‘ओलीलाई भारत रिसायो भने सत्ता जान्छ भन्ने ठुलो पिर छ’

533 जनाले पढ्नु भयो ।

चित्रबहादुर केसी

नेपालका राजनीतिक पार्टी र शासकहरूमा भारतलाई खुसी नपारीकन सत्तामा टिक्न सकिँदैन भन्ने डर छ । भारतको चाहना अनुसार गरिएन भने सत्ताबाट बञ्चित भईन्छ भन्ने छ । त्यसकारण उनीहरु कसरी हुन्छ भारतलाई खुशी पार्न प्रयत्नशील रहन्छन् । त्यसले गर्दा मुलुक अप्ठ्यारोमा परेको छ । विगतदेखि नै सत्तामा बस्नेहरुलाई यही डरले घर गरिरहेको छ । अहिले केपी ओली सरकारलाई पनि यदि भारत साच्चिकै रिसायो भने सत्ताबाट बञ्चित भइन्छ भन्ने डर छ । वास्तवमा केपी ओलीको राष्ट्रवाद मौसमी राष्ट्रवाद हो । उनले आफूलाई कसरी सहज हुन्छ र सत्तामा टिक्न सकिन्छ, त्यही नीति अपनाउँछन् । अवसरवादीहरुले गर्ने यस्तै नै हो । भारतसँग असमान महाकाली सन्धी गर्न ओलीको प्रमुख भूमिका थियो । उनी सत्तामा आएपछि पनि भारतलाई खुशी पार्न ‘जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण’ गर्ने प्रस्ताव ल्याए र संसदबाट पास गरे ।

अहिले ओलीले जसरी ‘रअ’ का प्रमुख सामान्तकुमार गोयललाई भेटे त्यसले उनको मौसमी राष्ट्रवाद फेरि उदाङ्गो भएको छ । नेपाललाई भारतले कहिल्यै पनि एउटा सार्वभौम सम्पन्न मुलुक ठान्दैन । आफ्नो उपनिवेश र बजार ठान्छ । भारतले वर्षौंदेखि कालापानी लगायतका क्षेत्र अतिक्रमण गरेर बसेको छ । त्यसलाई फिर्ता गर्न कुटनीतिक पहल र अन्तर्राष्ट्रियकरण गर्न भन्दा पनि भारतलाई नै रिझाएर सत्तामा टिकिरहने सत्ताधारीहरुको सोच छ । सरकारले प्रधानमन्त्रीस्तरमा वार्ता गर्नुपर्ने ठाउँमा ‘रअ’ जस्तो बदनाम र कालो इतिहास भएको संस्थाको मान्छेसँग वार्ता गरेको छ । रअ त्यस्तो संस्था हो, जसको योजनामा सिक्किम भारतमा विलय भयो । श्रीलंकामा भाँडभैलो मच्चियो । भुटानको सार्वभौमसत्ता खत्तम भयो । यस्तो बदनाम संस्थाका मान्छेलाई बोलाएर ओलीले जसरी भेट गरेका छन् । त्यो गम्भीर विषय हो । यदी भारतले हाम्रो सार्वभौमिकतालाई सम्मान गर्ने भए त प्रधानमन्त्रीस्तरमै कुरा हुन सक्थ्यो नि । अथवा परराष्ट्रमन्त्रीलाई पठाउन सक्थ्यो । वा कुटनीतिक तवरबाट कुरा हुन सक्थ्यो ।

अर्को कुरा, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई नेपालमा बोलाएर मानार्थ महारथी बनाइँदैछ । त्यसो गर्न के जरुरी थियो ? जवकी कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले नक्सा बनाउँदा अर्कैको इशारामा नेपालले त्यसो गरेको भन्ने आक्षेप लगाएर उसले नेपाल विरुद्ध गम्भीर अपराध गरेको छ । त्यस्तो मान्छेलाई नेपालमा ल्याएर पुज्न आवश्यक छ ? यो हद दर्जाको नालायकीपन हो । भारतको सेना प्रमुखलाई नेपालमा ल्याएर महारथी बनाउने परम्परा त हटिसकेको छ । सच्चित शमसेर प्रधानसेनापति हुँदा उनी भारतमा महारथी बन्न गएनन् । हटिसकेको यो परम्परालाई निरन्तरता दिन खोजिएको छ । त्यो पनि नरबाणे जस्तो नेपाल विरुद्ध अपराध गर्ने मान्छेलाई पुजेर ।
नेपालका सत्ताधारीहरुका निम्ति राष्ट्र र जनता प्रधान हुन्न । राष्ट्र र जनता गौण हुन्छ । तिनीहरूले विदेशीहरूको दलाली नगरे, चाकडी नगरे सत्तामा बस्न पाइन्न भन्ने सोचाइ राख्छन्। अहिले ओली सरकारले राष्ट्रियताप्रति जसरी सौदाबाजी गरिरहेको छ, त्यो केवल आफ्नो सत्ता जोगाउनका लागि मात्रै हो ।

विगतमा म पनि सामेल भएको सरकारले चीनसँग व्यापार प्रवर्द्धन सम्झौता गर्ने बित्तिकै सरकार ढल्यो । सरकारमा आठवटा मन्त्रालय लिएको तत्कालिन माओवादीले आफ्नै सरकारविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्यो । आफ्नै सरकारविरुद्ध अविस्वासको प्रस्ताव राख्ने संसारमा कहीँ पनि हुँदैन । तर नेपालमा भयो, प्रचण्डले गरे । चीनसँग सम्झौता गर्नु नै हाम्रो अपराध थियो । हामीले चीनसँगका नाका खोल्ने पहल गर्नु उसका लागि धेरै नराम्रो कुरा थियो । त्यसकारण मोदीले तत्कालिन माओवादी र कांग्रेसका नेताहरुलाई दिल्लीमा बोलाएर सरकार ढाल्न लगाए । प्रचण्डलाई  अबको प्रधानमन्त्री तिमी हो भने । प्रचण्डले अविश्वासको प्रस्ताव राखे । त्यो सरकार ढल्यो । सरकार ढलेपछि प्रचण्ड प्रधानमन्त्री भए र अहिलेको प्रतिपक्ष कांग्रेस पनि मिसियो । यति गरेपछि उनीहरुले ५ नम्बर प्रदेशलाई पहाडबाट अलग गर्ने भनेर संशोधन प्रस्ताव नै ल्याए संसदमा । के त्यो प्रस्ताव नेपालीको आवश्यकता थियो ? अहँ नेपालीको आवश्यकता हुँदै होइन । त्यो त सत्तामा पुर्याइदिए बापत दिल्लीलाई खुशी पार्न ल्याइएको प्रस्ताव हो भन्ने कुरा जगजाहेर छ ।

तपाईंंहरुलाई थाहा छ, हिमालमा पाइने एक किलो यार्सागुम्बालाई नेपालमै ४० लाख रुपैयाँ पर्छ । त्यसलाई बाहिर लैजानुस् त कति पर्छ ? त्यस्तो जडिबुटी उम्रिने हिमाल २ नम्बर परदेशलाई किन चाहिएन ? तराईमा बस्ने जनतालाई नचाहिएको हो र ? जलस्रोत, वनस्पति, पहाड त्यहाँका जनतालाई नचाहिएको होइन । भारतलाई नचाहिएको हो । नेपालको तराईलाई अलग्गै प्रदेश बनाउँदा भारतमा विलय गर्न सजिलो हुन्छ भन्ने रणनीति अनुसार भारतले काम गरिरहेको छ । त्यसकारण उसको प्रयास तराईका जिल्लाहरुको मात्रै अलग्गै प्रदेश बनाउनेमा छ ।सत्ताधारीहरु उनीहरु भारतलाई कसरी सजिलो हुन्छ, त्यसरी नै राज्यको पुनर्संचना गर्न कस्सिए । हाम्रो लगातार जोड के कुरामा छ भने राज्य पुनःसंरचना गर्दा हिमाल, पहाड र तराईलाई मिलाएर गर्नुपर्छ । जसरी पञ्चायतले जोडेको थियो, उत्तर–दक्षिण त्यसरी नै हुनुपर्छ ।

अर्को कुरा, विदेशबाट आउने महिलाले नेपाली केटासँग बिहे गर्नासाथ जुन दिन सिन्दुर हाल्यो त्यही दिन अंगीकृत नागरिकता दिने गरिएको छ, यो हुनुहुँदैन । यो गलत हो । कमसेकम सात वर्ष कुर्नुपर्छ अनिमात्रै अंगीकृत नागरिकता दिनुपर्छ । विवाह गरेर आउनासाथ नागरिकता चाहियो भनेर प्रतिपक्ष दललगायत पूर्व प्रधानमन्त्री भइसकेका मान्छेले नारा लगाए । यसले नेपालको स्थिति के हुन्छ ? यति थोरै जनसंख्या भएको देशमा उता (भारत) बाट एक प्रतिशत मात्र आए भने पनि तपाईं हामी अल्पमतमा पर्नेछौं । तर, नेपालमा सत्तामा बस्नेहरु देशको राष्ट्रियता र जनतालाई परेको पिरकर्माप्रति कत्ति पनि गम्भीर भएनन् ।

जब जब नेपालमा असहज परिस्थिति उत्पन्न हुन्छ, त्यतिबेला विदेशीहरु नेपालमा चलखेल गर्छन् । त्यो स्वभाविक कुरा हो । विगतमा हेर्नुभयो भने पनि २०३६ साल वा २०४५/०४६ सालमा अथवा २०६२/०६३ सालको जनआन्दोलनताका होस् वा नेपालले नयाँ संविधान जारी गर्दा होस् भारतीय साम्राज्यवादले नेपालमाथि आफ्नो स्वार्थ कायम गर्न दबाब दिने गरेको छ ।

अहिले पनि सत्ताधारी दल नेकपाभित्र पद र शक्तिका लागि झगडा चलिरहेको छ । प्रतिपक्ष कांग्रेसभित्र त्यस्तै समस्या छ । राजनीतिक पार्टीभित्रको बहस त देशको सार्वभौमिकता अखण्डता र राष्ट्रियतालाई कसरी सुरक्षित गर्ने भन्नेमा हुनु पर्ने हो नि । अहिले विदेशबाट आएका लाखौं युवाहरु बिचल्लीमा परेका छन् । तिनीहरूलाई के रोजगारी दिने, कलकारखाना खोल्ने नीति के हो सरकारको रु त्यसमा हो नि सरकारमा बस्ने पार्टीहरूको छलफल हुनुपर्ने । सयौं जनताको गासबास बाढी पहिरोले पुरेको छ । ती जनताको के हाल छ, त्यसमा हो नि छलफल हुनुपर्ने गम्भीर भएर । तर छलफल केमा भयो भन्दा पदको लागि । नेपालमा पार्टी र तिनका नेता कार्यकर्ताहरुको काम भनेको सत्ता र शक्तिको पछाडि लाग्ने र सम्पत्ति कमाउने भइरहेको छ । उनीहरुले जीवीकोपार्जनका लागि राजनीतिको दुरुपयोग गरिरहेका छन् ।
हिजै थोत्रा चप्पल लगाएर मै सँगसँगै हिँड्ने मान्छेहरू अहिले करोडौं सम्पत्ति आर्जन गरेका छन् । के त्यो ठेक्कापट्टा गरेर आएको हो ? कि व्यापार विजनेस गरेर आएको हो ? कि लोट्री परेर आएको हो त्यो ? जुन समाजमा राजनीति जीविकोपार्जनको साधन हुन्छ, राजनीतिको आडमा लुटपाट हुन्छ, जुन समाजका अगुवाहरुले यस्तो काममा सामेल हुन्छन् त्यो देशको हालत यस्तै हुन्छ ।

कतिपय मान्छेहरुलाई के लाग्छ भने यस्तो भएको गणतन्त्रले गर्दा हो, धर्मनिरपेक्षताले गर्दा हो । उनीहरुले जतिपनि बिकृति बिसंगति देख्छन्, त्यसलाई गणतन्त्रको उपज ठान्छन् । तर गणतन्त्रका कारण वा धर्मनिरपेक्षताका कारण बिकृती बिसंगती आएको होइन । राजनीतिक दल र तीनका नेताहरुको चरित्रका कारण यस्तो अवस्था आएको हो । यो संसदीय व्यवस्थाको उपज हो । तर, यही स्थिती नेपाली जनताले सधैँभरी सहँदैनन् । यसलाई नेपाली जनताले फ्याँक्छन् । जनतामा लुकेको अजय शक्ति हुन्छ । त्यो शक्तिले नै देशको राष्ट्रियता जोगाउन सक्छ र गलत तत्वविरुद्ध विजय प्राप्त गर्न सक्छ ।

अहिले देशमा भ्रष्टाचार बढेको छ । देशको राष्ट्रियता र अखण्डतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । न्यापालिका, कार्यपालिकामा मनपरितन्त्र देखिएको छ । विदेशीहरुले नेपाललाई आफ्नो क्रिडास्थल बनाउनका लागि राम्रै हिसाबकिताब गरिरहेका छन् । सत्ता र शक्तिमा बस्नेले किन भ्रष्टाचार गर्छन् ? किन उनीहरु अपराधिक काम गर्छन् ? किनभने निर्णायक ठाउँमा आफ्नो मान्छे छ । भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति भएपनि हाम्रो बाच्ने ठाउँ छ भन्ने उनीहरुलाई छ । न्यायलयमा भागबण्डाबाट गएका न्यायधीशहरुले इमान्दारितापूर्वक आफ्नो आत्मालाई साछि राखेर फैसला गर्न सक्छन् ? जब अदालतमा न्यायाधीश नियुक्त गर्दा योग्यता र दक्षता, इमान्दारिता होइन, आफ्नो मान्छे हेरिन्छ । त्यतिबेला उनीहरुको काम आफूलाई नियुक्त गर्नेलाई बचाउने उपाय खोज्नु नै हुन्छ । सर्वोच्चको हालत हेर्नुहोस त । जिल्ला अदालतले, पुनरावेदनले ‘ज्यानमारा’ भनेर फैसला गरेको व्यक्ति (रञ्जन कोइराला)लाई सफाई दियो । अहिलेका प्रधानन्यायाधीशलाई सर्वोच्चमा ल्याउन हुन्न भनेर म ३१ दिनसम्म लडेको हुँ । यिनको विगत स्वच्छ थिएन । यस्ता व्यक्तिलाई सर्वोच्चमा ल्याउनु हुँदैन भनेर २०७१ सालमा संसदीय सुनुवाई विशेष समितिमा लड्दा म एक्लै परेँ । भागबण्डामा यिनी न्यायाधीश हुँदै प्रधानन्याधीश बने । त्यसैको परिणाम हो, आजको न्यायपालिकाको अवस्था ।

अन्तमा, भारतीय शासकहरूको कालान्तरमा नेपाललाई सिक्किम बनाउने नियतले काम गरिरहेका छन् । नेपाली जनता सजग र सचेत नहुने हो भने नेपालको राष्ट्रियता र भौगोलिक अखण्डता बाँकी रहँदैन । तैपनि शासकहरुको हालत देश र जनताको हित भन्दा पनि आफ्नै स्वार्थ प्रधान छ । उनीहरुले आफूलाई सत्तामा पुर्याउन र सत्ता जोगाउन जस्तोसुकै सौदावाजी गर्न पछि पर्दैनन् । तर यो हुन नदिन नेपाली जनता सजक छन्, नेपाली जनताले संगठित आवाज उठाएका छन् । त्यसकारण अहिले हामीहरुले देखेका विकृति विसंगतिलाई नेपाली जनताले हटाउँछन् । हामीलाई के विश्वास छ भने नेपाली जनताले सधैँ यस्तो सहन्नन् । जनताको चेतना धेरै माथि छ । नेपाली जनताको संघर्षले नै बिकृति र विसंगती अन्त्य गर्नेछ र देश जोगाउनेछ ।

(राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग सम्पादक विद्यानाथ अधिकारीले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *