अहिले ओलीलाई काँधमा बोक्नेहरुको अवस्था पूर्वपञ्चको जस्तो हुने छ : सिंह

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह केही दिनदेखि अस्वस्थ भएर स्वास्थ्यलाभ गरिरहनुभएको छ । उहाँ हिजो (जेठ ६ गते) मात्रै अस्पतालबाट डिस्चार्ज भएर घरमा जानुभएको छ । सिंह पूर्णरुपमा स्वस्थ हुन अझै केही समय लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यति बेला देशको राजनीतिमा केही नाटकीय घटनाहरु भएका छन् । गण्डकी प्रदेश सरकारविरुद्ध अविस्वासको प्रस्तावप्रति समर्थन गरेको राष्ट्रिय जनमोर्चाकै सांसदले पार्टी ह्वीप उल्लंघन गरे, जसले राष्ट्रिय राजनीति नै तरंगित बन्न पुग्यो । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि संसदमा ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्री बनेका थिए । एक महिनाभित्र संसबाट पुनः विश्वासको मत लिनुपर्नेमा सरकारको सिफारिसमा हिजो (बिहीबार) अचानक राष्ट्रपतिले २१ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरुलाई आव्हान गरेकी छन्, जसको समयसिमा आज अपरान्ह ५ बजे सकिँदैछ । अर्कोतर्फ देश कोरोना संक्रमणका कारण आक्रान्त छ । जनताको स्वास्थ्य र जीवन रक्षामा ध्यान दिनुपर्ने यस्तो अवस्थामा अस्थिर राजनीतिका कारण जनता चिन्तित र अन्यौलग्रत छ ।

सिंहले अस्वस्थताका बाबजुद युगदर्शनका सम्पादक विद्यानाथ अधिकारीसँग समसामयिक विषयमा संछिप्त कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, उहाँको स्वास्थ्य अवस्थासँगै गण्डकी प्रदेशमा राजमोका सांसदले गरेको अनुशासनहीनताको असर, तात्कालिन राष्ट्रिय राजनीतिबारे नेकपा (मसाल) को धारणा र अबको राजनीतिक सम्भावनालगायतका विषयमा महामन्त्री सिंहसँग गरिएको कुराकानी ।

  • अहिले यहाँको स्वास्थ्य अवस्था कस्तो छ ?

स्वास्थ्यको अवस्था धेरै नै सुधारोन्मुख छ । अझै पोजिटिभ छ र नेगिटिभ आउन केही दिन लाग्ने छ भन्ने चिकित्सकहरूको मत छ । तर अक्सिजन, ज्वरो, प्रेसर र निमोनिया समेत सामान्य अवस्थामा छन् । केही हप्ताको आराम र उपचारपछि पूरै सञ्चो हुनेछ भन्ने मैले विश्वास गरेको छु । ह्याम्स अस्पतालमा डाक्टर र नर्सहरू उपचार, सबै साथीभाइ, इष्टमित्र, पार्टीका सदस्य, समर्थकहरूको सहयोग, सुभचिन्तकहरूद्वारा स्वास्थ्यको शुभकामना, परिवारजनबाट सेवा र रेखदेखको कारणले मेरो स्वास्थ्यमा सुधार भएको छ । मैले उहाँहरू सबैप्रति धन्यवाद र आभार प्रकट गर्न चाहान्छु । स्वास्थ्यमा भएको सुधारले देश र जनता तथा पार्टी र क्रान्तिको लागि अरू लामो समयसम्म सेवा गर्न म समर्थ हुनेछु भन्ने कुराको मैले आशा र विश्वास गरेको छु ।

  • पार्टी काममा सक्रिय भइरहेको अवस्थामा कोरोना संक्रमणबाट पीडित हुनुभयो, कोरोना भाइरसबाट जनता आक्रान्त छन् । यहाँको पार्टीका धेरै नेता कार्यकर्तासमेत संक्रमित भएको खबर आइरहेका छन् । यो अवस्थामा पार्टीले आफ्ना गतिबिधि कसरी अगाडि बढाउँछ ?

कोरोनाका कारणले देशव्यापी रुपमा भएको संक्रमणको कारणले देशमा स्वास्थ्य सम्बन्धी मात्र होइन, गम्भीर राजनैतिक स्थिति पनि उत्पन्न भएको छ । त्यो स्थितिमा देश र जनता तथा पार्टी र क्रान्तिप्रतिका जुन जिम्मेवारीहरू पूरा गर्न धेरै नै मुस्किल पर्नेछ । तैपनि यो स्थितिमा पनि हामीले सबै सम्भव तरिकाले आफ्ना जिम्मेवारीहरू पूरा गर्न प्रयत्न गर्दै जानेछौँ । अन्तमा जनता र भविष्यप्रति हामीलाई अगाध विश्वास छ । त्यो विश्वासले नै हामीलाई सबै प्रतिकुल परिस्थितिको सामना गर्दै अगाडि बढ्न मद्दत पु¥याउनेछ ।

  • देशको अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

वास्तवमा ओली सरकारको नीति र कायशैलीका कारणले देश संवैधानिक र राजनैतिक दुवै प्रकारले गम्भीर सङ्कटको मुखमा उभिएको छ । ओलीले वास्तवमा अत्यन्त अपरिपक्व, अदूरदर्शी, गलत र खतरापूर्ण नीति अपनाइरहेका छन् । त्यसबाट देशमा लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतमा गम्भीर आँच पुग्ने सम्भावना बढ्दै गइरहेको छ । उनले व्यक्ति, पद र महत्वकाङ्क्षा पूरा गर्नका लागि त्यस प्रकारको खेल खेलिरहेका छन् । तर उनले जुन कार्यविधि अपनाएका छन्, त्यो स्वयम् उनका लागि पनि आत्मघाती हुने कुरा निश्चित छ । उनको अहिलेको मुख्य जोड मध्यावधि चुनावतिर नै छ । तर त्यो चुनावको बन्दुक पनि उल्टो पड्कने नै धेरै सम्भावना छ ।

विदेशी साम्राज्यवादी शक्तिहरू र देशभित्रका प्रतिगामी शक्तिहरूको लागि अहिले वामपन्थी शक्तिहरूको वर्चस्व भएको संसद ठूलो बाधा बनेर उभिएको छ र त्यसलाई ध्वस्त गर्न योजनावद्ध प्रकारले षड्यन्त्र गरिरहेका छन् । त्यो उद्देश्य पूरा गर्न उनीहरूले ओली सरकारलाई आफ्नो हतियार बनाएका छन् । त्यस प्रकारको पृष्ठभूमिमा हाम्रो जोड वामपन्थीहरूको अत्यधिक बहुमत भएको सरकार बन्नुपर्छ भन्ने कुरातर्फ नै छ । तर त्यसको लागि ओली नै सबैभन्दा ठूलो बाधा बनेर उभिएका छन् । हाम्रो पहिलेदेखि नै यो कुरामा जोड थियो र अहिले पनि पुनः त्यो कुरामा जोड दिन्छौँ कि ओलीलाई हटाएर पूर्वनेकपाका अहिले विभाजित विभिन्न समूहहरूका बिचमा एकता वा तत्काल त्यो सम्भव नभए संयुक्त मोर्चा बनाएर भएपनि वामपन्थी सरकारको गठन हुनुपर्छ । तत्कालका लागि त्यही नै सबैभन्दा उपयुक्त निकास हो भन्ने हाम्रो पार्टीको ठहर छ । अन्यथा देश एकपछि अर्काे गर्दै अरु गम्भीर सङ्कटमा फस्दै जानेछ र त्यसका दूरगामी प्रकारका दुष्परिणामहरू हुनेछन् ।

  • गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाकै सांसदले पार्टी ह्वीप उल्लङ्घन गरे । पार्टी निर्देशन उल्लङ्घन गर्ने सांसदलाई कस्तो खालको कारवाही हुन्छ ?

हाम्रो पार्टीको इतिहासमा त्यस प्रकारका घटनाहरू डा. केशरजङ्ग रायमाझीका समयदेखि नै हुँदै आएका छन्, जो आफ्नो महत्वकाङ्क्षा पूरा गर्नका लागि राजासित मिल्न गएका थिए । पञ्चायती कालमा पनि ठूलो सङ्ख्यामा हाम्रो पार्टीका केन्द्रीय नेता र कार्यकर्ताहरूले डा. रायमाझीको बाटोको अनुशरण गरिरहेका थिए । पछि पनि एक वा अर्काे रूपमा त्यस प्रकारका घटनाहरूको बारम्बार पुनरावृत्ति हुने गरेको छ । त्यस प्रकारका नीतिहरूबाट पार्टीलाई धेरै नै क्षति पुग्ने गरेको छ । त्यसको एउटा रूप अहिले गण्डकीमा पनि देखा परेको छ । तर त्यो कम्युनिस्ट आन्दोलनमा देखा परेको गण्डकीको मात्र समस्या होइन ।

अन्तर्राष्ट्रिय र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि त्यस प्रकारका प्रवृत्ति र समस्याहरू बारम्बार देखा पर्ने गरेका छन् । माक्र्सवादी–लेनिनवादीहरूले तिनीहरूका विरुद्ध लगातार सङ्घर्ष गर्दै आएका छन् । यो लगातार चल्ने सङ्घर्षको प्रक्रिया हो । गण्डकीमा देखा परेको समस्यालाई पनि हामीले वैचारिक र सङ्गठनात्मक दुवै प्रकारले हल गर्ने तथा क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गर्नेछौँ । त्यो क्रममा हाम्रा कारवाहीका रूपहरु के के हुनेछन् ? पार्टीभित्र छलफल भएर निर्णय हुँदै जानेछ । हाम्रा इमान्दार, सचेत र अनुशासित कार्यकर्ताहरूको बलमा हामी त्यस प्रकारको स्थितिबाट माथि उठ्न सफल हुनेछौँ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

  • बागलुङमा स्थानीय कार्यकर्ताले कांग्रेस र माओवादीसँग गरिरहेको सङ्घर्षप्रति पार्टी केन्द्रले नजरअन्दाज गरेर कांग्रेसलाई नै मुख्यमन्त्री बनाउन लागि पर्‍यो भन्ने आरोप छ नि ?

गत कालमा हामीले कांग्रेस मात्र होइन माओवादीहरूसित पनि लामो सङ्घर्ष गर्दै आएका छौँ । स्वयम् बाग्लुङमा पनि एमाले र माओवादीसित हामीले लामो र कडा सङ्घर्ष गर्नु परेको छ । देशका अन्य भागहरूमा पनि हामीले उनीहरूसित धेरै कडा सङ्घर्ष गर्दै आउनु परेको छ, जुन सङ्घर्षको क्रममा हाम्रा धेरै साथीहरूको अपहरण, हत्या र सर्वस्व समेत हुने गरेको छ । तर ती सबै कुराहरूका बावजुद हामीले उनीहरूसित बारम्बार कार्यगत एकता वा सहकार्य पनि गर्दै आएका छौँ । त्यही कुरा नेकाका सन्दर्भमा पनि सत्य हो । त्योसित हाम्रो सङ्घर्षको लामो इतिहास छ । तर फेरि २०३६ साल, २०४६ साल र २०६२/०६३ सालमा समेत हामीले त्योसित कार्यगत एकता र सहकार्य गर्दै आएको इतिहास पनि छ ।

हाम्रो त्यसप्रकारको नीति माओको प्रशिद्ध सिद्धान्त ‘मित्रहरूसित एकता–सङ्घर्ष–एकता’ तथा दुश्मन शक्तिहरूसित ‘सङ्घर्ष–एकता–सङ्घर्ष’माथि आधारित छ । यो हाम्रो संयुक्त मोर्चा वा कार्यगत एकताको माक्र्सवादी–लेनिनवादी नीति हो । त्यही नीति अनुसार नै स्तालिनले द्वितीय विश्वयुद्धको कालमा अमेरिका, फ्रान्स र ब्रिटेन जस्ता साम्राज्यवादी देशहरू तथा माओले च्याङकाईसेकसित समेत संयुक्त मोर्चाको नीति अपनाएका थिए । त्यसो गर्दा देशलाई कुनै मित्र वा दुश्मन शक्तिहरूसितको एकता वा सङ्घर्षलाई एकतर्फी रूपमा समेत लिने सोचाइ अधिभूतवादी हो ।

हामीले कसैप्रति कुनै प्रकारको पूर्वाग्रह राखेर होइन, कुनै खास बेलाको ठोस परिस्थिति विश्लेषण गरेर तथा द्वन्द्वात्मक तरिकाले नै त्यस सम्बन्धी आफ्नो नीति निर्धारित गर्दछौँ । तर अवसरवादीहरूले आफ्ना व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर कसैसित एकतर्फी रुपमा एकता वा सङ्घर्षमा जोड दिन्छन् । वास्तवमा अहिले गण्डकी वा बाग्लुङमा नेकासितका पहिलेका सङ्घर्षका कुराहरू उठाएर त्यहाँको प्रदेश सरकारलाई समर्थन गर्ने जुन विचार देखा परेको छ, त्यो कुनै सैद्धान्तिक सोचाइ नभएर व्यक्तिगत फाइदाका लागि त्यहाँको सरकारलाई समर्थन गर्ने सोचाइ मात्र हो । हामीलाई विश्वास छ त्यस प्रकारको सोचाइले हाम्रा साथीहरूलाई लामो समयसम्म भ्रममा पार्न सक्ने छ्रैन । गण्डकी प्रदेशले पनि ओलीको केन्द्रीय प्रतिगामी नीतिको नै प्रतिनिधित्व गर्छ । त्यसकारण त्यसलाई गर्ने कुनै पनि प्रकारको समर्थन प्रतिगमनलाई नै समर्थन हुनेछ । त्यसैले हामीले स्पष्ट र दृढतापूर्वक गण्डकी प्रदेशको सरकारको विरोध गर्ने नीति अपनाएका छौँ । प्रतिगमनका विरुद्धको सङ्घर्षको क्रममा हामीले इतिहासमा कैयौँपल्ट नेकासित पनि कार्यगत एकता वा सहकार्य गर्ने गरेका छौँ । राजनीतिक परिस्थितिले गण्डकी प्रदेशमा हामीलाई पुनः त्यससित त्यसप्रकारको कार्यगत एकता वा सहकार्यको अवस्थामा पु¥याइदिएको छ । अहिले यो प्रश्न नेकासित भन्दा प्रतिगमनका विरुद्धको सङ्घर्षसित नै बढी सम्बन्धित छ ।

  • प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर चालेको प्रतिगामी कदम सर्वोच्च अदालतले पुनर्वहाली गरेर सच्यायो भन्ने तर्क गरिन्छ, के प्रतिगमन सच्चिएको होइन ?

सर्वोच्च अदालतको फैसलाले ओलीको संसदको विघटन गर्ने प्रतिगामी कदमलाई सच्याइदिएको कुरा सत्य हो । तर ओलीले आफ्नो त्यो प्रतिगामी कदमलाई लगातार निरन्तरता दिने प्रयत्न गर्दै आएका छन् । हिजो जेठ ६ गतेको राष्ट्रपतिको विज्ञप्तीद्वारा पनि उनले पुनः असंवैधानिक तरिकाले त्यही दिशामा कदम चालेका छन् । त्यसरी उनले संसदको विघटन गराएर देशलाई मध्यावधि चुनावमा लैजान चाहान्छन् । आज एकातिर देश कोभिड–१९ र गम्भीर आर्थिक सङ्कटको मुखमा उभिएको छ भने अर्कातिर विदेशी साम्राज्यवादी र देशी प्रतिगामी शक्तिहरूले वर्तमान संसदको विघटन गराएर देशलाई प्रतिगमनको दिशामा लैजान चाहान्छन् । त्यो अवस्थामा ओलीको हिजोको कदमले पनि देशलाई अरू प्रतिगमनतिर लैजान नै थप मदत पु¥याउने छ । जस्तो कि पहिले माथि पनि भनियो, अहिलेको समस्याको समाधान चुनावी सरकार होइन ।

ओली बाहेकको पूर्वनेकपाका सबै विभाजित घटकहरूको वामपन्थी सरकार हो । हामीले त्यस प्रकारको वामपन्थी सरकारको गठनका लागि पूर्वनेकपाका सबै पक्षहरुको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ । अन्यथा जसले अहिले ओलीलाई काँधमा बोकेर हिँडिरहेका छन्, उनीहरूलाई इतिहासले पूर्वपञ्चहरूको अवस्थामा पुर्‍याइदिने छ । अहिले ओलीले यो सपना देखेको पाइन्छ कि चुनावले उनलाई पुनः सत्तामा ल्याउने छ र उनको ठूलो विजय हुनेछ । तर रामबहादुर थापाको पराजयबाट उनले शिक्षा लिनुपर्ने आवश्यक्ता छ कि देश एकपल्ट चुनावमा गयो भने सबै कुराहरू उनका हातमा रहने छैनन् । पहिले पूर्वएमाले र पूर्वमाओवादी तथा अन्य वामपन्थी शक्तिहरू समेतको सहकार्यबाट नै देशमा वामपन्थी शक्तिहरूले चुनावमा अत्याधिक विजय प्राप्त गरेका थिए । तर अहिले नेकपामा विभाजनको अवस्थामा वामपन्थीहरूको शक्ति धेरै कमजोर हुनेछ र प्रतिगामी शक्तिहरूको नै वर्चस्व कायम हुने सम्भावना रहने छ । त्यो स्थिति ओलीका गलत नीतिहरूका कारणले नै उत्पन्न हुनेछ ।

  • नेकपा (मसाल) ले एमालेलाई मित्रशक्ति र कांग्रेसलाई दुश्मन शक्ति मानेको छ, तर एमालेको सरकारलाई हटाउने र कांग्रेस नेतृत्वमा सरकार गठनको पहल गरेर पार्टीले दोहोरो चरित्र देखायो भन्ने छ नि ?

यसबारे हाम्रो पार्टीको पहिलेदेखि नै स्पष्ट नीति रहँदै आएको छ । को मित्र शक्ति हो र को दुश्मन शक्ति हो ? तथा कुन प्रकारको परिस्थितिमा उनीहरूसित कुन प्रकारको एकता वा सङ्घर्षको नीति अपनाउने ? हाम्रो पार्टीको आठौँ महाधिवेशनले त्यसबारे स्पष्ट दिशा निर्देशन दिएको छ । कुनै पक्षसित हामीले स्थायी प्रकारको एकता वा सङघर्षको नीति अपनाउदैनौँ । परिस्थितिमा हुने परिवर्तनको ठोस विश्लेषण गरेर नै हामीले कसैप्रतिका आफ्ना एकता वा सङ्घर्षका नीतिहरू निश्चित गर्दछौँ । त्यो हाम्रा संयुक्त मोर्चा वा कार्यगत एकताको द्वन्द्वात्मक नीति हो । हिजोको परिस्थितिमा हामीले नेकपाको सरकारलाई समर्थन गरेका थियौँ । तर त्यसले प्रतिगमनको बाटो समातेपछि हामीले त्यसका विरुद्ध सङ्घर्षको नीति अपनाएका छौँ । हिजोको अवस्थामा हामीले नेकपाको सरकारको समर्थन गरेको बेलामा कतिपय पक्षहरूले ओली सरकारको समर्थन गरेको भनेर हाम्रो विरोध गरेका थिए ।

तर अहिले ती तत्वहरूले नै हामीले ओली सरकारको विरोध गरेपछि हाम्रो यो नीतिलाई गलत बताउँदै हिडिरहेका छन् । अहिले हामीले ओलीको प्रतिगामी नीतिको पक्षमा गएको हुनाले गण्डकी प्रदेशको सरकारको विरोध गरेका छौँ । तर हामीले त्यो सरकारको समर्थन कायम राखेको भए कतिपय पक्षहरूले हाम्रो त्यो नीतिको पनि विरोध गर्ने कुरा प्रष्ट थियो । त्यसैले के देखिन्छ भने हाम्रो विरोधमा भएका कतिपय तत्वहरूले कुनै नीति वा विश्लेषणका आधारमा होइन, हामीले जे कुराको समर्थन गर्छाैँ, त्यसको विरोध गर्ने गर्दछन् र जे कुराको विरोध गर्दछौँ, त्यसलाई समर्थन गर्ने गर्दछन् । यो अत्यन्त निम्नस्तरको राजनीतिक दिवालियापन र पूर्वाग्रह हो । तर जहाँसम्म हाम्रो सम्बन्ध छ, हामीले सधै सिद्धान्त र नीतिका आधारमा नै आफ्ना नीतिहरू निर्धारण गर्दै आएका छौँ र हाम्रो त्यही प्रकारको गौरवपूर्ण इतिहास रहेको छ ।

  • संसदीय फोहोरी खेलमा राष्ट्रिय जनमोर्चा पनि सामेल भयो, अनुशासित भनिएका मसाल कार्यकर्ता समेत मौका पाउँदा सत्ताको चलखेलमा रमाउने रहेछन् । यसले अरु पार्टी र मसालमा के भिन्नता छ र भन्ने प्रश्न उठ्न थालेको छ । पार्टीमा यो अराजकताको स्थिति कसरी पैदा भयो ?

हामीले पहिले नै त्यो विषयमाथि विस्तृत रुपले प्रकाश हालिसकेका छौँ । हाम्रो पार्टी संसदीय फोहोरी खेलमा सामेल भएको छैन । अहिले पनि त्यसले इमान्दारीता र दृढतापूर्वक आफ्ना नीतिहरूलाई अगाडि बढाउने काम गरिरहेको छ । तर जस्तो कि संसारभरको र नेपालको पनि कम्युनिस्ट आन्दोलनको इतिहासले बताउँदै आएको छ । पार्टीमा गद्यारी, अवसरवाद, पलायन र विभिन्न प्रकारका भड्कावका प्रवृत्तिहरू बारम्बार देखा पर्ने गरेका छन् । अहिले गण्डकी प्रदेशमा त्यस प्रकारका केही प्रवृत्तिहरू देखा परेपनि त्यो पार्टीको मूल प्रवृत्ति होइन । त्यस प्रकारका प्रवृत्तिहरूका विरुद्ध हामीले अहिले पनि लगातार सङ्घर्ष गरिरहेका छौँ र त्यस प्रकारको फोहोरी खेलमा पार्टी नलागेको कुरा दिनको उज्यालो झै छर्लङ्ग छ । केही व्यक्तिहरूले त्यस प्रकारका कतिपय गल्तीहरू गर्न सक्दछन् तर हाम्रो पार्टी आफ्नो नीतिमा स्पष्ट र दृढ छ ।

  • पार्टीले गरेको संसदीय निर्वाचनको उपयोग र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सरकारमा सामेल भएका कारण पार्टी दक्षिणपन्थी भयो भन्ने आरोप पनि छ, त्यसलाई कसरी प्रष्ट पार्नुहुन्छ ?

का. चित्रबहादुर केसी सरकारमा सामेल भएर पार्टीले दक्षिणपन्थी दिशा समातेको भए आज पार्टीले जुन प्रकारको भूमिका खेल्न सकिरहेको छ, त्यो खेल्न सक्ने थिएन । उहाँ पार्टीको नीति अनुसार सरकारमा जानुभयो र पार्टीको नीति अनुसार नै त्यसबाट हट्नु भयो । अहिले पनि उहाँले पार्टीको नीति अनुसार दृढतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरिरहनु भएको छ । त्यही प्रकारले पार्टीलाई लामो समयसम्म संसदीय चुनावको उपयोग गरेको भएपनि त्यसको नीति र विचारमा कुनै विचलन आएको छैन । यदि पार्टी वा का. चित्रबहादुर केसीले दक्षिणपन्थी दिशा समातेको भए अहिले गण्डकी प्रदेशका एकाध सांसदमा जुन अवसरवादी प्रवृत्ति देखा प¥यो, त्यो पार्टीको राष्ट्रिय चरित्र नै बन्ने थियो तर पार्टीले त्यस प्रकारको प्रवृत्तिको सम्झौता गरेको छैन, तर तिनीहरूका विरुद्ध लगातार सङ्घर्ष गरिरहेको छ । त्यसैले हाम्रो पार्टी वा का. चित्रबहादुर केसीमाथिको दक्षिणपन्थीको आरोप निराधार र असत्य भएको कुरा प्रष्ट छ ।

  • सामाजिक सञ्जालमा अहिले अर्को एउटा विषयले पनि ठाउँ पाएको छ । त्यो के भने विगतमा चित्रबहादुर केसीसहित राजमोका तीन जना सांसदले पार्टीको निर्देशनविपरित नागरिकता विधेयकमा हस्ताक्षर गरेका थिए भन्ने छ । त्यो घटनाको वास्तविकता के थियो ?

त्यो बेला नागरिकता विधेयक बारे केही कमजोरी भएको कुरा सत्य हो । त्यसबेलाको नागरिकता विधेयकको विरोध गर्ने निर्णय भएको थियो । त्यसपछि पार्टीको केही काममा म भारततिर गएको थिएँ । त्यही बेला संसदीय समितिमा भएका हाम्रो पार्टीका त्यो बेलामा एक जना जिम्मेवार सांसदले प्रस्तुत नागरिकता विधेयकमा संशोधन गरिएको छ भनेपछि त्यसमाथि विश्वास गरेर नै त्यसलाई समर्थन गर्ने काम भएको थियो भनेर का. चित्रबहादुर केसीलाई रिपोर्ट दिएपछि त्यसलाई समर्थन गर्ने काम गरिएको थियो । म भारतबाट फर्केर आएपछि त्यसबारे पुनरावलोकन गरियो र त्यसरी समर्थन गर्ने कार्यलाई गलत ठहर्‍याइएको थियो । त्यो गल्तीसित का. चित्रबहादुर केसीको प्रत्यक्ष सम्बन्ध नरहेको भएपनि संसदीय दलको नेताको हैसियतले उहाँले त्यसबारे आत्मालोचना गर्नु भएको थियो । पछि उहाँले कैयौँ बैठक र प्रशिक्षण कार्यक्रमहरूमा त्यसबारे प्रकाश हालिसक्नु भएको छ । हाम्रो पार्टीमा कुनै गल्ती गरेपनि त्यसलाई सच्याउने र आत्मालोचना गर्ने बोल्सेभिक अभ्यास रहँदै आएको छ । गतकालमा हामीले त्यस प्रकारका कैयौँ गल्ती र कमजोरीहरू गरेका छौँ र तिनीहरूलाई सच्याउने पनि गरेका छौँ । त्यो विषयलाई अहिले गलत प्रकारले तोडमोड गरेर गण्डकीमा एकाध सांसदले पार्टी निर्देशनको उलङ्घन गरेको कुराको समकक्ष राखेर त्यो कार्यलाई (गण्डकी प्रदेशका सांसदद्वारा अनुशासनको उलङ्घन) सही ठह¥याउने प्रयत्न गरिँदै छ । नागरिकता विधेयकको सन्दर्भमा जुन कमजोरी भएको थियो, त्यो पर्याप्त जानकारीको अभावमा भएको थियो र छिट्टै त्यसलाई आत्मालोचना गरेर सच्याइएको थियो । तर गण्डकी प्रदेशमा सनियत नै पार्टी निर्देशनको उलङ्घन गरिएको थियो । ती दुबै कुरालाई समान कक्षमा राख्न खोज्नु सत्यको तोडमोड र पूर्वाग्रह नै हो ।

  • ओलीको प्रतिगामी कदमलाई रोक्ने नाममा मधेशवादी दलका नेता महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ भन्ने बुझिन्छ । यसले राष्ट्रियतामा कस्तो असर पर्ला ?

मधेशवादीहरूको भारतपरस्त र राष्ट्रघाती नीतिको हामीले लगातार विरोध गर्दै आएका छौँ । महन्थ ठाकुर प्रधानमन्त्री बन्नुको पछाडिको उद्देश्य पनि तराईको विखण्डन गर्नु र नेपालमा भारतीय साम्राज्यवादी नीतिलाई कार्यान्वयन गर्नु नै हो । त्यसैले त्यो कुरा नेपालको लागि ठूलो घातक हुनेछ । वास्तवमा अहिलेको देशको आवश्यकता ओली बाहेकको पूर्व नेकपाका विभाजित घटकहरूको संयुक्त वामपन्थी सरकार नै हो भन्ने हाम्रो पार्टीको स्पष्ट मत छ र हामीले पुनः त्यसैमा जोड दिन्छौँ । निश्चय नै ओलीको प्रतिगामी कदमका विरुद्धको सङ्घर्षमा आवश्यकता अनुसार नेका वा मधेशवादीहरूसित सहकार्य गर्ने कुरामा हाम्रो कुनै मतभेद छैन । तर कुनैपनि प्रकारको राष्ट्रघात वा प्रतिगमनको मूल्यमा त्यस प्रकारको नीतिको हामीले दृढतापूर्वक विरोध गर्नेछौँ ।

  • यदि कांग्रेस–माओवादी–जसपा गठबन्धन नेतृत्वले राष्ट्रहित विपरित काम ग¥यो भने गठबन्धन समर्थक दलको हैसियतले नेकपा (मसाल) को पनि त कमजोरी ठहर्न सक्छ नि ?

माथिको प्रश्नको जवाफमा हामीले त्यो प्रश्नबारे आफ्नो दृष्टिकोण स्पष्ट शब्दमा राखिसकेका छौँ । हामीले ओलीको प्रतिगमनका विरुद्धमा आउने शक्तिहरूको गठबन्धन सरकारलाई समर्थन गर्नेछौँ, तर यो सर्तमा कि त्यसको अर्थ कुनै पनि अवस्थामा राष्ट्रघात र प्रतिगमन नहोस् ।

  • अन्तमा मैले सोध्न छुटेको केही विषय छ कि ?

धेरै विषय आइसकेका छन् । पछि आवश्यकता अनुसार प्रकाश हाल्दै जानेछौँ । धन्यवाद !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार