आँसु, रगत र त्रासको खेति नगरोस प्रेम सम्बन्धले

90 जनाले पढ्नु भयो ।

(सन्दर्भः चौरजहारी सोती घटना)

गिरीप्रसाद बुढा मगर

मलाई लाग्छ छयालीस सत्चालीस साल सम्म हाम्रो गाउँघरतिर छोट्टी बस्न जाने भन्ने चलन थियो । त्यो चलन अनुसार पुरुषहरू आफुले बिवाह गर्न मिल्ने महिलाहरू कहाँ गएर उनीहरूसँग जिस्कने हाँसो मजाक गर्ने, दोहोरी गीत गाउने र कतिपयले अबैध यौवन सम्बन्धहरू समेत कायम राख्ने गरेको पाइन्थ्यो । यसरी विवाह पुर्व यौनसम्बन्ध कायम राखि गर्भ रहन गयो भने त्यसलाई गाउँ समाजमा नामरे बोकेको भन्ने गरिन्थ्यो । यदी त्यस्तो गर्भ अविबाहित पुरुष र महिलाको बीचको यौवन सम्बन्धको बीचबाट रहन गएमा यसैको आधारबाट उनिहरूको एक आपसमा विवाह सम्बन्ध समेत कायम हुन पुग्दथ्यो । यदि त्यस प्रकारको नामरे बच्चा कुनै बिवाहित पुरुषको भएको खण्डमा त्यस्ता महिलालाई कि त कसैको सौता हुनु पर्ने बाध्यता आइपथ्र्याे कि त जीवनभर कलंकीत भएर बस्नु पथ्र्याे ।

यस्तो छोट्टी बस्ने कार्य प्राय मेला लाग्ने स्थानहरूमा, गाई गोठहरूमा, तथा विवाह समारोहहरूमा बढी हुने गर्दथ्यो । यस्ता स्थानहरूमा महिलाहरूले रक्सि लगेर बेच्ने र पुरुषहरू रक्सी किनेर खानलाई त्यस ठाउँमा जाने अनि छोट्टी बस्ने र जुवा तास खेल्ने समेत गर्दथे । यसप्रकारको छोट्टी बस्ने र जुवा तास खेल्ने संस्कार त्यो बेलाको एउटा सामाजिक विकृति थियो । यसखालको विकृतिले समाजमा महिलाहरूमाथि अन्याय पर्न जान्थ्यो र उनीहरूलाई पीडित भएर बाच्नु पर्ने हुन्थ्यो । २०४६/०४७ साल पछि हाम्रो देशमा आएको राजनीतिक परिवर्तनसँगै मानिसहरूको चेतनामा आएको परिवर्तनले यसखालको विकृतिलाई क्रमशः निस्तेज पार्दै लगेको छ ।

हिजो आज हाम्रो समाजमा त्यसबेलाको जस्तो हप्तौ लाग्ने गरेका मेला र पर्वहरू हटेर गएका छन् र ति मेला पर्वहरू विभिन्न संघ संस्था तथा क्लवहरूले आयोजना गर्ने महोत्सव तथा खेलकुद कार्यक्रमहरूमा रुपान्तरित भएका छन् । अब त्यस बेलाको छोट्टे छोट्टी बस्ने चलनले नयाँ रुप धारण गरेको छ जसलाई हामीले हिजोआज केटाकेटी बीचको प्रेम सम्बन्ध भन्ने गर्दछौ । यसप्रकार हिजो आज देखिने केटाकेटी बीचको पे्रम सम्बन्ध वास्तवमा त्यै छोट्टे छुट्टीको विकशित रुप हो भन्दा फरक पर्दैन । यस प्रकारका केटाकेटी बीचको प्रेम सम्बन्धहरू त्यसबेला गाउँ ठाउँमा लाग्ने गरेका मेला तथा गाईगोठहरूबाट शुरु हुन्थे भने हिजो आज यस्ता प्रेम सम्बन्धहरू विभिन्न संघ संस्थाहरूले आयोजना गर्ने मेला महोत्सव र कार्यक्रम स्थलहरूबाट शुरु हुन थालेका छन् । यतिमात्रै होइन हाम्रा बालबच्चाहरू पढ्न जाने स्कुलहरू समेत हिजोआज केटा र केटी बीचको प्रेम सम्बन्ध शुरुहुने स्थलहरू बनिरहेका छन् ।

हिजोका दिनहरूमा चल्ने गरेका छोट्टे छोट्टीको चलन र आजका दिनहरूमा चल्ने गरेका केटा केटी बीचको प्रेम सम्बन्धको चलन रुपमा फरक भएपनि सारमा खासै फरक रहेको छैन । किनकी दुबै चलनले निकाल्ने परिणाम हामीले एउटै पाउन सक्छौ । त्यो हो सामाजिक विकृति । हिजोका दिनहरूमा छोट्टे छोट्टीहरू विज्ञान र प्रविधिको युगवाट कता हो कता ताढा थिए । स्रोत र साधनहरूबाट बञ्चि थिए । उनिहरू कुरा गर्नलाई भौतिक रुपमै भेटघाट हुनुपर्ने हुन्थ्यो । भेटघाट हुनलाई महिनौ पनि लाग्न सक्थ्यो । उनिहरूको प्रेम सम्बन्धहरू केही अपवाद बाहेक प्राकृतिक नै हुने गर्दथ्यो । उनिहरूले आफ्ना प्रेम सम्बन्धहरू लुकाएर लुकाउन सक्दैनथे । सायद आकास जस्तै खुला हुन्थ्यो उनिहरूको प्रेम सम्बन्धहरू । त्यसैले त्यसबेलाका छोट्टे छोट्टी बीच यौवन सम्बन्ध भयो र गर्भ रहन गयो भने समाजले उनिहरूको बीच विवाह सम्बन्ध कायम गरिदिन बाध्य हुन्थ्यो । उनिहरूका अभिवावकले उनिहरूका विवाह गरिदिन्थे । तर आज भोली समय बदलिएको छ । आजभोलीका तरुनी तन्नेरीहरू विज्ञान र प्रविधिको पहुँचमा छन् ।

चाहेको खण्डमा उनिहरू चौविसै घण्टा भेटघाट र कुराकानीमा रहन सक्छन् । क्षण भरमै एकले अर्कालाई प्रेम गर्न सक्छन्, क्षणभरमै एकले अर्कालाई धोका दिन सक्छन् । उनिहरूको बीच यौन सम्बन्ध भई कथंकदाचित गर्भ रहन गयो भने पनि उक्त गर्भ चित्त बुझेन भने उनिहरूले तत्कालै भु्रण हत्य गरिदिन सक्छन् । आजभोलीका केटाकेटीले यस्तो गरेको कतिपय अवस्थामा आफ्नै बा आमालाई थाहा हुँदैन । आफ्नै दाजु तथा दिदीलाई थाहा हुँदैन । आफ्नै शिक्षक शिक्षिकालाई थाहा हुँदैन । तसर्थ अबका केटाकेटीहरूको प्रेम सम्बन्धहरू केही अपवाद वाहेक क्षणिक र अस्थाई बन्दै गइरहेका छन् । यसलाई हामी छाडा पाश्चात्य संस्कृति पनि भन्न सक्छौ । यसै संकृतिको प्रभावका कारण प्रेमको सम्बन्धमा आजभोलीका केटाकेटीहरू क्रमशः छाडा, नैतिकताहीन, अनुशासनहीन र अमानविय बनिदिन्छन् । स्कुल पढ्दा पढ्दै उमेर नै नपुगी अपरिपक्व अवस्थामा रहेका किशोर किशोरीहरू यसप्रकारको प्रेम सम्बन्धमा फसेर आफ्नो जीवन र भविष्य आफै वर्वाद पारिरहेका हुन्छन् । २०७७ साल जेठ १० गते रुकुम पश्चिमको चौरजहारी स्थित सोती घटना निम्त्याउने ति दुई विद्यार्थी बीचको प्रेम सम्बन्ध पनि यसैको एक प्रतिनिधी उदाहरण हो ।

सोती घटनाले यो साबित गरिदियो कि जाजरकोटको भाई र रुकुमकी बैनी बीचको प्रेम सम्बन्ध यस्तै अपरिपक्व र अदुरदर्शी थियो । त्यो प्रेम सम्बन्ध नैतिकताहीन, अनुशासनहीन र छाडा थियो । पढ्ने लेख्ने कार्य पुरा नगरीकन, छोराछोरी असल र ठूलो मान्छे भएको देख्ने आमा बाका सपनाहरूमाथि कुठाराघाट गरीकन र जीवन परिपक्व नभैकन प्रेमको रसरंगमा बरालिनुलाई हामी अनुशासन र नैतिकता कदापी भन्न सक्दैनौ । आज हामीले देखिरहेका छौ रुकुमेली बैनी र जाजरकोटी भाई बीचको अपरिपक्व र अदुरदर्शी प्रेम सम्बन्धको कारण भेरी वारीपारी बसोवास गर्ने छ जना आमाहरूको एकै चोटी काख रित्तिएको छ । बाहरुको छात्ति चर्केको छ र आफन्तहरूका आँसु बगेको छ । भेरी वारीपारीका डाँडा पाखाहरूलाई त्रासको कुहिरोले ढाकेको छ अनि घाइतेहरूका आँखामा मृत्युको आतंक नाचिरहेको छ । भेरी आसपासका दाजुभाई तथा दिदी बहिनीहरूलाई भेरीमा बगेको रगतले क्षण क्षणमा झस्काईरहेको छ ।

यसरी भर्खरै कक्षा दशमा पढ्दै गरेकी बैनी र भर्खरै एघार बाह्रमा पढ्दै गरेको भाई यी दुई विद्यार्थी बीच जुन अपरिपक्व र अदुरदर्शी प्रेम सम्बन्ध हुन पुग्यो, कम्जोरीको शुरुआट पनि त्यहीबाटै शुरु भयो भन्दा कुनै फरक नपर्ला । यसरी शुरु भएको कमजोरी क्रमशः घर समाज हुँदै धेरैमा संक्रमित भयो । यसरी त्यो कमजोरी बढ्दै र चुलिदै अन्ततः सामुहिक नरसंहारमा परिणत भयो । आज त्यो घटना राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चाको विषय बनिसकेको छ । सबै अधिकार कर्मीहरूले, सबै राजनीतिक दल तथा सँघ संस्थाहरूले, सवै नागरिक समाज तथा साहित्यकार पत्रकारहरूले त्यो घटनालाई अमानविय, पाशविक भनि निन्दा गरिरहेका छन् । विभिन्न स्तरमा बनेका छानविन समितिहरूले उक्त घटनाको छानविन गरेर प्रतिबेदनहरू तयार गर्नेकार्य सम्पन्न गरिसकेका छन् । हामीले आशा एवम् विश्वास गर्न सक्छौ यी प्रयासहरूले घटनाका दोषीहरुलाई कार्वाही गर्न र पीडितहरूलाई न्याय दिने कार्यमा मदत पुर्याउने छन् । हामी सबै सजग हुनु पर्दछ कि यस्ता घटनाहरूमा कहि कतै कसैले पनि न्याय मार्नलाई षडयन्त्रको जाल बुन्न नपाओस । जुन सुकै परिस्थितिमा पनि न्यायको विजय होस । हामी सबैको कामना र चाहना यही हुनु पर्दछ ।

वास्तवमा ती विद्यार्थी भाइवहिनीहरूको उर्जाशील जीवनलाई ज्ञान विज्ञानको गतिशील मार्गमा दौडाउने बेलामा, उनीहरूलाई सुन्दर समाजको नव स्रष्टा बनाउने बेलामा, उनीहरूलाई यो माटोको दक्ष नागरिक बन्नको लागि बलियो आधार दिने बेलामा अर्थात उनीहरूको यो नौलो र भरभराउँदो जीवनलाई यस्तो विसंगतिको शिकार हुनबाट जोगाउन नसक्नुमा उनीहरूको घरले, उनिहरूको समाजले र उनीहरू पढ्ने विद्यालयले गम्भिर आत्म समिक्षा गर्नु जरुरी छ । यसै सन्दर्भमा मलाई यो भन्न मन लाग्यो कि यो समाजलाई सुसभ्य र सुसंस्कृत बनाउनको लागि सांस्कृतिक रुपान्तरणको बाटो खन्ने काम अब विद्यालयहरूबाट शुरु गर्ने हो की ! किनकी विद्यालय ज्ञानको उज्यालो प्रकास छर्ने थलो हो । विद्यालय सयौ हजारौ नयाँ कोपिलाहरू फक्रिएर फुल्ने बगौचा हो । यसैगरी सांस्कृतिक रुपानतरणको यो महान जिम्मेबारी बोक्ने काम विद्यालयहरूले मात्र लिएर पुग्दैन गाउँघर र समाजले काँधमा काँध मिलाएर होस्तेमा हैंसे गर्न जरुरी छ । समाज सभ्य र सुन्दर बनाउन हामी प्रत्येकले आफुबाट शुरु गरौ । विकृति र विसंगतिको लडाईमा हामी सबै एकजुट बनौ । फेरी फेरी सोती घटनाको जस्तै केटा र केटी बीच हुने प्रेम सम्बन्धले समाजमा आँसु, रगत र त्रासको खेति नगरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *