ऐतिहासिक भौतिकवादी दृष्टिकोणमा प्रतिगमन

  •   
  •  
  •  
  •  
  •  
  •  

1049 जनाले पढ्नु भयो ।

समीर सिंह ##
दर्शनशास्त्रसम्बन्धी मान्यता
मानव जीवन, समाज तथा राज्य सञ्चालनका सन्दर्भमा दर्शनशास्त्रको महत्त्वपूर्ण भूमिका हुन्छ । यो शास्त्रले एउटा स्पष्ट दृष्टिकोण दिने गर्दछ । त्यही दृष्टिकोणले राज्य तथा सामाजिक प्रणालीलाई कसरी अगाडि बढाउने ? त्यसका लागि महत्त्वपूर्ण आधार प्राप्त हुन्छ । राज्य तथा समाजको सुन्दर भविष्य निर्माण गर्न एउटा राम्रो र यथार्थतामा आधारित दर्शनशास्त्रको आवश्यकता पर्दछ । त्यसैले त्यस प्रकारको दर्शनशास्त्रको अध्ययन तथा अनुसन्धानलाई निरन्तरता दिइरहनुपर्छ । त्यसका लागि इतिहासका विभिन्न दर्शनशास्त्रको चिरफार गर्दै त्यहाँभित्रका सकारात्मक पक्षलाई स्वीकार गर्नुपर्दछ । यसरी तयार हुने दर्शनशास्त्रका आधारमा नै एउटा सुन्दर तथा वैज्ञानिक दृष्टिकोण तयार हुन्छ । त्यस प्रकारको दृष्टिकोण जीवनको हरेक क्षेत्रमा महत्त्वपूर्ण हुन्छ ।

दर्शनशास्त्रको कति महत्त्व छ ? कौटिल्यको अर्थशास्त्र पढ्दा पनि यो प्रश्नको महत्त्वप्रति हामी प्रस्ट हुन सक्छौँ । उनले विभिन्न शास्त्रमध्ये अनवीक्षकी शास्त्रको अध्ययन अनिवार्य रूपमा गर्नुपर्ने बताउँथे । यहाँ अनवीक्षकीको अर्थ हो– साङ्ख्य, योग र लोकायत दर्शन । कौटिल्यले विज्ञानको अध्ययन गर्दा अनवीक्षकी शास्त्र, यो संसारमा सबैभन्दा लाभप्रद भएको बताउने गर्दथे । यसले सुख र दुःख दुवैमा मस्तिष्कलाई स्थिर राख्नुका साथै दूरदृष्टि तथा विभिन्न क्रियाकलापमा श्रेष्ठता प्रदान गर्ने तर्क गर्दथे ।

संसारको व्याख्या गर्नु नै दर्शन हो । पूर्वीय दर्शनअन्तर्गत यसलाई परिभाषित गर्दै भनिएको छ– ‘दृश्यते अनेन इति दर्शनम्’ अर्थात् जसको माध्यमबाट देख्न सकिन्छ, त्यो नै दर्शन हो । यहाँ देख्नुको अर्थ आँखाले देख्नु मात्र होइन, पाँच वटा इन्द्रिय र मनद्वारा कुनै वस्तुका बारेमा जान्नु दर्शन हो । जान्नु भनेको ज्ञान प्राप्त गर्नु हो । तथ्यमा आधारित सत्य ज्ञानतर्फ लक्षित हुनुलाई दर्शन भनेर परिभाषित गर्न सकिने भयो ।
दर्शन, दृश धातुबाट बनेको हो । दृशको अर्थ हुन्छ देख्नु । तर यहाँ देख्नु भनेको हेर्ने मात्र नभएर तात्विक रूपमा अनुभूति गर्ने भनेको हो । एउटा माध्यमको खोजी गर्ने भनेको हो । विभिन्न वस्तुको माध्यमका आधारमा तात्विक समाधानको दिशातर्फ अग्रसर हुनु दर्शन हो । उदाहरणकोे रूपमा कसैले रातो चस्मा लगाएको छ भने उसले ‘यो संसार रातो छ’ भन्न सक्छ । कसैले पहेँलो चश्मा लगाएको छ भने ‘यो संसार पहेँलो छ’ भन्न सक्छ । अझ दार्शनिक रूपमा भन्नुपर्दा अध्यात्मवादलार्ई स्वीकार गर्ने जोगीले यो संसारलाई ईश्वरको लीलाको रूपमा बुझेको हुन्छ† अनि, उसले हरेक कुरालाई ईश्वरीय प्रकारले व्याख्या गरिरहेको हुन्छ । भौतिकवादीले त्यसको विपरीत प्रकारले संसारलाई बुझिरहेको हुन्छ ।

अहिलेको उपभोक्तावादी समाजका लागि धेरै पैसामा रमाउनु, पार्टी प्यालेस, महङ्गो गाडी, गहनालाई नै महत्त्व दिइएको हुन्छ† अनि, विभिन्न प्रकारका दृष्टिकोण त्यसरी नै तयार भएको हुन्छ । जहाँ पुँजीवादी रमझम छैन, त्यस्ता विषय उनीहरूका लागि कुनै चासोको विषय हँुदैन । एउटा सच्चा कम्युनिस्टका लागि श्रमजीवी जनताको मुक्ति सबैभन्दा महत्त्वको विषय बनेको हुन्छ । त्यसैको आधारमा उसको दृष्टिकोण तथा त्यही दृष्टिकोणले उसको क्रियाशीलताको निर्धारण भइरहेको हुन्छ । यसरी यी उदाहरणबाट पनि दर्शनशास्त्रलाई परिभाषित गर्ने सन्दर्भमा ‘माध्यम’ को महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने वmुरा प्रस्ट हुन्छ ।

माध्यमको प्रयोग गरेर सत्यतर्फ अग्रसर हुनु दर्शन हो । कोही सत्यको नजिक पुग्न सक्ला, कोही नसक्ला । तर पनि माध्यमको प्रयोग गर्दै विभिन्न तथ्य तथा प्रमाणका आधारमा निरन्तर रूपमा अग्रसर रहिरहेको हुन्छ । तथ्य र प्रमाणको स्वरूप कस्तो छ ? यो प्रश्नले नै सत्यको नजिक पुग्न सक्ने वा नसक्ने निर्धारित हुने हो । तर पनि मानिस विवेकशील प्रणी हो । ऊभित्र तयार भएको चिन्तनलाई फरक फरक तरिकाले प्रयोग गरिँदै गइन्छ । त्यस आधारमा ऊभित्र कुनै न कुनै प्रकारको दार्शनिक चिन्तन तयार भएको हुन्छ ।

हरेक मनुष्यमा दार्शनिक चिन्तन तयार भएको हुन्छ । यद्यपि कसैले ‘ईश्वर छ’ भन्छ होला, कसैले ‘ईश्वर छैन’ भन्छ । कसैले ‘आत्मा नित्य छ’ भन्छ होला कसैले ‘अनित्य हुन्छ’ भन्छ । कोही भौतिक संसारमा रमाउने होला तथा कोही भौतिक संसारलाई भ्रम ठान्दै अलौकिक सत्ताको खोजीमा लाग्ने होला । यी विभिन्न प्रकारका दार्शनिक अन्तर्विरोधभित्र हरेक मानिस कुनै न कुनै रूपमा पसेको हुन्छ । समाजको विभाजन, दार्शनिक र अदार्शनिकबिच हुने होइन कि अपरिपक्व दार्शनिक र परिपक्व दार्शनिकबिच हुने हो । यो आधारमा पनि पुष्टि हुन्छ, हरेक मानिस दार्शनिक हुन्छ । यद्यपि फरक फरक मानिसको स्तर तल माथि हुन सक्छ ।

पदार्थ प्रमुख कि चेतना ? संसारभरिका दार्शनिक वर्षौदेखि यो विषयलाई केन्द्रविन्दु बनाउदै आआफ्नो दर्शनको व्याख्या तथा विश्लेषण गर्दै आइरहेका छन् । जसले पदार्थलाई प्रमुखता दिए, ती भौतिकवादी भए भने चेतनालाई प्रमुखता दिनेहरू आदर्शवादी । यो बहसको प्रारम्भ गर्दै उनीहरू दर्शनशास्त्रका अति जटिल विषयतर्फ अग्रसर हुँदै गए । यो विषयलाई प्रस्ट पार्दै माक्र्स–एङ्गेल्सको सङ्कलित रचनामा भनिएको छ– ‘सबै दर्शनमा, खास गरेर प्राचीन दर्शनको महान् र मूलभूत प्रश्न भनेको चेतना अर्थात् चिन्तन र अस्तित्व अर्थात् पदार्थसँग सम्बन्धित विषय हो । यसै विषयमा उत्तर दिने प्रसङ्गमा दार्शनिकहरू दुई शिविरमा बाँडिएका छन् । जसले प्रकृति अर्थात् पदार्थभन्दा चेतना अर्थात भावनालाई प्रमुख ठान्दछन्, यिनीहरू आदर्शवादी अर्थात् प्रत्ययवादी पक्षमा उभिएका हुन्छन् भने जसले प्रकृति अर्थात् पदार्थलाई प्राथमिक तत्त्व र चेतना अर्थात् भावनालाई गौण ठान्दछन्, तिनीहरू भौतिकवादी पक्षमा पर्दछन् ।’१

दर्शनशास्त्रको दुई वटा पद्धति रहने गरेका छन्, अधिभूतवादीवादी र द्वन्द्ववादी ।

क) अधिभूतवादी दृष्टिकोणले गतिको कारण बाहिरी शक्तिलाई मात्र देख्दछ । यसले द्वन्द्वको कारण, गति भएको कुरालाई स्वीकार गर्दैन । यसले कुनै पनि चिजलाई एकपाखे, स्थिरता, अगल–अलग गरेर हेर्दछ । यसलाई प्रस्ट पार्दै एङगेल्सले ड्युरिङ्ग मतखण्डनमा भन्नुभएको छ– ‘अधिभूतवादको लागि कुनै वस्तुको यात अस्तित्व छ या छैन । यो हुन सक्दैन कि कुनै पनि वस्तु एउटै समयमा स्वयम् त्यो वस्तु पनि हो र साथै अरू पनि । त्यसको दृष्टिमा सकारात्मक र नकारात्मक पक्ष एकर्कालाई सम्पूर्ण रूपले अपवर्जन गर्दछन् र कारण तथा कार्य एकर्काका कट्टर प्रतिपक्षी हुन्छन् ।’

ख) द्वन्द्ववादी (डायलेक्टिकल) पद्धतिले हरेक चिजलाई गतिशील रूपमा हेर्दछ । गतिको महत्त्वपूर्ण कारण, आन्तरिक भएको ठान्दछ । हरेक चिजलाई एकर्कासित जोड्दै विश्लेषण गर्नुपर्ने यो दर्शनको धारणा छ । सङ्घर्षका कारण नै परिवर्तन हुने यो दर्शनको मान्यता छ । विरोधी पक्षबिचको अन्तरसङ्घर्षका कारण नै एउटा नयाँ चिजको विकास हुने बताइयो । यो तथ्यलाई प्रस्ट पार्दै कार्ल माक्र्सले आफ्नो सङ्कलित रचनामा भन्नुभएको छ– ‘अधिभूतवादको उल्टो द्वन्द्ववादको के मत छ भने प्रकृतिका सबै चिज र घटना प्रवाहमा भित्री अन्तर्विरोध निहित छन्† किनभने, ती सबैका आफ्ना नकारात्मक र सकारात्मक पक्ष भूत र भविष्य छन् । तिनका कुनै तत्त्व मरिरहेका हुन्छन् भने कुनै तत्त्व विकसित भइरहेका हुन्छन् । यी विरोधी पक्षबिचको सङ्घर्ष, पुरानो र नौलोबिचको सङ्घर्ष, मरणशील र उदीयमानबिचको सङ्घर्ष, मरणोन्मुख र विकासोन्मुखबिचको सङ्घर्ष नै विकासको भित्री सारतत्त्व हो । यो नै परिणात्मक परिवर्तनको गुणात्मक परिवर्तनमा रूपान्तरणको भित्री सारतत्त्व हो ।’२

द्वन्द्ववादी पद्धतिका आधारमा मानव जीवनको बारेमा प्रष्ट्याउँदै एङ्गेल्सले ड्युरिङ्ग मतखण्डनमा भन्नुभएको छ– ‘जीवन यथार्थतः र मुख्यतः यसैको नाम हो कि एउटा जीव प्रत्येक क्षण स्वयम् आफै पनि हुन्छ, साथै अरू केही पनि हुन्छ । अतः जीवन पनि एउटा अन्तर्विरोध हो, जो स्वयम् वस्तु र प्रक्रियामा विद्यमान रहन्छ । जो लगातार उत्पन्न भइरहेको हुन्छ तथा यसले आफ्नो समाधान पनि गरिरहेको हुन्छ । जुन अवस्थामा अन्तर्विरोध समाप्त हुन्छ, त्यो अवस्थामा जीवनको अन्त पनि हुन्छ र मृत्यु हुन्छ ।’३

ऐतिहासिक भौतिकवादी अवधारणा
मानिसले आफ्नो इतिहास आफै बनाउँछ । समाजको ऐतिहासिक विकासक्रममा आम जनताको निर्णायक भूमिका रहने गर्दछ । निजी सम्पत्ति, अस्तित्वमा आउनसाथ फरक फरक स्वार्थ भएका वर्गहरू अस्तित्वमा आउँछन् । ती वर्गको सङ्घर्षले नै समाज तथा राज्यलाई अझ उच्च रूपमा रूपान्तरण गर्दै गइरहेको हुन्छ । यस प्रकारको रूपान्तरणसँगै कला, साहित्य, दर्शन, संस्कृति आदि सबैमा पनि रूपान्तरण आइरहेको हुन्छ । द्वन्द्वात्मक भौतिकवाद, प्रकृतिका हरेक क्षेत्रमा वैज्ञानिक रूपमा नै प्रमाणित हुँदै आएको छ । यो पद्धति समाजको क्षेत्रमा पनि लागु हुन्छ । त्यो नै ऐतिहासिक भौतिकवाद हो ।

कार्ल माक्र्सको धारणा थियो– अहिलेसम्मको मानव समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो । वर्गसङ्घर्षको मूल कारण आर्थिक पक्ष हो । उत्पादक शक्ति तथा वितरण प्रणालीको आर्थिक पक्षमा बढी चर्चा गरिन्छ । कुनै पनि समाजको विकासको लागि उत्पादन, विनिमय तथा वितरणको भूमिका प्रमुख हुने तर अर्कोतिर साहित्य, कला, दर्शन, कानुन, धर्म आदिको गौण भूमिका हुने भौतिकवादी मान्यता हो ।

आधार र अधिरचनाको सिद्धान्त प्रस्तुत गर्दै माक्र्सवादी दर्शनले समाजको उद्भव आर्थिक आधारमा हुने बतायो । मानिसले आफ्ना आवश्यकता पूरा गर्न उत्पादनसँग जोडिने गर्दछ । त्यस क्रममा उत्पादन, विनिमय र वितरणको सन्दर्भमा सामाजिक सम्बन्ध निर्माण हुने गर्दछ । यो प्रक्रियामा जोसित उत्पादनको साधन हुन्छ, त्यो शक्तिशाली हुँदै गइरहेको हुन्छ । त्यो साधन नहुँदा अर्को वर्ग कमजोर हुँदै गइरहेको हुन्छ । कमजोर वर्गमाथि आफ्नो अधिपत्य कायम गर्न तथा आफ्नो शोषण कायम गर्न आपूmअनुकूलको अधिरचना (सुपर स्ट्रक्चर) को निर्माण गरिन्छ । कला, साहित्य, धर्म, कानुन, दर्शन, नैतिकता आदिलाई अधिरचना भनिन्छ । यसरी आर्थिक आधारबाट समाज र समाजबाट संस्कृतिको निर्माण हुने गर्दछ । अधिरचनाको मूल कारण भनेको नै आधार अर्थात्् आर्थिक पक्ष हो । आर्थिक आधारमा नै सत्तामा बसेकाको राजनीति निर्धारण हुँदै गइरहेको हुन्छ । आफ्नो राज्यसत्तालाई सहज बनाउन तथा यथास्थितिलाई कायम गर्न अधिरचनाको निर्माण आफूअनुकूल गरिन्छ ।

ओली सरकारको प्रतिगमन
नेपाली समाजको इतिहासको लामो कालखण्डमा विभिन्न प्रकारका सङ्घर्ष चल्दै आए । ती विभिन्न प्रकारका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु नै अहिलेको महत्त्वपूर्ण चुनौती हो । देशीविदेशी शक्ति मुलुकको गणतन्त्रलाई नै समाप्त गर्न सल्बलाइरहेको परिपे्रक्ष्यमा लोकतान्त्रिक मूल्यमान्यतालाई अझ सशक्त पार्र्नुपर्ने हो । नेपाली जनताको भावनाको सम्मान गर्दै मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने हो । नेपालको संविधानमा समाजवादोन्मुख शब्द उल्लेख गरिसकेपछि त्यो दिशातर्फ मुलकको राज्यसत्ता अगाडि बढ्नुपर्ने हो । तर परिणाम, एकदमै विपरीत हुँदै गइरहेको छ । लोकतान्त्रिक अभ्यासलाई अझ बलियो बनाउने भन्दै विभिन्न आन्दोलन भए । ती महान् आन्दोलनको मर्म विपरीत ओली सरकार अधिनायकवादी शैलीतर्फ अग्रसर हुँदै गइरहेको छ ।

नेपालको संविधानमा रहेका नियम र कानुनले श्रमजीवी जनताको हक र अधिकारको पूर्ण रूपमा न्याय गर्छ भन्ने छैन । यो संविधानअन्तर्गत नै उनीहरूको जीवनशैलीमा आमूल परिवर्तन आउने पनि होइन । तर पनि नेपाली जनताको ठुलो आन्दोलनबाट यो संविधान प्राप्त भएको हो । हिजोका निरङ्कुश शासनको तुलनामा सीमित रूपमा भए पनि नेपाली जनताले केही न केही उपलब्धि प्राप्त गरेको अवस्था हो । यो संविधानअन्तर्गत पनि बढीभन्दा बढी लोकतन्त्रको अभ्यास गर्न सकिन्छ । संविधानमा उल्लेख भएअनुसार समाजवादोन्मुखतर्फ अग्रसर हुन सकिन्छ । तर ओली सरकार त्यसरी अगाडि बढ्न सकिरहेको अवस्था छैन । यो सरकारको अधिनायकवादी शैलीले गणतन्त्रलाई सशक्त पार्ने होइन, यसको अस्तित्व नै समाप्त नहोला भन्न सकिँदैन । अहिलेसम्मका गतिविधिबाट पनि यो सरकार प्रतिगमन अर्थात् उल्टो यात्रातर्फ अग्रसर भएको मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।

पुस ५ गते संसद विघटन गरियो । अदालतले सच्चायो । फेरि अहिले संसद विघटन गर्दै नेपाली जनताकहाँ ताजा जनादेश लिन जाने भनिँदै छ । नेपाली जनताले वामपन्थी शक्तिलाई विश्वास गर्दै ५ वर्ष सरकार चलाउन म्यान्डेट दिएको हो । अहिलेको समय भनेको महामारीको विरुद्ध सबै राजनीतिक शक्ति एकजुट भएर लड्ने अवस्था हो । ‘मलाई फेरि सत्तामा पु¥याइदेऊ’ भन्दै हात जोड्दै हिड्ने समय होइन यो । ओली सरकारमा सत्तालिप्सा यति धेरै बढ्दै गयो कि सत्तामा टाँसिरहन जस्तोसुकै सम्झौता गर्न पनि पछाडि नपर्ने । जनताले चुनेका प्रतिनिधिलाई पाखा लगाउँदै अध्यादेशमार्फत मनपरी गर्न चाहन्छ यो सरकार । यो एक प्रकारको अधिनायकवादी प्रवृत्ति हो । जन्मका आधारमा नागरिकता प्राप्त गरेकालाई वंशजको नागरिकता दिनेजस्तो राष्ट्रघाती विधेयक ल्याउन पनि ओली सरकार पछाडि परेन । यद्यपि अदालतले त्यस प्रकारको राष्ट्रघातलाई सच्चायो । सत्तालिप्सा यति धेरै बढ््दै गयो कि जस्तोसुकै राष्ट्रघाती, जनविरोधी, असंवैधानिक कार्य गर्न पनि पछाडि नपर्ने । यी सबै तथ्यले पनि ओली सरकार प्रतिगमनको दिशातर्फ अग्रसर भएको प्रष्ट हुन्छ ।

भारतका ‘रअ’ प्रमुख नेपाल आउँदा यहाँको शासनसत्तामा नै हलचल हुन्छ । रातारात राजनीतिक संरचनामा फेरबदल हुन थाल्दछ । नेपालका केही मधेसवादी दलहरू दक्षिणतर्फको आशिर्वाद नलिई कुनै काम नै गर्दैनन् । तिनै मधेसवादी दलसँग ओली सरकारको दोस्ती बढ्दै गइरहेको छ । आफ्नो सत्ता जोगाइराख्न ती मधेसवादी तथा दक्षिणतर्फका शक्तिलाई खुसी पार्नु नै यो सरकारको प्रवृत्ति रहँदै आएको छ । उनीहरूलाई खुसी पार्नु भनेको राष्ट्रघाती र जनविरोधी गतिविधिमा संलग्न हुनु हो । यस प्रकारको प्रतिगामी संस्कृति दिन–प्रतिदिन बढ्दै गइरहेको अवस्था छ ।

ऐतिहासिक भौतिकवादी दृष्टिमा प्रतिगमन
द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट मानव समाजको विश्लेषण गर्नु नै ऐतिहासिक भौतिकवादी मान्यता हो । यो कार्यपत्रमा सम्पूर्ण मानव समाजको विश्लेषण गर्नु सम्भव पनि छैन । द्वन्दात्मक भौतिकवादी दृष्टिकोणबाट ओली सरकार र उसको प्रतिगामी कदमलाई कसरी बुझ्ने ? भौतिकवादमा आधारित समाजको वैज्ञानिक नियमले यो सरकारको कसरी विश्लेषण गर्ने ? विशेषतः यिनै प्रश्नको समाधान गर्ने नै हाम्रो उद्देश्य हुने छ ।

गौतम बुद्धले दर्शनशास्त्रलाई परिभाषित गर्दै ‘यथाः भूत ज्ञान दर्शनम्’ अर्थात् वस्तु जस्तो छ, त्यसलाई त्यही रूपमा हेर्नु ‘दर्शन’ हो भनेका छन् । बुद्धको तर्क थियो– ‘अहङ्कारले नै वस्तुलाई जस्तो छ, त्यही रूपमा हेर्न बुझ्न रोक्दछ’ । विभिन्न वस्तुको स्वरूप एक प्रकारको हुन्छ । तर हामीभित्र भएका विभिन्न प्रकारका अहङ्कारहरूले गर्दा ती वस्तुको फरक प्रकारले परिभाषा गरिरहेका हुन्छौँ ।

अहिलेको वस्तुगत अवस्था भनेको गणतन्त्रलाई संस्थागत गर्ने हो । लोकतान्त्रिक अभ्यासलाई फराकिलो बनाउँदै जाँदा नै गणतन्त्र तथा राष्ट्रियता संस्थागत हुने हो । तर सरकारमा पुग्नासाथ जनताको भावनालाई उपेक्षा गर्दै अहङ्कार, महत्त्वाकाङ्क्षा, विभिन्न प्रकारका स्वार्थ हावी हुँदै गयो । यो अवस्थामा गणतन्त्र तथा राष्ट्रियताजस्ता विषयहरू ओझेलमा पर्दै गए । हिजोका दिनमा केही मात्रामा भएका राष्ट्रियताका अंश पनि हराउँदै गए । यो आधारमा पनि ओली सरकारको प्रतिगमनको यात्रा पुष्टि हुन्छ ।

दर्शनशास्त्रले माध्यमलाई महत्त्व दिन्छ । माध्यमका आधारमा नै दृष्टिकोण तयार हुने हो । माथि नै चर्चा गरियो कुनै रातो चश्मा लगाउने मानिसका लागि ‘संसार नै रातो छ’ भनेर अनुभूति गर्दछ । ओली सरकारका लागि पनि अहङ्कार तथा गुटको स्वार्थ नै हरेक कुराको विश्लेषण गर्ने माध्यम बन्यो । जुन कुराले गुटको स्वार्थ पूरा हुन्छ, त्यो सत्य हुने भयो अन्यथा असत्य । गुटको स्वार्थ पूरा हुन्छ भने न्याय, समानता, लोकतन्त्रजस्ता विषयमा पनि बढीभन्दा बढी प्रहार गरिने भइयो । राष्ट्रघाती क्रियाकलापमा संलग्न हुने भइयो । म ठिक, लोकतान्त्रिक अभ्यास बेठिक । मेरो गुट ठिक, त्यसको विपक्षमा आउने सबै बेठिक । यस प्रकारको अधिनायकवादी शैली नै ओली सरकारको संस्कृति बन्दै गइरहेको छ ।

दर्शनशास्त्रमा दुई वटा धारले आपूmलाई संस्थागत गर्दै गए, एउटा परम्परागत धार र अर्को वैज्ञानिक धार । परम्परागत धारले दार्शनिक प्रणालीको कुरा गर्यो । त्यस प्रकारको प्रणालीअन्तर्गत कुनै परम् तत्त्वको खोजीमा लक्षित हुने गरियो । परम् तत्त्वको प्राप्तिपछि नै मोक्ष प्राप्ति अथवा दार्शनिक लक्ष्य प्राप्त हुन सक्छ भनियो । तर दोस्रो धारले विश्वदृष्टिकोण तथा पद्धतिको कुरामा जोड दियो । यो संसारलाई हेर्ने वैज्ञानिक तरिकालाई प्रमुखता दिइयो ।

दर्शनशास्त्रले कुनै प्रणालीको निर्माण गर्ने भनेको एउटा घर बनाउनेजस्तै भयो । घर निर्माण भइसकेपछि त्यहाँ एउटा प्रणालीको निर्माण हुन्छ । त्यही प्रणालीभित्र रहेर घरभित्रका विभिन्न गतिविधि हुने गर्दछन् । तर पद्धति भनेको प्रयोग गर्दै जाने विषय हो । नयाँ परिस्थिति निर्माण हुँदै गइरहेको हुन्छ, त्यहीअनुसार हाम्रा गतिविधि पनि फरक प्रकारले निर्धारण हुँदै गइरहेको हुन्छ । जीवन तथा जगत्््लाई हेर्ने दृष्टिकोण सदैव एकै प्रकारको हुँदैन । यद्यपि कुनै सोचाइ, हाम्रो मस्तिष्कमा प्रवेश गरेपछि सदैव उही भूमिकामा रहिरहन चाहन्छ । त्यस प्रकारको यथास्थितिवादी सोचाइमा परिवर्तन ल्याउँदै अर्थात्् नयाँ परिस्थितिअनुसार सोचाइमा पनि परिवर्तन गर्दै जानु नै वैज्ञानिक पद्धति हो । यस प्रकारको वैज्ञानिक पद्धतिलाई माक्र्स र एङ्गेल्सको पत्रव्यवहारमा यसरी प्रष्ट्याइएको छ– ‘चिजलाई हेर्ने ढङ्ग सिद्धान्त होइन, बरू एउटा तरिका हो । त्यसले तम्तयार सूत्र प्रदान गर्दैन, बरू ऐतिहासिक अनुसन्धान तथा अध्ययनका लागि एउटा पथप्रदर्शक, एउटा तरिका हो, जसलाई हामी ऐतिहासिक भौतिकवादी तरिका भन्छौँ ।’४

यसरी माक्र्सवादी दर्शनले विशेष गरेर दुई कुरामा जोड दिएको छ, एउटा, विश्वदृष्टिकोण र अर्को, पद्धति । प्रकृति, समाज तथा हाम्रा विचारमा जुन परिवर्तन भइरहेको हुन्छ, त्यो परिवर्तन वैज्ञानिक पद्धतिअनुसार भइरहेको हुन्छ । त्यो परिवर्तनको नियम के हो ? पद्धतिका सन्दर्भमा यो प्रश्नलाई चिरफार गर्ने प्रयास गरिन्छ । समग्रमा विश्वका विभिन्न पक्षको स्पष्ट तथा वैज्ञानिक दृष्टिकोणका साथ सही निकासतर्फ अग्रसर हुनु नै पद्धति हो । दार्शनिक प्रणालीमा बाँधिएर बनिबनाउ परम्परागत दृष्टिकोणका साथ अग्रसर हुने होइन कि वैज्ञानिक नियम र पद्धतिअनुसार भूमिका निर्धारित हुने गर्दछ । नियम र पद्धतिको कुरा गर्दा योसित विज्ञान जोडिएको हुन्छ; अर्थात्, विज्ञानले जुन कुरालाई प्रमाणित गर्दछ तथा विज्ञानको नियमानुसार जुन पद्धतिको निर्माण भएको हुन्छ, त्यो नै वैज्ञानिक दर्शनको आधार हुन्छ ।

ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट मूल्याङ्कन गर्दा पनि ओली सरकार, परम्परागत धारबाट अलग हुन नसकेको प्रष्ट हुन्छ । परम्परागत धारअन्तर्गत परम् तत्त्व अर्थात् परम् शक्तिको निक्र्यौल गरिन्छ । त्यही शक्तिको वरिपरि नै सम्पूर्ण प्रणालीको संरचना तयार हुन्छ । नीतिनियम, कानुन, संविधान स्ता विषय पनि त्यही परम् शक्तिको स्वार्थअनुसार प्रभावित भइरहेको हुन्छ । लोकतान्त्रिक अभ्यासका आधारमा पद्धति निर्धारित हुँदै जाने विषयले महत्त्व पाउँदैन । छलफलमा स्वतन्त्रता, निर्णयमा एकरूपता सबैभन्दा राम्रो लोकतान्त्रिक पद्धति हो । तर परम्परागत धारमा एउटा सर्वोच्च व्यक्तिले जुन कुराको निर्णय गर्दछ, त्यसैलाई सबैले अनुशरण गर्नुपर्ने हुन्छ । परम् शक्तिले जुन सिद्धान्त प्रतिपादन गरिन्छ, त्यसैलाई सबैले अवलम्बन गर्नुपर्ने हुन्छ । व्यापक रूपमा जनवादको प्रयोग गर्दै सिद्धान्त निर्माण गर्ने विषयलाई यहाँ उपेक्षा गरिन्छ । वैज्ञानिक तथ्य तथा खोजका आधारमा अग्रगमनको प्रक्रियालाई यहाँ निषेध गरिन्छ । अझ अहिले त साइबर सेना निर्माण गर्ने प्रचलन चलेको छ । एउटा कुनै परम् शक्तिले ‘चुरेक्षेत्रको दोहन गर्दै बालुवा, गिट्टी र ढुङ्गा विदेश निर्यात ग¥यो भने देश धनी हुन्छ’ भन्यो भने साइबर सेना, अन्धभक्त जस्तै त्यो शक्तिको वाणीअनुसार क्रियाशील हुन्छ ।

कार्ल माक्र्सको दर्शन, इतिहासभित्र विज्ञान खोज्दै भविष्यको निर्धारण गर्ने दर्शन हो । इतिहास त्यतिकै अगाडि बढ्दै आएको होइन, विभिन्न नियम तथा पद्धतिअनुसार त्यसले आफ्नो पाइला चाल्दै आएको छ । इतिहासको त्यस प्रकारको गतिशीलता, वैज्ञानिक दर्शनसित बाँधिएको हुन्छ । व्यक्तिका इच्छा तथा चाहनाले आंशिक रूपमा प्रभाव पार्न सक्छ । तर मुख्य कुरा त भौतिक परिस्थिति नै हो । भौतिक परिस्थिति अर्थात्, पदार्थलाई प्रमुखता दिने दर्शन नै भौतिकवाद हो । त्यही वैज्ञानिक दर्शनलाई नै समाजको गतिशील प्रक्रियाका आधारमा बुझ्ने तथा अध्ययनको प्रयास नै ऐतिहासिक भौतिकवाद हो ।

ओली सरकारको अधिनायकवादी शैलीले केही समयका लागि प्रभाव पार्न सक्ला । कसैको अहङ्कार तथा महत्वाकाङ्क्षाले समाज तथा राज्यलाई केही समय प्रभाव पार्न सक्ला । तर इतिहास, कसैको भावनाको आधारमा होइन, ऐतिहासिका भौतिकवादको नियम र पद्धतिअनुसार अगाडि बढ्ने हो । विभिन्न प्रकारका आन्दोलन, वर्गसङ्घर्षले भौतिक परिस्थितिलाई परिवर्तन गर्दै गइरहेको हुन्छ । त्यही आधारमा न्याय, समानता, गणतन्त्र हुँदै समाज तथा व्यवस्थाका अगाडिको यात्रा बढ्दै गरहेको हुन्छ ।

प्रतिगमनको एउटा कारण गुटगत स्वार्थ पनि हो । श्रमजीवी जनताको हितअनुरूप समाज तथा राज्य अगाडि बढ्दै गए अग्रगमन हुने हो । गर गुटगत स्वार्थमा मात्र सीमित हुँदा त्यसरी अगाडि बढ्न सकिँदैन । ऐतिहासिक भौतिकवादी दृष्टिकोणको आधारमा हामीले बुझेको के हो भने वर्गसङ्घर्षको दौरानमा कुनै समयमा प्रतिक्रियावादी वर्ग हावी हुन सक्दछ । तर वर्गसङ्घर्षले उच्च रूप लिदै जाँदा क्रान्तिकरी वर्ग प्रभावशाली हुँदै जान्छ । जब प्रतिक्रियावादी वर्गको स्वार्थमा अङ्कुश लाग्न थाल्दछ, श्रमजीवी जनताको न्यायपूर्ण आवाजलाई कुल्चन खोजिन्छ । सीमित रूपमा रहेका लोकतान्त्रिक तथा गणतान्त्रिक हक र अधिकारमाथि पनि बन्देज लगाउन खोजिन्छ । संविधानका प्रावधानलाई समेत कुल्चिँदै असंवैधानिक, अप्रजातान्त्रिक तरिकाले फासिवादी संस्कृतिको विकास गर्दै गइन्छ । त्यही प्रवृत्ति ओली सरकारमा देखिँदै गएको छ ।

यहाँ स्पष्ट हुनुपर्ने कुरा के हो भने ओली सरकार आफैमा प्रतिक्रियावादी शासक होइन । तर पनि उसको भूमिका, देशी तथा विदेशी प्रतिक्रियावादी, साम्राज्यवादी शक्तिको स्वार्थअनुरूप छ । नेपाली जनताको हित होइन कि प्रतिक्रियावादी शासकको स्वार्थलाई प्राथमिकता दिने हुँदा पनि यो सरकार, प्रतिगमनको यात्रातर्फ अगाडि बढ्न बाध्य छ ।

ऐतिहासिक भौतिकवादको चिरफार गर्दा पनि हामीले बुझेको के हो भने वर्गको निर्माण भइसकेपछि त्यसले आफ्नो स्वार्थका लागि विभिन्न प्रकारका प्रयास गर्दछ । शक्तिशाली वर्गले पुलिस, सेना, राज्यका सबै साधन प्रयोग गर्दछ । दमनमा पारिएको वर्गका आस्था, विश्वास, मूल्य, मान्यतामाथि कब्जा गरिन्छ । शोषणमा परेका वर्गको मन तथा सोचाइमा कब्जा गरिन्छ । धर्म र दर्शनलाई प्रयोग गर्दै आफ्नो राज्य सञ्चालनलाई सहज बनाउने उनीहरूको प्रयास रहने गर्दछ । लोकतान्त्रिक मूल्यमान्यतालाई कुल्चदै सत्तामा बसेकाको यस प्रकारको क्रियाशीलता पनि प्रतिगमन हो ।

निष्कर्ष
वैज्ञानिक विश्वदृष्टिकोणका आधारमा इतिहासको गतिशीलता रहँदै आयो । त्यस प्रकारको गतिका आधारमा वर्तमान तथा भविष्यको यात्रा किन अगाडि नबढ्ने ? अहिलेको महत्त्वपूर्ण प्रश्न नै यही हो । माक्र्सवादी दर्शन तथा ऐतिहासिक भौतिकवादले भनेजस्तै इतिहासको यात्रा अगाडि बढ्छ भने भविष्यको बाटो पनि त्यसरी नै अगाडि बढ्ने हो । अहिलेको प्रतिगमनका कारण उत्पन्न भएका अन्तर्विरोध तथा जटिलताको समाधान पनि त्यही नियमानुसार नै हुने हो ।

ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा पनि विभिन्न युगको परिवर्तन निश्चित वैज्ञानिक नियमानुसार चलेको छ । प्रत्येक युगमा वर्गको स्वरूप फेरिँदै गएको छ तर पनि वर्गसङ्घर्ष जारी छ । विभिन्न प्रकारका अन्तर्विरोध देखिने गर्दछन् । तर त्यसबाट निकासको दिशामा अगाडि बढ्ने प्रक्रिया पनि एउटा पद्धतिअनुसार हुँदै आएको छ । त्यही पद्धतिले नै मानव समाजको भविष्य निर्धारण गर्ने हो ।
माक्र्सवादी दर्शनको सार अन्तर्विरोधको बिचबाट नयाँ वस्तुको विकास हुन्छ भन्ने हो । हरेक वस्तुमा परस्पर विरोधी तत्त्व रहने गर्दछ । ती

वस्तुमा रहेको विरोधी तत्त्वको अन्तरसङ्घर्षबाट नै नयाँ चिजको विकास हुन्छ । पुरानो चिजको अन्त हुँदै जान्छ तथा त्यसैको गर्भबाट नयाँको उदय भइरहेको हुन्छ । यही नै माक्र्सवादी दर्शनको सार हो । यो नै मानव समाजको ऐतिहासिक भौतिकवादी सत्यता हो ।
अन्त्यमा, कार्ल माक्र्सले थिसिस अन फायरबाखमा भनेको यो धारणा ः ‘संसारको व्याख्या गर्ने मात्र होइन, मुख्य कुरा त्यसलाई बदल्ने हो ।

विभिन्न दार्शनिकले या त चेतना मात्र देखे या त वस्तु मात्र देखे, तर चेतनायुक्त वस्तुलाई कसैले देख्न सकेन । चेतनायुक्त वस्तुले नै संसारलाई बदल्ने हो ।’५ धन्यवाद ।

सन्दर्भसूची
1. एङ्गेल्स, फ्रेडरिख (सन् १९८०), ड्यूहरिङ मतखण्डन, मस्को : प्रगति प्रकाशन
2. माक्र्स÷एङगेल्स (सन् १९७८), सङ्कलित रचनाएं (हिन्दी), मास्को : प्रगति प्रकाशन
3. माक्र्स÷एङ्गेल्स (२०६०), इतिहासको भौतिकवादी व्याख्या (अनु. रमेश सुनुवार), काठमाडौँ : प्रगति पुस्तक सदन
4. श्रेष्ठ, कृष्णदास (२०५६), ऐतिहासिक भौतिकवाद, काठमाडौं : जनसाहित्य प्रकाशन केन्द्र

(अखिल नेपाल बुद्धिजीवी सङ्घको आयोजनामा २०७८ जेठ २९ गतेका दिन आयोजित अन्तरक्रिया कार्यक्रममा प्रगतिशील लेखक सङ्घका महासचिवसिंहद्वारा प्रस्तुत अवधारणा पत्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *