एकता समाज परिपक्क अवस्थामा छ

  •   
  •  
  •  
  •  
  •  
  •  

1166 जनाले पढ्नु भयो ।

केबी खड्का, अध्यक्ष, मध्य भारत क्षेत्रीय समिति

१५ फरवरी १९७१ मा बुबा स्व. श्री हुमलाल खड्का र आमा स्व. श्रीमती मंगला देवी खड्काको कोखबाट जन्मनु भएका के.बी. खड्का आप्mना दुई भाई, दुई दीदी–बहिनी मध्य तेश्रो सन्तान हुनुहुन्छ । तात्कालीन खंलगा गाउ पंचायत वार्ड नं. १ कसेरीमा जन्मनु भएका खड्का वर्तमानमा तौलिहवा नगरपालिका वार्ड नं. ९ विकुली कपिलवस्तु र बुटवल उपमहानगरपालिका दिप नगर रुपन्देही दुबै स्थानमा वसोवास गर्नु हुन्छ । हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य भारत क्षेत्रीय समितिका अध्यक्ष र केन्द्रीय समितिको वैकल्पिक सदस्य हुनुहुन्छ । सन १९९६ बाट तात्कालिन अखिल भारत नेपाली एकता समाजमा आवद्व हुनुभएका खड्का सन २००८ मा जयपुरमा सम्पन्न अखिल भारत वामपंथी युवक मोर्चाको चौथो अखिल भारत सम्मेलनबाट कन्द्रीय सदस्यमा चयन हुनु भएको थियो । खड्काले प्राथमिक शिक्षा कक्षा ५ सम्म महेन्द्र मा.वि. खंलगामा, एस.एल.सी.सम्मको शिक्षा श्री कनक मुनी मा.वि. श्रीनगर कपिलवस्तुमा, प्रमाण पत्र तहसम्मको शिक्षा श्री वाणिज्य क्याम्पस देवी नगर बुटवल र स्नातक अर्थशास्त्र र समाजशास्त्रमा हमीदिया कमर्स एण्ड आर्टस कलेज भोपाल मध्य प्रदेशबाट उत्तिर्ण गर्नुभएको बताउनु हुन्छ । खेलकुदप्रति असाध्यै रुची राख्ने खड्का सबै खेलकुद राम्रोसँग खेल्न सक्नुको साथसाथै भलिवल आफ्नो पंसदिदा खेल बताउनु हुन्छ । अहिले पनि म भारतीय स्टेट बैंकको कप्तानको रुपमा मध्य प्रदेश र छत्तिसगढको तर्फबाट आल इण्डिया एस.बि.आई. ईन्टर सर्किल टुनामेण्टमा खेल्ने गर्नु हुन्छ ।

आफु ८ कक्षामा पढ्दै गर्दा २०४० सालदेखि नै अनेरास्वीयु (छैठौं) मा आवद्व रहँदै आएको बताउनु हुन्छ । देशमा पहिलो पटक अनेरास्वबीयुको ११औं राष्ट्रिय महाधिवेशनमा काठमाडौं जाने मौका पाएको सुनाउनु हुन्छ । त्यसपछि बुटवल कर्मस क्यामपसमा इकाई कमेटी गठन गरेको र पछि कपिलवस्तुमा राष्ट्रिय जनमोर्चामा कार्य गर्ने दौरान रोजीरोटीको तलासमा मध्य प्रदेशको राजधानी भोपालमा पुग्नु भएका खड्काले तात्कालिन अखिल भारत नेपाली एकता समाजमा टोल समितिबाट संगठनात्मक जिम्मेदारी शुरु गर्नु भएको थियो । एरिया अध्यक्ष, नगर समितिको कोषाध्यक्ष, नगर समितिको सचिव, नगर अध्यक्ष हुँदै, क्षेत्रीय सचिव र गत दुई वटा क्षेत्रीय सम्मेलनबाट क्षेत्रीय अध्यक्षको साथसाथै सातौं अखिल भारत सम्मेलनबाट केन्द्रीय बैकल्पिक सदस्यको भुमिकामा रहनुभएको छ । प्रस्तुत छ केवी खड्कासँगको कुराकानी :

  • देशको तात्कालिक राजनीतिक अवस्थालाई कसरी हेर्नु हुन्छ ?

नेपाल प्राकृतिक संपदा, जल, जंगल र जडीबुटीको अपार श्रोत भएको शान्तीप्रिय देश हो, यो दुई वटा महान देश भारत र चीनको बिचमा विधमान छ पुर्वदेखि पश्चिमसम्म हिमाल–पहाड र तराईको प्राकृतिक सौन्दर्यलाई नियालेर हेर्दा अत्यन्तै मनमोहक छ नेपाल । विगत केही वर्षमा अन्य मुलुकहरुमा झैं परिवर्तन नेपालमा पनि आएको हो । जसको जिवन्त उदाहरण नेपालबाट राजतन्त्रको अन्त्य पछि गणतन्त्रको स्थापना र संविधान निमार्ण मुख्य उपलब्धी भए पनि त्यसको व्यवस्थापन हुन सकेको भने छैन । नेपाली जनतालाई नचाहिएको संघीयता भारत र अमेरिकाको इशारामा भित्राएईको जो वर्तमानमा “नखाउँ भने दिन भरको शिकार, खाउँ भने कान्छो बाउको अनुहार” सावित भएको छ । यसको जिवन्त उदाहरण हो हाम्रा श्रद्वय नेता चित्र बहादुर के.सी.को भनाईमा छोरो पाएर न्वारान गर्न नसक्नु । अहिले पनि राज्यका नामाकरणसम्म हुन नसक्नु संघीयताको दुष्परिणाम हुन् । भारतले सिधै नेपालको आन्तरिक मामीलामा हस्तक्षेप गर्ने काम पनि जारी छ । नेपालका सीमाना कालापानी, लिपुलेक र लिम्पीयाधुरा भारतको नक्सामा देखाएर हेपाहा प्रवृतिको नांगो नाच देखाउँदासम्म नेपाल सरकार मौन छ । देश अहिले अन्यौल र जटिल परिस्थतीबाट गुज्रिरहेको छ । अराजकता फैलिएको छ, राष्ट्र र राष्ट्रियता धरापमा परेको छ । जनताप्रति असुरक्षाको भाव पैदा भएको छ । महंगाईले आकाश छोएको छ । शिक्षा रोजगारमा सरकारबाट कुनै पनि सकारात्मक कार्य योजनाहरु आएका छैनन् । हस्पिटलहरुले स्वास्थ्य उपचारको नाममा ब्रम्हलुट गरेका छन् । देशमा पुरानै शैलीको शिक्षा व्यवस्था छ । युवा शिक्षित शक्ति खाडी मुलुकमा जाने संख्या झन् पछि झन् बढेको छ । देश बाहिरबाट आएको रेमिटेन्समा निर्भर छ । संघीयताको नाममा देशले ठुलो आर्थिक भार थेग्न परेको छ । वामपंथीको नाममा दुईतिहाईको सरकार हुँदासम्म कुनै निर्णायत्मक कार्य योजनाहरु बाहिर आएको छैन । एन.जी.ओ., आई.एन.जी.ओ.ले सरकारलाई अधिगरण गरेको छ । कुल मिलाएर देश अहिले बहुमतको सरकार हुँदा पनि निस्कृय छ । अन्यौल र असुरक्षाबाट गुर्जि रहको छ ।

  • तपाईको त्यस क्षेत्रमा श्रमजिवी नेपालीहरुको स्थिति कस्तो प्रकारको छ ?

यस क्षेत्रमा श्रमजीवी स्तरलाई हेर्दा यहाँ नेपालीहरु ठूलो संख्यामा बस्ने भनेको भोपाल, इन्दोर, जवलपुर र ग्वालीयर क्षेत्रमा हो । जसमा ठुलो संख्या भनेको होटल तिर छन् । त्यस पछि केही संख्याहरु पिथमपुर र भोपालको औद्योगिक क्षेत्र तीर छन् । जसमा नेपालीहरुको संख्या भनेको शिपमुलक नभई श्रममुलक नै रहेको छ । केही साथीहरुलाई समेटे पनि थुप्रै संख्या असंगठित नै छन् । यीनीहरुको प्रवास बसाई भनेको अस्थायी हुँदा केही महिना प्रवास र केही महिना नेपाल गर्दा संगठनलाई पनि प्रभाव परेको छ ।

  • मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ४० औं वर्ष पार गरिसकेको छ, त्यस क्षेत्रीय समिति अन्तर्गत के कस्ता गर्नुभयो र गर्ने योजना छ ?

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रवासी नेपालीहरुको अभिभावक संगठन हो । प्रवासमा बसोबास गर्ने नेपालीहरुको हकहित, सुरक्षा, आपसी झैझगडा र अन्यायमा परेका समस्यालाई समाधान गर्न अग्रणी भुमिका निर्वाह गर्नुको साथसाथै राष्ट्र र राष्ट्रिय अखण्डता र सार्वभौमिकताको पक्षमा संधै एक ढिक्का भएर आप्mनो सहयोग र सर्मथन प्रदान गर्दै आएको छ । मध्य भारत क्षेत्रमा पर्ने नगर समिति एरिया समिति र टोल समितिसम्मलाई उपस्थित गराई भेला र बैठकको माध्यमबाट रचनात्मक कार्यक्रमको साथसाथै मूल प्रवाहको लक्ष्य र उद्वेश्य, मूल प्रवाहले खेलेको भुमिका राष्ट्र र राष्ट्रियताको पक्षमा राष्ट्रिय जनमोर्चाले सडकदेखि सदनसम्म खेलेको भूमिकाको साथसाथै मूल प्रवाहको ४०औं स्थापनासम्मको गौरमवय इतिहासको गाथालाई कार्यक्रमद्वारा प्रस्तुत गरियो ।

  • त्यस क्षेत्रमा नेपाली मजदुरहरु माथिको भेदभाव के कत्तिको छ ?

यस क्षेत्रमा मजदुर माथीको भेदभावको संदर्भमा यहाँ खासै औद्योगिक क्षेत्रहरु छैनन्, जो छन् होटल व्यावसायमा कार्य गर्छन् । पहिला भेदभावको प्रचलन अलि बढी थियो तर अहिले केही कम भएको छ । त्यसको पछाडिको कारण यहाँ यस मध्य भारत क्षेत्रमा थुप्रै संगठनहरुले कार्यक्रमहरु दिइरहेका छन् । केही साथीहरु पुराना भए केही नयाँ आउनेले पनि पुराना साथीहरुको सम्पर्कबाट कार्य गर्दा आफू पनि बढि सजक भएका कारण त्यस्तो भेदभाव भएको सुनिदैन । त्यस्तो केही घटनाहरु भएमा मूल प्रवाह लगाएत यहाँका क्रियाशिल संगठनहरुबाट समाधान गर्ने कार्य भएका छन् ।

  • यात्राका दौरानमा नेपालीहरु बढि मात्रामा लुटिने कुटिने घटनाहरु सुन्नमा आउँछन् नि त्यताबाट ?

यात्राको दौरान लुटने कुटिने घटनाहरु केही बर्ष पहिलासम्म व्यापक थियो । त्यसको लागी यहाका प्रसाशन, झांसी रेलवे डिभिजन र इटारसी रेलवे डिभिजन, मुख्यमंत्री मध्य प्रदेश शासन र जीआरपी थानालाई ज्ञापन दिए पछि धेरै हदसम्म कम भएका छन्, अर्का तिर संगठनद्वारा जनजेतना जगाउने कार्यक्रम आयोजित गरि रेलबाट यात्रा गर्दा कन्र्फम टिकट लिएर यात्रा गर्ने, परिचय पत्र साथमा राख्ने सिनीयर साथीहरुको साथमा मार्गदर्शनमा यात्रा गर्ने, अनावश्यक वादविवादबाट बच्ने, सभ्य भएर यात्रा गर्ने, बस टेङनमा हिडदा पत्र पत्रीका साहित्यक किताबहरुको अध्ययन गर्ने जस्ता कार्यहरु अंगाल्न आग्रह गर्यौं, जसले गर्दा केही हदसम्म घटना कम भएका छन् ।

  • अब चुनावमा प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चितताको कत्तिको संभावना देख्नु हुन्छ ?

प्रवासी नेपालीहरुको मतदानको सवालमा सर्वप्रथम त भारतमा मात्रै काफि पैमानामा नेपालीहरु रहन्छन् । यति ठूलो संख्या नेपालको चुनावमा चुन्न र चुनिन नेपाल जान संभव छैन तर्सथ हाम्रो संगठनले लगातार रुपमा प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै आएको छ र हुनु पर्दछ । यस विषयमा सर्वोच्च अदालतले आदेश गरे पनि नेपाल सरकारले अहिलेसम्म त्यस्तो किसीमको कार्य योजना बनाए जस्तो लाको छैन, न कुनै चासो लिएको जस्तो छ । अहिले चुनाव आउन पनि समय छ, हेर्दै जाउँ चुनावसम्म के हुन्छ । प्रवासी नेपालीहरुको समस्या समाधानको लागि मताधिकार र समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने अत्यन्तै आवश्यक छ ।

  • नयाँ परिस्थितिमा संगठनलाई अगाडि बढाउन के कस्ता आगामी कार्यनीति बनाउनु भएको छ ?

संगठनले अहिलेसम्म थुप्रै आरोह र अवरोहलाई चिर्दै ४०औं बसन्त पार गरि यहाँसम्म आई पुगेका छ । संगठन अहिले ४०औं वर्षको परिपक्क अवस्थामा छ । अहिलेसम्म सगंठनले भोगेका अनुभवलाई समेटेर आगामी कार्यनीति तयार गर्न पर्छ । हालांकी संगठन निमार्ण गर्न र निमार्ण भएका संगठनहरुलाई टिकाइ राख्न पनि अप्ठ्यारो छ । किनकी अहिले नेपालबाट भारत प्रवासमा भित्रिने नेपालीहरुको संख्या घट्दोक्रममा छ, जो पूर्वमा प्रवासमा संगठन निमार्ण र विस्तारमा लाग्नु भएका सिनीयर वरिष्ठ साथीहरु सेवा निवृत भएर नेपाल फर्किने क्रम जारी छ । जो आउने साथीहरु हुनुहुन्छ, उहाँहरुको पेशा होटल व्यावसाय हुँदा त्यो अस्थायी रहन्छ । जसले गर्दा संगठन अस्थायी हुन्छ र संगठनलाई पनि बारम्बार प्रभाव परेको छ । तैपनि हामी अभिभावक संगठनका अगुवा कार्यकर्ता भएका हँुदा अग्रीम पंतीमा रहेर निस्वार्थ भावले प्रवासी नेपालीहरु विचमा गएर जनताका समस्यालाई समाधान गर्ने कार्यमा हाथ बढाएर जनताको विश्वास जितन सक्यौं भने अझै पनि थुप्रै संभावना छन् । संगठन मजबुत भनेको नै जनताको कार्य गर्नु हो । संगठन अहिले ४०औं बसन्त पार गरेर ४१औं बसन्तको शुरुवात गर्दा हाम्रो जिम्मेवारी अझ बढेको छ । अहिलेसम्मको संगठनको गौरवपूर्ण इतिहासलाई हर प्रवासी नेपालीहरु बिच पुराउनेको साथसाथै संगठित भएका सदस्य कार्यकर्ताले पनि नियमित रुपमा संगठनका दस्तावेज अध्ययन गर्ने अध्ययन गरेका नीतिहरुलाई वास्तविक धरतलमा उतार्ने कार्य योजना बनाएर लाग्यौं भने संगठन निमार्ण र विस्तार गर्न सजिलो हुने छ ।

  • अन्त्यमा केही छुट्यो कि ?

सर्व प्रथम अग्रेजी वर्ष २०२० को अवसरमा देश विदेशमा छरिएर बस्नु भएका सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाई तथा दीदी बैनीहरुमा सु–स्वास्थ्य दिर्घायु एवं उत्तरोतर प्रगतिको हार्दिक मंगममय शुम कामना व्यक्त गर्न चाहान्छु ।

त्यस्तै नेपाली समाचार साप्ताहिक परिवारलाई धन्यवाद, यस्तो विषम परिस्थितिमा नियमित पत्रिका प्रकाशन गर्नुभएको छ, देश विदेशका समाचारहरु यस पत्रिकाको माध्यमबाट प्रवासी नेपालीहरुको घर दैलोमा पुराउनु भएको छ, यसले अझ निरन्तरता पावोस । संसारभरी छरिएर बसेका नेपालीहरुको आवाज बनेर गज्रियोस् । म पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्य भएर कार्य गर्ने मौका पाएको र मेरा बिचारहरु यस पत्रिकाको माध्यमबाट प्रस्तुत गर्ने मौका दिएकोमा नेपाली समाचार साप्ताहिक परिवारलाई हृदयदेखी नै धन्यवादको साथ अन्तमा के भन्न चाहे भने प्रवासमा बस्ने नेपालीहरुको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अभिभावक संगठन हो । यस संगठनको सदस्यता लिएर प्रवासमा रहेका नेपालीहरुको बिचमा काम गर्दै राष्ट्र र राष्ट्र निमार्णको कार्य गर्नमा आफनो पनि योगदान सुनिश्चत गर्न आव्हान गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *