी नोकरी गर्दागर्दै मृत्यु भएपछि उक्त बैंकमा “अफिस बोय” को रुपमा भर्ना हुनुभएको थियो । उहाँको मेहनत र कामप्रतिको लगावले सोही बैंकमा हाल उत्तर प्रदेशको सिद्धार्थ नगरस्थित इण्डियन बैंकमा ब्रान्च प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । अफ्सोच आज उहाँ हामी बीच रहनु भएन, छ त केवल वहाँले दिएको अनुशासित, सिद्धान्तनिष्ठ, इमान्दार, स्पष्ट वक्ताको रुपमा आफूलाई प्रष्ट पार्नुपर्ने शिक्षा ।

वहाँले श्रीमती केशरीदेवी खत्री, दुई छोरीहरु हरिकला जिएम, आशा केसी र छोरा विनोद केसीलाई संझनाको चिनो हामीलाई छाडेर जानुभएको छ । छोरी आशा केसीले यतिवेला पिएचडी सोध गर्दैछिन् भने छोरा विनोदले ११ कक्षामा अध्ययनरत छन् । त्यस्तै बहिनी राधा खड्का, माइलो भाई बालाराम खत्री, साइलो भाई प्रेम खत्री, काँइलो भाई मधु खत्री र कान्छो भाई खगेश्वर खत्री हुनुहुन्छ ।

रुकबहादुर दाई अनुशाशित र मर्यादित रुपमा हजुरले मुक्ति र परिवर्तनको बाटोमा सधैं डटेर लड्ने तपाईको सपना अधुरो रहन दिनेछैनौं । यदि हामीले त्यसो नगरेर मुक्तिको बाटो प्राप्त गर्ने नाममा वर्गसंघर्ष र जनवादी केन्द्रीयतालाई नै तिलान्जली दिदै प्रतिशोधको भावनाले ग्रसित भयौं भने तपाईले हामीलाई दिएको शिक्षाप्रतिको गद्दारी हुनेछ ।

अलविदा क. रुकबहादुर केसी दाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *