एमसिसी खारेजीको माग गर्दै चितवनमा विरोध प्रदर्शन

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन खारेजीको माग गर्दै चितवनमा विरोध प्रदर्शन भएको छ । एमसिसी खारेज अभियान संयुक्त सङ्घर्ष समिति चितवनको आयोजनामा २०७८ साउन १८ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

चितवनको वीरेन्द्र क्याम्पस, जिल्ला विकास समिति कार्यालयको प्राङ्गण र हाकिमचोकबाट ब्यानर र झण्डासहित निकालिएको जुलुस भरतपुर नगरपालिका–१० चौबिसकोठीमा पुगी धर्ना कार्यक्रममा परिणत भएको थियो । सो कार्यक्रममा वक्ताहरूले सम्बोधन गर्दै एमसिसी तत्कालै खारेज हुनुपर्ने माग राखेका थिए ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान र सामना परिवारका कलाकारहरूले गीतसङ्गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्मर पुरी, नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकाल, राजमो चितवनका मोहनमणि ढकाल, नेकपा (क्रान्तिकारी–माओवादी) का अशोक शर्मा, नेकपा विप्लव पक्षका सन्देश पौडेल, नेकपा (माले) का भगवती घिमिरे, जनजागरण परिषद्का साध्यबहादुर भण्डारीसमेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा नेकपाका ऋषि कट्टेल पक्ष, नेकपा (एमाले) का दुवै पक्ष र नेकपा (माओवादी–केन्द्र) का नेता–कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।

एमसिसी खारेजीको पक्षमा आन्दोलन सञ्चालन गर्न गत साउन १२ गते चितवनमा भेला सम्पन्न भएको थियो ।

भेलाले फणिन्द्र आचार्यको संयोजकत्वमा ५०१ सदस्यीय एमसिसी खारेज अभियान संयुक्त सङ्घर्ष समिति चितवन गठन गरेको थियो ।

समितिमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहित १२ राजनीतिक दल तथा सङ्घसंस्थाका साथै पेसागत सङ्घसंस्था, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, महिला, मजदुर, किसान, व्यवसायीको प्रतिनिधित्व गर्दै सदस्यहरू रहनुभएको आयोजकले दाबी गरेको छ ।

सङ्घर्ष समितिको ३७ सदस्यीय सचिवालयमा राजमोको तर्फबाट केन्द्रीय सदस्य डम्मर पुरी, राजमो चितवनका मोहनमणि ढकाल, रक्तिम सांस्कृतिक अभियानको तर्फबाट देवी शर्मा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजको तर्फबाट कृष्ण केसी र नेकपा (मसाल) चितवनको तर्फबाट जिल्ला प्रवक्ता मेघराज ढकाल रहनुभएको छ ।

सङ्घर्ष समितिले एमसिसी खारेज नभएसम्म यो आन्दोलनलाई निरन्तर अगाडि बढाउने भएको छ ।

यस्तो थियो साउन १२ गते सङ्घर्ष समितिले पत्रकारमाझ वितरण गरेको पर्चा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार