उत्तरआधुनिकतावादबारे अखिल नेपाल प्रगतिशील लेखक संघको परिसंवाद

काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले उत्तरआधुनिकतावादबारे परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।
भर्चुअल माध्यमबाट २०७७ माघ ३० गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै प्रगतिवादी साहित्यकार तथा पत्रकार प्रकाश थापामगरले उत्तरआधुनिकतावाद दर्शन, सिद्धान्त र विचारविहीन प्रवृत्ति भएको दावी गर्नुभयो ।

‘उपभोक्तावादमाथि आधारित नयाँ साम्राज्यवादी प्रवृत्ति अर्थात् आधुनिक पुँजीवादको सांस्कृतिक प्रवृत्ति नै उत्तरआधुनिक प्रविधि हो’ उहाँले सार अभिव्यक्त गर्नुभयो ।

उपभोक्ताको भोक बढाएर व्यापारवृद्धिमार्फत साम्राज्यवादको हितसाधन गर्नु नै उत्तरआधुनिकतावादको मुख्य उद्देश्य रहेको उहाँको तर्क थियो ।

उत्तरआधुनिकतावादले विनिर्माणको कुरा गरे पनि दर्शन, विचार, सिद्धान्तको अस्वीकृति गरिसकेपछि कुनै पनि प्रकारको निर्माण हुन नसक्ने उहाँको भनाइ थियो ।

‘विचारधाराको अन्त, ईश्वरको अन्त, मानवको अन्त, इतिहासको अन्त, साहित्य, साहित्कार र आलोचनाको अन्त भएको दावी गरिसकेपछि विनिर्माण कसरी हुन सक्छ ?’ उहाँले प्रश्न उठाउनुभयो ।

उत्तरआधुनिकतावाद शब्दावलीको नेपालमा कम प्रयोग भए पनि त्यसले युवा पिँढीलाई धेरै नै प्रभावित पारेको बताउँदै उहाँले त्यसबारे सही समझदारी कायम राख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (मसाल) प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले विपक्षमा लेखिएका साहित्यले उत्तरआधुनिकतावादलाई बुझ्न सहयोग पुग्ने बताउनुभयो ।

‘उत्तरआधुनिकतावादको वास्तविक प्रतिवाद प्रगतिवादीहरूले गर्न सक्छन्’ उहाँले भन्नुभयो– ‘सच्चा माक्र्सवादी–लेनिनवादीहरूले नै उत्तरआधुनिकतावादबारे सही समझदारी कायम राख्न सक्दछन् ।’

अन्पाका अध्यक्ष डा. गोविन्द आचार्यको अध्यक्षता तथा अन्पाकै केन्द्रीय सचिव गिरीप्रसाद बुढाको सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।

कार्यक्रममा साहित्यकारहरू मनलाल ओलीले ‘कर्म’, बाबुराम आचार्यले ‘नौलो सपना’, अन्जाना मास्केले ‘सुतेका सारा’, गुरुप्रसाद कुमाल बुलबुलले ‘चरा’ र गिनिज बुढाले ‘कोरोना’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

अबधारणा पत्र PDF मा

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2021/02/Post-Modernism.pdf”]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार