ओलीलाई केसीको प्रश्न : मन्त्री र उपसभामुख बनाउन आफैँ दूत पठाएको होइन ?

  •   
  •  
  •  
  •  
  •  
  •  

945 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले प्रतिगमनविरुको आन्दोलनलाई बदनाम गर्न अनेक लाञ्छना लगाउन थालेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले हालै राजमोले दुर्गा पौडेललाई मन्त्री बनाउन विपक्षी गठबन्धनमा सामेल भएको भनेर दिएको अभिव्यक्ति पनि प्रतिगमन विरोधी आन्दोलन कमजोर बनाउने प्रयास भएको अध्यक्ष केसीको भनाई छ ।

बिहीबार एक वक्तव्य प्रकाशित गरी अध्यक्ष केसीले राजमो उपाध्यक्ष पौडेललाई पहिले उपसभामुख बनाउन प्रधानमन्त्री ओलीले महान्यायधिवक्ता अग्नि खरेल र हालका उपप्रधानमन्त्री विष्णु पौडेलमार्फत आफुकहाँ प्रस्ताव गरेको स्मरण गर्दै सो प्रस्ताव राष्ट्रिय जनमोर्चाले अस्वीकार गरेको बताउनुभएको छ ।

यस्तै, ओलीले गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार टिकाउन पौडेललाई मन्त्रीको अफर गरेको र त्यसका लागि आफ्ना सल्लाहकार सूर्य थापा र तत्कालिन मन्त्री टोपबहादुर रायमाझीलाई नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई भेट्न पठाएको स्पष्ट पार्नुभएको छ ।

‘देशको सरकार प्रमुखले यस प्रकारले झुटको खेती गर्नु अति लज्जास्पद कुरा हो । त्यस सिलसिलामा उनले जुन प्रकारको निम्न स्तरको र अराजनैतिक प्रकारको भाषाको प्रयोग गरेका छन्, त्यो पनि कुनै राजनेताका लागि सोभा नदिने कुरा हो’ केसीले भन्नुभएको छ ।

यस्तो छ, वक्तव्य
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार १४ गते सोमबारका दिन मदन भण्डारीको स्मृतिमा आयोजित एउटा कार्यक्रममा निम्न लिखित अभिव्यक्ति दिएका थिए:

‘अहिले हामीले हे¥यौं भने राष्ट्रिय जनमोर्चा, एकजना उहाँहरुको प्रतिनिधि छ । त्यो एकजना प्रतिनिधिलाई कसरी मन्त्री बनाउन सकिन्छ उहाँहरूको राजनीति त्यत्ति हो । हामीसँग हुँदा पनि राजनीति त्यत्ति हो अहिले पनि उहाँहरूको राजनीति त्यत्ति हो । त्यसका लागि उहाँहरू कहाँ पुग्नु भो भन्दाखेरि यताबाट हुँदैन भन्देखि कांग्रेसलाई सर्मथन गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाएर भएपनि मन्त्री हुने अथवा अब उहाँहरुको राजनीति कहाँ पुग्यो भन्दा विचारको प्रश्न रहेन, वर्गीयताको प्रश्न रहेन, वर्गीय राजनीतिको प्रश्न रहेन, गन्तव्य र उद्देश्यका प्रश्नहरू रहेनन् । यो एकबारको जिन्दगी, मन्त्री खाइहालिएन भने, ख्वाइहालिएन भने त पछि त गयो । त्यस राजनीतिमा उहाँहरु पुग्नु भयो र तपाई हामीले देखिराखेका छौं ।’

ओलीको त्यो अभिव्यक्ति निराधार र पूरै असत्य हो । हामीले हाम्रो पार्टीकी उपाध्यक्ष र प्रवक्ता तथा सांसद दुर्गा पौडेललाई मन्त्री बनाउन कहिल्यै पनि दौडधूप गरेका छैनौँ । अझ वास्तविकता ता यो हो कि ओलीका तर्फबाट नै दुर्गा पौडेललाई मन्त्री बनाउनका लागि बारम्बार प्रस्ताव आएको थियो र हामीले त्यसलाई अस्वीकार गरेका थियौँ । नेपालका विभिन्न पत्र–पत्रिका र सामाजिक सञ्जालले हामीले उप–सभामुख वा मन्त्री बन्नका लागि चाकरी गरेको झुट्टो प्रचार गर्ने गरेका छन् । कतिपय पत्र–पत्रिकाले ने.क.पा.(मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहले एउटा विवाह भोजमा भारतीय राजदूतसँग दुई घण्टासम्म गोप्य वार्ता गरेर आफ्नी पत्नीलाई मन्त्री वा उपसभामुख बनाइदिन प्रयत्न गरेको भन्ने समाचार पनि प्रकाशित गरेका थिए । त्यस सिलसिलामा दुर्गा पौडेलले प्रेस काउन्सिलमा छानविनको लागि उजूरी गर्नुका साथै काठमाडौँ जिल्ला अदालतमा मानहानीको मुद्दा दिएको समेत आम रूपमा थाहा भएको कुरा हो, यद्यपि कोरोना भाइरसका कारणले त्यो मुद्दाबारे जिल्ला अदालतले अझै फैसला गरेको छैन ।

हाम्रो पार्टीका विरोधी, अराजकतावादी, षडयन्त्रकारी र छद्म नामधारीहरूले पनि हाम्रो पार्टीको विरुद्ध त्यस प्रकारका झुट्टा प्रचार वा चरित्र हत्याको अभियान लगातार चलाउँदै आएका छन् । त्यस प्रकारको निम्न स्तरको र अराजनैतिक अभियानमा अब प्रधानमन्त्री ओली पनि सामेल भएका छन् ।

दुर्गा पौडेललाई उपसभामुख बनाउन हामीले दौडधुप वा चाकरी गरेको भन्ने सोचाइ कति निराधार थियो त्यो कुरा तथ्यहरू र स्वयम् ओलीले संसदमा दिएको अभिव्यक्तिबाट नै प्रष्ट हुन्छ । त्यो कुरा स्वयम् ओलीले विश्वासको मत प्राप्त गर्ने बेला संसदमा दिएको भाषणका सिलसिलामा भनेको तलको भनाइ उल्लेखनीय छ ।

‘भर्खर मभन्दा अगाडि बोल्ने माननीयज्यूले (दुर्गा पौडेलले) पनि भन्नु भयो हामीलाई चाहिँदैन । आग्रह गरियो । बनिदिनुहोस न । उहाँले षडयन्त्रको रूपमा बुझ्नु भो । हाम्रो राजनीति भन्ने एकै सांसद । त्यो एक सांसदलाई पनि उपसभामुख बनाएर चुप लगाइदिने भए । यो हाम्रो मुख बन्द गराउने षड्यन्त्र भो । (उनको त्यो भनाइको रिकर्ड देशभरिका सञ्चार माध्यमहरूसित होला र हामीसित पनि छ ।)’

हेर्नुहोस् भिडियो :

ओलीले संसदमा दिएको भाषणमा जुन प्रकारको अशिष्ट र अराजनीतिक शब्दावलीको प्रयोग गरेका छन्, त्यसरी ता होइन, शिष्ट र राजनीतिक भाषामा नै उपसभामुखको प्रस्तावलाई हामीले अस्वीकार गरेका थियौँ । तात्कालीन महाधिवक्ता अग्नि खरेलले स्वयम् मलाई नै भेटेर दुर्गालाई उपसभामुख बनाउनका लागि प्रस्ताव राखेका थिए । त्यस्तै प्रस्ताव वर्तमान उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मसित राखेका थिए । उपसभामुख बनाउने कुरामा नीतिगत रूपमा हाम्रो मतभेद थिएन तर संसदमा हाम्रो पार्टीको एकजना मात्र प्रतिनिधि भएको हुनाले उहाँलाई उपसभामुख बनाउँदा संसदमा हाम्रो राजनीतिक भूमिका समाप्त हुन्थ्यो । त्यसैले हामीले त्यो प्रस्तावलाई अस्वीकार गरेका थियौँ । ओलीले संसदमा दिएको आधिकारिक भनाइबाट नै उनले दुर्गा पौडेललाई उपसभामुख बनाउन प्रस्ताव राखेको र हामीले त्यो प्रस्ताव अस्वीकार गरेको कुरामा कुनै शङ्का रहन्न ।

दुर्गा पौडेललाई मन्त्री बनाउने प्रस्ताव पनि ओलीले आफ्ना दूतहरूद्वारा हामीकहाँ पठाएका थिए । गण्डकी प्रदेशमा पृथ्वीसुब्बाको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव राखिएपछि राष्ट्रिय जनमोर्चाका सांसदहरूको मत नै निर्णयात्मक हुने अवस्था थियो । त्यो बेला राष्ट्रिय जनमोर्चालाई पृथ्वी सुब्बाको सरकारलाई समर्थन गर्नका लागि हामीसित कैयौँ तहबाट सम्पर्क गरिएको थियो । त्यस सिलसिलामा ओली सरकारले एकपल्ट तात्कालीन मन्त्री टोपबहादुर रायमाझी र अर्काेपल्ट प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई ने.क.पा.(मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहलाई भेट्न पठाएर गण्डकी प्रदेशको सरकारलाई समर्थन गर्ने र दुर्गा पौडेललाई मन्त्री बनाउन समेत सन्देश पठाएका थिए । त्यस सिलसिलामा ओलीले मोहनजीलाई भेट्नको लागि पनि सन्देश पठाएका थिए । तर बताइरहनुपर्ने आवश्यक्ता छैन कि त्यस प्रकारको राजनीतिक सौदावाजी गर्ने कुरा ने.क.पा.(मसाल) वा राष्ट्रिय जनमोर्चाको सम्पूर्ण इतिहास र चरित्रसँग मेल नखाने कुरा थियो । त्यसैले आफ्नै पत्नीलाई मन्त्री बनाउनको लागि उहाँले आफ्नो नीतिका विरुद्ध गण्डकी प्रदेशको सरकारलाई समर्थन गर्ने कुरा थिएन र गर्नु पनि भएन । त्यसपछि हाम्रो पार्टीले गण्डकी प्रदेशको सरकारका विरुद्ध भोट दिएको र अन्तमा पृथ्वीसुब्बाको सरकार अपदस्थ भएको कुरा आम रूपमा नै थाहा छ ।

त्यसरी ओलीले आफ्ना तर्फबाट नै, प्रथम, दुर्गा पौडेललाई उप–सभामुख बनाउन र, द्वितीय, मन्त्री बनाउन प्रस्ताव पठाएको वा अहिले राष्ट्रिय जनमोर्चाले आफ्नो एकमात्र प्रतिनिधिलाई मन्त्री बनाउन मरिहत्ते गरेको बताउनु कहाँसम्म असत्य अनैतिक कुरा हो प्रष्ट छ । देशको सरकार प्रमुखले यस प्रकारले झुटको खेती गर्नु अति लज्जास्पद कुरा हो । त्यस सिलसिलामा उनले जुन प्रकारको निम्न स्तरको र अराजनैतिक प्रकारको भाषाको प्रयोग गरेका छन्, त्यो पनि कुनै राजनेताका लागि सोभा नदिने कुरा हो ।
त्यति मात्र होइन, त्यसरी ओलीले राष्ट्रिय जनमोर्चाको सम्पूर्ण राजनीतिक चरित्र र इतिहासको पनि अवमूल्यन गर्ने काम गरेका छन् । उनले राष्ट्रिय जनमोर्चाको राजनीति आफ्नो एकजना प्रतिनिधिलाई कसरी मन्त्री बनाउन सकिन्छ “त्यत्ति मात्र भएको” बताएका छन् ।

ओलीले त्यस प्रकारका आक्षेपहरू हाम्रो जस्तो पार्टीमाथि लगाएका छन्, जस्ले सधै सिद्धान्त, मूल्य र मान्यताको राजनीति गर्दै आएको छ । उनले मन्त्री बन्नका लागि मरिहत्ते गर्ने र त्यसका लागि सिद्धान्त र आस्थाको समेत सौदावाजी गर्ने व्यक्तिहरूसित नै व्यवहार गर्दै आएका छन् र मन्त्री पद दिएर कैयौँ मान्छेहरूलाई किन्ने पनि गरेका छन् । त्यसैले उनीहरूले हाम्रो पार्टीलाई पनि त्यही प्रकारले हेर्ने प्रयत्न गरेका छन् र त्यसका लागि उनले उपसभामुख र मन्त्रीको समेत प्रस्ताव पठाएर हामीसित पनि राजनीतिक सौदावाजी गर्ने प्रयत्न गरेका थिए । हामीलाई उपसभामुख वा मन्त्रीको पद दिएर किन्न नसकेपछि अब हामीमाथि झुट्टा आरोप लगाएर हाम्रो चरित्रहत्या गर्ने प्रयत्न गरेका छन् । उनको त्यस प्रकारको निम्नस्तरको र अराजनैतिक कार्यशैलीले हाम्रो होइन उनको नै राजनीतिक अवमुल्यन भएको छ । त्यसबाट सम्पूर्ण जनताका अगाडि उनको राजनीतिक स्तर कति तल्लो स्तरको रहेछ ? त्यो प्रष्ट भएको छ ।

अहिले हाम्रो पाटीले अन्य कतिपय राजनीतिक शक्तिहरूसित कार्यगत एकता वा सहकार्य गरेर ओलीको प्रतिगमनका विरुद्ध सङ्घर्ष गरिरहेको छ । देशको कुनै राजनीतिक आवश्यक्ता वा प्रतिगमनका विरुद्ध संघर्षको सिलसिलामा अन्य राजनीतिक शक्तिहरुसित कार्यगत एकता वा सहकार्य गर्ने हाम्रो पहिले देखिको नै नीति रहँदै आएको छ । २०४६ वा २०६२/०६३ को इतिहासबाट त्यो कुरा प्रष्ट हुन्छ । त्यही प्रकारको नीतिको अनुशरण गर्दै अहिले पनि ओलीको असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी नीतिका विरुद्ध आउने शक्तिहरुसित हामीले सहकार्य वा कार्यगत एकता गर्ने नीति अपनाएका छौँ । हाम्रो त्यो नीतिलाई उनले मन्त्री बन्नका लागि अपनाएको नीति भनेर अवमुल्यन गर्ने वा आरोप लगाउने प्रयत्न गरेका छन् । र उनको त्यस प्रकारको कार्यशैलीले उनको सबै चिजहरुलाई सत्ता र मन्त्रीको पदलाई केन्द्रमा राखेर हेर्ने र त्यसका लागि सबै प्रकारको राजनैतिक सौदावाजी गर्न तयार हुने उनको दृष्टिदोषलाई नै बताउछ ।

त्यस अनुसार नै उनले अहिले हामीले प्रतिगमनका विरुद्धका शक्तिहरुसित गरेको सहकार्य वा कार्यगत एकतालाई पनि खाली मन्त्री बन्ने उद्देश्यले मात्र गरेको भनेर व्याख्या गर्न पुगेका छन् । प्रतिगमनका विरुद्धको संघर्षको आवश्यक्ता अनुसार अन्य राजनैतिक शक्तिहरुसित गठबन्धन गरेको कुरालाई “यताबाट हुँदैन भन्देखि काँग्रेसलाई सर्मथन गरेर काँग्रेसको नेतृत्वमा सरकार बनाएर भएपनि मन्त्री हुने” सुत्रको रुपमा व्याख्या गर्न पुगेका छन् । त्यसरी उनीहरुले हाम्रो पार्टी मात्र होइन प्रतिगमनका विरुद्ध संघर्षमा उत्रेका सबै शक्तिहरु माथि कैयौँ निम्न स्तरका र अराजनैतिक आक्षेप र लान्छेनाहरु लगाउन पुगेका छन् ।

अहिले हाम्रा विरुद्ध लगाइएको झुट्टा र निराधार आक्षेप पनि त्यही प्रकारको एउटा आक्षेप हो । उनको त्यस प्रकारका आक्षेप वा आरोपहरूको उद्देश्य प्रतिगमनका विरुद्धको सङ्घर्ष वा गठबन्धनलाई बदनाम गराउनु वा कमजोर पार्नु नै हो । तर यो कुरामा कुनै शङ्का छैन कि उनको त्यस प्रकारको प्रयत्न प्रतिगामी राजनीतिक उद्देश्यद्वारा निर्देशित छ र अन्तमा त्यसको पराजय अवश्यमभावी छ । इतिहासले बारम्बार त्यो कुरा प्रमाणित गर्दै आएको छ र अहिले पनि इतिहासले त्यही कुरा प्रमाणित गर्नेछ ।

चित्रबहादुर केसी
अध्यक्ष
राष्ट्रिय जनमोर्चा

Leave a Reply

Your email address will not be published. Required fields are marked *