आजको हाम्रो मुख्य आवश्यकता विद्यमान समाज व्यवस्था परिवर्तन हो

  •   
  •  
  •  
  •  
  •  
  •  

2551 जनाले पढ्नु भयो ।

१. यहाँको कुन समय र उमेर अवस्थादेखि के कस्तो परिस्थिति र प्रभावबाट राजनीतिको थालनी गर्नुभयो ? उल्लेख गरिदिनुहुन अनुरोध गरिन्छ ।

म २००७ सालमा १५ वर्षको उमेरमा २००७ सालको आन्दोलनमा सामेल भएको थिएँ । त्यसबेलाको देशको राजनीतिक वातावरण र पिताजी खिमविक्रमको त्यसमा संलग्नताका कारणले म नेपाली कांग्रेसले नेतृत्व गरेको आन्दोलनमा सामेल भएको थिएँ । त्यस सिलसिलामा म प्यूठान र सल्यानका राणा विरोधी संघर्षमा सामेल भएको थिए । त्यही मेरो राजनीतिक जीवनको प्रारम्भ थियो ।

२. यहाँको राजनीतिक कार्य र अभियानको प्रारम्भ कुनवाद वा सिद्धान्त व्यक्तिको प्रभावबाट भयो ?

राजनीतिक जीवनको प्रारम्भ नेकाबाट भएको भन्ने कुरा मैले प्रश्न नं. १ को जवाफमा स्पष्ट गरिसकेको छु । २०१० सालमा म नेपाल कम्युनिष्ट पार्टीमा सामेल भए । बताइरहनुपर्ने आवश्यकता छैन कि माक्र्सवादी–लेनिनवादी सिद्धान्तको प्रभावमा परेर नै म कम्युनिष्ट पार्टीमा सामेल भएको थिए । मैले मार्क्सवादी–लेनिनवादी साहित्यको अध्ययन गरेपछि नै त्यसद्वारा प्रभावित भएर कम्युनिष्ट पार्टीमा सामेल भएको थिएँ । कुनै व्यक्तिको प्रभावमा परेर होइन, निश्चय नै, कम्युनिष्ट पार्टीको सदस्यताको लागि मैले दरखास्त त्यो बेलाका कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमलराज रेग्मीलाई दिएको थिएँ ।

३. यहाँको राजनीतिक उद्देश्य के हो र यहाँ आफूले त्यसको प्राप्ति वा उपलब्धी के कति भएको अनुभव गर्नु भएको छ ?

एउटा कम्युनिष्टको अन्तिम राजनीतिक उद्देश्य साम्यवाद नै हुन्छ र त्यस अनुसार मेरो उद्देश्य पनि त्यही हो । तर त्यो एउटा दीर्घकालिन कार्यक्रम हो र त्यसलाई प्राप्त गर्नका लागि क्रान्ति वा आन्दोलनका कैयौं चरणहरुबाट जानुपर्ने आवश्यकता हुन्छ । समाजवाद र साम्यवाद हाम्रा दीर्घकालिन उद्देश्यहरु हुन् र नयाँ जनवाद अहिलेको आधारभूत वा न्यूनतम कार्यक्रम हो । तर त्यो उद्देश्य पूरा गर्नको लागि पनि कुनै खास बेलाको तात्कालिक राजनीति स्थिति अनुसार कैयौं कार्यनीतिहरु अपनाउनुपर्ने आवश्यकता हुन्छ । त्यस अनुसार पार्टीको स्थापनादेखि अहिलेसम्म हामीले कैयौं कार्यनीतिहरु आपनाउँदै आएका छौं । पार्टीले अपनाएका कैयौं कार्यनीति वा त्यस अन्तर्गतका कैयौं मागहरु सफल पनि हुँदै आएका छन् ।

हाम्रो आन्दोलनको परिणामस्वरुप समाजका कैयौं क्षेत्रहरुमा, जस्तै कि राजनीतिक व्यवस्था, भूमि व्यवस्था, संस्कृति वा विभिन्न जनसमुहहरु, मजदुर, किसान, महिला, जनजाति, दलित आदिका जीवनमा कैयौं सुधार वा परिवर्तनहरु पनि हुँदै आएका छन् । निश्चय नै आन्दोलनका विभिन्न चरणहरुमा हामीले अन्य कैयौं पक्षहरुसित मिलेर पनि संघर्ष गर्दै आएका छौं । त्यसैले अहिलेसम्म भएका सबै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सुधार वा परिवर्तनहरु खालि हाम्रो आन्दोलनका उपलब्धीहरु मात्र नभएर त्यस प्रकारका संयुक्त प्रयासहरुका पनि परिणामहरु हुन् । त्यसरी हेर्दा अहिलेसम्मका कम्युनिष्ट पार्टीका आन्दोलनहरुका कैयौं महत्वपूर्ण उपलब्धिहरु भएको कुरामा कुनै शंका रहँदैन । तर अहिलेसम्म हामीले जेजति सफलताहरु प्राप्त गरेका छौं ती अत्यन्त कम छन् र अझै हामीले लामो र कठिन संघर्ष गर्नुपर्ने छ । कम्युनिष्ट आन्दोलन भनेको कैयौं पुस्ताहरुसम्म निरन्तर चल्ने संघर्ष हो ।

४. मार्क्सवादी साहित्यभन्दा स्वतन्त्र साहित्य र साहित्यको परम्परालाई यहाँले कसरी लिनुहुन्छ ?

समाजमा कैयौं वर्गहरु वा ती वर्गहरुलाई प्रतिनिधित्व गर्ने बेग्लाबेग्लै राजनीतिक धारहरु हुन्छन् । त्यस अनुसार साहित्यका पनि बेग्लाबेग्लै धारहरु हुन्छन् । समाजमा चल्ने राजनीतिक, सामाजिक वा वर्गीय संघर्षभन्दा बाहिर कुनै साहित्य स्वतन्त्र वा निरपेक्ष हुँदैन । समाजको वनावट वा त्यसमा देखापर्ने चिन्तनको स्वरुप अनुसार नै साहित्यको स्वरुपको पनि निर्धारण हुन्छ । व्यक्तिगत रुपमा कतिपय व्यक्तिहरुले स्वतन्त्र रुपले आफ्नो साहित्यको सिर्जना गरेका हुन सक्दछन् । तर मूल रुपमा त्यो समाजमा चल्ने द्वन्द्व वा अन्र्तसंघर्षभन्दा बाहिर हुँदैन । त्यो द्वन्द्व वा अन्तरसंघर्षमा पनि बेग्लाबेग्लै देश वा कालको छाप हुन्छ । अर्का शब्दमा समाजको असरबाट कुनै साहित्य स्वतन्त्र हुँदैन । जहाँक मार्क्सवादी साहित्यको प्रश्न छ, त्यसको निर्माण पनि समाजको त्यही प्रकारको पृष्ठभूमिमा हुन्छ र त्यो स्वतन्त्र हुँदैन । त्यसको मूल उद्देश्य समाजमा विद्यमान शोषण, प्रधान अवस्थाको अन्त र आमूल परिवर्तन नै हुन्छ । यस अर्थमा समाजका अन्य कैयौं धाराहरु भन्दा त्यो स्वतन्त्र र क्रान्तिकारी पनि हुन्छ ।

५. यहाँको कसरी साहित्यप्रतिको के कस्तो दृष्टिकोण रहेको छ र यहाँले कहिलेदेखि साहित्यमा अग्रसर हुनुभई साहित्यका कथा, निबन्ध, नाटक, कविता, लेख रचना र समालोचना मध्ये कुन विधामा अभिरुचि राखेर क्रियाशील हुनुभएको हो ?

माथि प्रश्न नं. ४ को जवाफमा मैले मूल रुपमा यो कुरा प्रष्ट गरेको छु । साहित्यमा मेरो सोचाई पनि त्यही दृष्टिकोणद्वारा प्रेरित छ । सामान्यतः मैले निबन्ध, कविता, समालोचना, नाटक, कथा तथा उपन्यासका क्षेत्रहरुमा रुची राख्दछु र ती विषयहरुमा केही लेख्ने पनि प्रयत्न गर्दै आएको छु । यद्यपि कथा र उपन्यासको क्षेत्रमा मेरा कुनै कृतिहरु प्रकाशित भएका छैनन् भने पनि हुन्छ । मैले कथा वा उपन्यासहरु २०१२ सालदेखि नै लेख्दै आएको छु । मैले लेखेका कथा र उपन्यासहरु सबै विभिन्न कारणले हराउँदै आएको हुनाले कुनै प्रकासित हुन सकेनन् । यद्यपि २०१२ सालमा लेखिएको एउटा मात्र उपलब्ध कथा ‘त्यो’ प्रकाशित भएको छ । तर आशा गर्दछु, निकट भविष्यमा त्यो विषयमा पनि मेरा केही कृतिहरु प्रकाशित हुनेछन् । म गत करिब १५ वर्षदेखि एउटा उपन्यास, का. जलजला, लेख्ने काममा लागेको छु । तर पार्टी कामको व्यस्तताले मैले त्यसलाई पूरा गर्न सकेको छैन । सायद एक आधा वर्षमा त्यो कृति प्रकाशित हुनेछ ।

६. यहाँलाई साहित्यिक प्रेरणा कहाँबाट प्राप्त भयो र यहाँको साहित्य लेखन तथा अध्ययन विश्लेषणको प्रतिवद्धता मार्क्सवादी मान्यता र विधि विधानमा नै केन्द्रित छ कि अरु गैरमार्क्सवादी दृष्टिकोणबाट पनि प्रभावित हुनुहुन्छ ?

साहित्य प्रति मलाई सर्वप्रथम प्रेरणा धर्मराज थापाबाट नै प्राप्त भएको हो । २००३ सालमा एउटा स्कूलमा तीन कक्षामा पढ्दा उहाँ मेरो शिक्षक हुनुहुन्थ्यो । उहाँसितको संगतले नै मेरो साहित्यप्रतिको रुची बढ्दै गयो । मेरो साहित्य राजनीतिप्रतिको मेरो प्रतिवद्धता वा संघर्षद्वारा नै प्रभावित छ भन्न सकिन्छ । तर त्यसको अर्थ साहित्यका अन्य विचार वा रचनाहरुबाट पनि म प्रभावित भएको छैन भन्ने होइन । यी सबै कुराहरु परस्परमा सम्बन्धित हुन्छन् । त्यो कुरा मेरो साहित्यप्रतिको दृष्टिकोण वा रचना बारे पनि सत्य हो ।

७. संक्षेपमा यहाँका साहित्यिक र राजनीतिक प्रमुख कृतिहरु के कति छन् र तिनको उद्देश्य के हो ?

यसबारे परिशिष्टमा मैले बेग्लै सूची दिएको छु । जहाँतक तिनीहरुको उद्देश्यको कुरा छ, जस्तो कि मैले पहिले लेखे, ती सबै मेरा राजनीतिक प्रतिवद्धता वा उद्देश्यद्वारा निर्देशित छन् । तर साहित्यमा राजनीति नांगो रुपमा आउँदैन र त्यसकारण, मेरा साहित्यीक कृतिहरुलाई राजनीतिक साहित्यको रुपमा मात्र बुझ्नु हुँदैन । साहित्य र राजनीतिको एक आपसमा घनिष्ट सम्बन्ध हुन्छ र दुवै एकअर्काद्वारा प्रभावित हुन्छन् । तै पनि तिनीहरुको आफ्नो बेग्लाबेग्लै स्वरुप वा अस्तित्व पनि हुन्छ । त्यही कुरा मेरा साहित्यिक कृतिहरुबारे पनि सत्य हो ।

८. वामपन्थी नेताका नाताले नेपालका वामपन्थी विचारका दल, गुटको विविधता, विभेद र अन्तरविरोधलाई कसरी लिनु भएको छ ?

यो लामो, जटिल र विस्तृत विषय हो । सायद एउटा प्रश्नको संक्षिप्त जवाफमा त्यो कुराको व्याख्या गर्नु सम्भव हुनेछैन । तैपनि संक्षिप्तमा यतिभन्न सकिन्छ, कम्युनिष्ट आन्दोलनको विकास पनि सधैं द्वन्द्वहरुका बीचबाट हुँदै आएको छ । त्यो कुरा अन्तर्राष्ट्रिय र नेपालको कम्युनिष्ट आन्दोलनबारे पनि सत्य हो । त्यसमा कैयौं धारणाहरु छन् । तिनीहरुबारे बेग्लाबेग्लै र विस्तृत व्याख्याको आवश्यकता हुनेछ । यस सन्दर्भमा एउटा अर्को कुरा पनि प्रष्ट हुन आवश्यक छ । सामान्यतः कम्युनिष्ट र वामपन्थीलाई एकअर्काको पर्यायवाचीको रुपमा लिने गरिन्छ । सबै कम्युनिष्टहरु वामपन्थी हुन्छन्, तर सबै वामपन्थीहरुलाई कम्युनिष्ट भन्न मिल्दैन । त्यस प्रकारले नेपालका सबै वामपन्थीहरुलाई कम्युनिष्ट भन्न सकिन्न । सायद त्यसको लागि बेग्लै र लामो विश्लेषण आवश्यक हुनेछ ।

९. अब वामपन्थी राजनीतिको संघर्ष समाप्त भएको छ । विकास निर्माणको अभियानमा नलाग्ने वर्तमान सत्ता र सरकारको मूलधारमा नआउने कुनै पनि वामपन्थी राजनीतिक दलको भविष्य छैन र बर्चस्व रहँदैन भन्ने खालको सत्तासिन शक्तिको दृष्टिकोणका सम्बन्धमा के–कस्तो आफ्नो दृष्टिकोण अंगाल्नु भएको छ ?

यो सोचाई मूलभूतरुपले नै गलत हो । यहाँ वामपन्थी भन्नाले कम्युनिष्टलाई पनि लिएको कुरा प्रष्ट छ । कम्युनिष्ट वा वामपन्थी आन्दोलन लामो समयदेखि चल्दै आएको संघर्ष हो र वर्तमान शोषण प्रधान व्यवस्थाको अन्त नहुँदासम्म त्यो लगातार चलिरहने छ र चलिरहनु पर्नेछ । हाम्रो उद्देश्य विद्यमान व्यवस्थामा आमूल परिवर्तन र क्रान्तिकारी परिवर्तन हो । तैपनि तात्कालिक रुपमा हामीले विकास कार्यहरुमा पनि लगातार जोड दिने गर्दछौं । क्रान्तिकारी आन्दोलन, विकास कार्यहरुबाट बेग्लै अलग भएर अगाडि बढ्दछ र बढ्नु पर्दछ भन्ने होइन । जहाँसम्म वर्तमान सत्ता र सरकारको मूलधारमा नआउने कुनै पनि वामपन्थी राजनीतिक शक्तिको भविष्य छैन भन्ने सोचाईको प्रश्न छ, त्यो अत्यन्त हल्का, अवस्तुवादी र हास्यास्पद सोचाई हो ।

१०. अर्थशास्त्रमा उच्च शिक्षा (एम.ए.) प्राप्त गर्नु भएकोले यहाँको आर्थिक दृष्टिकोण के कस्तो रह्यो ? मार्क्सवादी अर्थतन्त्रको पूर्ण उपभोग र पालना नेपालमा के कति हुनसक्ला ?

एउटा मार्क्सवादी–लेनिनवादीको हैसियतले अर्थशास्त्र सम्बन्धी मेरो दृष्टिकोण पनि मूल रुपमा मार्क्सवादी–लेनिनवादी नै भएको कुरा प्रष्ट छ । मार्क्सवादी अर्थशास्त्र एउटा विश्वव्यापी र सार्वभौम सिद्धान्त हो । त्यसकारण संसारका सबै देशहरुमा त्यसको प्रयोग हुन सक्ने कुरा प्रष्ट छ । निश्चय नै बेग्लाबेग्लै देशहरुको विशिष्ट आर्थिक स्थिति अनुसार त्यसको प्रयोग पनि बेग्लाबेग्लै प्रकारले नै हुने गर्दछ । त्यही कुरा नेपालका सन्दर्भमा पनि सत्य हो ।

११. यहाँका विचारमा मार्क्सवादमा प्रतिबद्ध नभएका गैरकम्युनिष्ट दल, पार्टी, व्यक्ति के कस्ता प्रतिक्रियावादी, सामन्ती, वर्गशत्रु र घोर दक्षिणपन्थी शोषक हुन् कि के कस्ता हुन् ?

समाजमा राजनीतिक शक्तिहरु बेग्लाबेग्लै प्रकारका हुन्छन् । उनीहरुले कुन वर्गको प्रतिनिधित्व गर्दछन् । त्यस अनुसार नै उनीहरुको राजनीतिक चरित्र बनेको हुन्छ । नेपालका राजनीतिक शक्तिहरुलाई हामीले तीन भागमा बाँडेका छौं । प्रथम, सर्वहारा वर्गको पार्टी । द्वितीय, देशभक्त र जनतान्त्रिक वामपन्थी शक्तिहरु र तृतीय, प्रतिक्रियावादी शक्तिहरु । नेकपा (मसाल) सर्वहारा वर्गको पार्टी हो । तर यसको बनावट मुख्य रुपमा निम्नपूँजीपति वर्गबाट आएका मानिसहरुबाट भएको हुनाले यसको संगठनात्मक स्वरुप मुख्य रुपले निम्नपूँजीवादी प्रकारको नै छ ।

नेकपा, क्रान्तिकारी माओवादी, नेकपा विप्लब, मजदुर किसान पार्टी, नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आदि निम्न पूँजीवादी वर्गहरुका राजनीतिक संगठनहरु हुन् । र त्यसैले, यिनीहरु देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिहरु तथा मित्र शक्तिहरु हुन् । तर आफ्नो निम्न पूँजीवादी चरित्र अनुसार उनीहरुमा ढुलमुल, अवसरवादी र सम्झौतापरस्त प्रवृत्तिहरु पनि हुन्छन् । सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने वा उनीहरुको दलाली गर्ने भएको हुनाले नेका राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशवादीदलहरु प्रतिक्रियावादी र दुश्मन शक्तिहरु हुन् । तर बेग्लाबेग्लै राजनीतिक स्थिति र आवश्यकता अनुसार कतिपय तात्कालीक कार्यनीतिक प्रश्नहरुमा मित्र शक्तिहरुसित संघर्ष वा दुश्मन शक्तिहरुसित पनि कार्यगत एकताको नीति अपनाउन सकिन्छ । मित्र शक्तिहरुसित संघर्षको नीति अपनाए पनि त्यो एकता–संघर्ष–एकताको सिद्धान्तमाथि आधारित हुन्छ भने दुश्मन शक्तिहरुसितको संघर्षको नीति संघर्ष–एकता–संघर्षको सिद्धान्तमाथि आधारित हुन्छ । त्यसरी मित्रशक्तिहरुसित एकताको पक्ष नै प्रधान हुन्छ भने, दुश्मन शक्तिहरुसित संघर्षको पक्ष नै प्रधान हुन्छ ।

१२. नेपालमा २००७ सालदेखि पटकपटक क्रान्ति र विद्रोह भए । तिनको पृष्ठभूमि र कार्यभूमिकामा कुन कालखण्डको र दलकोलाई महत्व दिनुहुन्छ ? अथवा ती सबैको भूमिकालाई मूल्यहीन ठान्नुहुन्छ ?

बेग्लाबेग्लै कालखण्डका आन्दोलनहरुका आफ्ना बेग्लाबेग्लै विशेषता वा कमजोरी रहेका छन् । २००७ सालको आन्दोलन प्रतिक्रियावादी शक्तिहरु, नेका, राजा र तात्कालिन भारतीय विस्तारवादको गठबन्धनमा नै सम्पन्न भएको थियो । त्यसकारण त्यसलाई हामीले क्रान्ति मान्दैनौं । तैपनि त्यसको परिणामस्वरुप राणाशासनको अन्त भयो र त्यसरी देशमा महत्वपूर्ण राजनीतिक परिवर्तनहरु भए । त्यसको त्यो सकारात्मक पक्ष थियो । २०४६ वा २०६२–०६३ का आन्दोलनहरु ऐतिहासिक जनआन्दोलनहरु थिए । तिनीहरुको परिणामस्वरुप २०४६ सालमा निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था तथा २०६२–६३ मा बहुदलीय व्यवस्थाको पुनर्स्थपना, संविधानसभाको चुनाव र राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना जस्ता ऐतिहासिक कार्यहरु पनि भए । तर ती बुर्जुवा प्रकारका आन्दोलनहरु नै थिए । त्यसकारण तिनीहरुको माध्यमद्वारा देशमा आमूल परिवर्तन हुन सक्दैनथ्यो र भएको पनि छैन ।

१३. तपाईंको पार्टीको लक्ष्य र प्राप्ति के हो ? यहाँ जस्तो त्यागी राष्ट्रवादी, इमान्दार र विवेकशील नेताको नेतृत्वमा तपाईको पार्टी किन लोकपृय र व्यापक हुन सकेन ?

जस्तो कि पहिले नै हामीले स्पष्ट गरिसकेका छौं । हाम्रा दीर्घकालिन उद्देश्यहरु समाजवाद र साम्यवाद हुन् भने अहिलेको न्यूनतम कार्यक्रम नयाँ जनवाद हो । निश्चय नै तात्कालिन रुपमा हामीले बेग्लाबेग्लै समयको स्थिति अनुसार आफ्ना तात्कालिक नीति, कार्यक्रम वा नाराहरु निश्चित गर्दछौं । कुनै पार्टीको शक्ति कति व्यापक हुन सक्दछ ? त्यो कुरा कुनै बेला कुनै पार्टीलाई मिल्ने जनसमर्थनले नै निश्चित गर्दछ । हाम्रो पार्टीका नीति वा कार्यक्रमहरु क्रान्तिकारी भए पनि त्यस अनुरुप जनताको चेतना उठ्न सकेको छैन वा त्यस प्रकारको चेतना उठाउन हामीहरु असमर्थ हुने गरेका छौं । त्यसैले हाम्रो पार्टीको संगठन आशा गरे जति शक्तिशाली र व्यापक बन्न सकेको छैन ।

१४. यहाँको धर्मसंस्कृतिका सम्बन्धमा के कस्तो मान्यता छ ?

हामीले धर्म माथि विश्वास गर्दैनौं । तर कुनै खास बेलाको जनताको चेतनाअनुसार उनीहरुले कुनै धर्म माथि विश्वास गर्दछन् भने त्यो उनीहरुको व्यक्तिगत स्वतन्त्रताको विषय हो । हामीले सामन्ती र प्रतिक्रियावादी प्रकारको संस्कृतिलाई विरोध गर्दछौं र प्रगतिशील, जनपक्षीय संस्कृतिको विकासमा जोड दिन्छौं । तर समाजमा जनजीवनसित जोडिएको प्रगतिशील संस्कृति पनि विद्यमान हुन्छ । हामीले त्यसको संरक्षण सम्बद्र्धन र विकासमा पनि जोड दिन्छौं । तर संस्कृतिको नाममा समाजमा फैलिएका कुरिती, अन्धविश्वास वा महिला, दलित वा अन्य विभिन्न जनसमूहहरुमाथि अन्याय, अत्याचार, उत्पीडन गर्ने जस्ता सबै प्रचलनहरुको हामीले विरोध गर्दछौं ।

१५. अनेक धर्म संस्कार, विश्वास, अन्धविश्वासको जकडबन्धमा परेको, विदेशी धर्मक्रिश्चियनको चाप बढेको नेपाली समाजको बारेमा के टिप्पणी वा मत राख्नु हुन्छ ?

धर्मलाई आड बनाएर कैयौं पक्षहरुले आफ्ना प्रतिगामी वा साम्राज्यवादी उद्देश्यहरु पूरा गर्ने वा जनतामाथि कैयौं अत्याचारहरु गर्ने गर्दछन् । इस्लामिक कट्टरपन्थीहरुले धर्मका नाममा संसारभरि नै आतंक मच्चाइरहेका छन् । दलाई लामाले बौद्ध धर्मलाई आफ्नो प्रतिक्रियावादी सत्ताको पुनर्स्थपनाका लागि दुरुपयोग गर्ने कार्य गरिरहेका छन् । नेपालमा राजावादीहरुले हिन्दू धर्मलाई राजतन्त्रको पुनस्र्थापनाको उद्देश्य पूरा गर्न हतियारका रुपमा प्रयोग गरिरहेका छन् । यो सत्य हो कि नेपालमा बहुसंख्यक जनता हिन्दू छन् । तर त्यसका साथै नेपाल एउटा बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय वा बहुधार्मिक देश पनि हो । त्यो अवस्थामा कुनै एउटा धर्मलााई राज्यको धर्म बनाएर होइन, धर्मनिरपेक्षताद्वारा नै सबै धर्महरुका बीचमा सद्भाव र एकता कायम रहन सक्दछ । धर्मनिरपेक्षताको अर्थ सबै धर्मप्रति रज्यको समान नीति र सबैको संरक्षण हुन्छ । नेपालका बहुसंख्यक जनता हिन्दू भए पनि धर्मनिरपेषताका कारणले उनीहरको धर्मममा कुनै आँच पुग्देन । जस्तै कि भारत ।

भारत धर्मनिरपेक्ष देश हो । तर त्यो कारणले त्यहाँको हिन्दूहरुको धर्ममा कुनै आँच पुगेको छैन । पश्चिमी साम्राज्यवादी शक्तिहरुले इसाई धर्मलाई आफ्नो साम्राज्यवादी उद्देश्यको पूर्तिको साधनको रुपमा उपयोग गर्ने गरेका छन् । नेपालमा इसाई धर्मको जुन ठूलो पैमानामा प्रचार भईरहेको छ र ठूलो संख्यामा चर्चहरुको पनि निर्माण भइरहेको छ । त्यसका पछाडि जनताको इसाई धर्ममाथिको आस्थाभन्दा पनि साम्राज्यवादी शक्तिहरुको साम्राज्यवादी उद्देश्यले नै बढि काम गरेको छ । इसाईधर्मको आडमा नेपालमा साम्राज्यवादीहरुको प्रभाव जसरी बढ्दै गइरहेको छ, त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर खतरा पुग्ने सम्भावना छ । त्यसैले साम्राज्यवादीहरुको उद्देश्य पूरा गर्न पैसा वा विभिन्न प्रकारका प्रलोभनहरुका आधारमा नेपालमा इसाईधर्मको जुन प्रचार र प्रसार हुने गरेको छ, त्यसको विरोध र भण्डाफोरमा हाम्रो पार्टीले जोड दिन्छ ।

१६. यहाँलाई मनपर्ने साहित्यकार र साहित्यिक कृति को के के हुन् ?

अन्तर्राष्ट्रिय साहित्यमा मेक्सिम गोर्कीको ‘आमा’ मलाई सबैभन्दा बढी मनपर्छ । जनशिक्षा गृहद्वारा प्रकाशित गोर्कीको ‘आमा’को भूमिकामा कैले त्यो उपन्यासको विस्तृत व्याख्या र विश्लेषण गरेको छु । नेपालमा लक्ष्मीप्रसाद देवकोटा, गोपाल प्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, हृदयचन्द्र सिंह प्रधान आदि मलाई सबैभन्दा बढी मनपर्दछन् ।

१७. नेपाली साहित्यको विकास र विस्तारमा गुणात्मक ऋणात्मक के कस्तो गति अनुभव गर्नुहुन्छ ?

नेपाली साहित्यको सन्दर्भमा सर्वप्रथमतः यो उल्लेखनीय छ कि यसको विकास धेरै पछि शुरु भयो र त्यसले गर्दा त्यसको विकास पनि उत्साहप्रद प्रकारले हुन सकिरहेको छैन, यद्यपि त्यसले लक्ष्मीप्रसाद देवकोटा जस्ता महान साहित्यिक विभूतिहरुलाई पनि जन्म दिएको छ । नेपालको साहित्यमा लामो समयसम्म सामन्तवादको असर प-यो । त्यसले गर्दाखेरि साहित्यको विकासलाई काफी हदसम्म कुण्ठित ग-यो । तैपनि नेपालमा नवजागरण आउनुका साथै त्यसमा प्रगतिशील र जनपक्षीय प्रवृत्तिहरु पनि देखापर्ने गरेका छन् । आजको हाम्रो साहित्यको मूलभूत आवश्यकता पुरानो प्रकारको संस्कृति र पिछडिएको चेतनामा सांस्कृतिक रुपान्तरण हो ।

पुरानो पिछडिएको संस्कृति वा मान्यताहरुका आधारमा त्यो कार्य पूरा हुन सक्दैन । त्यसका लागि क्रान्तिकारी दृष्टिकोण वा चेतनाको आवश्यकता पर्दछ । त्यस प्रकारको दृष्टिकोण वा चेतनाको निर्माण माक्र्सवादी दर्शनको आधारमा नै सम्भव छ । तर संसारमा र नेपालमा पनि शक्तिशाली बन्दै गएको पूँजीवादी वा उपभोक्तावादी दृष्टिकोणका कारणले नेपालमा क्रान्तिकारी विचारको समूचित रुपमा विकास हुन सकिरहेको छैन । त्यसले गर्दा साहित्यलाई प्रगतिशील र क्रान्तिकारी रुप दिने कार्य पनि पछाडि परेको छ । पूँजीवादी दृष्टिकोण एउटा पतनशील दृष्टिकोण हो । त्यसले समाज, राजनीति र साहित्यलाई पनि पतनको दिशामा नै लैजान्छ । त्यसले गर्दा नेपालको साहित्यको पनि स्वस्थ र उदीयमान रुपमा विकास कसरी हुन जान्छ ? तैपनि आजको हाम्रो मुख्य आवश्यकता विद्यमान समाज व्यवस्थामा परिवर्तन हो । त्यो परिवर्तनमा मद्दत पुर्याउने साहित्यले नै समाजलाई उदीयमान दिशामा लैजान सक्दछ । त्यसरी त्यो आजको साहित्यिक मात्र होइन, राजनीतिक र सांस्कृतिक आवश्यकता पनि हो ।

१८. यहाँले आफ्ना पुर्खाको कूल वंशानुसारको नेतृत्व र समाजशास्त्रीय अध्ययन गर्नुभएको छ । साथै आफ्नै पिताको साहूपाराको व्यवहारको विद्रोह पनि गर्नुभएको हो । यसमा पनि प्रकाश पारिदिनुहुन्थ्यो कि ?

हामीले हाम्रा पुर्खाहरुको कुनै व्यवस्थित र समाजशास्त्रीय अध्ययन गर्न सकेका छैनौं । यतिसम्म हामीलाई थाहा छ कि हाम्रो वंश खस जातिसित सम्बन्धित छ । खसजाति मध्य एसियाको मेसोपोटामिया, बेबिलोनबाट हिन्दकुश, काश्मिर, गढवाल, कुमाउ हँदै नेपाल आएका थिए । तर हाम्रो गाउँ, ओखरकोटमा आउनुभन्दा पहिले कुन ठाउ“बाट आएका थिए ? त्यो कुरा अझैसम्म थाहा हुन सकेको छैन । अहिलेसम्म हामीलाई आधिकारिक रुपमा थाहा भए अनुसार करिब ४५० वर्ष पहिले परस घर्तीको नेतृत्वमा कष्ठू जैसी, शिवराम महतरा वाहुबले कामी समेतको टोलीले ओखरकोटको कोटमा कब्जा गरेर, जहाँ त्यो बेला जाट राजाहरुको राज्य थियो, त्यहाँ कब्जा गरेर वसोवास गरेका थिए । त्यसपछिको उनीहरुको इतिहास सामान्य प्रकारको नै रहेको छ । एकातिर, प्राचीनकालको एउटा महान् जाति, खस जाति, र अर्कातिर, परसघर्तीका सन्तानहरु हाम्रो गाउँमा बसेदेखिको उनीहरुको जीवनको विस्तृत समाजशास्त्रीय अध्ययन गरेपछि नै यसबारे आधिकारिक रुपमा ज्ञान हुन सक्दछ । ओखरकोट विश्वकोष परियोजना अन्तर्गत ओखरकोट र त्यसका आसपासका गाउँहरुमा बस्ने परस घर्तीका सन्तानहरु र अन्य जातिहरुको अध्ययन गर्न केही प्रयत्न गरिएको थियो । त्यसरी अध्ययन गरिएका प्रारम्भिक रचनाहरु ‘ओखरकोट’ पुस्तकमा दिइएका छन् । तर त्यो अध्ययन अत्यन्त प्रारम्भिक प्रकारको र अप्रयाप्त छ ।

प्यूठानमा २०१० सालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि त्यहाँ किसान आन्दोलनको उभार नै आएको थियो । त्यही सिलसिलामा हामीले पिताजीका सामन्ती शोषण र जालझेलका विरुद्ध पनि संघर्ष गर्नुपरेको थियो ।

१९. तपाईंले विश्वेश्वर प्रसाद कोइरालाको राजनीतिक र साहित्यिक देनलाई के कसरी स्वीकार गर्नुहुन्छ ? कि तिरस्कार बताइदिनु हुन अनुरोध छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा खास गरेर निरंकुश राणाशासनका विरुद्धको संघर्षमा, वीपी कोइरालाको महत्वपूर्ण र ऐतिहासिक भूमिका रहेको छ । साहित्यिक क्षेत्रमा खास गरेर उपन्यासको क्षेत्रमा उनको महत्वपूर्ण देन रहेको छ । तर उनका कृतिहरु बढी फ्रायडवादी विचारद्वारा निर्देशित छन् । त्यसकारण उनको साहित्यले प्रतिक्रियावादी धाराको नै प्रतिनिधित्व गर्दछ । तै पनि कला र शिल्पका दृष्टिकोणले तिनीहरु उच्च रहेको कुरालाई हामीले स्वीकार गर्नुपर्दछ ।

२०. यहाँ आफ्नो राजनीतिको प्रारम्भिक चरणमा बीपीबाट प्रभावित र प्रेरित हुनुभएको थियो भन्ने कुरा के कति सत्य हो र त्यस विषयमा के अभिव्यक्ति राख्नुहुन्छ र बीपीलाई कसरी मूल्यांकन गरेर चिनाउनु हुन्छ ।

म आफ्नो प्रारम्भिक राजनीतिक जीवनमा बीपीद्वारा प्रभावित भएको थिए भन्ने कुरा सत्य होइन । २००७ सालको आन्दोलन शुरु भएपछि नेपालमा रणा विरोधी आन्दोलनको उभार आयो । म त्यसद्वारा प्रभावित भएर त्यसमा सामेल भए । अर्कातिर, बीपी गृहमन्त्री भएपछि उनले जुन दमनकारी नीतिहरु अपनाए, खास गरेर विद्यार्थीहरु माथिको दमन, त्यसबाट नेकामाथिको मेरो आस्था समाप्त भयो र २००८ सालमा नै मैले त्यसबाट (नेकाबाट) राजिनामा दिए । राणाविरोधी आन्दोलनमा वीपीको महत्वपूर्ण भूमिका भएपनि नेकाका प्रारम्भिक दस्तावेजहरुमा भारतबाट नेपाल राजनतिक दृष्टिकोणले कृतिम प्रकारले पृथक भएको छ भन्ने जुन विचारहरु व्यक्त गरिएका थिए, त्यसले उनको (वीपीको) भारतपरस्त सोचाईलाई नै बताउँदथ्यो र त्यही क्रममा सरदार पटेलले नेपाललाई निजामको हैदरावादलाई जस्तै भारतीय संघमा गाभ्नु पर्दछ भन्ने विचार प्रकट गरेका थिए । उक्त दुवै पक्षहरुमाथि विचार गर्दा वीपीको नेतृत्वको नेपाली कांग्रेस र सरदारपटेलको भनाइृमा छद्म रुपमा कुनै तालमेलता थिएन भन्ने प्रश्न पैदा हुन्छ । त्यसरी राष्ट्रियताको दृष्टिकोणले विचार गर्दा त्यो प्रश्नमा वीपीको दृष्टिकोण सही थिएन भन्ने मेरो धारणा रहेको थियो । यो दृष्टिकोणले वीपीको अरु विस्तृत रुपले मूल्यांकन गर्नुपर्ने आवश्यकता छ जस्तो लाग्दछ । त्यसका साथै राजासित मेलमिलापको उनको सोचाई बारे पनि थप मूल्यांकनको आवश्यकता छ ।

२१. आफ्ना कृति (पुस्तक)हरुमा कुन कृति प्रिय मान्नु हुन्छ ?

निबन्धहरुमा ‘हर्के’ र कविताहरुमा ‘गंगाकावेरी एक्सप्रेस’लाई मैले सबैभन्दा प्रिय मान्दछु । ती दुवैमध्ये पनि पछिल्लोलाई मैले सबैभन्दा बढी प्रिय मान्दछु । त्यो कवितासित मेरो गहिरो भावनात्मक सम्बन्ध रहेको छ र त्यससित मेरा जीवन र पार्टीका पनि कैयौं कटु, दुखःद र महत्वपूर्ण पक्षहरु जोडिएका छन् । तर जीवनको त्यो सबैभन्दा अप्ठ्यारो अवस्थामा पनि मैले पार्टीप्रतिको प्रतिवद्धतामा कुनै विचलन आउन दिइन र मैले क्रान्तिका गीतहरु गाउँन तथा सपना देख्न छाडिन । त्यसैले त्यो कविताले मेरा साहित्यिक कृतिहरु मध्ये सबैभन्दा बढी महत्व राख्दछ ।

२२. यहाँ आफ्नो पारिवारिक पृष्ठभूमिको सम्बन्धमा केही भन्न चाहनुहुन्छ कि ?

पारिवारिक पृष्ठभूमिबारे भन्नुपर्ने कुराहरु धेरै छन् । तर ती मध्ये कुन कुराको चर्चा गर्ने त्यो छुट्याउनु सजिलो छैन । कुनै खास प्रश्न उठेमा त्यसबारे केही प्रकाश हाल्नु सायद अप्रासांगिक हुनेछैन । तर अहिले कुनै खास प्रश्न नउठिकन त्यसबारे बढी चर्चा गर्नु सायद प्रासंगिक र सही पनि हुने छैन ।

२३. यहाँले ९ वर्षसम्म पटकपटक गरी जेल, यातना बेहोर्नु प-यो । जेल बाहिर पनि अनेक अनेक दुःख, कष्ट बेहोर्नु पर्ने अवस्थाका सम्बन्धमा केही भन्न चाहनुहुन्छ कि ?

म पञ्चायतीकालमा सवा ९ वर्षजति जेलमा बस्नु परेको थियो । पटकपटक गरी म ११ वर्ष जति जेलमा बसेको थिए । २०२७ सालको चैत्रमा जेलबाट निस्केपछि २०४६ सालसम्म भूमिगत भएर बस्नु प-यो । त्यसपछि अहिलेसम्म अर्धभूमिगत अवस्थामा छु । अर्धभूमिगत भन्नुको अर्थ हो, सरकारबाट हुनै वारेन्ट छैन । तर पार्टीलाई पूरै भूमिगत राख्ने हाम्रो नीति छ । पार्टीका प्रवक्ताहरु सार्वजनिक हुन्छन् । मेरो पद, नाम र विचारहरु सार्वजनिक हुन्छन् । तर सार्वजनिक कार्यक्रमहरुमा जाने गर्दिन । त्यसरी म पूरै भूमिगत पनि छैन र पूरै सार्वजनिक पनि छैन । यही अर्धभूमिगतको अवस्था हो । तर यो सबैलाई मैले दुःख र कष्टको अवस्था ठान्दिन । आफ्नो सिद्धान्त र आस्था अनुसार लगातार काम गर्न सक्नु दुःख र कष्टको अवस्था होइन । बरु त्यस प्रकारका कामहरु गर्दा सुख, आनन्द र सन्तोष नै प्राप्त हुन्छ ।

२४. जेलको कठोर बन्दी जीवनका अनुभव, अनुभूतिलाई कतै लिपिवद्ध गर्नु भएको छ कि भए के हो ?

जेल जीवनको अवस्थामा म लगातार अध्ययन गर्ने र लेख्ने कामहरुमा लागे त्यो बेला लेखेका कैयौं पुस्तक, पत्रिका र लेखहरु प्रकाशित भएका छन् । तर स्वयं जेल जीवनका अनुभवहरुबारे मैले केही लेखेको छैन । मैले ‘भूमिगत/अर्धभूमिगत’ शीर्षकले एउटा पुस्तक लेख्ने योजना बनाएको छु । त्यसका केही परिच्छेदहरु पनि लेखिसकेको छु । तर पार्टीका कामहरुको व्यस्तताले गर्दा त्यो पुस्तक पूरा हुन सकेको छैन । कहिले पूरा हुनेछ त्यो पनि भन्न सक्दिन । यदि त्यो पुस्तक पूरा गर्ने मौका पाए भने त्यसमा जेल जीवनका अनुभवहरु बारे पनि केही प्रकाशहाल्ने प्रयत्न गर्नेछु ।

२५. कस्तो समाज र व्यक्तिको जीवनलाई सार्थक, सफल र उन्नत मान्नु हुन्छ ? यहाँका केही मान्यता बताइदिनुभए पाठक लाभान्वित हुने थिए । किन भने यत्रो लामो संघर्षमय चुनौतीपूर्ण जीवन बिताएका ८५ वर्षीय मोहनविक्रम सिंह स्वयं एक दर्शन, महाकाव्य वा बृहत् आख्यान हुनुहुन्छ ।

जस्तो कि मैले माथि लेखे आफ्नोआफ्नो सिद्धान्त र आस्थाका लागि निरन्तर र दृढतापूर्वक काम गर्नुलाई नै मैले सार्थक, सफल र उन्नत जीवन मान्दछु । त्यसमाथि त्यस प्रकारको सिद्धान्त र आस्था सम्पूर्ण देश, समाज वा मानव जातिलाई नै सुखी र उन्नत बनाउने उद्देश्यले निर्देशित हुन्छ भने त्यसको लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नु, त्यो सबैभन्दा सार्थक हुन्छ । आफ्नो सम्पूर्ण जीवन त्यसका लागि समर्पण गर्न पाएकोमा मैले धेरै नै प्रसन्नता र गौरवको पनि अनुभव गरेको छु । आफ्नो जीवनमा म कति सफल भए ? त्यो गौण महत्वको कुरा हो । आफ्नो उद्देश्यको लागि लगातार अगाडि बढ्नु नै मेरो दायित्व हो भन्ने मैले महशुस गर्दछु । मैले आशा र कामना गर्दछु । जीवनको अन्तसम्म म यसरी नै विचलित नभईकन लगातार अगाडि बढ्नु सकु । मैले पुर्नजन्म वा परलोकमाथि विश्वास गर्दिन । तर त्यस्तो सम्भावना भए अरु सयकडौं, हजारौं जीवनहरु पनि आफ्नो उद्देश्यको लागि दिएर सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, अत्याचार र असमानताबाट मुक्त, स्वतन्त्र, सुखी र सुन्दर मानव समाजको निर्माण गर्न सकेमा त्यो मेरा लागि सबैभन्दा सुःख र प्रसन्नताको कुरा हुन्थ्यो ।

२६. विदेशिनुपर्ने नेपाली विद्यार्थी नवयुवा र कामदार युवालाई के भन्न चाहनुहुन्छ ?

प्रथमतः देशको गरिबी र पिछडिएको अवस्थाका कारणले ठूलो संख्यामा नेपालीहरु विदेशीनु परेको छ । अत्यन्त दुःखको कुरा हो । विदेशमा पलायनको यही गति रह्यो भने सायद आउने दशकहरुमा नेपालको बहुमत जनसंख्या विदेशमा बस्ने छ । अर्कातिर, भारतबाट ठूलो संख्याको नेपालमा आगमन भइरहेको छ र उनीहरुलाई नेपालको नागरिक बनाउन योजनावद्ध प्रकारले प्रयत्न भइरहेको छ । यी दुवै प्रवृत्तिको परिणामस्वरुप केही दशक भित्र नै नेपालमा स्वयं नेपालीहरु अल्पमतमा पर्ने खतरा गम्भीर हुँदै गइरहेको छ । त्यसको राजनीतिक दुष्परिणाम कति गम्भीर हुनेछ ? त्यो कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ । त्यो बाहेक नेपालका शिक्षित समुदाय खास गरेर नयाँ पिढीका विद्यार्थीहरुको विदेशमा जानेमात्र होइन,उतै स्थायी रुपले बस्ने प्रवृत्ति पनि लगातार बढ्दै गइरहेको छ । त्यसरी एकातिर देशको श्रमशक्ति र अर्कातिर देशको बौद्धिक सम्पदा दुवैको विदेशमा पलायत हुँदै गइरहेको छ । त्यसको परिणाम स्वरुप भविष्यमा पनि देशको विकासका सम्भावना कम नै हुने देखिन्छ ।

खास गरेर आम मानिसहरुमा र नयाँ पीढीमा समेत सम्पूर्ण देश र जनताको उन्नतीभन्दा व्यक्तिगत जीवन र आफ्नो भविष्य माथि नै बढी ध्यान दिने दृष्टिकोणका कारणले नै यस्तो अवाञ्छित स्थितिको निर्माण हुँदै गइरहेको देखिन्छ । यो गम्भीर चिन्ताको विषय हो । यसप्रति सम्पूर्ण देशवासी र शिक्षित समुदायको पनि ध्यान जानुपर्ने आवश्यकता छ । वास्तवमा सबै देशवासीहरु, मुख्यतः नयाँ पीढिले देशको भविष्यबारे चिन्ता नगरिकन खाली आफ्नो व्यक्तिगत जीवन र आफ्नो भविष्यबारे नै बढी ध्यान दिने सिलसिला बढ्दै गयो भने त्यसको परिणामस्वरुप देशको झन्पछि झन् दुर्गती हुँदै जाने कुरा निश्चित छ । त्यस्तो हुन नदिन हामीहरु सबैले खास गरेर नयाँ पीढिले बढी ध्यान दिनुपर्ने आवश्यकता छ ।

२७. बढ्दो प्रविधि र यान्त्रिकीकरणको चापले भोगवाद र स्वार्थन्धताको प्रभावले सामाजिक, सामूहिक भावना, आदर्श र प्राकृतिक स्वभावमा अवमूल्यन भएको वर्तमान विश्वलाई कसरी अवलोकन गर्नु भई मूल्यांकन गर्नुहुन्छ ?

बढ्दो प्राविधिक र यान्त्रिकीकरण नै आजको विश्वको मुख्य समस्या होइन । प्राविधिक र यान्त्रिकीकरणले मानिसको जीवन झन् सुखी र समृद्ध बन्दै जान्छ । आफ्नो जीवन निर्वाहका लागि मानिसले जतिबढी श्रम गर्नु पर्दथ्यो वा अर्को शब्दमा जीवन निर्वाहको लागि नै आफ्नो सम्पूर्ण जीवन विताउनु पर्दथ्यो, त्यसको ठाउँमा प्रविधि र यन्त्रको विकासद्वारा मानिसले कम श्रम गरेर पनि आफ्नो जीवन निर्वाह गर्न सक्दछ र त्यसरी बचेको समयद्वारा मानिसले आफ्नो जीवन र समाजलाई धेरै नै सुखी र उन्नत बनाउन सक्दछ । तर अहिलेको अन्यायपूर्ण वा शोषण प्रधान समाज व्यवस्थाका कारणले प्रविधि र यान्त्रिकीकरणद्वारा जेजति उपलब्धीहरु हुन्छन्, त्यसमाथि समाजका मुट्ठीभर शोषक वर्गहरुको प्रभूत्व कायम हुन्छ । त्यतिमात्र होइन, उनीहरुले उन्नत प्रविधि र यान्त्रिकीकरणलाई समेत समाजमाथि आफ्नो प्रभूत्व कायम गर्न वा दमन र युद्धका लागि समेत प्रयोग गर्ने गर्दछन् । त्यो अवस्थामा त्यस प्रकारको अन्यायपूर्ण सामाजिक व्यवस्था अहिलेको मुख्य समस्या हो र त्यसलाई बदल्नु अहिलेको प्रधान आवश्यकता हो ।

समाजमा विद्यमान शोषण र उत्पीडनका प्रवृत्तिहरु, अरुमाथि शोषण वा उतपीडन गरेर सुखी बन्न खोज्ने प्रवृत्तिहरुका कारणले नै समाजमा विकृत मानसिकताको निर्माण हुन्छ । मानिसहरुमा जति त्यस प्रकारका प्रवृत्तिहरुमा सुधार वा रुपान्तरण हुँदै जान्छ, त्यति नै समाजमा सच्चा मानवीय भावनाको विकास हुँदै जान्छ । त्यस प्रकारको मानवीय भावनाको उच्च र सच्चा रुप के हो ? एउटी आमाको उदाहरणबाट त्यो कुरा सजिलैसित बुझ्न सकिन्छ । एउटी आमाले बिना स्वार्थ वा बदलामा केही प्राप्त हुने लोभ नगरिकन आफ्ना सन्तानहरुको निस्वार्थभावले सेवा गर्दछिन् । आमाको सन्तानहरुप्रतिको त्यस प्रकारको प्रेमको जति विस्तार हुँदै जान्छ, देशले जतिबढी सामूहिक र सामाजिक रुप लिदै जान्छ वा अर्को शब्दमा जब सम्पूर्ण समाज वा विश्व नै आमामय बन्दै जान्छ, सम्पूर्ण समाज वा विश्व नै आदर्श र उच्च बन्न जानेछ । त्यो अवस्थामा मानिसहरुमा उच्च आदर्श, मानवीय मनोविज्ञानको निर्माण हुने छ । त्यो अवस्थामा नै मानव समाज, सम्पूर्ण मानव जाति सुखी, समृद्ध र सुन्दर हुनेछ ।

२८. नेपाली समाजको साझा सहकारी जीवनशैली र सहज जीवनको संस्कृतिसँग जोडिएको राजनीतिक चिन्तनलाई आधुनिक समाजवादस“ग कसरी जोड्ने कुरामा यहाँ के भन्नु हुन्छ ?

पहिलो कुरा त नेपाली समाजको जुन साझा र सहज जीवनको संस्कृतिको कुरा गरिएको छ, त्यो वास्तविकभन्दा काल्पनिक प्रकारको नै बढी छ । हाम्रो समाजमा थुप्रै र गम्भीर प्रकारका विकृतिहरु छन् । प्रत्येक परिवार वा गाउँहरुको जीवनको सरसरी प्रकारले मूल्यांकन गर्ने हो भने पनि त्यो कुरा प्रष्ट हुनेछ । मानिसहरुको आपसको सम्बन्धमा पैसा वा स्वार्थको मुख्य भूमिका हुन्छ । मानिसहरुका आपसका प्रेम वा आत्मीयताका सम्बन्धहरु पनि पैसा वा स्वार्थमा बाधा पुग्ने वित्तिकै विग्रन थाल्छन् । बाबुछोरा, दाजुभाई, दिदीबहिनी, पतिपत्नी, छर छिमेकी आदिका बीचमा पैसा वा स्वार्थको लागि चल्ने अन्तरविरोधहरुबाट त्यो कुरामा कुनै शंका रहन्न । यहाँसम्मकी पैसा वा स्वार्थको लागि आपसमा कुटपिट गर्ने, मुद्दा मामिला गर्ने वा हत्यासम्म गर्ने गरिन्छ । घरघरमा सासु, बुहारी, नन्द भाउजु, जेठानी, देउरानी, सौताहरु आदिका बीचमा चल्ने अन्तरसंघर्ष, एक अर्काका विरुद्धको व्यक्तिगत टिकाटिप्पणी आदिले पनि हाम्रो परिवार वा समाजको विकृत स्वरुपलाई बताउँछन् । त्यस प्रकारका विकृतिहरुबाट राजनीति पनि अछुतो रहेको छैन । हामीले आजको यस प्रकारको विकृत मनोवृत्तिमा परिवर्तन ल्याउन प्रयत्न गर्नुपर्दछ र त्यही कुरा राजनीतिको सन्दर्भमा पनि सत्य हो । राजनीतिमा जुन स्वार्थमय वा विकृत प्रवृत्तिहरु देखापरेका छन् । त्यसले गर्दा देशको विकास हुन सकिरहेको छैन । यहाँसम्मकी त्यस प्रकारका कमजोरी वा विकृतिहरुका कारणले जुन देशहरुमा समाजवादी व्यवस्थाको स्थापना भयो, ती पनि असफल भएर गए । त्यस प्रकारका दोषहरुका कारणले कैयौं देशहरुमा लामो र गौरवपूर्ण इतिहास भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको पनि विघटन वा पतन हुने गरेको छ । त्यसरी त्यस प्रकारको मानसिकतामा सुधार एउटा विश्वव्यापी समस्या हो ।

घरपरिवार र गाउँदेखि लिएर सम्पूर्ण विश्व त्यस प्रकारका विकृत मनोवृत्तिहरुद्वारा ग्रसित छ । त्यही कारणले नै आज सम्पूर्ण विश्व अशान्तिको घर बनेको छ । त्यही कारणले घरघरमा कैयौं झगडाहरु हुने गर्दछन् भने ठूलठूला युद्ध र विश्व युद्धहरु पनि हुने गर्दछन् । अहिले पनि मानवजाति त्यस प्रकारका युद्धहरु र विनासको मुखमा उभिएको छ । तर हामी निरास हुनु हुँदैन र यो सारा संसारलाई विश्वव्यापी रुपमा फैलिएको अन्यायपूर्ण व्यवस्था र त्यसका कारणले उत्पन्न भएको दुषित र विषाक्त मानसिकतालाई बदल्नको लागि संघर्ष गर्नुपर्दछ । यो संघर्ष कठिन अवश्य छ, तर असम्भव छैन । तर सायद त्यसका लागि हामीले पुस्तौपुस्तौ वा युगयुगसम्म संघर्ष गर्नुपर्ने छ । तर यो कारणले हामीले आशा गर्ने ठाउँ छ कि मानव जातिको लगातार निम्नस्तरबाट उच्चस्तरमा विकास हुँदै गइरहेको छ र त्यस आधारमा अहिलेको अन्यायपूर्ण समाज व्यवस्थाको अन्त हुनेछ भन्ने कुरामाथि पूरा विश्वास गर्न सकिन्छ । माथि हामीले घर, परिवार, समाज, राजनीति वा स्वयं कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृतिहरुको जुन चर्चा ग-यौ, त्यो नै संसारको मुख्य वा एकमात्र पक्ष होइन । त्यसका साथै समाजमा विद्यमान सबै आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक वा मनोवैज्ञानिक विकृतिहरुका विरुद्ध वा तिनीहरुमा सुधार वा परिवर्तनका लागि पनि संसारभरि नै संघर्ष चलिरहेका छन् । वास्तवमा यो सामाजिक जीवनको प्रधान र निर्णयात्मक पक्ष हो र त्यसले एउटा नयाँ र आदर्श समाजको निर्माण गर्ने छ भन्ने कुरामाथि हामीलाई पूरा विश्वास छ । अन्तमा मानवजातिको भविष्य आशामय र उज्ज्वल छ ।

२९. वर्तमान कम्युनिष्ट सरकारको सम्बन्धमा यहाँको दृष्टिकोण ?

सर्वप्रथमतः हामीले यो स्पष्ट गर्न चाहन्छौं कि वर्तमान सरकार कम्युनिष्ट सरकार नै होइन । माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरुबाट बिचलित भएका पूर्व एमाले र माओवादी केन्द्रहरु दक्षिणपन्थी संशोधनवादी संगठनहरु थिए र, त्यसकारण तिनीहरुको मेलबाट बनेको संगठन कम्युनिष्ट पार्टी हुन सक्दैनथ्यो र होइन पनि । जब नेकपा नै कम्युनिष्ट पार्टी होइन भने त्यसको नेतृत्वमा बनेको सरकार पनि कम्युनिष्ट सरकार नहुने कुरा प्रष्ट छ । नेकपा कम्युनिष्ट नभएपनि त्यो देशभक्त, जनतान्त्रिक र वामपन्थी संगठन हो भन्ने कुरा हामीले पहिले नै स्पष्ट गरिसकेका छौं । तर त्यसको चरित्र ढुलमुल, अवसरवादी र सम्झौतापरस्त प्रकारको छ । त्यसको नेतृत्वको सरकारले जुन प्रकारको कार्यशैली अपनाएको छ, त्यो पनि अत्यन्त असन्तोषजनक प्रकारको छ । त्यसले देशको विकासमा पनि सन्तोषजनक प्रकारले काम गर्न सकिरहेको छैन ।

देशमा बलात्कार, हत्या, भ्रष्टाचार बढ्दै गइरहेका छन् । नेकपा, नेका, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशवादी आदि जस्तो प्रतिक्रियावादी संगठन होइन र गणतन्त्र र धर्मनिरपेक्षता प्रतिको त्यसको अडान अपेक्षाकृत प्रगतिशील छ । तर त्यसको नेतृत्वको सरकारको गलत प्रकारको कार्यप्रणालीबाट प्रतिक्रियावादीहरुलाई बल पुगिरहेको छ र स्वयं वर्तमान सरकारको नीतिका कारणले पनि गणतन्त्रको आधार कमजोर हुँदै गइरहेको छ । संघीयताका कारणले पनि देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुगिरहेको छ । राजावादीहरुले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नको लागि अभियान चलाईरहेका छन् । भारतीय साम्राज्यवादले पनि एकातिर नेपालको राष्ट्रियताका विरुद्ध र अर्कातिर गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नको लागि नेपालका राजावादीहरु तथा पृथकतावादीहरु (मधेशवादीहरु)लाई मद्दत गरिरहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा, एकातिर, वर्तमान सरकारका सबै गलत नीतिहरुका विरुद्ध सम्झौताहीन र दृढतापूर्वक संघर्ष गर्ने र अर्कातिर राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा तथा संघीयताका विरुद्ध संघर्ष गर्ने हाम्रो नीति हुनुपर्दछ ।

३०. अन्त्यमा मैले सोध्न छुटाएको र यहाँ स्वयंले भन्न चाहेको थप अरु कुरा भए भनिदिनु हुन अनुरोध गर्दछु ।

अन्तमा मैले एउटा कुराप्रति सबै पाठकहरुको ध्यान आकर्षित गर्न चाहन्छु । आज देश गम्भीर प्रकारको संकटको मुखमा उभिएको छ । गणतन्त्र र राष्ट्रियता दुवै खतरामा छन् । अर्कातिर मानिसहरको ध्यान देशको अगाडि देखापरेको संकट वा देशको भविष्यप्रति भन्दा बढी आफ्ना व्यक्तिगत समस्याहरुप्रति नै जाने गरेको छ । त्यसमाथि देशमा विदेशमा पलायनको प्रवृत्ति तीब्र गतिले बढ्दै गइरहेको छ । यी सबै गम्भीर खतराका संकेतहरु हुन् । त्यस प्रकारका खतराहरुबाट देशलाई बचाउन हामीहरु सबैको ध्यान जानुपर्ने आवश्यकता छ ।

(नेकपा (मसाल) का महामन्त्री सिंहसँग गुल्मी, तम्घासबाट प्रकाशित ‘हाम्रो पूरुषार्थ त्रैमासिक’ का लागि प्रा.डा. दुर्गाप्रसाद अर्यालले लिनुभएको अन्तरवार्ता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *