एमसिसि बारे अमेरिकाले भ्रम छर्दैछ : मसाल

माघ ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग होइन भनेर हालै अमेरिकी दूतावासले दिएको वक्तव्य भ्रमपुर्ण रहेको बताएको छ । नेपालमा एमसीसीको ब्यापक विरोध भएपछि जनताको ध्यान इण्डोप्यासिफिक रणनीतिबाट हटाउन भ्रमपुर्ण वक्तव्य दिएको मसालले जनाएको छ ।

पार्टी प्रवक्ता रामप्रकाश पुरीले जारी गर्नुभएको वक्तव्यमा अमेरिकाले आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न सैन्य तथा आर्थिक सहयोग परिचालन गर्ने गरेको बताउँदै आर्थिक सहयोग आफैमा उसको सैन्य रणनीतिको अंग भएको स्पष्ट पार्नुभएको छ ।

वक्तव्यमा भनिएको छ : “अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे दिएको पछिल्लो स्पष्टीकरण सार्वजनिक भएको छ । उक्त स्पष्टीकरणअनुसार एमसीसी इन्डोप्यासिफिक रणनीतिको अङ्ग होइन भनिएको छ । पहिले काठमाडौँस्थित अमेरिकी दूतावास र अमेरिकी स्टेट असिटेन्ट सेक्रेटरी मिसेज एलाइस वेलका वक्तव्यहरूमा एमसीसी इन्डोप्यासिफिक रणनीतिको अङ्ग भएको कुरा सार्वजनिक भइसकेको छ । अहिले एमसीसीको विषयलाई लिएर नेपालमा व्यापक विरोध भइसकेपछि त्यसबाट ध्यान हटाउनका लागि अमेरिकी दूतावासले पहिले आफूले सार्वजनिक गरेका वास्तविकताहरूमाथि पर्दा हाल्ने प्रयत्न गरेको प्रष्ट छ ।

एमसीसीलाई नेपालको संसदबाट अनुमोदन गराउनको लागि भएको प्रयत्नका विरुद्धमा समेत व्यापक विरोध भइरहेको छ । एमसीसी आर्थिक परियोजना भएपनि आइपीएसको अङ्ग हो । यो कुरा कसैबाट लुकेको छैन कि अमेरिकाले आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न सैन्य तथा आर्थिक सहयोग परिचालन गर्ने गरेको छ । आर्थिक सहयोग आफैमा त्यो उसको सैन्य रणनीतिको अङ्ग हो । यूएसएड मार्फत अमेरिकी विदेश नीति विश्वका अन्य मुलुकहरूमा प्रभावकारी ढङ्गबाट लागू हुन नसकेपछि यसको विकल्पमा एमसीसीलाई अगाडि सारिएको हो ।

अर्थात् एमसीसी मार्फत अमेरिकाले यूएसएडले प्रभावकारी बनाउन नसकेको अमेरिकाको विदेश नीतिलाई प्रभावकारी बनाउन चाहेको छ । अमेरिकाको विदेश नीति भनेकै साम्राज्यवादी नीतिलाई अगाडि बढाउनु हो । नेपालको राजनीतिक क्षेत्रमा समेत अमेरिकी साम्राज्यवादको राजनीतिक प्रभाव बढ्दै गइरहेको छ । अर्कोतर्फ त्यसको पूरकको रूपमा भौतिक पूर्वाधार विकासको नाममा आर्थिक सहयोग एमसीसीको आवरणमा अगाडि बढाउने प्रयत्न सरकारले गरिरहेकोमा त्यसको हाम्रो पार्टीले विरोध गर्दछ ।

अमेरिकी दूतावासले आर्थिक सहयोग मार्फत फैलाउने साम्राज्यवादी रणनीतिमाथि पर्दा हाल्न एमसीसीका बारेमा अगाडि सारेका कथित १० बुँदे स्पष्टीकरणको कुनै अर्थ छैन । एमसीसी अमेरिकन इन्डोप्यासिफिक रणनीतिको अङ्ग भएको कुरा दिनको घाम झैँ छर्लङ्ग छ । त्यसैले दूतावासले दिएको १० बुँदे ‘स्पष्टीकरण’को भ्रममा नपर्न हामी सम्पूर्ण जनताको ध्यानाकर्षण गर्दछौँ । साथै त्यसका विरुद्ध उत्रिने सबै शक्तिहरूसँग सामान्जस्यता कायम गरी सङ्घर्षलाई अगाडि बढाउने कुरामा जोड दिन्छौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार