ओलीले सत्ता टिकाउन राष्ट्रियता नै परित्याग गरेको मसालको ठहर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री केपी ओलीले पहिले राष्ट्रियताप्रति लिने गरेका केही अडान सत्ता टिकाउन परित्याग गरेको बताएको छ।

ओली सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी अध्यादेशले उनको गम्भीर प्रकारको राष्ट्रघाती कार्यशैलीलाई बताउने भन्दै मसालले ओली साम्राज्यवादको खेलौना बनेको आरोप लगाएको छ।

बिहीबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले भारतीय साम्राज्यवादले लामो समयदेखि नेपालमा नागरिक आक्रमण गर्ने नीति अपनाउँदै आएको बताउनुभएको छ। उहाँले अहिलेको अध्यादेशले भारतीय साम्राज्यवादको त्यो नीतिलाई खुला प्रकारले अपनाएको पनि स्पष्ट पार्नुभएको छ।

यस्तै, मसालले अहिले संसद पनि साम्राज्यवादीहरुको निशानामा परेका कारण ओलीले विघटन गरेको जनाएको छ । संसदको पुनर्स्थापना र नागरिकता अध्यादेश खारेज गराउन सबै लोकतान्त्रिक तथा देशभक्त शक्तिहरु एकजुट हुनुपर्नेमा मसालले जोड दिएको छ ।

यस्तो छ प्रेस वक्तव्यः
‘आज देशमा गम्भीर प्रकारको सङ्कटको स्थिति उत्पन्न भएको छ । त्यस प्रकारको स्थिति प्रधानमन्त्री ओलीको गलत र अवसरवादी प्रकारको कार्यशैली र कार्यविधिका कारणले नै उत्पन्न भएको हो । उनले देश र जनताको हित वा कुनै सिद्धान्त, संविधान, नीति र नैतिकताका आधारमा होइन, आफ्नो व्यक्तिगत पद, महत्वाकाङ्क्षा र सत्ताका लागि नै आफ्नो सम्पूर्ण कार्यविधिलाई अगाडि बढाउने काम गरिरहेका छन् । त्यसबाट जनताले लामो सङ्घर्षद्वारा प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता समेत समाप्त हुने सम्भावना रहनेछ । त्यही प्रकारले उनको त्यो कार्यविधिबाट देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा पनि गम्भीर आँच पुग्ने सम्भावना देखा परेको छ ।

ओलीको अहिलेको सबैभन्दा बढी प्रहार संसदमाथि नै रहेको देखिन्छ । सर्वाेच्च अदालतले पहिले उनले गरेको संसदको विघटनलाई असंवैधानिक घोषित ग¥यो तर त्यसपछि पनि उनको लगातार जोड संसदको विघटन गर्नेतिर नै लक्षित रहेको छ । उनले संसदमा विश्वासको मत प्राप्त गर्न असफल भइसकेपछि र अल्पमतमा परेपछि पनि पुनः संसदलाई विघटन गर्ने काम गरे । उनको त्यो कार्यपद्धति संविधान र विश्वभरमा प्रचलित प्रजातान्त्रिक प्रणालीका विरुद्ध नै रहेको छ । उनको त्यस प्रकारको कार्यपद्धतिले उनको अधिनायकवादी र प्रतिगामी चरित्रलाई नै बताउँछ ।

ओली सरकारले भर्खरै ल्याएको नागरिकता सम्बन्धी अध्यादेशले उनको गम्भीर प्रकारको राष्ट्रघाती कार्यशैलीलाई बताउँछ । भारतीय साम्राज्यवादले लामो समयदेखि नेपालमा नागरिक आक्रमण गर्ने नीति अपनाउँदै आएको छ । अहिलेको अध्यादेशले भारतीय साम्राज्यवादको त्यो नीतिलाई खुला प्रकारले अपनाएको छ ।

सरकारले नागरिकता सम्बन्धी अध्यादेश अगाडि ल्याउनुका साथै मधेशवादीहरू सरकारमा सहभागी हुन तयार भएको देखिन्छन् । वास्तवमा त्यसरी उनीहरूले खाली नागरिकतासम्बन्धी राष्ट्रघाती नीतिलाई बल पु-याउने मात्र होइन, संविधानमा संशोधनसहित आफ्ना सबै राष्ट्रघाती नीतिहरूलाई सफल पार्न प्रयत्न गर्नेछन् र ओली उनीहरूको हातमा खेलौना बन्दै गइरहेका छन् । त्यसकारण अहिले देशमा विकसित भएका घटनाक्रमलाई हल्का रूपमा लिनु गम्भीर गल्ती हुनेछ ।

ओलीको कार्यविधिबाट थाहा हुन्छ कि उनी आफ्नै पहिलेका राष्ट्रियता सम्बन्धी अडानबाट पछाडि हट्दै गइरहेका छन् । वास्तविकता यो हो कि उनले आफ्नो सत्ता टिकाउनका लागि देशभित्र र कुनै आधार बाँकी नरहेको देखेपछि एक पछि अर्काे गर्दै विदेशी साम्राज्यवादी शक्ति तथा देशभित्रका प्रतिगामी शक्तिहरूको समर्थनमा आफ्नो अस्तित्व कायम राख्ने प्रयत्न गर्दैछन् । त्यो अवस्थामा देश र जनताका बृहत्तर हितका लागि उनको त्यस प्रकारको कार्यविधिका विरुद्ध व्यापक सङ्गठित र एकतावद्ध भएर सङ्घर्ष गर्नु राष्ट्रिय आवश्यकता भएको छ ।

यसका लागि हामीलाई खुसी लागेको छ कि विभिन्न राजनीतिक शक्तिहरू त्यो सङ्घर्षमा अगाडि आएका छन् । निश्चय नै उनीहरूसित हाम्रा कैयौँ प्रकारका मतभेदहरू पनि छन् । हामीले ती मतभेदका साथै ओलीको अधिनायकवादी र प्रतिगामी कदमका विरुद्ध आउने शक्तिहरूसित बढी भन्दा बढी एकता कायम गर्ने प्रयत्न गर्नेछौँ ।

अन्तमा त्यसप्रकारको संयुक्त आन्दोलन र जनताको उच्च प्रकारको चेतना र समर्थनका आधारमा ओलीका अधिनायकवादी र प्रतिगामी कदमलाई रोक्नु र पराजित गर्नु सम्भव हुनेछ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।’
२०७८ जेष्ठ १३ गते ।
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार