अलौकिक शक्तिको भ्रमबाट महिलाहरु मुक्त हुनुपर्छ : पुन

नयाँ दिल्ली, ३० अगस्त । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले महिलाहरू अलौकिक शक्तिमा विश्वास गर्ने भ्रमबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजअन्तर्गत रहेको केन्द्रीय महिला विभागको आयोजनामा २०७८ भदौ १४ गते आयोजित “हरितालिका तिज : महिला सशक्तीकरणको सम्भावना” शीर्षकको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै उहाँले अलौकिक शक्तिमाथि विश्वास गरेका कारण पनि महिलाहरूले उन्नति हुन नसकेको बताउनुभयो । ‘नेपाली महिलाहरू विकसित देशमा पुगेर पनि अगाडि बढ्न सक्दैनन्’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसका पछाडिको एउटा कारण उनीहरू अलौकिक शक्तिजस्तै आदर्शवादी धारणामा विश्वास गर्नु हो ।’

अर्कोतर्फ उहाँले समाजको उत्पादनका साधन विकसित नभए महिलाहरू एक्लै अघि बढ्न नसक्ने बताउनुभयो । ‘जुन देशको उत्पादन पद्धति पिछडिएको छ, त्यहाँका महिलाहरू स्वतः पछि परेका हुन्छन्’ उहाँले भन्नुभयो ।

पछिल्लो समयमा नेपालमा महिलाहरू राज्यको उच्च पदमा पुग्नुलाई उहाँले सकारात्मक रूपमा लिनुभयो । राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीशमा महिला पुग्नु सकारात्मक परिघटना भएको बताउँदै उहाँले भन्नुभयो– ‘तर सर्वसाधारण महिला अझै पनि अघि बढ्न सकेका छैनन् ।’ उहाँले त्यसका लागि महिलाहरूलाई सचेत र सङ्गठित बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले तिजपर्वमा महिलाहरूले गीतसङ्गीतबाट आफ्ना पिर, वेदना पोख्न पाउनु सकारात्मक भएको बताउनुभयो ।

अर्कातिर, उहाँले महिला एक्लैले सङ्घर्ष गरेर आमूल परिवर्तन आउन नसक्ने बताउँदै भन्नुभयो– ‘उत्पीडित वर्गका महिला र पुरुष काँधमा काँध मिलाएर सङ्घर्ष गरेपछि मात्र समाजमा आमूल परिवर्तन हुन सक्छ ।’

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले महिलाले आफू बसेको ठाउँबाट मुक्ति–आन्दोलनमा निरन्तर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापाले तिजमा महिलाले गाउने गीतसङ्गीतमा बुर्जुवा विचार विद्यमान रहेकाले त्यसको चिरफार गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशकी राजमो सांसद तारा जिसीले नयाँ संविधानमा महिलाको पक्षमा थुप्रै सकारात्मक प्रावधान भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा “बर्मा गए कर्मसँगै” भनेजस्तो भएको बताउनुभयो ।

मूल प्रवाहका महासचिव ठाकुर खनालले तिजमा दर खाने नाममा गहनाको प्रदर्शन गर्ने विकृति फैलिएको बताउँदै त्यस्तो संस्कृतिको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

विभागका संयोजक फूलविना पौडेलको अध्यक्षता र शुष्मा खड्काको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा मूल प्रवाह केन्द्रीय समितिका विभिन्न पदाधिकारी, सदस्य, वैकल्पिक सदस्य एवं सल्लाहकारहरु सम्पूर्णलाई आ–आफ्नो स्थानमा अतिथि आसनग्रहण गराइएको थियो ।

ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि मूल प्रवाहका केन्द्रीय सदस्य भगवती कुँवरले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार