उद्धार तथा राहतमा लाग्न कार्यकर्तालाई राजमोको निर्देशन

  •   
  •  
  •  
  •  
  •  
  •  

545 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय जनमोर्चा बाढी पहिरो पीडितहरुको उद्धार र राहतमा लाग्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ । देशका विभिन्न भागमा बाढी तथा पहिरोबाट ब्यापक जनधनको क्षति भइरहेको बेला आफ्नो नजिकका क्षेत्रमा उद्धार तथा राहतको लागि पहल गर्न राजमोले निर्देशन दिएको हो ।

अध्यक्ष चित्रबहादुर केसीले बुधबार साँझ वक्तव्य प्रकाशित गरी बाढी पहिरोका कारण विकासका विभिन्न संरचना, बालीनाली तथा जनताको घरजग्गामा समेत ब्यापक क्षति भइरहेको भन्दै तत्काल पुनर्निर्माण र क्षतिपुर्तीको व्यवस्था गर्न माग गर्नुभएको छ ।

राजमोले प्रकोपका कारणले जोखिमयुक्त घर–बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न ग्रामिण बस्ती विकास गर्नुपर्नेमा पुनः जोड दिएको छ ।

यस्तो छ वक्तव्यः
१.लगातार भइरहेको वर्षाका कारणले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय जिल्लाहरुमा बाढी र पहिरोका कारण ठूलो क्षति भएको छ । विशेषगरी सिन्धुपाल्चोकमा मेलम्ची र इन्द्रावतीले ठूलो जन धनको क्षति भएको छ । कतिपय स्थानमा मानिसहरु जोखिममा परेका छन् । हामीले त्यसरी मृत्यु भएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उनीहरुका परिवारजनहरुप्रति समवेदना प्रकट गर्दछौँ । जोखिममा रहेका मानिसहरुलाई तत्काल उद्धार गर्न र बाढी, पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछौँ । राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरुले आफ्नो जिल्ला वा नजिकको स्थानका बाढी, पहिरो पीडित जनताको उद्धार, सेवा तथा सहयोग गर्न विशेष अनुरोध गर्दछौँ ।

२. बाढी र पहिरोका कारणले ठूलो संख्यामा घर बस्ती बगाएको छ वा पुरिएको छ । खेती–बाली लगाएको जग्गा खेती सहित नष्ट भएको छ । विकास–निर्माणका संरचनाहरु भत्किएका छन् वा क्षति पुगेको छ । कतिपय घर, बस्ती, विकासका संरचना जोखिममा परेका छन् । तिनीहरुको पनि तत्काल अध्ययनगरी पुननिर्माण गर्नु पर्दछ ।

३. हाम्रो देशको भौगोलिक स्थिति र प्रायः हरेक वर्ष जस्तो हुने प्राकृतिक प्रकोपका कारणले ठुलो जन धन र विकासका संरचनाहरुको ठूलो क्षति हुने गरेको छ । हामीले प्रायः हरेक वर्ष यसप्रकारले मानवीय, बस्ती तथा विकासका संरचनामा भएको क्षतिप्रति श्रद्धाञ्जली र समवेदना प्रकट गर्ने तथा दुःख प्रकट गर्ने नियती बनेको छ । हामीले त्यसप्रकारका प्रकोपका कारणले जोखिमयुक्त घर–बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न ग्रामिण बस्ती विकास गर्न जोड दिँदै आएका छौँ । विकासका संरचना बनाउन पूर्व राम्रो अध्ययन गर्न पनि जोड दिंदै आएका छौँ । तर सरकारहरुका दीर्घकालीन सोच र काम गर्ने तत्परताको अभावका कारणले हामीले यसप्रकारको क्षति बेहोर्दै आएका छौँ । वर्षाकाल शुरु भएको छ, आउने दिनमा पनि यसप्रकारका दुर्घटनाहरु घट्न सक्ने छन् । आज हाम्रा अगाडि आएको यो दुःखको घडीलाई विचार गरी आगामी हुन सक्ने दुर्घटना रोक्न तथा दीर्घकालीन योजना बनाउन एवं कार्य गर्न पुनः जोड दिन्छौँ ।’

२०७८ असार २
चित्रबहादुर के.सी.
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *