कञ्चनपुरको बेलौरीमा सडक निर्माणमा अवरोध, राजमोको आपत्ति

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ८ पचुईमा भारतीय पक्षले सडक निर्माणमा अवरोध गरेको छ । भारतीय नागरिक र एसएसबी नेपाल प्रवेश गरी पूर्व पश्चिम हुलाकी राजमार्ग कालोपत्रे गर्ने काममा अवरोध गरेका हुन् ।

भारतीय पक्षले सडक निर्माण भइरहेको क्षेत्र भारतमा पर्ने भन्दै अवरोध गरेपछि कालोपत्रे गर्ने काम रोकिएको छ । भारतीय दादागिरी सामुन्ने फेरि पनि नेपालको सरकार र प्रशासन निरीह देखिएको छ ।

सो घटनालाई राष्ट्रिय जनमोर्चाले गम्भीर रुपमा लिएको जनाएको छ । राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका अध्यक्ष नन्दराज भट्टले सोमबार एक विज्ञप्ति प्रकाशित गरी सरकारको निरीहताप्रति खेद प्रकट गर्नुभएको छ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गर्ने भारतीय हस्तक्षेपप्रति निन्दा प्रकट गर्दै विज्ञप्तिमा भारतीय पक्षसँग वार्ता गरी सडक निर्माण कार्य सुचारु बनाउन पहल गर्न सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ –

‘१. गत २०७६ सालको चैत्र महिनामा नेपाल तथा भारतको प्राविधिक टोलीले कञचनपुर जिल्लासँग जोडिएको नेपाल भारत सिमानामा संयुक्त रुपमा सीमास्तम्भ निर्माण गर्ने काम अगाडि बढाएको थियो । नेपालतर्फ सीमास्तम्भ निर्माण गर्ने क्रममा कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा लामो समय देखि भोगचलन गरी आएका किसानहरुका लालपुर्जा प्राप्त जमिन, स्थानीय विद्यालयको नाममा फिल्ड बुक कायम भई लालपुर्जा प्राप्त जमीन, नेपालतर्फको नर्सरी, सिंचाई नहर र निर्माणाधिन हुलाकी सडकको समेतका केही भाग भारत तर्फ पारिएको थियो ।

यो समस्या अहिले मुख्यतया कञ्चनपुर जिल्लाको बेलडाँडी गा.पा., बेलौरी न.पा., पुर्नवास न.पा. तथा भिमदत्त न.पा.को जिम्मुवामा देखिएको थियो । नेपालको भूमि भारतमा पर्ने गरि गरिएको सीमांकनको ब्यापक विरोध भएको थियो । राष्ट्रिय जनमोर्चाले यो विषयलाई लिएर सीमाको अवलोकन गर्नुका साथै प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझएको थियो । आक्रोशित स्थानीय जनताले कतिपय स्थानमा खडा गरिएका सीमा स्तमभ समेत भत्काएका थिए ।

२. नेपालको भूमि वैधानीक तवरबाट भारतीय पक्षले अतिक्रमण गर्ने गरि गरिएको सीमांकन देशब्यापी विरोध भए पछि सीमास्तम्भ निर्माणको कार्य रोक्न दुईटै मुलुक बीच सहमति भएको थियो । कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझउने क्रममा नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई आँच पुग्ने प्रतिनिधि मण्डललाई सो कुराको जानकारी समेत गराईएको थियो ।

तर अहिले आएर भारतीय पक्ष सशस्त्र प्रहरी बल सहित आएर कञ्चनपुरदेखि झापा जोडने निर्माणाधीन हुलाकी सडकको कञ्चनपुर बेलौरी खण्डको बेलौरी नगरपालिकाको वडा नं. ८ को पचुई क्षेत्रमा भैरहेको हुलाकी कालोपत्रे सडक निर्माण कार्य रोकेका छन् । भारतीय दबाबका कारण सडक निर्माण कम्पनीले निर्माण कार्य रोक्न बाध्य भएको छ ।

यस पटक पनि नेपाल सरकार भारतको दबाबको अगाडि निरीह बनेको छ । यसरी नेपाली भूभागमा निर्माणाधीन सडक भारतीय भूभाग भित्र पर्ने भारतको दाबी गलत छ । भारतको यो कार्यले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई आँच पुगेको छ ।

३. यो विषयमा तुरुन्तै नेपालले भारतीय पक्षसँग कुराकानी गर्नुपर्छ र सडक निर्माणको कार्यलाई अगाडि बढाउनु पर्दछ । ’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार