इन्टरनेट/ सामाजिक सञ्जालका चुनौती

0Shares

78 जनाले पढ्नु भयो ।

नभागौ, बुझौं र बुझाऔं

  • उज्जवल आचार्य

इन्टरनेट, सामाजिक सञ्जाल आदिको अन्धाधुन्द प्रयोगबाट पैदा हुने जोखिम कम गर्ने एउटै भरपर्दो उपाय– यसका बारेमा जानकारी राख्नु हो । बालबालिका/किशोरकिशोरीलाई इन्टरनेट र यसका विभिन्न पक्षबारे पर्याप्त  ज्ञान प्रदान गर्न सके यसको नकारात्मक असरबाट  बच्न र प्रभावकारी प्रयोग गर्न सकिन्छ । 

  • इन्टरनेटको कुलतले रक्सी र गाँजा वा कोकिन जस्ता लागुऔषधको सेवनबाट पर्ने जस्तै अस मस्तिष्कमा पार्छ भनेर चीनका बैज्ञानिकहरुले सन् २०१२ मा दाबी गरेका थिए । त्यसयता, चिनमा बालबालिका र युवाहरुलाई इन्टरनेट कुलतबाट छुटकारा दिने ३०० भन्दा बढी पुनस्र्थापना केन्द्रहरु स्थापना भएका छन् । 
  • बेलायतको बालबालिका आयुक्तको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा १० देखि १२ वषका बालकालिकालाई सोसल मिडियाको प्रयोगले संवेदनात्मक जोखिम मा पार्ने देखाइएको छ । अधिक मात्रामा सोसल मिडिया प्रयोग गर्ने बालबालिकाहरु आफ्नो अनलाइन छवि का बारेमा पीर गर्ने, ती मिडियामा आफू राम्रो देखिनै पर्ने जस्तो एकोहोरो सोंचका कारण गम्भीर मनोवैज्ञानिक समस्यामा पर्दै जाने सो प्रतिवेदनमा उल्लेख छ । 
  • युनिसेफको बालबालिकाको स्थिति २०१७ प्रतिवेदनले इन्टरनेटको सदुपयोग र दुरुपायोग दुबे हुन सक्ने तर सूचना तथा सञ्चारप्रविधिको विकासले बाल्यकालका जोखिम र विशेषतः यौनिक दुराचार बढाउने देखाएको छ ।
मोबाइल र इन्टरनेट आजको जीवनका अभिन्न अंग बनिसकेका छन् । साना बालबालिकालाई खाना खुवाउन वा व्यस्त राख्न युट्युबमा भिडियो देखाउने वा मोबाइलमा खेल्ने दिन शुरु गर्ने अभिभावकहरु प्छि गएर त्यही बानी छुटाउन नसक्दा दिक्क भएका कुराहरु दैनिक सुनिन्छन् । विद्यालय जाने उमेरका बालबालिका फेसबूक र मोबाइल वा कम्प्यूटरमा गेम खेल्न सिपालु भइसकेका हुन्छन् । तथ्याङ्क हेर्दा पनि नेपालका इन्टरनेट प्रयोगकर्ताहरुमध्ये एक चौथाई १३ देखि १९ वर्ष उमेर समूहका छन् । हामीमध्ये धेरै अभिभावकलाई १२–१३ वर्षका छोराछोरीले नै मोबाइल वा इन्टरनेट वा सोसल मिडिया चलाउन सिकाउँदै छन् ।
कम्यूटर वा मोबाइल धेरै चलाउँदा आँखा कमजोर हुनेबारे धेरै अभिभावक सचेत छन् । तर इन्टरनेट वा सोसल मिडिया वा कम्प्यूटर र मोबाइल गेमले पार्ने अन्य मनोसामाजिक असर र त्यसलाई न्यूनीकरण गर्ने उपायका बारेमा हामीमध्ये धेरैजसो अनभिज्ञ नै छौं । इन्टरनेट नयाँ प्रविधि हो, अहिले शिक्षक वा अभिभावकको भूमिका भएका हामीहरुको बाल्यकाल यो प्रविधिसँग वितेन । परिणामतः हामी पनि यी प्रविधिसँग भर्खरै परिचित हुँदैछौं । त्यसमाथि बालबालिका/किशोरकिशोरीको जिज्ञासुपनले उनीहरुलाई प्रविधिका कुरामा हामीभन्दा जान्नेसुन्ने बनाइदिएको छ । जसले गर्दा, हामीले उनीहरुलाई प्रविधिको सही प्रयोगका बारेमा आफै सिकेर अथवा जान्ने–बुझ्नेहरुको सहयोग लिएर बालबालिकालाई सिकाउन अग्रसर नहुने हो भने  यसबाट उनीहरुलाई फाइदा भन्दा बढी बेफाइदा गर्ने र उनीहरु जोखिममा पर्ने सम्भावना अत्यन्त उच्च छ ।
अभिभावक/शिक्षकहरु स्पष्ट हुनुपर्ने केही बुँदाः
इन्टरनेट र बालबालिका/किशोरकिशोरीका बारेमा कुरा गर्दा अभिभावक तथा शिक्षकहरु त्लका कुराहरुमा स्पष्ट हुनु जरुरी छ । तल उल्लेखित बँदाहरुलाई आत्मसात् गर्न सक्दा हामी ठीक स्थानमा हुनेछौं, अन्यथा खतरा आउँदा टाउको लुकाउनुपर्ने अवस्थामा पुग्नेछौं :
  • इन्टरनेट र यसमा आधारित प्रविधिबाट बालबालिका/किशोरकिशोरीलाई पर राख्न सकिन्न । कथं त्यसो गरियो भने पनि त्यसले  पार्ने असर र जोखिमले बालबालिका/किशोरकिशोरीको भविष्य अझ् अन्योलपूर्ण  तुल्याउन सक्छ । त्यसैले नेट–इन्टरनेट, फेसबूक आदि चलाउँनै नदिनु गलत हो । 
  • इन्टरनेट सही प्रयोगको जानकारी नहुँदा बालबालिका÷किशोरकिशोरी जोखिममा पर्ने संभावना रहिरहन्छ । त्यसैले चलाउँदै जान्छन, सिक्दै जान्छन् भनेर शिक्षक–अभिभावकले वास्तै नगर्नु पनि लगत हो ।
  • इन्टरनेटको सही प्रयोग गर्दा बालबालिका/किशोरकिशोरीले ज्ञान हासिल गर्ने मात्रै होइन, सुखद बाल्यकालको अनुभूति गरेर जीवनका निम्ति उपयोग र अत्यावश्यक सीपहरु प्नि सँगसँगै सिक्न सक्छन् । 
  • सही रुपमा प्रयोग गरियो भने इन्टरनेट र यससम्बन्धी प्रविधिले दिने फाइदा, यसका बेफाइदाभन्दा कैयौं गुणा बढी छन् । 
बालबालिका/किशोरकिशोरीलाई इन्टरनेट र प्रविधिको सही प्रयोग सिकाउने र गर्न लगाउने जिम्मेवारी अभिभावक र शिक्षक दुबैको हो, कुनै एकबाट मात्र सम्भव हुँदैन ।
ह्यारी पोटर की कथाकार जे के रोलिङले भनेको एक बाक्यले माथिका बुँदालाई यसरी संक्षेपीकरण गर्छः “इन्टरनेट किशोरकिशोरीहरुका लागि एउटा बरदान र एउटा श्राप हो ।” निर्दोषहरुका लागि इन्टरनेट श्राप बन्न सक्छ । यसलाई बरदान बनाउने उपाय भनेको यसको अवसर जोखिमका बारेमा जानेर यसलाई सही र सुरीषत रुपले प्रयोग गर्नु हो ।
बालबालिका र प्रविधिका अवसर
इन्टरनेट वा मोबाइल/कम्प्यूटर हामी सबैका लागि जस्तै बालबालिका÷किशोरकिशोरीका लागि वरदान हुन् । यिनको सही प्रयोगले बालबालिका/किशोरकिशोरीको ज्ञान, क्षमता र वृत्तिविकासका अनगिन्ती अवसर जुट्छ । यो प्रविधिको प्रयोगमार्फत नेपालका अधिकांश विद्यालयमा पुग्न नसकेको पुस्तकालय वा विज्ञान प्रयोगशाला वा प्रयोगात्मक शिक्षाको खाँचोलाई धेरै हदसम्म पूर्ति गर्न सकिन्छ । शिक्षकले विद्यार्थीलाई सजिलो तरिकाले पाठ बुझाउन मात्रै होइन, अभिभावक र बालबालिका/किशोरकिशोरीले स्वअध्ययनका लागि समेत यी प्रविधिको प्रयोग गर्न सक्छन् । सूचना र ज्ञानका यस्ता श्रोतलाई प्रयोग गर्न सकियो भने अहिलेसम्म विकसित मुलुकका बालबालिका/किशोरकिशोरीका लागि मात्र उपलब्ध थुप्रै ज्ञान हाम्रा बालबालिका/किशोरकिशोरीहरुले पनि प्रयोग गर्न सक्छन् ।

इन्टरनेटको ज्यादा प्रयोगलाई मनोरोगको रुपमा व्याख्या गरिन्छ । अमेरिकी मनोवैज्ञानिक संघले त इन्टरनेट प्रयोगको कुलतलाई रक्सी वा लागूपदार्थकै कुलत बराबरको मनोसामाजिक समस्या समान बताएको छ । 

बालबालिका/किशोरकिशोरीहरुमा थरीथरीका प्रतिभा हुन्छन् । हाम्रा विद्यालयमा त्यस्तो प्रतिभा प्रस्फुटनका लागि थोरै मात्र अवसरहरु उपलब्ध हुन्छन् । हामीकहाँ अतिरिक्त क्रियाकलापहरु क्मै हुन्छन् र भएकामा पनि सबै विद्यार्थीको सहभागिता सम्भव हुँदैन । तर आफ्नो प्रतिभा वा चाहना बमोजिमको क्षमता विकासका लागि बालबालिका/किशोरकिशोरीले इन्टरनेटलाई प्रयोग गर्न सक्छन् । नयाँ कुरा सिक्न वा भएका प्रतिभाको प्रस्फुटन वा प्रतिभाको प्रदर्शनका लागि यसको प्रयोग हुन सक्छ । बोल्ने, लेख्ने र पढ्ने क्षमता बढाउन पनि यो सहायक हुन्छ ।
इन्टरनेटले दिने सबैभन्दा ठूलो फाइदा भनेको बाल्यकालको सुखद् अनुभूतिमा मद्दत पुर्याउनु हो । सबै बालबालिका/किशोरकिशोरी पढाइृ वा लेखाइमा उत्तिकै राम्रा हुँदैनन्, हरेकमा केही न केही कमी–कमजोरी हुन्छन् नै । त्यसमाथि हाम्रा सामाजिक मूल्यमान्यता वा रीति/कुरीतिले बालबालिका/किशोरकिशोरीलाई आत्मसम्मान र आत्मविश्वासको विकासमा सहयोग नगरी भावनात्मक जोखिममा पारेका हुन्छन् । कैयौं बालबालिका/किशोरकिशोरी अन्तरमुखी स्वभावका हुन्छन् । त्यस्ता बालबालिका/किशोरकिशोरीका लागि इन्टरनेट प्रविधि आत्मविश्वास र आत्मवल बलियो पार्न सहयोग हुन सक्छ ।
हामीले उबेला प्रयोग गर्ने पत्रमित्रता जस्ता साथीसंगी बनाउन अब चिठ्ठी लेखेर महीनौं कुनै पर्दैन, संसारभरका मानिसहरुलाई साथी बनाएर संसारभरका कुरा जान्न सकिन्छ । आफूजस्तै समस्यामा परेका मानिसहरुका कथाव्यथा पढेर आफ्नो व्यथा क मगर्न सकिन्छ भने विभिन्न प्रकारले आफ्ना विचारहरु पोख्न सकिन्छ । उदाहरणका लागि, विद्यालयमा साथीहस्को बारम्बार हेपाई वा चिस्क्याईमा पर्ने गरेका पीडितहरुले इन्टरनेटमा अरु साथीहरुबाट प्रशंसा प्राप्त गरेर तयो पीडा र निराशालाई क मगर्न सक्छन् । सामाजिक कार्यहरुमा संलग्न भएर वा सोसल मिडियामार्फत सामाजिक/राजनीतिक विषयहरुमा सक्रिय हुन पनि यो प्रविधिले किशोरकिशोरीलाई सघाउँछ ।
तर जोखिम पनि कम छैन
इन्टरनेट संचारप्रविधिको प्रयोग गर्दा सतर्कता अपनाउन सकिएन भने यसले ल्याउने जोखिमहरु झनै डरलाग्दा पनि छन् । सामान्य रुपमा बालबालिका/किशोरकिशोरलाई इन्टरनेटबाट  हुनसक्ने खतरा यी हुन् :
(क) साइबर उत्पीडनः इन्टरनेट वा मोबाइल प्रविधि प्रयोग गर्ने बालबालिका/किशोरकिशोरी नकारात्मक, हानिकारक, गलत प्रकृतिका सामग्री आएर, उनीहरुका गोप्य कुराहरु कसैले फैलाइदिएर वा प्रचार गरिदिने त्रास देखाएर, ब्ल्याकमेलिङ गरेर उत्पीडनमा पर्न सक्छन् । यस्तो उत्पीडनले बालबालिका÷किशोरकिशोरीको आत्मबल तोड्ने र उनीहरुको मनोस्वास्थ्यमा नकारात्मक असर पार्ने काम गर्छ । साइबर उत्पीडनकै कारण कतिपय बालबालिका र किशोरकिशोरीले अपराधजन्य काम र आत्महत्यासम्म गरेका उदाहरण छन् ।

इन्टरनेट र यसमा आधारित प्रविधिबाट बालबालिका/किशोरकिशोरीलाई पर राख्न सिकन्न । कथं त्यसो गरियो भने पनि त्यसले पार्ने असर र जोखिमले बालबालिका/किशोरकिशोरीको भविष्य अझ अन्योलपूर्ण तुल्याउन सक्छ । त्यसैले नेट–इन्टरनेट, फेसबुक आदि चलाउनै नदिनु गलत हो ।

(ख) यौन आग्रह/दुदुर्व्यवहारः यौन सम्बन्धी कुराकानी, नग्न वा यौनजन्य तस्वीरहरु पठाउने वा माग्ने, यौनिक विषयका जानकारीहरु माग्नेदेखि क्यामरामा यौन गतिविधि गर्न वा यौन सम्बन्धका लागि आकर्षित गर्ने र बाध्य पार्ने जस्ता कार्यहरु पनि इन्टरनेटमार्फत हुन सक्छन् । बालबालिका र किशोरकिशोरी जीवन नै बर्बाद हुने गरी फस्न सक्ने एउटा खतरा हो, यो ।
(ग) यौन सामग्रीमा पहुँचः इन्टरनेटमा अत्यन्त हानिकारक यौन सामग्रीहरु छरपस्ट रहेका हुन्छन् । त्यसमा इन्टरनेट प्रयोग गर्नेहरुको सजिलै पहुँच पुग्छ । यस्ता असुरक्षित यौन सामग्रीहरुको पहुँच र प्रयोगले बालबालिका÷किशोरकिशोरीमा नकारात्मक प्रभाव पर्छ, जसले जीवनभर उनीहरुलाई तनाव वा कुलतमा पार्न सक्छ ।
(घ) व्यक्तिगत गोप्यताका खुलासा : बालबालिका निर्दोष हुन्छन् र संसारलाई पनि आफूजस्तै ठान्छन् । निर्दोष ढंगबाट उनीहरुले इन्टरनेटमा राख्ने आफ्नो र परिवार बारेका जानकारीले उनीहरुमाथि साइबर उत्पीडन वा यौन दुव्र्यवहार हुने संभावना बढ्छ । सामान्यतया गोप्य राख्नुपर्ने जानकारीहरु उनीहरुले  अन्जानमै वा त्यसका असरहरुका बारेमा नबुझी सार्वजनिक गरिरहेका हुन सक्छन् ।
(ङ) अनुचित प्रयोगः अरु कसैको इन्टरनेट चलाउँदा वा आफ्नो इन्टरनेट पासवई अरुलाई दिंदा हुनसक्ने दुरुपयोग वा ह्याकिङको सम्भावना र इन्टरनेटबाट गरिने डाउनलोडहरु वा आफूले इन्टरनेटमा राखेका सामग्रीहरु गैरकानूनी हुन सक्छन् भन्ने जस्ता जानकारी सामान्यतया बालबालिका वा किशोरकिशोरीलाई हुँदैन । तर इन्टरनेटको यस्तो अनुचित प्रयोगका कारण पनि उनीहरु अनावश्यक हैरानी वा समस्यामा पर्न सक्छन् ।
(च) इन्टरनेट कुलतः इन्टरनेटको ज्यादा प्रयोगलाई मनोरोगका रुपमा व्याख्या गरिन्छ । अमेरिकी मनोबैज्ञानिक संघले त इन्टरनेट प्रयोगको कुलतलाई रक्सी वा लागूपदार्थकै कुलत बराबरको मनोसामाजिक समस्या समान बताएको छ । यसले मनोबैज्ञानिक मात्र नभई शारीरिक असरसम्म गर्ने चिनियाँ वैज्ञानिकहरुको दाबी छ ।
ज्ञान नै समाधान
इन्टरनेट, सामाजिक संजाल आदिको अन्धाधुन्द प्रयोगबाट बालबालिका र किशोरकिशोरीमा पैदा हुने जोखिम क मगर्न वा प्रविधिको दुरुपयोग कम गरेर यसको सदुपयोग बढाउने एउटै भरपर्दो उपाय– यसका बारेमा जानकारी राख्नु हो । बालबालिका÷किशोरकिशोरीलाई अभिभावक र शिक्षकहरुले इन्टरनेट र यसका विभिन्न पक्षहरुबारे पर्याप्त ज्ञान प्रदान गर्न सके यसको नकारात्मक असरबाट बच्न सकिन्छ र प्रभावारी प्रयोग हुन सक्छ । अर्थात, इन्टरनेटको सन्दर्भमा अज्ञानता समस्याको जड हो भने तत्सम्बन्धी ज्ञा समाधान हो ।
(लेखकः लामो समय शिक्षण र पत्रकारितामा रहेका आचार्य हाल सूचना प्रविधि र यसको सामाजिक पक्षको अध्ययनमा संलग्न छन् । उनको यो लेख हामीले शिक्षक पत्रिकाको अंक १४५ बाट लिएका हौं ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *