आचारसंहिता पालना नभए संयुक्त आन्दोलन खण्डित हुनसक्छः मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले संयुक्त आन्दोलनको आचारसंहिता, सहमति र निर्णय पालना गर्न २१ दल तथा संगठनका सम्बद्ध पक्षहरुसँग आग्रह गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनका संयुक्त कार्यक्रममा लगाइएका नाराबारे नेकपा (मसाल)ले गम्भीर ध्यान आकर्षित भएको जनाएको छ ।

सो कार्यक्रममा सहमति र निर्णय भन्दा बाहिरका कतिपय नारा पनि दिइएकोले भन्दै उक्त विषय संयुक्त आन्दोलनको आचारसंहिता र निर्णयसँग मेल नखाने कुरा मसालले जनाएको छ ।

शुक्रबार वक्तव्य प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले ‘आचारसंहिताको पालना हुन नसकेमा संयुक्त आन्दोलनको लागि भएको कार्यगत एकता र भावना खण्डित’ हुन सक्ने भन्दै त्यसबाट संयुक्त आन्दोलनको उद्देश्य अगाडि बढ्न नसक्ने स्पष्ट पार्नुभएको छ ।

वक्तव्यमा भनिएको छः

‘२०७७ असोज २९ गते २१ वटा राजनीतिक संगठनको संयुक्त कार्यक्रममा लगाइएका नाराबारे नेपाल कम्युनिस्ट पार्टी (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ ।

उक्त कार्यक्रममा सहमति र निर्णय भन्दा बाहिरका कतिपय नारा पनि दिइएकोले उक्त विषय संयुक्त आन्दोलनको आचारसंहिता र निर्णयसँग मेल नखाने कुरा स्पष्ट छ । हामीले सम्बन्धित सबै पक्षहरुको त्यसतर्फ ध्यान आकर्षित गर्दछौँ ।

संयुक्त आन्दोलनमा सहभागी संगठनहरुको सहमति र निर्णय अनुसार नै सम्बन्धित पक्षहरुले संयुक्त आन्दोलनको सन्दर्भमा आफ्नो व्यवहार प्रस्तुत गर्नुपर्दछ भन्ने हाम्रो दृढ मान्यता छ ।

संयुक्त आन्दोलनको लागि तय भएका नारा, प्रस्तुत गरिने विषय, धारणा वा जिम्मेवारी आदिबारे सहमति र निर्णय अनुसार सबै पक्षले आचारसंहिताको पालना गर्नु आवश्यक हुन्छ । संयुक्त आन्दोलन सहमतिको आन्दोलन भएकोले यसलाई सफल र सुदृढ बनाउनका लागि संयुक्त रुपमा भएका निर्णय र सहमतिको सीमाभित्र रहनु नै सबै भन्दा महत्वपूर्ण आचारसंहिता हो।

उक्त आचारसंहिताको पालना हुन नसकेमा संयुक्त आन्दोलनको लागि भएको कार्यगत एकता र भावना खण्डित हुन्छ र त्यसबाट संयुक्त आन्दोलनको उद्देश्य अगाडि बढ्न सक्दैन ।

त्यसैले संयुक्त आन्दोलनलाई निरन्तरता दिनाको लागि सहमति, निर्णय र आचारसंहिताप्रति प्रतिवद्ध रहन हामीले सम्बन्धित सबैको ध्यान आकर्षित गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार