आज मकर संक्रान्ति अर्थात माघे संक्रान्ति

देवेन थापा, साईप्रस

नेपालका मगर, थारु र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व एवं नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति, माघी पर्व–२०७७ हो ।

नेपालका अधिकांश पूर्वहरुले जस्तै यो पर्वले पनि भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

पर्व एक, नाम अनेक सनातन धर्मावलम्बीहरुले माघे मकर संक्रान्ति, थारु समुदायले माघी (नयाँ वर्षको रूपमा) नेवार जातिले “घ्यो चाकु सन्हु”, तराइमा तिला संक्रान्ति, लिम्बू समुदायमा “कक्फेक्वा तङनाम, (चाप फुल्ने याम) भनेर विभिन्न जाती समुदायहरुले आ–आफ्नै चलन परम्परा अनुसार एउटै पर्वलाई छुट्टाछुट्टै नामले बुझ्ने र मान्ने गरेको पाइन्छ । माघे संक्रान्ति (माघी नेपालमा प्रान्तीय र जातीय अनुसार भिन्न तरीकाले मनाउने मान्ने चलन र आस्था छ ।

मधेशमा मैथिल र थारुसमुदायहरुले आजको दिन बडो सद्भावका साथ यो चाड मनाउने गर्दछन् । थारु समूदायमा आजको दिन येले दुगंका रुपमा लगभग नयाँ वर्षका रुपमै मनाउने प्रचलन छ ।

थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको मान्निन्छ । यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाउँदै रमाईलो गर्दै भोज खाने अनि जाग्राम बस्ने चलन पनि छ ।

नेवार समूदायहरुमा पनि ‘घ्यूचाकु सँल्हु’ नामले माघे संक्रान्ति मनाइने प्रचलन छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् ।

माघे संक्रान्ति पर्व नेपालका मगर जाति समुदायको पनि प्रमुख चाड हो । माघे संक्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर जाति समुदायले मनाउने यो ऐतिहासिक पर्व भौतिक जीवनमा आधारित रहेको बताइन्छ । यो पर्व बसन्त ऋतु नयाँ पालुवा सुरुहुने हिउँदे अनिकाल र उधौली जीवन पार गरि खुशियाली साथ बाच्न पाउने परिकल्पनाको उत्सवको रूपमा पनि मनाइन्छ ।

मगर जातिमा संक्रान्ति साताभरि मनाउने चलन रहे पनि पछिल्लो समय २÷३ दिन मात्र मनाउने गरेको पाइन्छ । यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् । यसैगरि छोरीचेलीहरु माईत आउने माइतिले चेलीबेटी निम्ताएर सेल रोटी तिलको परिकार, तरुल, भ्याकुर, सख्खरखण्ड, पिँडालु, माछा मासु, दाल, भात, नुन एकै ठाउँमा पकाइ खिचडि बनाउने त्यही खिचडि पिंड पितृलाई दिने परम्परा छ ।

मगरहरु घरमा चुट्का नाच्ने, गाउने धनुषकाण खेल्ने तारो हान्ने रमाइलो गर्दै माया सद्भाव गरि माघे संक्रान्ति मनाउने पुस मसान्तमा पकाएको पकवान परिकारहरु कन्दमुल माघ १ गते खाने गर्दछन् ।

वन तरुल बिना मगरहरुको संक्रान्ति अधुरो हुने भएकाले उनीहरु संक्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र संक्रान्तिको अघिल्लो रात वन तरुल पकाउँने चलन छ । साथै घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु, तरुल, सख्खरखण्ड, खिचडी (जाउलो) जस्ता परिकार पकाएर आफन्तहरुसँग बाडीचुडी खाने चलन छ ।

ज्योतिष दृष्टिकोण अनुसार माघ महिनाको १ गते सुर्य धनु राशीबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे संक्रान्ति अर्थात मकर संक्रान्ति भनिएको भन्ने पनि गरिन्छ ।

सुर्यको उदय बिन्दु दक्षिण तर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तारायण सुरु हुन्छ भन्ने मान्यता पनि रहेको छ ।

भारतमा पनि यो पर्वलाई विभिन्न नामबाट मनाइन्छ । उत्तर भारतमा मकर संक्रान्त भनिन्छ भने दक्षिण भारतमा यो पर्वलाई पाेंगल भनिन्छ । त्यस्तै पञ्जाब, हिमाचल र हरियाणाको अधिकांश ठाउँमा यो पर्वलाई लोहडी पर्वको नामले मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार