इमानदारिताको प्रदर्शन

59 जनाले पढ्नु भयो ।

दुर्गानाथ खरेल ।।

मानव समाज बौद्धिक समाज हो ।

बेइमानी र इमान्दारिता दुवै परस्पर विरोधी शब्दावली हुन् । दुवै बौद्धिक प्रदर्शनका पाटाहरू हुन् ।

इमान्दार भन्ने र बेइमान भन्ने भनाइ विभिन्न क्षेत्रमा प्रयोग हुन्छन् । आर्थिक लेनदेनमा इमान्दार, राजनीतिक आन्दोलनमा इमान्दार, सम्झौताको क्षेत्रमा इमान्दार, आफ्ना बाचाबन्धनमा इमान्दार—हरेक कामकारबाहीमा इमान्दार आदि विभिन्न किसिमका हिसाबले इमान्दारिताको मूल्याङ्कन गरिन्छ । जुन क्षेत्रमा इमान्दारिताको गणना हुन्छ, ती सबै क्षेत्रमा बेइमानीको समेत मूल्याङ्कन र गिन्ती गर्न सकिन्छ र गिन्ती गर्नैपर्ने पनि हुन्छ; किनभने इमान्दार भएन भने के भयो त ? त्यसो भन्दा स्वभावैले बेइमान भयो भन्ने जवाफ आउँछ । यी दुवै व्यवहार एकर्काको बिचमा प्रदर्शन गरिने व्यवहार हुन् ।

समाजमा इमान्दारिता नभइनहुने र अति आवश्यक हुने विशेषता हुन् । तर यो परस्पर दुई पक्षका बिचमा स्थापित सम्बन्धमा भर पर्ने शब्दावली भएकाले चलायमान हुन्छन् । एउटाले एउटा वा धेरै क्षेत्रमा इमान्दारिताको पालना गर्ने, तर अर्कोले बेइमानीद्वारा अथवा अर्काको इमान्दारिताबाट फाइदा उठाइरहने, आफूले बेइमानी काम गरिरहने भयो भने के हुन्छ ? त्यस्तो पक्षको पनि विचार गरिनुपर्छ ।

कतै आफ्नो बुद्धि नपुग्ने भन्ने कुरा समाजको विशेषतामा भर पर्ने कुरा हुन् । एउटा व्यक्तिले अर्को व्यक्तिमाथि गर्ने बुद्धिको प्रयोग कि पारस्परिक हितका लागि हुन्छ कि शोषण र शासन गर्नका लागि हुन्छ ।

एउटा व्यक्ति शोषक हुने, अर्को व्यक्ति शोषित हुने अथवा एउटा पक्ष शासक हुने अर्को पक्ष शासित हुने प्रयोजनका लागि इमान्दारिताको कसी लगाइन्छ । व्यक्ति केका लागि इमान्दार हुने र केका लागि बेइमान हुने भन्ने विषय अगाडि खडा गरेर दुवैले निश्चित मापदण्ड तयार पारेपछि मात्र इमान्दारिता र बेइमानीको लेखाजोखा गर्दै जानुपर्छ । तर समाजमा परस्पर विरोधी वर्गका मान्छे रहेकाले दुवैको मापदण्ड विरोधी हुन्छ ।

इमान्दारिता र बेइमानीको मापदण्ड परस्पर विरोधी वर्गका बिचमा हुने र हुनुपर्ने मापदण्ड हुन् । त्यसैका लागि नियम, कानुन, अनुशासन, नैतिकताका विषयवस्तु बनाइएका हुन्छन् । तर यी मापदण्ड बनाउँदा परस्पर विरोधी वर्गको शक्ति सन्तुलनको आधारमा निश्चित गरिने हुनाले आफ्नो वर्ग र त्यो वर्गको नेतृत्व प्राथमिक महत्त्वको विषय हुन्छ ।

सबै व्यक्ति सबै विषयमा जानकार हुन सक्दैनन् । आफ्नो वर्गको विषय राजनीतिक विषय हो ।

राजनीतिमा सिद्धान्त सबैभन्दा पहिलो महत्त्वको विषय हो । दोस्रो महत्त्वको विषय राजनीतिक लाइनको विषय हो ।

उपर्युक्त दुई विषय निश्चित भएपछि तिनीहरूकै मातहतमा सङ्गठन निर्माण गर्नुपर्ने भएकाले व्यक्तिले सबभन्दा पहिले सिद्धान्तमा इमान्दारिता, त्यसपछि राजनैतिक लाइनमा इमान्दारिता र त्यसपछि बल्ल सङ्गठनमा इमान्दारिताको प्रदर्शन गर्नुपर्छ ।

इमान्दारिता प्रदर्शन गर्ने ठाउँ निश्चित भएपछि त्यससँग बेइमानी प्रदर्शन गर्ने पनि ठाउँ निश्चित गर्नुपर्छ । स्वभावैले यी दुई वटा शब्द विरोधी भएकाले राजनीति पनि विरोधी भएको र विरोधी वर्गको राज्यसत्ताले पनि वर्गीय पक्षधरता प्रदर्शन गर्ने भएकाले राज्यसत्ताको विरोधी राजनीतिक पार्टीले पनि राज्यसत्ताको विषयमा आफ्नो मापदण्डको आधार पनि बेइमानी प्रदर्शनको मापदण्ड नै बनाउनुपर्छ । तर त्यो बेइमानी प्रदर्शन गर्दा आफ्नो वर्गको सिद्धान्त, आफ्नो राजनीतिक लाइन र आफ्नो सङ्गठनात्मक अनुशासनभन्दा बाहिर जान भने हुन्न; अथवा आफ्नो पार्टीको सिद्धान्त, राजनीति र सङ्गठनात्मक अनुशासनको इमान्दारिता विरुद्ध हुनुहुन्न; किनभने एक पक्षलाई इमान्दारिता हो भने अर्को पक्षको त्यही बेइमानी हो । तर एकातिर, इमान्दारिताको प्रदर्शन गर्न नसक्ने, दुवैतिर बेइमानी मात्रै गर्ने हो भने पुङमाङ भइन्छ ।
बाँसको ढुङ्ग्रो बनाएर केही चिज राख्ने उपयोगिताका लागि एकातिरको आँख्लो मात्र काट्नुपर्छ, अर्कोतिरको आँख्लो कायम राख्नुपर्छ । दुवैतिरको आँख्लो काट्ने हो भने त्यसमा केही पनि अट्दैन । एकातिरबाट राख्न खोजेको अर्कोतिरबाट निस्केर बाहिर जान्छ । त्यो ढुङ्ग्रो हुन्न, पुङमाङ हुन्छ; अथवा कुनै वस्तु राखेर अड्याउने गरी उपयोगमा आउन सक्दैन ।

वर्गीय राजनीति गर्ने पार्टी कम्युनिस्ट पार्टी हो । कम्युनिस्ट पार्टीमा इमान्दारिता प्रदर्शन गर्दा धर्ममा बेइमान हुनु पहिलो शर्त हो । धर्मबाट मुक्त नभई शोषणबाट मुक्त हुन नसकिने हुनाले र शोषणबाट मुक्त हुने कम्युनिस्ट पार्टीको उद्देश्य भएको हुनाले धर्ममा इमान्दारिता देखाउनुहुन्न । त्यस्तो गर्नुपर्ने कारणका विषयमा आफू स्पष्ट हुनुपर्छ ।

धर्म गरिबलाई अन्याय र शोषण सहने क्षमता बढाउने खेल हो भने कम्युनिस्ट पार्टी अन्याय र शोषणका विरुद्ध सङ्घर्ष गर्ने पार्टी हो । धर्म मान्ने भनेको ईश्वर मान्ने, अघिल्लो पछिल्लो जुनी स्वीकार्ने, राजा धनीमानी र शोषण सहने काम हो ।

धेरैजसो कम्युनिस्ट पार्टीको सदस्य हुँ भन्ने व्यक्तिले आफू धर्म मान्ने र परम्परागत धार्मिक कार्यक्रम आयोजनासमेत गर्दछन् । तर धर्म नमान्ने र परम्परागत धर्मका विरुद्धको कृयाकलाप गर्ने व्यक्तिलाई खिसी गर्ने गर्दछन् । त्यसो किन गर्छन भनेर विचार गर्दा आफूले क्रान्तिकारीको बिल्ला भिर्न र त्यसको विरोधीलाई पर्दाले छेक्न खिसी गर्दछन् । तर त्यो काम इमान्दारिता प्रदर्शन होइन, इमान्दारितामा पर्दा लगाएर बेइमानको भूमिका निर्वाह गरेको हो । अर्कोतिर, आफ्नो श्रम बेच्न सक्दैनन् । त्यसको सट्टा नाफा कमाउन खोज्दछन्, जुन शोषण गर्ने तरिका हो ।

हाम्रो समाजमा हजारौँ व्यक्ति बेरोजगारीबाट बच्न व्यापार–व्यवसाय गर्दछन् । त्यहाँ पनि श्रम बेच्ने उद्देश्यलाई कायम गर्नुको सट्टा त्यसलाई पन्छाएर शोषणको तरिका अँगाल्छन् । जब रोजगारी सृजना गर्नलाई पेशा गर्नुपर्छ भन्ने कुरा हो भने त्यसमा कसैको विमति हुन्न । तर पेशा सञ्चालन गर्दा प्रयोग गरिने व्यवहार श्रम बेच्ने उद्देश्यलाई छाडेर ठग्ने, झुक्काउने, जसरी हुन्छ नाफा कमाउनेजस्ता सामान्य क्रान्ति विरोधी कृयाकलाप प्रदर्शन हुन्छन्, जसले इमान्दारिताको प्रदर्शन नभई बेइमान चरित्रको प्रदर्शन भइरहेको हुन्छ ।

वर्तमान समाजमा बताइइने नैतिकता र आमूल परिवर्तन भएपछिका नैतिकता परस्पर विरोधी हुने हुनाले वर्तमान समाजमा क्रान्तिकारीद्वारा देखाइने नैतिकताले आमूल परिवर्तनपछिको समाजमा मान्य हुने नैतिकतालाई ख्याल गरेर आफ्नो व्यवहार निश्चित गर्नुपर्छ । त्यही हो, क्रान्तिकाररूले प्रदर्शन गर्ने इमान्दारिता, जुन व्यवहार वर्तमान समाजमा बेइमानीमा गिन्ती हुन पनि सक्दछ ।

इमान्दारिताको प्रदर्शन गर्ने अर्को महत्त्वपूर्ण क्षेत्र योग्यताको विकास गर्ने हो । आफूले जुन काम गरिन्छ, त्यो काममा निपूर्णताको प्रदर्शन आवश्यकता पर्दछ । आफूले जे काम गरिन्छ, त्यो आफ्नो ज्ञानको प्रदर्शन हो ।

मान्छेले गर्ने काम कि वर्गसङ्घर्ष हो कि उत्पादन सङ्घर्ष हो, कि वैज्ञानिक प्रयोग हो । यी तीन वटै क्षेत्रमध्ये आफ्नो रोजाइमा परेको मुख्य काम र सहयोगी काम गरी छुटाउनुपर्छ । मुख्य काममा बढी समय खर्च गर्ने र बचेको समय दोस्रो प्राथमिकताको काममा खर्च गर्ने काम गर्नुपर्छ । तेस्रो काम माथिका दुवै कामको वैज्ञानिक प्रयोग हो । त्यो उच्च बौद्धिक कामको प्रयोग हो । त्यसकारण व्यक्तिले आफ्नो इमान्दारिता प्रदर्शन गर्ने आफ्नो रोजाइमा परेको काममा श्रम गरेर हो ।

श्रम गर्दा योग्यता बढाउनमा ध्यान दिनुपर्छ । त्यो भनेको त्यसलाई बदल्ने प्रयत्न गर्ने हो । बदल्नका लागि त्यसमा भएको कमजोरी पत्ता लगाउनुपर्छ । त्यसका लागि अध्ययन गर्नुपर्छ ।

संसारको धेरै मान्छेले अध्ययन व्याख्या, विश्लेषण गर्नका लागि गर्नुपर्छ भन्ने मान्यता राख्दथे । माक्र्सले पहिलो पटक मुख्य काम बदल्ने हो भनेको हुनाले त्यसपछि अध्ययन गरेर त्यसमा भएको कमजोरी पत्ता लगाएपछि त्यसलाई अनिवार्य रूपमा बदल्न सकिन्छ र बदल्नुपर्दछ ।

जोकोहीले पनि म के काम गरिरहेको छु र मेरो योग्यतमा कति विकास भइरहेको छ ? छुट्टाउन सक्छन् र छुट्टाउन सक्नु पनि पर्दछ, तब मात्रै इमान्दारिता र बेइमानीको मूल्याङ्कन हुन्छ । आफूले सकेसम्म आफ्नो इमान्दारिता प्रदर्शन गर्नुपर्छ । त्यसको साथै थाहा पनि पाउनुपर्दछ, आफ्नो इमान्दारिताले कसलाई फाइदा पुगेको छ र कोमाथि बेइमानी प्रयोग भइरहेको छ । यही थाहा नपाउने हुनाले आफ्नो श्रमले आफैलाई र आफूजस्ता हजारौँहजारको सङ्ख्यामा रहेका श्रमजीवी वर्गलाई धोका भइरहेको मात्र छैन, आफ्नो विरोधी शक्तिको सेवा भएका कारण जीवनकै दुरूपयोग भइरहेको हुन्छ ।

जब हामी मानवको अघिल्लो र पछिल्लो जुनी छैन, जे जति गर्न सकिन्छ, यही जुनीमा गर्नुपर्छ भन्ने कुरा सही किसिमले बुझ्न सकिन्छ, तब मात्रै आफ्नो जीवनको सदुपयोग गर्नुपर्ने आवश्यकता महसुस हुन्छ । त्यसपछि मात्रै इमान्दारिता प्रदर्शन र बेइमानी प्रदर्शनको रहस्य आफूलाई थाहा हुन्छ ।

इमान्दारिता प्रदर्शन गर्ने आफ्नो सङ्गठनभित्र हो ।

प्रत्येक व्यक्ति व्यक्तिगत रूपमा होइन, सामूहिक रूपमा उसले काम गरिरहेको हुन्छ । जोसुकैले गर्ने अथवा गरेको कामले उसैलाई अथवा ऊजस्तै अरू हजारौँहजारको सङ्ख्यामा रहेका श्रमजीवी वर्गका व्यक्तिलाई अथवा मुट्ठिभर थोरै सङ्ख्यामा रहेका शोषकवर्गलाई फाइदा पुगिरहेको हुन्छ ।

आफूले थाहा पाउन जरुरी छ, म कुन वर्गको व्यक्ति हुँ र मैले गर्ने कामले कसलाई फाइदा पुग्छ ? मेरो चाहना अथवा मेरो वा हाम्रो मुक्ति के गरेर हुन्छ ? आफूले आफ्नो मुक्तिको बाटोमा काम गर्दै अघि बढ्नुपर्छ । त्यसका लागि सङ्गठित प्रयत्न आवश्यकता पर्दछ ।

आफूले आफ्नो सङ्गठन थाहा पाउनुपर्छ । जब व्यक्ति एक्लै छैन, काम एक्लै गरेको छैन र समूहमा छ भने आफू कुन समूहअन्तर्गत छु र म भएको समूहको विरोधी समूह कुन हो र के कारणले हो ? छुट्याउने प्रयत्न सबैले गर्नुपर्छ । आफ्नो समूहभित्र इमान्दारिता प्रदर्शन गर्ने र विरोधी समूहसँग बेइमानी प्रदर्शन गर्ने गर्नैपर्छ, तब मात्रै समूहको विकासमा र विरोधी समूहको विनासमा सहयोग पुग्दछ । त्यसो गर्दा सबैको हित हुने काममा भने इमान्दारिता प्रदर्शन गर्न छाड्नुहुन्न । मानवजातिभित्र प्रकृति विरुद्धको सङ्घर्षमा भने कमी ल्याउनुहुन्न ।

जब शोषणको कुरा आउँछ, तब मात्रै विरोधी पक्षको ख्याल गर्ने हो । धेरैजसो मान्छेले इमान्दारिताको नाममा श्रमलाई सम्मान नगर्ने र सबैसँग एकैनासको व्यवहार गर्ने, फेरि विरोध प्रकट गर्नेभन्दा आफ्नो मित्रको पनि विरोध गर्ने एकाङ्की किसिमको व्यवहार प्रदर्शन गर्दछन्, जुन सही होइन । सामूहिक प्रयत्न गर्नुपर्ने ठाउँमा आफ्नो सहभागिता निश्चित गर्ने र अस्तित्वको रक्षा गर्ने सवालमा प्रकृति विरुद्ध विरोधी वर्ग विरुद्ध पनि सङ्घर्ष गर्ने तरिका सही हुने मात्र होइन, आफ्नो वर्गभित्र पनि आफ्नो अस्तित्वका लागि सङ्घर्षकै आवश्यकता पर्दछ । त्यही सङ्घर्ष सामूहिक स्वार्थको पक्षमा काम गर्दा एकतामा र त्यही एकता अस्तित्व रक्षा गर्ने काम गर्दा सङ्घर्षको रूपमा प्रयोग गर्नुपर्छ र गर्न सक्नुपर्छ । त्यसो गर्दा दुवै सङ्घर्ष र एकताको सवालमा भने इमान्दारिताकै खाँचो पर्दछ । सङ्घर्ष गर्ने पनि इमान्दारितासहितको काम हो र एकता गर्ने पनि इमान्दारितासहितको काम हो । त्यसकारण इमान्दारिता र बेइमानी सापेक्ष रूपमा प्रदर्शन गर्नुपर्ने काम हुन् ।

इमान्दारिता र बेइमानी प्रदर्शन गर्दा परिस्थितिको ख्याल गर्नु महत्त्वपूर्ण काम हो । आफ्नो अस्तित्व प्रदर्शन गर्नका लागि परिस्थितिको समेत ख्याल गर्नुपर्छ । दृष्टिविहीनको देशमा आँखा चिम्लनू र अपाङ्गको देशमा खुट्टो उचाल्नू भन्ने पहिलेका मान्छेहरूको भनाइ परिस्थितिको ख्याल गर्नुपर्छ भन्ने निष्कर्ष हो ।
परिस्थिति सधैँ एकैनास रहन्न र रहन दिनु पनि हुन्न, बदल्नुपर्छ । आमूल परिवर्तन गर्ने भनेको पनि परिस्थिति बदल्ने भनेको हो ।

क्रान्तिकारी भनेका भविष्यको समाजवादी समाजका नागरिक हुन् र वर्तमान समाजका विरोधी हुन् । उनीहरूले आमूल परिवर्तनको उद्देश्यसहित काम गर्छन् । उनीहरूले भविष्यको समाजको सपदा देख्छन् र वर्तमान समाजलाई आमूल परिवर्तन गरेर आफ्नो वर्गको प्रतिनिधित्व गर्दछन् । विरोधी वर्गसँग बेइमानी प्रदर्शन गर्दछन् । जनतासँग मित्रता कायम गर्दछन् । धर्म र परम्पराको विरोध गर्दछन् र नयाँ समाजको प्रचार प्रसार गर्दछन् । त्यो उनीहरूको इमान्दारिताको प्रदर्शन हो ।
लिनुपर्ने ठाउँबाट लिन नसक्ने, दिनुपर्ने ठाउँमा दिन नसक्ने र गर्ने भनेको काम गर्न नसक्ने क्रान्तिकारी व्यक्ति हुन सक्दैन । उसले क्रान्तिकारी नैतिकताको पालना गर्न सक्दैन ।

परिस्थिति प्रतिकूल भएको अवस्थामा काम नगरिकन बस्ने भन्ने हुन्न । काम गर्नुपर्छ । तर त्यो काम सम्पूर्ण मानवजातिको हितमा, जनताको पक्षमा शोषणको विरुद्धमा र क्रान्तिकारी नैतिकताको सीमाभित्र आफ्नो पार्टी, आफ्नो वर्ग र शोषण दमन गर्ने राज्यसत्ताको विरुद्ध इमान्दारिताको प्रदर्शनसहितको काम हुनुपर्छ ।

आज गरेको कामको नजिता आजको बेइमानीमा गिन्ती भए पनि दश वर्षपछि त्यही काम इमान्दारिता प्रदर्शन भएको मूल्याङ्कन हुने गरी काम गर्नुपर्छ । त्यो कामले वर्तमानको वस्तुगत अवस्था वा वर्तमान समाजको नियम, कानुन, नैतिकता, अनुशासन आदिसँग मेल नखाए पनि आमूल परिवर्तनपछिको समाजले गर्ने मूल्याङ्कनको सीमाभित्र भने अवश्य पर्नुपर्छ । त्यस्तो भएन भने त्यो क्रान्तिकारी काम भएन र त्यस्तो काम गर्ने व्यक्ति पनि क्रान्तिकारी व्यक्ति हुन सकेन ।

जुनसुकै काम गर्दा गर्नुपर्ने काम र गर्न नहुने कामका निश्चित मापदण्डलाई ख्याल राखेर गर्नुपर्छ । आज गरेको कामले भविष्यमा त्यतिखेरको अवस्थामा गरिने मूल्याङ्कनले सही ठहरायो भने मात्र इमान्दारिताको प्रदर्शन भयो ।

इमान्दारिता र बेइमानीको प्रदर्शन गर्न सबैभन्दा पहिले आफ्ना खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारको समस्या समाधान गर्न श्रम गर्नुपर्ने हुन्छ । त्यो भनेको आफ्नो मुक्तिको लागि इमान्दारिता प्रदर्शन गर्नुपर्छ भनेको हो । त्यो काम तत्कालीन व्यवस्थाको ऐनकानुनअनुसार आफू र आफ्नो योग्यतानुसार र राज्यसत्ताको घोषित नियमको आधारमा निश्चित भएअनुसार नै गर्नुपर्छ । त्यो भनेको सामान्य नागरिकले निर्वाह गर्नुपर्ने भूमिकाअन्तर्गत पर्दछ । त्यतिले मात्र आफ्नो जिम्मेवारी पूरा हुन्न । त्यसको कारण वर्तमान राज्यसत्ता शोषकको अधिनायकत्वमा चलेको व्यवस्था हो । त्यसले शोषणको मात्रा बढाउँछ । त्यसकारण अहिले देखाइने इमान्दारिताले शोषण बढाउने काममा सहयोग पुराउँछ ।

श्रमजीवी वर्गको मुक्ति कसैले कसैलाई शोषण गर्न नपाउने अवस्थामा मात्र हुन्छ । त्यसका लागि मुख्य बाधक राज्यसत्ता हो । त्यो सेना, पुलिस, कर्मचारी र नेतागणसमेतको संयुक्त रूपमा सङ्गठित शक्ति हो । राज्यसत्ता आमूल परिवर्तनपछि पनि चाहिन्छ ।

आमूल परिवर्तन गर्ने भनेको त्यही राज्यसत्तामा आमूल परिवर्तन गरेर शासकवर्गलाई शाषितवर्गमा र शाषितवर्गलाई शासकवर्गमा लैजाने हो । त्यो भनेको शोषित–उत्पीडित श्रमजीवी गर्नको र श्रमजीवी वर्गका प्रतिनिधि क्रान्तिकारीले दोहोरो इमान्दारिता प्रदर्शन गर्न सक्नु र सक्नुपर्छ । त्यही प्रयोजनका लागि कम्युनिस्ट पार्टी गठन भएको हुन्छ ।

कम्युनिस्ट पार्टी शोषित–पीडित श्रमजीवी जनताको प्रतिनिधि संस्था भए पनि सर्वसाधारण जनता त्यसको सदस्य बन्न सक्दैनन् । नसक्ने दुई वटा कारण छन् : प्रथम– आफ्नो व्यक्तिगत समस्याबाट मुक्त हुन सक्दैनन्; दोस्रो– दोहोरो इमान्दारिता प्रदर्शन गर्न सक्दैनन् । त्यसकारण कम्युनिस्ट पार्टी र त्यसका सदस्यले श्रमजीवी जनताको पक्षमा काम गर्ने; अर्कोतिर, श्रमजीवी जनताको राजनैतिक चेतनास्तर उच्च बनाउँदै सचेत, सङ्गठित, अनुशासित र आन्दोलित बनाउने । ती दुवै काम जिम्मेवारीपूर्वक पूरा गर्न इमान्दरिताको दोहोरो मापदण्ड बनाएर पुरा गर्नुपर्छ । त्यो भनेको राज्यसत्तामा आमूल परिवर्तन र समाजवादी सत्ताको सञ्चालन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *