ओली पुगे बालकोट : समर्थकले लगाए अभद्र नारा, नेपाललाई एमालेमा कुनै स्थान छैन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले सम्बोधन गर्दै ओलीले माधव नेपाल आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गर्ने व्यक्ति भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

पार्टीभित्र विभिन्न तत्त्वहरूको घुसपैठ भएको र पार्टीकै नेता नेपालको नेतृत्वमा सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ त कहिले अदालत गएको उउहाँले बताउनुभयो । अरू साथीहरूलाई कमजोरी स्वीकार गरेर आए पार्टीमा स्वागत भए पनि नेपाललाई आत्मालोचना, कमीकमजोरी स्वीकार गरे पनि कुनै स्थान नभएको उहाँको भनाइ थियो ।

बालुवाटार छाड्दै गर्दा ओलीको समर्थकहरूको भिड लागेको थियो । मङ्गलबार नै एमाले नेताहरूले हजारौँ मोटर साइकल र गाडीका साथमा ओलीलाई स्कर्टिङ गरी बालकोट पुर्याउने उद्घोष गरेका थिए भने नेताहरूको निर्देशनअनुसार सयौँको सङ्ख्यामा एमालेका नेता–कार्यकता ओलीलाई स्वागत गर्नका लागि सरकारी निवास बालुवाटारदेखि निजी निवास बालकोटसम्मै लामबद्ध भएका थिए ।

युवा तथा विद्यार्थी र पार्टी कार्यकर्ता केपी शर्मा ओलीको नाम अङ्कित पोस्टर, पार्टीको झण्डा र बाजागाजासहित उपस्थित भएका थिए भने बालुवाटारदेखि बालकोटसम्मै ओलीको अघि र पछि लामबद्ध भएका थिए । ओलीको पक्षमा नाराबाजी गर्ने कार्यकर्ताले सर्वोच्च अदालत, सरकार र गठबन्धनका नेताप्रति अभद्र नाराबाजीसमेत गरेका थिए ।

बुधबार निर्वतमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुभएको हो । सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरेसँगै राष्ट्रपतिले मङ्गलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार