अहिलेको लडाईं संविधान मास्ने र जोगाउनेबीचको हो : मनोज भट्ट

काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले २०७२ सालको संविधान मास्न प्रतिगामी कोणबाट आक्रमण भइरहेको बताउनुभएको छ । सिमित अधिकार स्थापित भए पनि संविधान जोगाउनु पर्ने आवश्यकतामा महासचिव भट्टले जोड दिनुभयो ।

अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला) ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा भट्टले यो भन्दा उन्नत र अधिकार सम्पन्न संविधानका लागि लडाईं निरन्तर रहने बताउनुभयो ।

‘तर प्रतिगामी कोणबाट संविधानमाथि हुने आक्रमणविद्ध उभिनुपर्ने आवश्यकता छ । जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धि गुम्न दिनु हुँदैन’ भट्टले भन्नुभयो, ‘राजावादी, निरंकुशताका पक्षपाती तथा विदेशी साम्राज्यवादीहरु यो संविधानलाई मासेर प्रतिगामी तथा राष्ट्रघाती उद्धेश्य पुरा गर्न चाहन्छन।’

महासचिव भट्टले क्रान्तिकारी शक्तिहरु अहिले रक्षात्मक रहेको र उनीहरूले आफ्नो खालको संविधान संशोधन वा निर्माण गर्न सक्ने अवस्था अहिले नरहेको बताउनु भयो । यदी आफूहरुको निर्णायक भूमिका हुने अवस्था आएमा वर्तमान संविधानलाई काखी च्यापिरहन आवश्यक नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।

२०४६ सालमा बहुदलवादी राजनीतिक दलहरूले तत्कालिन संविधानलाई निष्क्रिय पारेको र २०५८/५९ सालमा माओवादीलाई विश्वासमा नलिइकन संसदीय निर्वाचन सम्भव नभएको स्मरण गर्दै नेता भट्टले ति दुवै अवस्था केही हदसम्म अग्रगामी रहेको बताउनुभयो । उहाँले अहिले संवैधानिक अधिकार रक्षा गर्न चाहने शक्ति र त्यसलाई उल्टाउन चाहनेको बिचमा संघर्ष भइरहेको भन्दै यो लडाईंमा आफूहरु सिमित अधिकार रक्षाको पक्षमा उभिने र अग्रगमनतर्फ अघि बढ्ने बताउन्भयो ।

कार्यक्रममा प्रमुख आतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समसामयिक राजनीतिबारे प्रशिक्षण दिनुभएको थियो । यस्तै, राजमोका उपाध्यक्ष जनकराज शर्मा र कानुन व्यवसायी संघका अध्यक्ष पदम रोकाले राजनैतिक, संवैधानिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार