ओलीले संविधानसँगै राष्ट्रियता रद्दीको टोकरीमा फाल्ने भए : केसी

  •   
  •  
  •  
  •  
  •  
  •  

115 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम अधिनायकवादी र फासिस्ट चरित्रको उपज भएको बताउनुभएको छ । शनिबार युगदर्शनसँग कुरा गर्दै अध्यक्ष केसीले विगतमा राजाहरुले गरेको प्रतिगमन जस्तै अहिले जनताबाट निर्वाचित प्रधानमन्त्रीले पनि प्रतिगामी कदम चालेको बताउनुभयो ।

‘विगतमा राजा महेन्द्रले सत्र साल पुस १ गते संसद विघटन गरेर प्रतिगमन गरे । २०५९ सालमा राजा ज्ञानेन्द्रले त्यस्तै कदम चाले’ केसीले भन्नुभयो, विगतमा राजाहरुले आफ्नो अधिनायकवादी अभिष्ट पुरा गर्न प्रतिगामी कदम चाल्थे । राजा गएपनि जननिर्वाचित प्रधानमन्त्रीले समेत प्रतिगमनलाई निरन्तरता दिएका छन् ।’

उहाँले जननिर्वाचित संसद आफ्नो पक्षमा नभएपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले पनि संसद विघटन गरे प्रतिगामी कदम चालेको स्मरण गर्दै अहिले ओलीलेसमेत त्यस्तै स्वेच्छाचारी गतिविधि गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले गत पुस ५ गते ओलीले आफ्नो पार्टीभित्रको द्वन्द्व समाधान गर्न नसकेर संसद विघटन गरेको भन्दै सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा न्यूनतम नैतिकतासमेत देखाउन नसकेको बताउनुभयो ।

अध्यक्ष केसीले ओलीको स्वेच्छाचारी कदमले संविधान र देशको राष्ट्रियतासमेत रद्दीको टोकरीमा फाल्न लागेको आरोप लगाउनुभयो ।

‘ओलीले आफ्नो स्वेच्छाचारी र अधिनायकवादी उद्देश्य पुरा गर्न संविधान त च्यातच्युत पारे, राष्ट्रियतासमेत रद्दीको टोकरीमा फाल्ने काम गरे’ केसीले भन्नुभयो, ‘उनले रअका एजेन्टहरुको निर्देशनमा जसरी काम गरिरहेका छन्, यसले राष्ट्रियता गम्भीर संकटमा परेको छ ।’

राजमो अध्यक्ष केसीले ओलीले आफ्नो बहुमत आउने अवस्था नभए चुनाव पनि नगर्ने ठोकुवा गर्नुभयो ।

यस्तै, उहाँले विगतमा जनतालाई लुटेका प्रतिगामी, राजावादी शक्तिहरुले अहिले आफ्नो उद्देश्य पुरा गर्न ओलीलाई नायकको रुपमा पाएको भन्दै प्रतिगामीहरुले मात्रै ओलीको कदमको स्वागत गरेको बताउनुभयो ।

अध्यक्ष केसीले प्रतिगनमविरुद्ध जनताले संघर्ष गर्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२०६२/०६३ सालको जनआन्दोलनका उपलब्धि रक्षा गर्न तथा राष्ट्रियता, लोकतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि जनतालाई संगठित गरेर संघर्ष गर्नुको विकल्प छैन । जनताको संघर्षले मात्रै प्रतिगामीहरु पराजित हुन सक्छन् । त्यसका लागि सबै लोकतन्त्र पक्षधर शक्तिहरु एकजुट हुन आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *