ओली गए, राष्ट्रियतामाथिको खतरा टर्‍यो भन्ने मुर्खता गर्नुहुँदैन : चित्रबहादुर केसी (अन्तर्वार्ता)

  •   
  •  
  •  
  •  
  •  
  •  

563 जनाले पढ्नु भयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यतिबेला भर्चुअल माध्यमबाट पार्टीका आन्तरिक प्रशिक्षण, बैठक तथा सार्वजनिक कार्यक्रमहरूमा व्यस्त हुनुहुन्छ । विभिन्न जनवर्गीय संगठन, पार्टीका विभिन्न स्तरका समिति तथा पार्टी निकटका संघ-संगठनहरूले गर्ने गतिविधि कोरोना संक्रमणका कारण अहिले प्रविधिको माध्यमबाट जारी छन् । ती अधिकांश कार्यक्रममा आयोजकले सकेसम्म अध्यक्ष केसीकै आतिथ्यताको अपेक्षा गर्दछन् । त्यसले गर्दा दैनिक देश–विदेशमा रहेका जनसंगठनहरूले आयोजना गर्ने कार्यक्रममा केसीको व्यस्तता छ । त्यसका साथै पाँच दलीय गठबन्धनको शीर्ष तहका बैठक, छलफललगायत अन्य सार्वजनिक कार्यक्रममा पनि उहाँको सक्रियता उत्तिकै छ ।

विगत केही महिनादेखि भैरहवा बसेर पार्टी काममा सक्रिय रहँदै आउनुभएका केसी हाल काठमाडौंमा हुनुहुन्छ । व्यस्त कार्यतालिकाका बाबजुद हामीले समसामयिक विषयमा उहाँसँग कुराकानी गरेका छौं । राजधानी काठमाडौं र राजधानी बाहिरको बसाईको भिन्नता, तात्कालिन राजनीतिक अवस्था, राष्ट्रिय जनमोर्चाको आगामी यात्रा तथा पार्टीमाथिका चुनौतिलगायतका विषयमा अध्यक्ष केसीसँग सम्पादक विद्यानाथ अधिकारीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

राजनीतिक कामको शिलशिलामा बागलुङपछि लामो समय राजधानी काठमाडौं बस्नुभयो । अहिले काठमाडौंको बसाइ छोडेर भैरहवा जानुभएको छ । काठमाडौँ र राजधानी बाहिरको बसाईमा के फरक पाउनुभयो । यसले राजनीतिक कामलाई कत्तिको प्रभावित पारेको छ ?
म लगातार दुई दशकदेखि काठमाडौंमा बस्दै आएँ । पहिलो कुरा त सांसद भएको हुनाले काठमाडौंमा बस्नु पर्यो । दोस्रो पार्टीका काम पनि धेरैजसो यतैबाट हुने हुनाले काठमाडौंमै बसेँ । म भैरहवा बसेको कुरालाई कतिपयले के कारणले काठमाडौ छोडेर भैरहवा गयो भनेर चर्चा गरे । कतिपयले मसँग पनि सोधे । त्यस्तो अरु केही कारण होइन, स्वास्थ्यको कारण हो ।

गतवर्ष चैतबाट काठमाडौंमा कोरोना संक्रमण बढ्यो र धेरै मान्छेहरु काठमाडौं छोडेर भागे । मलाई पनि भाग्नु पर्ने अवस्था आयो । मेरो आफ्नो कारणले भन्दा पनि श्रीमती सुगरको बिरामी, काठमाडौंमा कोठामा बस्दाखेरि घाम ताप्न नपाउने, घाम ताप्नको लागि रोडमा धुलोमा बस्नुपर्ने । त्यसले गर्दा काठमाडौंको बसाइ असहज भयो । त्यसो भएको हुनाले कोरोना छल्नलाई म भैरहवा तिर गएँ ।

म भैरहवा बसे पनि पार्टी सम्पर्कभन्दा बाहिर कहिल्यै पनि बसिन । यो अवधिमा पनि धेरै मिडियाहरू मलाई भेट्न, अन्तर्वार्ता लिन आए । देश विदेशमा साथीहरूका बिचमा प्रशिक्षण चलाइयो । इन्टरनेटबाट हुने धेरै कामहरू यो अवधिमा भयो । भैरहवाबाट पनि पार्टीका कामहरू, प्रशिक्षणहरू निरन्तररुपमा भए । यो अवधिमा राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलनसमेत सम्पन्न भयो । हामीले राष्ट्रिय जनमोर्चाको सम्मेलन बुटवलमा गर्यौं । म भैरहवा बसेर त्यो सम्मेलन गर्न अझ सहज भयो । सम्मेलनको तयारीका शिलशिलामा लगभग एक महिनाजति म काठमाडौं आएँ त्यसपछि पुनः भैरहवा गएँ । काठमाडौंमा बस्दा ठूला मिडियाहरू सँग नियमित सम्पर्क हुन्थ्यो । पार्टीको नीति कार्यक्रम तथा विचारहरु मिडियामार्फत बाहिर ल्याउने काम गरिन्थ्यो । भैरहवामा त्यो कम भयो । तर त्यहाँ पनि स्थानीय मिडियाहरूले निरन्तर सम्पर्क गरिरहे ।

तैपनि प्रविधिको प्रयोग गरेर भैरहवाबाट काठमाडौंको भन्दा पनि धेरै पार्टीको आन्तरिक काम भए । नियमितरुपमा ‘जुम’ बैठकहरू बसे । देश विदेशका साथीहरुका बीच प्रशिक्षण भए । त्यसले गर्दा भैरहवामा पार्टीको काम अझ बढी भयो ।

म भैरहवा बसेको कुरालाई कतिपयले के कारणले काठमाडौ छोडेर भैरहवा गयो भनेर चर्चा गरे । कतिपयले मसँग पनि सोधे । त्यस्तो अरु केही कारण होइन, स्वास्थ्यको कारण हो ।

यो बीचमा ५ दलीय गठबन्धन बन्यो । गठबन्धनको नियमित बैठक बस्ने र कतिपय आन्दोलनका कार्यक्रमहरू पनि भए । तर, शीर्ष तहमा तपाईंको अभाव त खड्कियो नि ?
काठमाडौंमा मेरो अनुपस्थितिमा पनि पार्टीका अरु जिम्मेवार साथीहरू ती बैठकमा जाने, पार्टीको धारणा राख्ने काम गर्नुभयो । पार्टीका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल नियमित त्यो बैठकमा जानुभयो । यस्तै पोखराका कार्यक्रममा पार्टीका महासचिव मनोज भट्ट जानुभयो । उहाँहरूले सबै महत्वपूर्ण ठाउँमा पार्टीका धारणा राख्नु भयो । पार्टीको निर्णय कार्यान्वयन गराउने काम गर्नुभयो । सबै ठाउँमा हामी आफैँ जानुपर्छ भन्ने होइन । पार्टीका विचार राख्ने अरु थुप्रै साथीहरु हुनुहुन्छ । उहाँहरूले आफ्नो काम गरिरहनुभएको छ ।

अझ यहाँ त के कुरा छ भने कतिपय मान्छेहरू हामीलाई नदेख्दा पनि किन आएनन् ? कहाँ गए भन्ने गर्छन् । फेरि उनीहरू नै के भन्छन् भने नयाँ पुस्तालाई पार्टीको जिम्मेवारी दिइएन भन्ने गर्छन् । हाम्रा साथीहरू वा विरोधीलाई पनि त्यस्ता बैठकहरूमा धेरैजसो मलाई नै देख्ने र मबाटै कामहरू हुने भएको हुनाले उनीहरूले त्यो अभाव महसुस गरेको हुनसक्छ । तर, पार्टीको नीति विचार लैजानको लागि पार्टीका साथीहरूले निरन्तर प्रयास गरिरहनु भएको छ । हामीले अरु साथीहरूलाई पनि त्यस्ता महत्वपूर्ण ठाउँमा जिम्मा दिएर पठाउनुपर्छ । र, उहाँहरूले कुशलतापूर्वक जिम्मेवारी पुरा गर्नुभएको छ । त्यसले गर्दा मलाई पाँच दलको शीर्ष तहमा पनि मेरो अभाव खासै भएजस्तो लाग्दैन ।

केपी ओलीका कारण देशको संविधान, गणतन्त्र संकटमा परेको राष्ट्रिय जनमोर्चाले बताउँदै आएको थियो । अब ओलीको बहिर्गमनपछि त्यो संकट टरेको हो ?
पाँच दलमा सम्मिलत पार्टीरूको इतिहास, उनीहरूको विगत, उनीहरूका गतिविधि राष्ट्रिय जनमोर्चाले नबुझेको, नजानेको होइन । उनीहरूसँग सहकार्य नगरिकन ओलीको प्रतिगमनकारी क्रियाकलापलाई रोक्न सम्भव हुँदैनथ्यो । त्यसो भएको हुनाले उनीहरूसँग सहकार्य गरेर प्रतिगमनलाई हामीले हराउन सफल भयौं । प्रतिगमनलाई पराजय गर्ने बेलासम्म उनीहरुसँग हाम्रो सहकार्य हो । अब उनीहरूका कारण फेरि सिमित अधिकार गणतन्त्र, धर्मनिरपेक्षता जस्ता विषय उल्टिने छैनन् भन्न सकिँदैन । साउन ३१ गते भएको सर्वदलीय बैठकमा मैले स्पष्टरुपमा कुरा राखेको छु । शेरबहादुर देउवा र प्रचण्ड लगायतलाई भनेको छु, यदि तपाईंहरुले विगतमा ओलीले गरेका जस्तै गल्तीहरु गर्नुभयो भने हामी फेरि पनि बिरोध गर्ने छौं । भण्डाफोर गर्ने छौं भनेर चेतावनी दिएको छु ।

केपी ओलीले २०७२ सालको संविधानलाई च्यात्ने काम गरे । दुई–दुई पटक संसद विघटन गरे । आफ्नै पार्टीलाई क्षतविक्षत बनाएर जसरी उनले प्रतिगमनकारी कदम चाले त्यसलाई नरोकी नहुने अवस्था थियो । ओलीले संविधान र लोकतन्त्र ध्वस्त पार्दै लगेको हुनाले हामीले त्यसविरुद्ध जुन जुन शक्तिहरु आउँछन् तिनीहरूसँग कार्यगत एकता गर्नुपर्ने आवश्यकता थियो । खासगरी नेपाली कांग्रेससँग हामीले कार्यगत एकता गरेर ओलीको प्रतिगामी कदमका विरुद्ध संघर्ष गर्यौं ।

शेरबहादुर देउवा र प्रचण्ड लगायतलाई भनेको छु, यदि तपाईंहरुले विगतमा ओलीले गरेका जस्तै गल्तीहरु गर्नुभयो भने हामी फेरि पनि बिरोध गर्ने छौं । भण्डाफोर गर्ने छौं भनेर चेतावनी दिएको छु ।

यो अवधिमा सर्वोच्च अदालत बढी सक्रिय भएको देखियो, सर्वोच्चका फैसला राजनीतिक प्रेरित भए भन्ने आरोप पनि लागे, यसलाई कसरी लिनुभएको छ ?
संसदबाटै हुने कतिपय कामहरू ओलीको अप्रजातान्त्रिक र असंवैधानिक कदमका कारण सर्वोच्च अदालत पुगे । ओलीकै कारण अदालतलाई थप सक्रिय पार्नुपर्ने अवस्था आयो । संसदमा हुने छलफल, संसदले टुंगो लगाउने कुराहरू पनि सर्वोच्च अदालतमा गयो । पार्टी भित्रका अन्तरद्वन्द्व, पार्टीले टुंगो लगाउने कुराहरू पनि सर्वोच्च अदालत पुग्यो । निर्वाचन आयोगमा पुग्यो । सर्वोच्च र निर्वाचन आयोगलाई ओलीकै कारणले गर्दा सक्रिय पार्नु पर्ने अवस्था आयो ।

जब २०५० को दशकमा त्रिशंकु संसद बनेको थियो । सांसद खरिदबिक्री, अस्थिरता र अनेक खाले विकृति विसंगतिहरू भित्रिएका थिए । २०७२ सालको संविधानमा त्यो कुरालाई रोक्नको लागि हामीले संविधान बनाउँदाखेरि नै अस्थिरता नआओस्, सांसद खरिदबिक्री जस्ता विकृतिहरू नहुन् भन्नको लागि केही व्यवस्था गरिएको थियो । प्रधानमन्त्री फेरबदल गर्ने काम संसदको हो, तर प्रधानमन्त्री केपी ओलीले संसदलाई टिक्नै दिएनन् । एउटा संसद खाइसकेपछि सर्वोच्च अदालतले स्थापना गर्यो र फेरि त्यो संसदलाई उनले दोस्रो पटक भंग गरे । सर्वोच्च अदालतले नेपालको संविधान २०७२ बमोजिमको फैसला गरेको हो । अहिले एउटा कुरामा ‘ओभरल्याप’ गरेको छ, त्यो के भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई अलग गर्ने फैसला गरेको छ । त्यो अदालतको ओभरल्याप हो । त्योबाहेक उसले गरेका फैसला संविधान बमोजिम छन् ।

अहिलेको राजनीतिक गतिविधिमा सर्वोच्च अदालत कसरी निर्णायक भयो यो कुरा बुझ्न जरुरी छ । २०७७ साल पुस ५ गते केपी शर्मा ओलीले संसद विघटन गरे तर त्यसलाई सर्वोच्च अदालतले पुनर्स्थापित गरिदियो । त्यो संसदमा देशको कार्यकारी प्रमुखले खुट्टै टेकेनन् । प्रतिनिधिसभालाई काम नदिने, कार्यकारी प्रमुखको ध्यान कसरी हुन्छ फेरि त्यसलाई भंग गर्नेतिर गयो र ओलीले दोस्रोपटक संसद् भंग गरे । त्यसलाई संविधानअनुसार सर्वोच्च अदालतले फेरि पुनर्बहाली गरिदियो । त्यसकारण अदालत निर्वाचन आयोग जस्ता निकायहरु सक्रिय हुनुको कारण पनि ओली नै हुन् । संसदलाई टिक्नै नदिएपछि संसदभित्रबाट हुने कतिपय कामहरु सर्वोच्चमा जानुपर्यो र यसरी सर्वोच्च हावी भयो । तर ओलीको प्रतिगामी र असंवैधानिक कामलाई केही हदसम्म भए पनि सर्वोच्च अदालतले रोक्ने काम गरेको छ ।

अब शेरबहादुर देउवा नेतृत्वको सरकार कसरी अगाडि बढ्छ जस्तो लाग्छ ?
पहिलो कुरा त अहिले जो सत्तामा आएका छन् यिनीहरुको नचिनेका विष्ट होइनन् । देशको अखण्डता, राष्ट्रियता, सुशासन जस्ता विषयमा देउवा–प्रचण्डलाई नेपाली जनताले भोगेकै जानेकै छन् । यदि उनीहरूले पनि राष्ट्र र जनताका लागि विगतका गल्ती सच्याउँदै काम गरेनन्, जनतालाई सुशासन दिन सकेनन् भने उनीहरुका विरुद्ध फेरि पनि संघर्ष गर्नुको हामीसँग विकल्प रहँदैन ।

विगतमा शेरबहादुर देउवाकै नेतृत्वमा एमसीसी अगाडि बढाइएको थियो । अहिले पुनः उनी सत्तामा आएपछि त्यसलाई संसदबाट पास गर्ने प्रयत्न उनले गर्ने नै छन् । यो अवस्थामा राष्ट्रिय जनमोर्चाको भूमिका के रहन्छ ?
शेर बहादुर देउवा वा केपी ओली संसद्बाट एमसीसी पारित गर्ने विषयमा कोही पनि कम छैनन् । ओलीले संसद विघटन गर्नुको एउटा मुख्य कारण एमसीसी पनि हो । संसदले एमसीसी पास नगर्ने अवस्था र आफ्नै पार्टीभित्रबाट उनका अप्रजातान्त्रिक र असंवैधानिक गतिविधिका विरुद्ध प्रश्न उठेका कारण उनले संसद विघटन गरेका हुन् । अब शेरबहादुर देउवाले पनि संसदबाट एमसीसी पारित गर्न पूरा प्रयत्न गर्नेछन् । अमेरिकी साम्राज्यवादलाई एमसीसी पारित नगरीकन नहुने अवस्था छ । उसले ओलीको हातबाट एमसीसी पारित गराउन सकेन । अब त्यो जिम्मेवारी देउवाको हातमा आएको छ । देउवाले पक्कै पनि संसदबाट एमसीसी पास गर्ने प्रयत्न गर्छन् । त्यो अवस्थामा संघर्ष गर्नुको हामीसँग विकल्प हुँदैन ।

राष्ट्रिय जनमोर्चाले विगतमा जस्तै एमसीसी विरुद्ध भण्डाफोर गर्दै जनतामा जान्छ । संसदमा त्यसको विरोध गर्छ । र, मलाई के विश्वास छ भने एमसीसी पारित गर्न त्यति सहज छैन । नेपालमा थुप्रै बुद्धिजीवीहरू, जनताको ठूलो तप्का, संसदभित्र र बाहिर एमसीसी विरुद्ध ठूलो जनमत छ । त्यसकारण त्यो जनमतलाई कुल्चेर अगाडि बढ्न शासकहरुलाई त्यति सहज छैन ।

नेपालमा थुप्रै बुद्धिजीवीहरू, जनताको ठूलो तप्का, संसदभित्र र बाहिर एमसीसी विरुद्ध ठूलो जनमत छ । त्यसकारण त्यो जनमतलाई कुल्चेर अगाडि बढ्न शासकहरुलाई त्यति सहज छैन ।

पूर्ववर्ती सरकारले अगाडि बढाएको अंगीकृतका सन्तानलाई वंशजको नागरिकता, ढुंगागिट्टी बालुवा भारत निकासी लगायतका विवादित कामलाई यो सरकारले निरन्तरता दिने सम्भवना देख्नुहुन्छ ?
पक्कै पनि । यो सरकारले पनि ती क्रियाकलापलाई अगाडि बढाउन सक्छ । नेपाली कांग्रेस त साम्राज्यवाद सामन्तवादको पक्षमा काम गर्ने पार्टी हो नि । यिनीहरुले राष्ट्रको सबै प्रकारले हित गर्छन् भनेर हामीले सहकार्य गरेको पनि होइन । अहिले प्रतिगमनको विरुद्धमा आए त्यसकारण सहकार्य भयो । यिनीहरुले पनि ओलीले जस्तै राष्ट्रविरोधी जनविरोधि क्रियाकलापलाई अगाडि बढाउन सक्छन् । यिनीहरूको चरित्र पनि मुलुकको सार्वभौमिकता अखण्डता र राष्ट्रियताको रक्षा गरेर देश चलाउने त होइन । अहिले धेरै विरोध भएको हुनाले एमसीसी केही समयको लागि रोक्न सक्छन् । ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने कुरा केही समयको लागि रोक्न सक्छन् । मूलरूपमा यिनिहरूको चरित्र राष्ट्रघाती नै हो । त्यो जान्दाजान्दै पनि हामीले यिनीहरूसँग सहकार्य गरेका छौं । किनभने ओलीको प्रतिगमनलाई हराउनु पर्ने थियो ।

अबको दिनमा राष्ट्रिय जनमोर्चा कसरी अगाडि बढ्छ ?
शेरबहादुर देउवा, प्रचण्ड सत्तामा आए तिनीहरूले राष्ट्रियता पार लगाउँछन् भन्ने होइन । तिनीहरूको चरित्र पनि जनविरोधी नै हो । अहिले पनि देशको अगाडि राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामा गम्भीर खतरा उत्पन्न भएको छ । यिनीहरुले पनि आफ्ना जनविरोधी गतिविधिहरुलाई अगाडि बढाउनेछन् । त्यसको विरुद्ध राष्ट्रिय जनमोर्चाले फेरि पनि संघर्ष गर्नुपर्छ । ओली गए त्यसकारण राष्ट्रियतामाथिको खतरा पनि टर्यो भन्ने मुर्खता हामीले गर्दैनौं । हामीले सडकमा, संसदमा, जनताको बीचमा फेरि पनि यिनीहरुका गलत गतिविधि, राष्ट्रविरोधी, जनविरोधी चरित्रको विरोध र भण्डाफोर गर्छौं ।

पछिल्लो समयमा राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्धको आन्दोलनमा त्यति ध्यान नदिएको जस्तो देखिन्छ नि ?
सबै एजेन्डा एकैचोटि देखा पर्दैनन् । राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै यो देशमा संघीयता हुँदैन भनेर आवाज उठाउँदै आइरहेको छ । हाम्रो त्यो आवाज अहिले पनि निरन्तर जारी छ । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेज हुनुपर्छ भनेर संसदमा प्रस्ताव दर्ता गराएको छ । अहिले पनि प्रतिगमन विरुद्धको आन्दोलनका क्रममा हाम्रो पार्टीले गरेका एकल कार्यक्रमहरूमा हाम्रा साथीहरुले संघीयता खारेज हुनुपर्छ भन्ने मागलाई जोडदार रुपमा उठाउने गर्नुभएको छ । साम्राज्यवादी शक्तिहरुले कांग्रेस–एमालेलाई संघीयता भिटो लगाएर बोकाएका हुन् । यिनीहरुले संघीयताले पार लगाउँछन् भन्ने होइन । हाम्रो पार्टीले यदि देशमा संघीयता खारेज भएन भने संघीयताले देश ध्वस्त बनाउँछ, आर्थिक रुपमा राजनीतिक सामाजिक रुपमा ध्वस्त हुन्छ भन्ने कुरा लगातार उठाउँदै आइरहेको छ ।

अब संघीयता विरुद्धको आन्दोलनलाई चर्काएर लैजानुपर्ने आवश्यकता छ । प्रतिगमन विरुद्धको आन्दोलन अगाडि बढेको हुनाले संघीयता विरुद्धको आन्दोलन अलि कमजोर भएजस्तो देखिएको हो । तर अब फेरि हामी संघीयता विरुद्धको आन्दोलनलाई चर्काएर लैजान्छौं । नेपालमा संघीयता विरोधी जनमत व्यापक भएको छ । अब हामीले संघीयताविरोधी आन्दोनलाई निरन्तरता दिन्छौं । यसलाई खारेज गर्नै पर्छ र खारेज गरेर छाड्ने छौं ।

प्रतिगमन विरुद्धको आन्दोलन अगाडि बढेको हुनाले संघीयता विरुद्धको आन्दोलन अलि कमजोर भएजस्तो देखिएको हो । तर अब फेरि हामी संघीयता विरुद्धको आन्दोलनलाई चर्काएर लैजान्छौं

कतिपय मानिसले मोहनविक्रम सिंह र चित्रबहादुर केसीले नयाँ नेतृत्व तयार पारेनन् वा नयाँ पुस्तालाई अगाडि बढाउन चाहदैनन् भन्ने आरोप लगाउने गरेका छन् । यो विषयलाई यहाँले कसरी लिनु भएको छ ?
नयाँ नेतृत्व उत्पादन हुने भनेको बिस्कुट फ्याक्ट्रीबाट बिस्कुट निस्के जस्तो वा फलामखानीबाट फलाम निस्के जस्तो होइन । नेतृत्व परिस्थितिले तयार पार्दै जाने कुरा हो । हाम्रा नयाँ पुस्ताका, नयाँ पिँढीका प्रशस्त साथीहरु हुनुहुन्छ । उहाँहरूले विभिन्न जिम्मेवारी लिएर काम गरिरहनुभएको छ ।

अब यसलाई यसरी हेरौं- नयाँ पुस्ताका साथीहरुलाई जिम्मेवारी दिँदा पनि मान्छेले हामीलाई बुढाहरू कता गए, किन आएनन् भनेर सोध्ने गर्छन् । फेरि उनीरू नै बुढाहरूले नेतृत्व छोड्न चाहन्नन् भनेर भन्छन् । अर्को कुरा, नेतृत्व उमेरले गर्ने होइन । विचारमा स्पष्टता, अडान, सक्रियता, संगठनका साथीहरूको विश्वास जस्ता कुराले प्रभाव पार्छ । अहिको एमालेमा हेर्नुस् त अडान नयाँ पुस्ताले लिएको छ कि पुरानो पुस्ताले ? चाहे त्यो राम्रो कुरा होस् चाहे नराम्रो कुरा होस् ?

त्यसकारण नेतृत्व जन्मने भनेको निर्णयले होइन परिस्थितिले जन्मिने हो । ‘राजा मरेर रजाइँ र काजी मरेर कजाईं’ समाप्त हुँदैन । हाम्रा प्रसस्त साथीहरू हुनुहुन्छ । उहाँलाई हामीले विभिन्न ठाउँमा जिम्मेवारी दिएका छौं । हाम्रो अनुपस्थितिमा पनि हाम्रो नयाँ पिँढीका साथीहरूले राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रमलाई स्पष्टसँग अगाडि बढाउने काम गरिरहनुभएको छ । त्यसकारण नेतृत्व जन्मँदै जाने र तयार हुँदै जाने कुरा हो । त्यो भइरहेको छ ।

तत्कालिन नेकपामा विभाजन आयो । अहिले एमाले पनि विभाजित अवस्थामा छ । यो विभाजनले नेपालको राजनीतिलाई कस्तो असर पार्ला ?
कम्युनिष्ट आन्दोलनको आधारभूत सिद्धान्त र सांगठनिक पद्धतिबाट यिनीहरु विचलन भएको धेरै वर्ष भइसक्यो । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद भन्ने संसदबाटै समाजवाद साम्यवाद ल्याउने संशोधनवादी बाटो थियो । संसदलाई रणनीतिक रुपमै स्वीकार गरिसकेपछि नै यिनीहरु कम्युनिष्ट आन्दोलनबाट विचलित भइसकेका थिए । तैपनि उनीहरू राष्ट्रिय स्वाधिनताको पक्षमा नै थिए । पछिल्लो समयमा ओलीले राष्ट्रियता र गणतन्त्रलाई तिलाञ्जली दिए । हामीले एमाले कम्यूनिष्ट सिद्धान्तबाट विचलित भई सक्यो भने तापनि बाह्य शक्तिहरूले कम्युनिष्टको नाम नै सुन्न चाहन्नन् । अब एमालेमा विभाजन आउँदैछ र त्यो विभाजनले अरु कुरामा त होइन, देशको राष्ट्रियता र गणतन्त्रको आन्दोलनलाई धेरै थोरै असर गर्छ । अरु बुर्जुवा पार्टीहरु सत्ता र शक्तिको लागि विभिन्न साम्राज्यवादीहरू को गुलामी गर्ने र उनीहरुकै इशारामा चल्ने गर्दछन् । कम्तिमा नेकपा एमाले वा माओवादी जस्ता दलहरु राष्ट्रियता र गणतन्त्रको लागि थोरै भएपनि काम गरिरहेका छन् । गतकालमा एकजुट भएका एमाले र माओवादी फुटे । ओलीका गतिविधिका कारण अब नेकपा एमाले सग्लो रहने अवस्था छैन । माधव नेपाल–झलनाथ खनालले बेग्लै पार्टी बनाउने सम्भावना छ ।

अब यिनीहरूको फुटले राष्ट्रियताको आन्दोलनलाई निश्चय नै असर पार्नेछ । एमाले र माओवादी अवसरवादी शक्तिहरु हुन् । तैपनि उनीहरुले जसरी गणतन्त्रको लागि अडान राख्दै आएका छन् । बाह्य शक्तिहरूले कम्युनिष्ट पार्टीको नामबाट कम्युनिष्ट आन्दोलनको नामबाट कुनै पनि गतिविधि भएको देख्न चाहन्नन् । र, उनीहरू पार्टीलाई फुटाउन लागिपरेका छन् । त्यसको असर देशको गणतान्त्रिक आन्दोलनमा केही हदसम्म पर्नसक्छ । हामीले ओलीलाई हटाएर नेकपा कै सरकार बन्नुपर्छ भन्ने कुरामा जोड दिँदै आएका थियौं । हाम्रो भनाई यसकारण पनि सही थियो कि अन्य बुर्जुवा पार्टीहरूको तुलनामा नेकपाले राष्ट्रियताको सन्दर्भमा केही काम गरिरहेको थियो ।

तपाईंहरुले नेपाली कांग्रेस, माओवादी, जसपा जस्ता शक्तिहरुसँग गठबन्धन बनाउनुभयो । उनीहरूको पनि त इतिहास राम्रो छैन नि ?
हामीले नेपाली कांग्रेसको वर्ग विश्लेषण गरेका छौं । ऊ दलाल नोकरशाही तथा पूँजीपतिवर्गको पार्टी हो । केपी ओलीको प्रतिगमनका विरुद्धमा नेपाली कांग्रेस पनि उभियो । शेरबहादुर देउवाले खुट्टा टेकेका कारणले गर्दा ५ दलीय गठबन्धन बन्न सम्भव भयो र प्रतिगमन पराजित भयो । नेपाली कांग्रेससँग हाम्रो संघर्ष नै पक्ष प्रधान हो एकता गौण हो । तैपनि हामीले बेलामौकामा उनीहरूसँग सहकार्य गर्ने गरेका छौं । जस्तो २०४६ सालमा हामीले गणेशमानसँग एकता गर्यौं । २०६२/६३ सालको आन्दोलनमा गिरिजाप्रसाद कोइरालासँग सहकार्य गर्यौं र अहिले शेरबहादुर देउवासँग सहकार्य गरेका छौं । उनै गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाविरुद्ध राष्ट्रिय जनमोर्चाले कैयौंपटक संघर्ष गरेको छ । अरु वामपन्थी दलहरूसँग मिलेरसमेत गिरिजा वा शेरबहादुर देउवाको विरुद्ध हामीले संघर्ष गरेका छौं । तर राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि हामीले फेरि कांग्रेससँग मिलेर राजतन्त्र विरुद्ध संघर्ष गरेका छौं ।

विगतमा पनि हामीले विभिन्न प्रतिकृयावादी शक्तिहरुसँग सहकार्य गरेर फेरि आफ्नो पार्टीको नीति सिद्धान्त र कार्यक्रममा अडिग भएको उदाहरण छ । कांग्रेस एमालेहरूले महाकाली सन्धि गर्दा हामीले राप्रपासँग, कीर्तिनिधि विष्टसँग सहकार्य गरेको होइन ? कीर्तिनिधि विष्ट जस्ता पञ्चायतका भुतसँग सहकार्य गरेर अब यो पार्टी सिद्धियो, मसाल खरानी भयो भनेर स्याल हुइयाँ गर्नेहरु तेतिखेर पनि थिए । नक्कली क्रान्तिकारीहरु उफ्रिन्छन्, स्याल हुइँय्या गरिरहन्छन् । हात्ती देखेर भुस्याहरु भुकी रहन्छन् । तर हात्ती आफ्नो गन्तब्यमा लम्की रहन्छ । अहिले हामीसँग माधव– झलनाथ– शेरबहादुरहरूसँग मिलेर ओलीको प्रतिगामी कदम रोक्नुको विकल्प नै थिएन ।

यदि हामीले आफ्नो सत्ता स्वार्थका लागि कुनै नीति अपनाउँथ्यौं भने २०७४ सालमा शेरबहादुर देउवाले मसँग २ घण्टा छलफल गरेका थिए कि, तपाईंहरुलाई बागलुङ, प्युठान, अर्घाखाँची, डोटी, कन्चनपुर कहाँ–कहाँ हाम्रो भोटले जित्नुहुन्छ ? हामी सहयोग गर्न तयार छौं, वाममोर्चासँग तालमेल नगर्नुस् हामीसँग सहकार्य गर्न आउनुस् भनेका थिए । तर हामीले उनको प्रस्तावलाई अस्वीकार गर्यौं । र, वामपन्थीहरूसँग कार्यगत एकता गरेर चुनावमा सहकारी गर्यौं ।

यदि स्टालिनले अमेरिका, फ्रान्स, बेलायतसँग सहकार्य नगरेको भए हिटलरले संसारमा के गरिरहेको थियो ? चीनमा च्याङ काइ सेकले चिनियाँ कम्युनिष्ट पार्टीका लाखौं नेता कार्यकर्ताहरूको हत्या गरेको थियो । तर जब जापानी साम्राज्यवादले चीनमाथि आक्रमण गर्यो, माओले आफ्ना नेता कार्यकर्ता माथि भएको जघन्य अपराधलाई बिर्सेर च्याङ काई सेकसँग कार्यगत एकता गर्न पुगे । स्टालिनले तेस्रो अन्तर्राष्ट्रियको बली चढाएरसमेत हिटलरका विरुद्धमा शक्ति राष्ट्रहरुसँग कार्यगत एकता गरे । हामीले नेपाली कांग्रेससँग सहकार्य गर्नुको अर्थ उनीहरुसँगको हाम्रो मतभेद सकिएको हो र ?

२०७४ सालमा शेरबहादुर देउवाले मसँग २ घण्टा छलफल गरेका थिए कि, तपाईंहरुलाई बागलुङ, प्युठान, अर्घाखाँची, डोटी, कन्चनपुर कहाँ–कहाँ हाम्रो भोटले जित्नुहुन्छ ? हामी सहयोग गर्न तयार छौं, वाममोर्चासँग तालमेल नगर्नुस् हामीसँग सहकार्य गर्न आउनुस् भनेका थिए ।

हामीले तत्काल कोसँग हिँड्दा, कोसँग सहकार्य गर्दा हामीलाई फाइदा हुन्छ भन्ने आधारमा सहकार्य गर्दैनौं । देश र जनताको हित कसरी हुन्छ त्यसका आधारमा सहकार्य गर्छौं । अहिलेको सन्दर्भमा कांग्रेस–मधेसवादी दलहरूसँग हाम्रो यती ठुलो मतभेद छ तैपनि हामीले उनीहरुसँग सहकार्य गरेका छौं । धेरैलाई यो कुरा पचाउन गाह्रो हुन्छ उनीहरु इतिहासको अध्ययन गर्दैनन् दोस्रो, पूर्वाग्रहले काम गरेको हुन्छ । उनीहरूको चिन्तन के हुन्छ भने मसाल लाई कसरी सिध्याउने मसालको कसरी तेजोबध गर्ने भन्ने कुरा सोचेर हिँडिरहेका हुन्छन् ।

तर, आफ्नै पार्टी कार्यकर्ताको समेत बलिदानी चढाएर नेपाली कांग्रेससँग गरेको सहकार्यले पार्टीको राजनीति र संगठनलाई असर पार्दैन र ?
हाम्रो पार्टीको कुनै कार्यकर्ताले आफ्नो पद र प्रतिष्ठाको लागि प्रतिगामीहरूसँग मिलेर पार्टीको निर्णय उल्लंघन गर्छन् भने त्यसको कुनै अर्थ रहँदैन । हामीले पञ्चायत विरुद्धको आन्दोलनमा नेपाली कांग्रेससँग सहकार्य गर्दा पनि ठूलो चिच्याहट आएको थियो । नेपाली कांग्रेस जस्तो बुर्जुवा पार्टीसँग हाम्रो पार्टीले सहकार्य गर्यो अब यो सिद्धिन्छ भनेर कतिपय मान्छेले भन्ने गरेका थिए । बेलामौकामा त्यसखालको स्याल हुइँय्या आइरहन्छ । तर यथार्थ के हो त्यसको आधारमा हामीले विश्लेषण गर्नुपर्छ ।

पार्टीले कृष्ण थापालाई सभासद बनाउने, अब प्रतिगमनका विरुद्ध संघर्ष गर्नुपर्यो त्यो छोड भन्दा उनी प्रतिगमनको काखमा गएर बस्ने ? त्यस्तो भएपछि कुनै पार्टीले छोड्छ ? अरु बुर्जुवा पार्टीहरुले पनि छोड्छन् ? माओवादीले आफुले भनेको नमानेपछि आफ्ना सांसदहरुलाई कारबाही गरेन ? मधेसवादीहरुले कारबाही गरेनन् ?  यस्तो साधारण कुरामा पनि अवसरवादीहरूले भ्रमको खेती गर्न खोज्छन् त्यो क्षणिक कुरा हो ।

उनीहरुले जनताले नबुझेसम्म एकछिन भ्रम पार्ने हुन् । त्यसको के अर्थ छैन । कतिपयले मलाई नै भने कांग्रेससँग सहकार्य गरेपछि अब बागलुङको संगठन भत्कियो । कांग्रेस शक्तिशाली भएकै बेलामा म बाग्लुङबाट दुईचोटि चुनाव जितेर आएको होइन ? त्यसकारण यो प्रतिगामीका मतियारहरुले चलाउने स्याल हुइँय्या मात्रै हो । हाम्रै पार्टीको विगत इतिहास हेर्नुपर्छ । अहिले जसले रोदन गरिरहेका छन्, कसका पछाडि लागेर आफूलाई फाइदा हुन्छ तिनीहरूको चिच्याहट हो, त्यसको के अर्थ छ र ?

यहाँको पार्टीबाट निष्काशित कतिपय व्यक्तिहरुले समानान्तर गतिविधि गर्ने, पार्टीविरुद्ध भ्रम छर्ने तथा सामाजिक सञ्जालमा नेताहरूको चरित्रहत्या गर्ने काम गरिरहेका छन् नि ?
पार्टीभित्र वैचारिक द्वन्द्व हुनु स्वाभाविक हो । त्यसको समाधान गर्ने विधि हुन्छ । त्यो विधि र पद्धतिलाई सबैले पालना गर्नुपर्छ । जसले लेनिनवादी संगठनात्मक पद्धति अन्तर्गत बस्न चाहँदैनन् । पार्टीको अनुशासनमा रहन चाहँदैनन्, त्यस्ता मान्छेहरूलाई पार्टीले कारबाही गर्छ । यो हाम्रो मात्रै पार्टीको प्रचलन होइन, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा हेर्यौं भने पनि त्यस खालका प्रशस्त गतिविधिहरु देख्न सकिन्छ । हाम्रो पार्टीको आठौं महाधिवेशन भन्दा अगाडि पार्टीमा प्रशस्त जनवादको प्रयोग भएको छ । पार्टी नेतृत्व, नीति, संगठनात्मक पद्धति लगायतका विषयमा व्यापक छलफल भएको हामीले देखेका छौँ । महाधिवेशनले फैसला गरिसकेपछि केन्द्रियता लागू हुन्छ । यदि अन्तरविरोध चलाउनु पर्यो भने आफ्नो कमिटीमा बसेर छलफल गर्ने हो । मतभेदका विषयहरूलाई माथिल्लो कमिटीमा पठाउने हो ।

पार्टीको महाधिवेशनले गरेको निर्णय नमान्ने, पार्टी अनुशासनमा नबस्ने त्यस्ता कतिपय व्यक्तिहरुलाई निष्कासित गरिएको छ । ती निष्काशित भएका व्यक्तिहरुले चलाएको स्याल हुइँया मात्रै हो । कतिपय सिधासाधा साथीहरूमा पनि ती निष्काशित व्यक्तिहरूले भ्रम फैलाएको देखिन्छ । यसभन्दा अगाडी पनि पार्टीमा चित्त नबुझेका कैयौं व्यक्तिहरूले या त अलग्गै पार्टी खोलेर बसे या विभिन्न पार्टीमा गएर मिसिए । तर आठौं महाधिवेशनको निर्णयलाई नमानेर निस्किएकाहरू अथवा पार्टीले अनिश्चितकालको लागि कारवाही गरेकाहरू अझै पनि आफूलाई मसाल भनेर हिँड्छन् । जुन मान्छेले मसालको नीति मान्दैन, पार्टीलाई लेवी तिर्दैन, कुनै कमिटिमा छैन त्यो मान्छे आफूलाई मसाल भन्दै हिँड्छ । त्यस्ताले म मसाल हुँ, राष्ट्रिय जनमोर्चा हुँ भन्दै हिँड्नु अस्थायी कुरा मात्रै हो । पार्टीको सदस्य हुनको लागि पुरा गर्नुपर्ने कर्तव्य पार्टी कमिटीमा बस्नुपर्छ, लेवी तिर्नुपर्छ, नीति र सिद्धान्तलाई मान्नुपर्छ । यो केही पनि नगर्ने तर म मसाल हुँ भन्न पाइन्छ ? मसालका विरोधीहरुलाई खुसी पार्न बाहिर बाहिर चिच्याएर हिँड्ने हरूले जे गतिविधि गरिरहेका छन् ‘तातोपानीले घर डढ्दैन’ ।

पार्टीको सदस्य हुनको लागि पुरा गर्नुपर्ने कर्तव्य पार्टी कमिटीमा बस्नुपर्छ, लेवी तिर्नुपर्छ, नीति र सिद्धान्तलाई मान्नुपर्छ । यो केही पनि नगर्ने तर म मसाल हुँ भन्न पाइन्छ ? मसालका विरोधीहरुलाई खुसी पार्न बाहिर बाहिर चिच्याएर हिँड्ने हरूले जे गतिविधि गरिरहेका छन् ‘तातोपानीले घर डढ्दैन’ ।

तर, उनीहरूका गतिविधिले पार्टीलाई त असर गर्ला नि ?
उनीहरूले गर्ने हल्लाखल्ला, पार्टी विरोधी गतिविधिले केही सिधासाधा कार्यकर्ताहरूलाई केही दिन भ्रम पर्ला तर त्यो अस्थायी कुरा हो । त्यसले मसाललाई केही फरक पर्दैन । ति भ्रमका विरुद्धमा पार्टी भित्र प्रशस्त प्रशिक्षण भइरहेको छ । ती व्यक्तिहरूको विगत, उनीहरुका गतिविधि, उनीहरुलाई पार्टीबाट निष्कासित गर्नुपर्ने कारण यस्ता विषयमा हामीले पार्टीभित्र कार्यकर्ताहरूलाई प्रशस्त जानकारी गराएका छौं।

हाम्रो पार्टीमा कुनै साथीले भिन्न विचार राखेका कारणले कारबाही गर्ने प्रचलन नै छैन । अहिले पनि हाम्रो पार्टी भित्र कैयौ विषयमा भिन्न मत होला नि ? भिन्न मत राखेको कारणले त कसैलाई कारबाही गरिएको छैन । भिन्नमतलाई बाह्रै महिना चलाउने, अनुशासनमा नबस्ने, पार्टी नीतिलाई उल्लंघन गर्ने त्यस्ता व्यक्तिहरुलाई पार्टीले कारबाही गर्छ ।

२०७२ सालमा हामीले आफ्नो संविधान आफैँ बनाउँदा भारतले नाकाबन्दी गर्यो । त्यसको विरुद्धमा पार्टीले निर्णय गरेर हामी सरकारमा गयौं । त्यो कुरालाई लिएर अहिले पनि कतिपय मान्छेहरू पार्टीविरुद्ध कुर्लन्छन् । एमाले र माओवादीसँग मिलेर पार्टी दक्षिणपन्थी भयो भन्छन् । परिस्थिति अनुसार पार्टी संसदमा पनि जान्छ । यदाकदा सरकारमा पनि जान्छ । त्यो कुरालाई लिएर उनीहरूले पार्टी दक्षिणपन्थी भयो भन्छन् । फेरि त्यही दक्षिणपन्थी पार्टीमा हामी छौं पनि भन्छन् । जुन पार्टीलाई उनीहरु दक्षिणपन्थी भन्छन् पार्टीमा हामी पनि छौं भनेर कसरी कार्यकर्तालाई भ्रमको खेती गरिरहेका छन् ? यस भन्दा अगाडि पनि हामीले देखेका छौं नि कतिपय मान्छेहरुले एउटा बगाल खडा गरेर नामधारी कम्युनिष्ट बनाएको, अनि अर्कैसँग मिल्न गएको ।

पार्टी सञ्चालन गर्न त्यति सजिलो छैन । त्यसरी नै बगाल खडा गरेर क्षणिक रुपमा बस्न सक्छन् । पार्टीको नीति सिद्धान्त निर्माण गर्नु, संगठन बनाउनु, त्यसलाई परिचालन गर्नु सजिलो छैन । यहाँ छँदा उनीहरुलाई सजिलो भएको थियो । पार्टी विरुद्ध धारेहात लगाउन, पार्टी नेतृत्वको विरोध गर्न त सजिलै हुन्छ । तर, पार्टी निर्माण गर्नु, सही नीति अबलम्बन गर्नु र त्यसको कार्यान्वयन गर्नु सजिलो कुरा होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *