उखुको भुक्तानी नदिएर संघर्ष गर्न बाध्य पारिनु किसानमाथिको अपराध : राजमो

  •   
  •  
  •  
  •  
  •  
  •  

1298 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौंमा उखु किसानले गरिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । सरकारले उखु किसानलाई चिनी मिलबाट रकम भुक्तानी गर्न एक वर्षअघि नै सहमति गरेपनि कार्यान्वयन नहुनु गैर जिम्मेवारीपन भएको बताएको छ ।

राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सोमबार एक वक्तव्य प्रकाशित गरी उखुको भुक्तानी नदिएर संघर्षको लागि बाध्य पारिनु किसानमाथि गरिएको अपराध भएको बताउनुभएको छ ।

वक्तव्यमा चिनी मिलको दादागिरी र लुट रोक्न माग गर्दै तत्काल किसानले पाउनुपर्ने रकम भुक्तानी गर्न र भुक्तानी नगर्ने मिलमाथि कारबाही गर्न माग गरिएको छ ।

यस्तो छ वक्तव्य :

चिनी मिलले उखु किसानलाई वर्षौसम्म भुक्तानी नगरेर किसानमाथि ब्रम्हलुट मच्याएका छन् । विभिन्न चिनी मिलले उखु किसानलाई करिब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु किसान संघर्ष समितिले बताएको छ । उखु किसानले चिनी मिलबाट बाँकी रकम भुक्तानीको माग गर्दै तराइबाट काठमाडौंमा आएर संघर्ष गरिरहेका छन् । राष्ट्रिय जनमोर्चाले उखु किसानको संघर्षप्रति ऐक्यबद्धता प्रकट गर्दछौं ।

गत वर्ष पुसमा रकम भुक्तानीको माग गर्दै किसानले काठमााडौंमा आई संघर्ष गरेका थिए । उद्योग मन्त्रालयको समन्वयमा चिनी मिल र उखु किसानबीच तत्काल भुक्तानी गर्ने सम्झौता भएको थियो । तर सम्झौता भएको एक वर्षसम्म पनि भुक्तानी नगरिनु सरकार र चिनी मिलको गैरजिम्मेवारको पराकाष्ठा हो । उखुको भुक्तानी नदिएर संघर्षको लागि बाध्य पारिनु किसानमाथि गरिएको अपराध हो ।

विक्री गरेको उखुको मूल्य भुक्तानी नगरिनु चिनी मिलको किसानमाथिको लुट, दादागिरी र चरम शोषण हो । चिनी मिलहरुले सरकारको संरक्षणमा किसानमाथि शोषण गरिरहेका छन् । भुक्तानी नगर्ने चिनी मिलमाथि कारवाही गर्न, किसानमाथिको शोषण बन्द गर्न, उत्पादन गरेको उखुको उचित मूल्य निर्धारण गर्न, विक्री गरिएको रकम तत्काल भुक्तानी गर्न र किसानलाई आवश्यक सहयोग गर्न माग गर्दछौं ।

२०७७ मंसिर २९ गते
दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *