आफ्नै भुमिमा भारतीय सेनाको भरिया बनेर जाँदा

254 जनाले पढ्नु भयो ।

अतिक्रमित नेपाली भूमि गुञ्जी, नावी, कुटी गाउँ हुँदै लिम्पियाधुरासम्म पुग्ने संयोग मिल्यो । मलाई कालापानी र लिपुलेक नेपालको हो भन्ने जानकारी पहिले नै थियो । लिम्पियाधुरासम्मै नेपाली भूमि हो, गुञ्जी, नावी र कुटी गाउँ पनि नेपालकै हुन् भन्नेमा अनभिज्ञ थिएँ ।

जब भारतले सन् २०१९ नोभेम्बरमा कालापानी क्षेत्र समेटेर नक्सा जारी ग¥यो त्यसपछि विकसित घटनाक्रमका क्रममा नेपालका सीमाविद्ले पनि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा सार्वजनिक गरे । तब मलाई गुञ्जी, नावी र कुटी पनि नेपाली गाउँ भएको थाहा भयो ।

लिम्पियाधुरा क्षेत्रको मेरो यात्रा २०७४ असार २४ गते सुरु भयो । त्यही बिहानको कुरा हो, एक जना मेरा छिमेकी अंकलले भन्नुभयो, ‘पारि (भारतीय क्षेत्रमा) आर्मीको पट्रोल आएको छ । घरमा बस्नुभन्दा त अलिकति पैसा हुन्छ जाऊँ ।’

म वैशाखमा कक्षा १२ को परीक्षा दिएपछि जेठ महिनाभर हिमाली क्षेत्रमा यार्सा संकलन गरी फर्किएर घरमा त्यत्तिकै बसिरहेको थिएँ । मेरो घर दार्चुला जिल्लाको व्यास गाउँपालिका–४ सुन्सेरा हिमाली क्षेत्रमा पर्छ ।

वैशाख–जेठमा यार्सा संकलन गरी बेचेको पैसाले वर्षभरिको घरखर्च त्यसबाटै धान्नुपर्छ । खाली समयमा पैसा आर्जन हुने भएकाले मैले भारतीय सेनासँग काममा जाने कुरामा समर्थन जनाएँ ।

मेरो गाउँबाट हाम्रो टोली महाकाली नदीमाथिको तुइन चढेर भारतको घट्टेबगड पुग्यो। घट्टेबगडमा भारत–तिब्बत सीमा पुलिस (आईटीबीपी) र भारतीय सेनाको कुमाउ स्काउटको बटालियन थियो। हामी त्यही क्षेत्रको होटेलमा बास बस्यौं । दोस्रो दिन धार्चुलाबाट आर्मीको पट्रोल जाने गाडी ११ बजेतिर पुगे । कुमाउ रेजिमेन्टका दुईवटा पट्रोल आएका रहेछन्। एउटा कालापानी र लिपुलेक क्षेत्र जाने, अर्काे लिम्पियाधुरा क्षेत्र ।

ठेकेदारका मुन्छीले (मुन्छी भनेको ठेकेदारका कर्मचारी) हामी ११ जनाको नाम लेखे र बाटो खर्च एक–एक हजार भारु दिए । नेपाली भूमि अतिक्रमण गरी कालापानी, लिपुलेकमा बसेका भारतीय सेनालाई सघाउने मन त थिएन । तर, भदौ महिनामा आउने सुदूरपश्चिमकै ठूलो पर्व गौराका लागि रोजगारी गरेर खर्च जुटाउनु थियो । पट्रोलका लागि खाद्यान्न खच्चरहरूले लगेका थिए । भाडाकुँडा, केही हतियारमा प्रयोग हुने सामान, खाना पकाउने स्टोभ, मट्टीतेल आदि बोक्ने जिम्मा हाम्रो थियो ।

आआफ्नो जिम्माका सामान बोकेर हाम्रो टोली घट्टेबगडबाट उत्तरी क्षेत्रतर्फ लाग्यो । त्यस क्षेत्रमा लिम्पियाधुरा क्षेत्र जोड्ने सडक काट्ने काम भइरहेको थियो । सडकमा काम गर्ने अधिकांश नेपाली नै थिए । चट्टानी क्षेत्र भएकाले चट्टान विस्फोट गर्न प्वाल पार्ने काम भइरहेको थियो । त्यस सडक निर्माणका क्रममा कैयौं नेपालीले ज्यान गुमाउनु परेको छ ।

त्यो समय भारतले सडक विस्तार गरी नसकेकाले उक्त क्षेत्रमा सबै नेपाली कामदारले भारतीय सेना र कैलाश यात्रीका सामान बोक्नेलगायत काम गरिरहेका देखिन्थे । विशेषगरी सीमा क्षेत्रमा बसोबास गर्ने दार्चुलाका नागरिकसहित जाजरकोट, कालीकोट, बाजुरालगायत जिल्लाबाट नेपालीहरू त्यस क्षेत्रमा विभिन्न रोजगारी गरिरहेका देखिन्थे ।

वारिपारि चट्टानैचट्टान, बीचमा सलल बगेको महाकाली नदी । भारतीय सेनासँगै हाम्रो टोली अघि बढिरहेको थियो । बाटोमा मालपा क्षेत्र, छंकन हुँदै हाम्रो टोली घट्टेबगडबाट १२ किलोमिटर टाढा रहेको लामारी पुग्दा साँझको ५ बजिसकेको थियो । लामारी क्षेत्रमा आईटीबीपीको पोस्ट रहेछ । हाम्रो टोली एक रात त्यहीं बस्यो ।

kali river
लिम्पियाधुराबाट आएर कुटी क्षेत्रमा बगेको वास्तविक काली नदी । भारतले यो नदीलाई कुटियाङ्ती नदी भन्छ ।

अर्को दिन बिहानै यात्रा सुरु भयो । असारको महिना, आकाशबाट पानी परिरहेकै थियो । पट्रोलको टोली पनि आफ्नै गतिमा हिँडिरहेको थियो । पाँच किलोमिटर अगाडि बुदी गाउँ पुग्यौं । त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प पनि रहेछ । साथै कैलाश मानसरोवर यात्रीका लागि कुमाउ मण्डल विकास निगमका क्याम्प पनि राखिएका थिए । बुदी गाउँमा सौका समुदायको बसोबास रहेछ । गाउँको पसलमा नास्ता गरेर हामी अगाडि बढ्यौं ।

अब तीन किलोमिटर उकाली चढ्नुपर्ने थियो । हामीले पिठ्यूँमा ३० किलो जतिको सामान बोकिरहेका थियौं । त्यस क्षेत्रमा भारतीय सुरक्षाकर्मी कोही तल झरिरहेका थिए, कोही माथि चढिरहेका । तीन किलोमिटर एक घण्टामा पार गरेपछि छियालेक पुग्यौं । त्यहाँ भारतीय सेनाको कुमाउ स्काउटको बटालियन रहेछ । आईटीबीपीको पनि पोस्ट थियो । सेनाको पट्रोल भएकाले सेनाकै बटालियनले हाम्रा लागि खानाको व्यवस्थापन गरेको रहेछ ।

छियालेकबाट माथिको सीमा क्षेत्रमा भारतको ‘नोटिफाइड’ क्षेत्र सुरु हुन्छ । त्यस क्षेत्रमा प्रवेश गर्ने विदेशी नागरिकले बहुदेशीय यात्रा अनुमतिपत्र बनाउनुपर्ने हुन्छ । स्थानीयले भारतीय नागरिक भएको परिचयपत्र देखाउनुपर्ने रहेछ । सेनासँग गएकाले हामीलाई कुनै परिचयपत्रको आवश्यकता परेन ।

छियालेकमा पाँच दिन विश्राम गर्नु थियो । हामी ११ कामदारमध्ये चार जना फिर्ता भए । किनकि, छियालेकबाट कालापानी र लिपुलेकसम्म सडक भएकाले गाडी चल्थ्यो । लिम्पियाधुरा क्षेत्रमा सडक विस्तार नभएकाले हामी सात जना भने त्यता जाने भयौं । त्यसबेला घट्टेबगडबाट छियालेकसम्मको चट्टानी क्षेत्रमा मात्रै सडक काट्न बाँकी थियो । छियालेकभन्दा माथिको क्षेत्रमा हेलिकोप्टर प्रयोग गरी भारतले सुरक्षाकर्मीका लागि गाडी पु¥याएको रहेछ ।

छियालेकबाट पारि नेपालको छाङरु गाउँ टलक्क देखिन्थ्यो । छाङरुमा नेपाल टेलिकमको टावर छ । भारततर्फ सञ्चारको कुनै सुविधा नभएकाले भारतीय सेना घरमा सम्पर्क गर्न हाम्रा फोन माग्थे । दाउरा बनाउने, भान्सामा काम गर्ने गर्दै छियालेकमा पाँच दिन बिते । पाँचौं दिनपछि फेरि यात्रा सुरु भयो ।

छियालेकमा पट्रोल टोलीलाई लिन सेनाका तीन गाडी आएका थिए । अबको यात्रा गाडीबाट अघि बढ्यो । छियालेकबाट चार किलोमिटर अगाडि गरब्याङ पुग्यौं । गरब्याङ क्षेत्रमा नेपाल–भारत जोड्ने सीतापुल छ । सीतापुलबाट पारि गए नेपालका छाङरु र तिंकर गाउँ पुगिन्छ । सीतापुलमा भारततर्फ एसएसबी थिए । नेपालतर्फ भने पुलमा कोही सुरक्षाकर्मी थिएनन् । नेपाल सरकारले गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) स्थापना गरेको स्थान सीतापुलबाट एक किलोमिटर अगाडि छ ।

यात्रा अघि बढिरह्यो । भारतको नपल्च्यु गाउँबाट पुल तरी गुञ्जी गाउँ पुग्यौं । गुञ्जीछेउ रहेको सेनाको क्याम्पमा गएर खाना खाई वि श्राम ग¥यौं । क्याम्पछेउ दोभान छ, लिपुलेकबाट आउने लिपु खोला र लिम्पियाधुराबाट बग्ने महाकाली नदीको। लिम्पियाधुराबाट बग्ने नदीको पानी लिपु खोलाबाट आउनेभन्दा झन्डै दोब्बर देखिन्थ्यो ।

गुञ्जीमा भारत सरकारले पक्की हेलिप्याड बनाएको छ । ठूला आकारका चारवटा हेलिकोप्टर अवतरण गर्न सक्ने जत्रो हेलिप्याड देखिन्थ्यो । गुञ्जीभन्दा पारि नेपालको कौवा क्षेत्र छ । गुञ्जीमा रहेका भारतीय सुरक्षाकर्मीले लिपुलेकबाट आउने खोलामा काठे पुल लगाएका छन् । कौवाबाट मनपरी रूख काटेर दाउरा बनाउँदा रहेछन् ।

गुञ्जीमा एक रात बिताएर यात्रा अघि बढ्यो । त्यहाँबाट कालापानी र लिपुलेक क्षेत्रको पट्रोलमा जाने सेनाको टोली गाडीमा उत्तर–पूर्वतर्फ लाग्यो । हाम्रो टोली गुञ्जीबाट उत्तर–पश्चिम क्षेत्र लाग्यो । करिब पाँच किलोमिटर रङकाङ क्षेत्रसम्म गाडीमा गयौं । लिम्पियाधुराबाट आएको नदीभन्दा पारिको गाउँ हो, रङकाङ । सडक विस्तार नभएकाले हिँडेरै जानुपर्ने भयो ।

दुई किलोमिटर क्षेत्रमा नावी गाउँ थियो । नावीमा पनि सौका समुदायको बसोबास छ । त्यहाँभन्दा अलिक अगाडि नाम्पा खोला पर्छ । नदी किनारैकिनार हाम्रो यात्रा अघि बढिरह्यो । त्यस दिन सबैभन्दा बढी हिँड्नु थियो । गुञ्जीबाट झन्डै १९ किलोमिटर टाढा कुटी गाउँ छ । भारतीय सेनाको टोली पहिले नै पुगिसकेको थियो । हामी कामदार त्यस क्षेत्रको अवलोकन गर्दै बिस्तारै अघि बढेका थियौं । बिहान ९ बजेदेखि पैदल हिँड्न थालेका हामी झन्डै साँझ ५ बजेतिर कुटी पुग्यौं । त्यहाँ चार दिन वि श्राम गर्नुपर्ने थियो। सेनाको ब्यारेक गाउँभन्दा करिब एक किलोमिटर टाढा थियो । आईटीबीपीको पोस्ट गाउँछेउमै थियो ।

Kuti gau
अतिक्रमित क्षेत्रको अन्तिम गाउँ कुटी ।

हामी सेनाको ब्यारेकमै खाना खाएर बस्न भने राति एक किलोमिटर वर कुटी आउँथ्यौं । कुटीका होटेल व्यवसायी कुँवरसिंह कुटियालले हामीलाई बस्न निःशुल्क व्यवस्था गरिदिएका थिए । कुँवर दाइको होटेलमा करिब १२ वर्षका एक नेपाली कामदार रहेछन् । कुटीमा सुरक्षाकर्मीका लागि हट (हिउँमा बस्न मिल्ने विशेषघर)का पाटपुर्जा सार्ने काममा पनि नेपाली भेटिन्थे ।

दार्चुलाका साथै जाजरकोट, कालीकोट, बझाङ, बाजुरा क्षेत्रका नेपालीलाई विभिन्न काम गरिरहेका भेटिन्थे । कोही घरका काममा, कोही खच्चरको काम त कोही बाटो बनाउन तल्लिन देखिन्थे । त्यो चिसो क्षेत्रमा नेपालीलाई दैनिक ज्याला पाँच सय भारु दिइँदो रहेछ । सस्तोमा जोखिमपूर्ण काम गर्ने भएकाले रोजाइमा नेपाली कामदार पर्थे । हामीलाई त झन् दिनको साढे चार सय भारु मात्रै दिएका थिए ।

भारतीय कामदार भने आदि कैलाश क्षेत्रका पर्यटक गाइड बन्थे । उनीहरू दिनको एक हजार भारु छ भनेर सुनाउँथे । न्यून ज्यालामा काम गर्नु नेपालीको बाध्यता नै हो । रोजगारी गर्न कि विदेश जानुपर्ने कि त भारतको दिल्लीलगायत ठाउँमा । त्यति टाढा गएर काम गर्नुभन्दा त अलिक कम पैसा भए पनि नजिक राम्रो भनेर त्यसमै चित्त बुझाएका थियौं ।

कुटी गाउँ सामरिक तथा प्राकृतिक हिसाबले मात्रै नभई धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ । यो गाउँको छेउमा अलिक अग्लो स्थानमा पुराना जीर्ण भवन छन् । ती भौतिक संरचना महाभारत ग्रन्थका पात्रहरू पाँच पाण्डवको घर भएको विश्वास गरिन्छ ।

कुटीमा चार दिन बसाइपछि पट्रोलको टोली जोलिङकाङतर्फ प्रस्थान ग¥यो । कुटीबाट करिब चार किलोमिटर पर पुल तरेर नदी पारि जाने बाटो थियो । कुटीबाट १३ किलोमिटर टाढा रहेको जोलिङकाङ उच्च हिमाली क्षेत्र भएकाले बोटबिरुवा पाइँदैन । हिँड्दा सास बढेको महसुस हुन्थ्यो । हामी जेनतेन जोलिङकाङ पुग्यौं ।

त्यहाँ आईटीबीपीको क्याम्पमा चिया पिएर हामी करिब एक किलोमिटर पर सेनाको क्याम्पमा गयौं । क्याम्पमा फौज थिएन । पट्रोल आउन–जान नै सेनाले क्याम्प राखेको रहेछ । क्याम्पसँगै कुमाउ विकास मण्डल निगमका क्याम्प पनि छन् । आदि कैलाशका नामले प्रख्यात पार्वती कुण्ड र गौरी ताल यस क्षेत्रमा भएकाले यहाँसम्म यात्रु पुगिरहेका हुन्छन् । यस क्षेत्रमा महाभारतसँग जोडिएका अवशेषसमेत रहेछन् ।

पार्वती कुण्डनजिक जोलिङकाङमा एउटा अचम्मको दृश्य छ । अधिकांश समय हिउँ जम्ने उक्त क्षेत्रमा रोपाइँ गरेजस्तै दृश्य देखिन्छ । स्थानीयका अनुसार त्यो द्वापर युगमा पाण्डवले लगाएको धान खेती हो रे ! त्यो ठाउँमा बीउ उमारिएजस्तो हरियाली देखिन्थ्यो ।

पावर्ती कुण्डमा ठूलो मन्दिर बनाइएको छ । ताल परिक्रमा गर्न एक घण्टाभन्दा बढी लाग्ने गरी वरिपरि बाटो बनाइएको छ । बाटोमा रेलिङ बिच्छ्याउने काम भइरहेको थियो । त्यहाँ करिब ४० जना नेपाली कामदार खटिएका थिए । त्यस क्षेत्रमा फाँटहरू भएकाले बाख्राहरू पनि वनमा चराउन लगेका देखिन्थे ।

जोलिङकाङमा तीन दिन बस्ने भयौं । हामीले फौजका लागि खाना बनाउने, पानी सार्नेलगायत काम ग¥यौं । लिम्पियाधुराबाट बग्ने नदी र भौगोलिक बनावट हेर्दा पार्वती कुण्ड, जोलिङकाङ भारतको भूमि हो भने लिम्पियाधुराबाट बग्ने नदीपारि रहेका फाँटहरू नेपालका ।

चौथो दिन जोलिङकाङबाट नौ किलोमिटर टाढा रहेको ओल्सा बेसमा जानुपर्ने थियो । बिहानै नास्ता खाएर सबै तयार भयौं । जोलिङकाङबाट नदी किनारैकिनार उत्तरतर्फ सिधा बाटो भएर ओल्सा बेसमा पुग्यौं । सेनाको ओल्सा बेसबाट लिम्पियाधुरा क्षेत्र जान लिम्पियाधुराबाट आएको नदी तरेर पारि जानुपर्छ । त्यस क्षेत्रमा दुईवटा पास रहेछन्, लिम्पियाधुरा र मङस्याधुरा । एक दिन विश्राम गरेर सीमा क्षेत्रमा जानुपर्ने योजना सेनाको थियो ।

बोर्डर प्वाइन्टमा जाने दिन हवल्दार मेजरले मलाई राति १ बजे नै उठाएर चिया बनाउन लगाए । राति २ बजेसम्म तयार भएर सेनाको टोली दुई कामदार लिएर मङस्याधुरातर्फ गयो । अचम्मलाग्दो कुरा के देखियो भने लिम्पियाधुराको शून्य प्वाइन्ट अर्थात् चीनसँगको सीमामा भारतीय सेना रातारात जाँदा रहेछन् । राति नै सीमा अवलोकन गरी बिहान ८–९ बजेसम्म ओल्सा बेसमा फिर्ता हुने रहेछन् ।

अर्को दिन लिम्पियाधुरा पासमा जाने पालो मेरो थियो । त्यो दिन पनि सेनाका हबलदार मेजरले मलाई राति १ बजे चिया बनाउन उठाए । स्टोभ बाल्नुपर्ने भएकाले १० मिनेटमा चिया तयार भयो । पासमा जानेहरू सेनाका जवान लगायत सबै २ बजेसम्म तयार भयौं । मैले अक्सिजन सिलिन्डर बोकेको थिएँ । अर्का मेरा साथीले चट्टान चढ्न प्रयोग हुने डोरी बोकेका थिए । सेनाहरू हातहतियारमा सजिए ।

ओल्साबाट पुल तरेर पारिपट्टि ४–५ किलोमिटर सिधा उकाली चढेर हामी लिम्पियाधुरामा करिब अँध्यारो–उज्यालो (झिसमिसे) अवस्थामा पुग्यौं । लिम्पियाधुरा क्षेत्रका चट्टानहरूमा हिउँ थियो । कुनै–कुनै ठाउँमा हिउँ पग्लिएको थियो । साउनको महिना भएकाले अधिकांश हिउँ पग्लिएको थियो । कालो माटो, कालो चट्टान र काला मसिना ढुंगा मात्रै त्यो क्षेत्रमा देखिन्थ्यो । लिम्पियाधुरा पासमा ढुंगा जोडेर चिनियाँ अक्षरमा केही लेखिएको थियो। भारतीय सेनाले त्यस क्षेत्रको फोटो खिचे, बिहानको साढे ८ बजेतिर सबै फिर्ता भए ।

मैले यति राति किन सीमा हेर्नुपर्ने भनेर एक जना जवानलाई सोधें । पछि चिनियाँ सेना पनि सीमा हेर्न आउन सक्ने भएकाले बिहान सबेरै जाने गरेको उनले खुलाए । सीमा क्षेत्रमा काम गरिरहेका भारतीय सेनामा चीनको त्रास धेरै रहेछ । आफ्नो घर बागेश्वर बताउने सेनाका नायक (२ फिता लागेको) ले हामीसँग गुनासो नै पोखे, ‘गाउँ मे विवी हे, बालबच्चा हे । चाइना कब एक बम फ्याक के यही दफनादेता हे ।’

उनको यो भनाइले पनि भारतीय सेनामा चीनको डरत्रास रहेको बुझ्न सकिन्छ । आफ्नो घर दक्षिण भारत बताउने आईटीबीपीका एक जवानले पनि चीनको डर पोखे । ‘चाइनिज सेना आगया तो में सीतापुलमें नेपालको चलाजाउंगा, नेपालमें चिनी सेना कुछ नही करेगां’, उनले भने । यी दुई जना त प्रतिनिधि पात्र हुन् ।

भारतीय सेनाले ओल्सा बेसबाट दुवै पासको दुई–दुई पटक अवलोकन ग¥यो । करिब १० दिनको ओल्सा बसाइ पनि सकियो । एघारौं दिन पुनः फिर्ता भयौं । जोलिङकाङ, कुटी, नावी, गुञ्जी, छियालेक हुँदै दुई दिनमा हामी घट्टेबगड पुगिसकेका थियौं । घट्टेबगडको चट्टानमा सडक निर्माण भइरहेकै थियो । त्यही बाटो भएर हिँड्नुपर्ने भएकाले वर्षातका बेला चट्टानबाट ढुंगा झर्ने जोखिम पनि उत्तिकै थियो ।

झन्डै एक महिनाको यात्राबाट घर फर्किन पाउँदा खुसी लागेकै थियो । घट्टेबगडबाट सेनाको गाडीले हामीलाई तुइन भएको स्थल बर्तीघाटसम्म पु¥यायो । महाकाली नदी उर्लिएको थियो । हामी तुइन तर्न महाकाली किनारतर्फ लाग्यौं । भारतीय सेनाको गाडी धार्चुलातर्फ लाग्यो ।

पछिल्लो समय सीमा विवाद चर्किएकाले र भारतले सडक विस्तार गरिसकेकाले नेपालीलाई उक्त क्षेत्रमा रोजगारीमा लगाउन बन्द गरेको छ । उक्त क्षेत्रमा रोजगारी गुमाएका नेपालीले के काम गरेर परिवार चलाइरहेका होलान् ? सरकारले नयाँ नक्सा प्रकाशन गरेको भए पनि नेपालीले नयाँ रोजगारी पाउन सकेका छैनन् । भारतीय सेनाको पट्रोलबाट फर्केपछि म पढाइ गर्न जिल्ला सदरमुकाम झरेसँगै दार्चुलामा पत्रकारिता पनि गरिहेको छु ।

अतिक्रमित नेपाली गाउँका नागरिकको अवस्था

भारतले अतिक्रण गरेका नेपालका कुटी, नावी र गुञ्जीमा सौका समुदायको बसोबास छ । भारतको पिथौरागढका बुदी, गरब्याङ, नपल्च्यु, रौङकाङसहित नेपालका कुटी, नावी, गुञ्जीसहित तिंकर र छाङरु गाउँ व्यास क्षेत्र भनेर चिनिन्छ । यो पूरै क्षेत्रमा बसोबास गर्ने सौका समुदाय नै हुन् । उक्त क्षेत्रमा आलु, मुला, रायो, फापर, जौ आदि कृषि उत्पादन हुन्छ ।

सौका समुदाय नै वारिपारि बस्ने भएकाले सीमा क्षेत्रका बासिन्दा एकअर्काको कार्यमा सहभागी भइरहेका हुन्छन् । नेपाली र भारतीय सौकाले बोल्ने भाषा एउटै हो । पहिरन एउटै छ ।

हिउँदमा भारी हिमपात हुने भएकाले नेपाल र भारत दुवै क्षेत्रका बासिन्दा बेंसी झर्ने गरेका छन् । नेपाली गाउँका नागरिक दार्चुला सदरमुकाम खलंगा झर्छन् । भारतीय गाउँका नागरिक पिथौरागढको धार्चुला तहसिल झर्छन् । भारतले अतिक्रमण गरेका नेपाली गाउँ नावी, कुटी र गुञ्जीका कतिपय बासिन्दा दार्चुला सदरमुकाममा बसोबास गर्छन् । ती तीन गाउँका ११ परिवार दार्चुला सदरमुकाम खलंगामा बसोबास गर्ने गरेको तथ्यांक छ ।

अतिक्रमित गाउँका नेपालीसँग भारतीय आधार कार्ड, रासन कार्ड छ । लकडाउनले सीमा नाका बन्द भएकाले भारतीय रासन कार्ड भएका नेपालीले भारतबाट रासन (खाद्यान्न) ल्याउन सकिरहेका थिएनन् । भारतको धार्चुला प्रशासनका एसडीएम अनिलकुमार शुक्लाले गत वैशाख २३ गते भारतबाट उनीहरूले खाद्यान्न लग्न सक्ने अवस्था नरहेको भन्दै नेपाली प्रशासनलाई खाद्यान्नको व्यवस्था गर्न पत्र लेखेका थिए ।

यो सामाग्री विरादत्त भट्टले अन्नपुर्ण पोष्टमा लेखेका छन् । हामीले साभार गरेका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *