एकता समाजको ४ दशक बारे

  •   
  •  
  •  
  •  
  •  
  •  

875 जनाले पढ्नु भयो ।

कपिल खनाल

संगठनको ऐतिहांसिक परम्परालाई अविरल अगाडि बढाउन त्यती सजिलो थिएन र वर्तमानमा छैन । संगठनको गठनकालदेखि नै यसका विरुद्ध व्यापक अभियान चलाउने काम नभएका पनि होइनन् । एकता समाजलाई सामन्ती, प्रतिक्रियावादी अवसरवादी ताकतहरुले आफ्नो वर्गीय स्वार्थ अनुरुप उपयोग गर्न भरमग्दुर लागिपरेका थिए, तर संगठनको आन्तरिक कार्य कुशलताबाट निपूर्ण नेतृत्वको चलाखिका कारण विरोधी तत्वहरु ठाउँका ठाउँ पस्त भए । जनता तर्साएर आफ्नो साम्राज्य टिकाउन प्रगतिशिल देशभक्त जनतान्त्रिक शक्तिहरु एकजुट हुन नपाउन् भन्ने उदेश्यले नै शब्द जालमा अल्मलाउने, भ्रम पैदा गर्ने, तर्साउने, आदि काम निकै भए तर त्यसका विरुद्ध अनवरत रुपमा संघर्ष गर्दै एकता समाज अगाडि बढिरह्यो । नेपाली एकता समाजको बीचबाट पनि अवसरवादी तत्वहरुले आत्मघात गर्न पनि पछि नपरेका होइनन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज यहि ७ नोभेम्बर २०१९ देखि ४० औं वर्षमा प्रवेश गरेको छ । यो ४० वर्ष अर्थात ४ दशकसम्म एकता समाजलाई यहाँसम्म पुर्‍याउनुमा कैयौं योद्धाहरुले साहदत्त प्राप्त गरेका छन् भने कैयौंले महत्वपूर्ण योगदानको अमिट छाप छोडेका छन् । एकता समाजलाई आफैमा श्रमजिवीहरुको न्यायलय बनाउन स्वदेशका कैयौं वौद्धिक प्रभुत्व व्यक्तित्वहरुको समेत अमुल्य योगदान रहेको छ ।

आज एकता समाज ४० वर्षको अनुभव बटुल्दै, कैयौं आरोह अवरोहहरु झेल्दै यो अवस्थासम्म आइपुग्नुमा हजारौं कार्यकर्ताहरुको भोक, शोक, रोग, अभाव, अपमान कैयौं प्रकारका यातना दु:ख कष्ट झेल्दै सहँदै, अविरल कडा मेहनत साथ उत्साहीत रुपमा गरेको संघर्षको परिणाम नै हो । संगठन विस्तार कै क्रममा क. गंगाधर घिमिरे, क. विद्या ढकाल (जलजला), क.शोभाखर धनन्जय (सरोज शर्मा) जस्ता अमर शहिदहरु जसको ओजस्वी व्यक्तित्वले हामीलाई सदैव प्रेरणा दिइरहन्छ । जसले आफ्नो प्राणको आहुती दिएर सिंचीत संगठनप्रतिको महान योगदानलाई यस महत्वपूर्ण ऐतिहांसिक घडीमा सम्मान पूर्वक भावपूर्ण श्रद्धा सुमन अर्पण गर्न चाहन्छु ।

स्वदेशमा निरंकुश पञ्चायति व्यवस्था रहेको अवस्था थियो । त्यो वेला देशमा नेपाली जनताले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता समेतबाट बञ्चित रहेका थिए । त्यसको धङधङीबाट भारत प्रवासमा रहने नेपालीहरु पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित थिए । त्यतिवेला पनि भारत प्रवासमा नेपाली संघ संस्थाहरु नभएका होइनन्, तर ती संगठनहरु निश्चित उदेश्यमा केन्द्रीत थिएनन् । कैयौं स–साना धार्मिक तथा गोर्खा समाज, गोर्खा कल्याण समिति आदि नामधारी संगठनहरु थिए उनीहरु नेपालको सामन्तवादी राज्य सत्तालाई बचाई राख्न र आफ्नो स्वार्थ सिद्ध गर्न लम्पट थिए । कैयौं संगठनहरुले नेपालमा मन्दीर, बाटो, घाटो, पुल, पुलेसो, स्कुल आदि बनाउने नाममा चन्दा संकलन गर्ने र आफ्नो स्वार्थ सिद्ध गर्नमा तल्लीन देखिन्थे । एक प्रकारले भन्नु पर्दा विभिन्न वहानामा शोषणका जराहरु फिजारी रहेका थिए । त्यसका साथसाथै केही संगठनहरु नेपालीहरु बीच सद्भाव बढाउन तथा उनका सु:ख दु:खमा चिन्ता गर्ने अथवा केही सुधारका कामहरु गर्ने गर्दथे, तर ती संगठनहरु अत्यन्त न्यून थिए । त्यस प्रकारका संगठनहरुमा व्याप्त अन्तरविरोधको बढिरहेको थियो । समाजमा व्याप्त अन्तरविरोधहरुलाई हल गर्न, सामाजिक न्यायका लागि संघर्ष गर्न, अखिल भारत स्तरको संगठनको अभाव नेपाली समाजलाई खट्कीरहेको थियो । अखिल भारत स्तर मै छरिएर रहेका प्रगतिशिल देशभक्त जनतान्त्रिक शक्तिहरुलाई एकजुट गर्न सक्ने, जसले नेपाली समाजलाई सामाजिक न्याय दिलाउन सक्ने संगठनको अवस्यकता थियो । त्यसैले उक्त उदेश्यहरुको पूर्तीका लागि अखिल भारत स्तर मै छरिएर रहेका प्रगतिशिल देशभक्त जनतान्त्रिक शक्तिहरुलाई समेटेर एकजुट गरि ७ नोभेम्बर १९७९ का दिन बनारसमा गोविन्दसिंह थापाको सभापतित्वमा अखिल भारत नेपाली एकता समाज अस्तित्वमा आएको थियो र यसले अखिल भारत स्तरको एउटै घोषणा पत्र र विधान तैयार गर्ने जिम्मा लियो । उक्त समितिमा उपसभापतीमा रामचन्द्र शर्मा, मन्त्री पदम राना, उपमन्त्री दण्डपाणी न्यौंपाने तथा सदस्यहरुमा राजु नेपाली, रतनबहादुर र दुर्गा शर्मा रहनु भएको थियो । संगठनको संस्थापक व्यक्तिहरु कतिपयको निधन भई सकेको छ भने जिवित रहेकाहरु पनि एक वा अर्को कारणले आज हामी बीच हुनुहुन्न, तर वहाँहरुले विगतमा संगठनलाई पुर्‍याउनु भएको सकारात्मक पक्षप्रति भने आभार प्रकट गर्दछु ।
त्यो वेलादेखि नै संगठनको ऐतिहांसिक परम्परालाई अविरल अगाडि बढाउन त्यती सजिलो थिएन र वर्तमानमा छैन । संगठनको गठनकालदेखि नै यसका विरुद्ध व्यापक अभियान चलाउने काम नभएका पनि होइनन् । एकता समाजलाई सामन्ती, प्रतिक्रियावादी अवसरवादी ताकतहरुले आफ्नो वर्गीय स्वार्थ अनुरुप उपयोग गर्न भरमग्दुर लागिपरेका थिए, तर संगठनको आन्तरिक कार्य कुशलताबाट निपूर्ण नेतृत्वको चलाखिका कारण विरोधी तत्वहरु ठाउँका ठाउँ पस्त भए । जनता तर्साएर आफ्नो साम्राज्य टिकाउन प्रगतिशिल देशभक्त जनतान्त्रिक शक्तिहरु एकजुट हुन नपाउन् भन्ने उदेश्यले नै शब्द जालमा अल्मलाउने, भ्रम पैदा गर्ने, तर्साउने, आदि काम निकै भए तर त्यसका विरुद्ध अनवरत रुपमा संघर्ष गर्दै एकता समाज अगाडि बढिरह्यो । नेपाली एकता समाजको बीचबाट पनि अवसरवादी तत्वहरुले आत्मघात गर्न पनि पछि नपरेका होइनन् । भारत प्रवासमा छरिएर रहेका श्रमजीवी नेपालीहरुका बीचमा अत्यन्त लोकप्रिय भइसकेको हाम्रो संगठनबाट अत्तालिएर समानान्तर नामको संगठन खोली भ्रम श्रृजना गर्ने दुश्साहस पनि गरे । तर हामी नै नेपाली समाजको संवाहक मूल प्रवाह हौं भन्दै संगठनलाई अखिल भारत स्तरमा नै नेपालीहरु बीच स्थापित गर्‍यौं । भारत व्यापी छरिएर रहेको नेपालीहरुलाई एकतावद्ध गर्न र समाजमा व्याप्त कुरिती, कुसंस्कारका विरुद्ध निरन्तर संघर्ष गर्दै एकता समाज अगाडि बढिरहेको छ । १०–१३ फरवरी २००२ अग्रशेन हल हैदरावादमा सम्पन्न पाचौँ अखिल भारत सम्मेलनले समाजको नामको पछाडि (मूल प्रवाह) थप्ने निर्णय गर्‍यो, तर पछि त्यसलाई प्राविधिक समस्या देखाउँदै संस्था रजिस्ट्रेशनका दौरानमा संगठनको नामको अगाडि (मूल प्रवाह) थपिन पुग्यो ।

संगठनको स्थापना कालदेखि नै भारत प्रवासमा अन्याय अत्याचारका विरोधमा निरन्तर संघर्षरत एकता समाजले सुमित्रा हत्याकाण्डमा हत्यारालाई गिरफ्तार गराई कारवाही, हत्या पश्चात पोल्ट्रिफर्ममा पुरिएको नेपालीलाई न्याय दिलाउने सवालमा, गुजरातको गान्धी नगरमा ज्यूँदै तन्दुरीमा पोलिएको नेपाली मजदुरको पक्षमा संघर्ष, टिहरी गढवालमा पहिराले पुरिएका नेपालीहरुको पक्षमा, हिमाचलमा बाढि पहिरोले पुरिएका र वेघरवार भएका नेपालीहरुको पक्षमा, पूर्वोत्तर भारतमा कोइला खानीमा हत्या भएका नेपालीहरुलाई न्याय दिलाउने काम, दिल्लीको चर्चित घटना हेमराज–आरुषी हत्या केशमा निर्दोश नेपाली श्रमिकहरुलाई सिविआईद्वारा फसाउने षडयन्त्रका विरोधमा, रोहतकमा सामुहिक वलात्कार पश्चात हत्या गर्ने हत्याराहरुलाई कार्यवाही गराउने विषयमा, शिमलामा निर्दोष नेपालीहरुलाई वलात्कारको आरोपमा गिरफ्तार गरि जेल चलान गराएको र त्यसको विरोधमा, हिमाचलमा पिडब्लुडिमा कार्यरत करिब २ हज्जार नेपाली सर्वोच्च न्यायलयसम्मको न्यायीक संघर्ष पश्चात उनीहरुलाई स्थायी गराउने सवालमा होस वा गुजरातमा सन २००२ को भूकम्प पिडीतहरुलाई राहत संकलनको सवालमा होस् वा भनौं विस २०७२ मा नेपालमा गएको भूकम्प पिडीतहरुलाई राहत संकलन गरि स्वदेश मै पुर्‍याई हस्तान्तरणसम्मको सामाजिक कार्यहरुमा एकता समाज जुटिरहेको छ । त्यसका साथसाथै यात्रा तथा सीमानामा हुने लुटपाटका विरोधमा होस् वा प्रवासी नेपाली तथा स्थायी नेपालीहरुको हकहितलाई दुवै देशका सरकारहरुको ध्यानाकर्षण गर्ने सवालमा एकता समाज निरन्तर संघर्षरत छ । त्यस्तै प्रवासी नेपालीहरुको मताधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ ।

संगठनको स्थापना कालदेखि नै स्पष्ट मत छ कि भारतमा दुई थरी नेपालीहरु छन् । प्रथम, ३१ डिसेम्बर १८१६ को अंग्रेज र नेपाल सरकार बीच भएको ‘सुगौली संधी’ जस्का कारण नेपालको ठूलो भू–भाग अंग्रेजको कब्जामा आयो र भू–भागमा बसोबास गर्ने नेपाली पनि भू–भाग सहित अंग्रेजी हुकुमतका अधिनस्त भए । यहि असमान सन्धिले नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा पुर्‍यायो । भारतबाट १५ अगस्त १९४७ को व्रिटिस साम्राज्यको अन्त पछि भारतीय नागरिक बने । द्वितीय, ३१ जुलाई १९५० मा नेपाल भारत शान्ति तथा मैत्री सन्धिका तहत आवत जावत गर्ने नेपाली जो नेपाली नागरिक हुन् । यसरी भारतमा दुई थरी नेपाली भाषी जनताको बसोबास छ । दुबै खाले नेपालीहरुको भाषा तथा सांस्कृति, रितिरिवाज, धर्म व संस्कार समान प्रकारका छन् । राष्ट्रियतालाई छोडेर अन्य सबै समस्याहरु दुबै थरी नेपालीहरुको एकै प्रकारको छ । उनलाई एउटै समाजिक संगठन को झण्डामुनी गोलबन्द गर्नुनै हाम्रो मूल उदेश्य रहँदै आयो । त्यसकारण दुबैथरी नेपालीहरुको सांस्कृतिक, आर्थिक, भाषिक समस्याहरुको समाधान हेतु मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एउटै विधान घोषणा पत्र अन्तर्गत संगठित गर्ने निर्णय गर्‍यो र त्यसै नीतिको आधारमा दार्जलीङका नेपालीहरुको न्यायपूर्ण मागको समर्थनका साथै पूर्वोत्तर राज्यहरुमा पुस्तौं पुस्तादेखि बसोबास गरिरहेका नेपाली भाषीहरु खास गरि मेघालयबाट विस्तापित गरिएका नेपालीहरुलाई पुनर्वासको मांग गर्दै संघर्षको सफल नेतृत्व गरेको थियो र निरन्तर संगठित गर्दै दुबैथरीको हक हितका लागि संघर्ष गर्दै आइरहेको छ । हालका दिनहरुमा आसाममा लागु गरिएको राष्ट्रिय नागरिक पञ्जीकरणबाट कैयौं नेपाली भाषीहरु बञ्चित भएका छन् । उनीहरुलाई एनआरसीबाट बञ्चित हुनुको मूल उदेश्य जानकारी गराइएको छैन ।

माथि उल्लेखित अधिकांश घटनाहरुको छाविनका लागि केन्द्रीय जाँच ब्यूरो (सिविआई) खटिएको थियो । जसलाई मेरो यस लेखमा विभिन्न समयमा आफूले गरेका टिपोटहरुलाई उल्लेख गर्ने कोशिस गर्न खोजेको छु । यसमा कैयौं महत्वपूर्ण घटनाहरुलाई समावेश गर्न सकेको छैन । केवल २००८ जुदेखि हालसम्म घटेका खासखास घटनाहरुलाई नै समेटिएको छ ।

हेमराज–आरुषी दोहोरो हत्याकाण्ड:

सन २००८ जुलाई १५ तारिकका दिन नोएडामा घटेको घटना भारतमा रहने अधिकांश नेपालीहरु सबैलाई जानकारी छ । त्यस दिन राती आरुषी तल्वारको हत्याको खबर भारतका विभिन्न मिडिया मार्फत बाहिर आएको थियो । उक्त हत्याको आरोप सोही कोठीमा काम गर्ने अर्घाखाँची धारापानी हाल भूमिकास्थान निवासी हेमराज बन्जाडेमाथि लगाइयो । यहाँसम्म कि हेमराजलाई समाउने जो कसैलाई २० हजार नगद इनामको समेत उत्तर प्रदेश पुलिसले फरमान गरेको थियो । हेमराजलाई समाउन युपी पुलिसले आफ्नो एक टोली नेपालतर्फ समेत रवाना गरेको थियो । तर १७ जुलाईको हेमराजको लास सोही तल्वार परिवारको घरको छतमा फेलापरे पछि, घटनाले फरक मोड लिएको थियो । उक्त घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा हुन आए पछि घटनाको सत्यतथ्य छानविन र दोषीलाई कडा कारवाहीको माग गर्दै नोएडा सेक्टर २८ स्थित ठानामा १८ जुलाईको हजारौं नेपालीहरुको उपस्थितिमा जुलुस प्रदर्शन तथा धर्ना समेत दिए पछि छानविनको लागि भन्दै गिरफ्तार गरिएका किसन थापा १९ जुलाईका दिन रिहाई भएका थिए । युपी पुलिसले छानविनको क्रममा ९ दिन पछि आरुषी तलवारका पिता राजेश तलवारलाई रिमाण्डमा लिएको थियो । पुलिसले राजेश तलवारलाई दोषि सावित गर्नका लागि पुख्ता सबुतको अभाव भएको भन्दै रिहाई गरेको थियो ।
उक्त केशको छानविनको लागि केन्द्रीय जाँच ब्यूरो (सिविआई)ले डाइरेक्टर राजेन्द्र कुमारको नेतृत्वमा टिम गठन गरेको थियो, उक्त टिमले घरेलु नोकर गुल्मी निवासी किसन थापा, कपिलवस्तु निवासी राजकुमार र छत्तिसगढ निवासी विजय मण्डललाई गिरफ्तार गरि हत्याको अभियोग लगाई नार्को टेष्ट समेत गरेको थियो । नार्को टेष्ट पूर्व अदालतले स्वीकृती दिएको हुनुपर्नेमा सिविआईले प्रकृया नमिलाएको हुँदा मूल प्रवाहले हजारौंको उपस्थितिमा दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरेको थियो । यसरी भारतमा सिविआईको विरोधमा समेत उत्रने पहिलो संगठन एकता समाज बनेको थियो ।

यसरी (सिविआई)ले आफ्नो साख बचाउन कै लागि जबरजस्ती निर्दोष श्रमजिवीहरुलाई फसाएर दोषि सावित गर्ने कोशिसले लडाई हत्याराको पहिचान गरि कारवाही गर्ने भन्दा पनि गरिब र अमिर विचको लडाईमा परिणत भएको थियो । मूल प्रवाहले लगातार गर्दै आएको संघर्षले सिविआई माथि पनि दबाव पर्न गएको थियो । जसले गर्दा निर्दोष किसन थापा, राजकुमार र विजय मण्डल सिविआईको गिरफ्तारीबाट मुक्त भएका थिए । पछि सिविआईले आरुषी कै माता–पीता नुपुर तलवार र राजेश तलवारलाई हत्याको दोषी सावित गरि गिरफ्तार गरेको थियो ।

१३ वर्षीय वालिका वलत्कृत:

२१ सितम्बर २०१० का दिन १३ वर्षीय वालिकालाई आगरा कारागारमा ड्युटीमा खटिएको सुरक्षाकर्मीले नसालु पदार्थ मिलाएर पिलाई सामुहिक वलात्कार गरेको घटनाबाट मूल प्रवाह बेखबर रहन सकेन । त्यसको विरोधमा संगठनले अदालतको बाहिर विरोध प्रदर्शन गर्दै ३ घण्टासम्म व्यस्त सड्क जाम गरेको थियो । अदालतको १०० मिटर भन्दा नजदिक प्रदर्शन गर्न नपाइने प्रावाधान हुँदाहुँदै पनि एकता समाजले प्रदर्शनले प्रशासन झुक्न वाध्य भयो र एक जना सुरक्षाकर्मी श्याम वीरलाई गिरफ्तार गराई झेल चलान गराउन सफल भएको थियो ।

सामुहिक बलात्कार पछि हत्या :

राजापुर नगरपालिका १० टेडिया बर्दिया निवासी मोतिराम सुनारको २४ वर्षीय छोरी उपाचारका लागि आफ्ना भाई र दिदीकोमा चिन्नोट क्लोनी रोहतक हरियाणामा आएकी थिइन् । १ फरवरी २०१५ का दिन लापत्ता भएकी उनको ४ फरवरीका दिन अकबरपुर गाउँको खेतमा लास फेला परेको थियो । पोष्टमार्टम रिपोर्टमा मृतकको गुप्ताङगमा सिमेट, इंटका टुक्रा, व्लेड, रोडी, फलामको छडका टुक्राहरु समेत फेला परेका थिए । उक्त घटनाको जानकारी मूल प्रवाह नगर समिति रोहतकमा प्राप्त भए पछि मूल प्रवाहको पहलमा विभिन्न संघ संस्थाहरुको सहभागितामा ९ फरवरीका दिन ४ घण्टासम्म हाइवे जाम गरि पुलिस प्रशासनलाई दबाव मुलक क्याण्डल मार्च प्रदर्शन गरिएको थियो । संगठनको लगातारको दवाब पछि पुलिसले ४ जनालाई गिरफ्तार गरि छानविन गरेको थियो । १ जना नावालिग भएको हुनाले सुधार गृहमा पठाएको थियो । १९ मार्चका दिन पदम, पवन, सेखर, मनवीर, राजेश, सुनिल उर्फ माडा र शिलालाई गरिफ्तार गरेको थियो । हामीले सो घटनालाई लिएर नेपाली राजदूतावासको दरवाजा समेत खटखटाउन पुगको थियौं ।
२१ दिसम्बर २०१५ का दिन एडिशनल सेशन जजले दोषीहरुलाई मृत्यू दण्डको फैसला सुनाएको थियो । न्यायलयको उक्त फैसलालाई हाम्रो संगठनले स्वागत गरेको थियो । त्यसका साथै अपराधीहरुबाट ५० लाख रुपैयाँ जुर्माना असुल गर्ने, जसमा २५ लाख हरियाणा सरकारलाई र २५ लाख पिडित परिवारले पाउने, उक्त रकम २ महिना भित्र उल्लेखित अपराधिहरुको चल अचल सम्पत्तीबाट असुल गर्न जिल्ला अधिकृतलाई आदेश दिएको थियो ।

हिमाचल कोटखाईको बलात्कार केश:

४ जुलाई २०१७ का दिन शिमला कोटखाईमा एक जना १४ वर्षीय बालिकामाथि सामुहिक बलात्कार पछि हत्या गरेर स्याउको वगैचामा फालिएको अवस्थामा लास अर्को दिन प्रशासनले फेला पारेको थियो । उक्त घटनामा ४ जना धनाढ्य परिवारका व्यक्तिहरुलाई गिरफ्तारीमा परेका थिए । ति ४ जना व्यक्तिहरुका फोटाहरु शोसल मिडिया मार्फत समेत सार्वजनिक भएका थिए । तर पुलिसले उनीहरुलाई ७ तारिकका दिन विना सर्त रिहा गरेको थियो । उनीहरुको वदलामा स्याउ बगैचामा काम गर्ने सुरज, दिपक लगायत अरु ३–४ जना निदोर्ष मजदुरहरुलाई गिरफ्तार पछि कुटपिट गरि घायल अवस्थामा घर ल्याई छोडेको थियो । १८ जुलाईका दिन पुन: पुलिसले दिपकलाई गिरफ्तार गरि राती १२/१ बजेको बीचमा पुलिस थाना भित्रै हत्या गरि मृत्यु भएको बताएको थियो । दिपकको शरिरमा वेल्ट र छडका निलडामहरु भएकोले असमायिक मृत्यु नभएर हत्या भएको पुष्टि भएको थियो । मूल प्रवाहले उक्त घटनाको विरोध जनाउँदै हिमाचल डिजीपीलाई भेटगरि उचित छानविन हुनु पर्नेमा जोड दिएको थियो । दिपकको परिवार र वच्चाहरुलाई नारी निकेतनमा राखिएको थियो । उक्त केशको छानविनका दौरानमा ८ जना पुलिसहरुलाई हिमाचल सरकारले वरखास्त गरि हिरासतमा लिएको थियो । पछि उनीहरु ८ जना जसमा पुलिस अफसर समेत थिए लाई झेल चलान गराउनेसम्मको कार्यमा मूल प्रवाहले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

यस्तै प्रकारका श्रमजिवी वर्गका कैयौं मुद्दा मामिलाहरुको न्यायिक हकको पक्षमा निरन्तर संघर्ष गर्दै एकता समाजले आफ्नो ४०औं स्थापना दिवस मनाउन पुगेको छ । सर्वविदितै छ, हाम्रो संगठनको लोकप्रियाता देखेर यसलाई कमजोर बनाउन समय–समयमा विभिन्न खाले अवसरवादीहरुले विभिन्न प्रकारका हतकण्डाहरु अपनाउँदै आएता पनि उनीहरुको दिवासपनालाई चक्नाचुर पार्दै संगठन अगाडि बढिरहेको छ । त्यसैको गौरवान्वित पर्वको रुपमा पनि हामीले यो ४०औं स्थापना दिवस मनाएका छौं । हाम्रा हजारौं कार्यकर्ताहरु रात दिन खटिरहनु भएको छ र संगठनलाई अझै मजबुत र सशक्त बनाउनका लागि भारत प्रवासमा छरिएर रहेका सम्पूर्ण प्रवासी नेपालीहरुलाई एकताको झण्डामुनी गोलवन्द गर्दै अगाडि बढ्नु नै वर्तमान परिस्थितिले हामी सबैलाई दिएको जिम्मेवारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *