कथाः चैते दशैं

  •   
  •  
  •  
  •  
  •  
  •  

707 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

होइन, यस्तो महामारी फैलिएको बेलामा हिंड्नु हुँदैन, दुखःपाइन्छ । संसारका मुलुकहरु नै त्राहीत्राही भएको अबस्था छ, भन्दै बिर्खेले हर्केलाई सम्झाउँने प्रयात्न गर्छ । तँ डरपोक बस यतै भन्दै हर्केले बिर्खेलाई उल्टै कोस्छ, उसलाई दशैं मान्न घर जाने रहर पनि थियो । होटेलमा उसले पहिले नै दशैंमा घर जानलाई छुट्टी निकालीसकेको थियो । कैयौँ बर्षदेखि मेलापर्वमा जान पाएको थिएन । यो बर्ष हर्केले जाने निधो गरिसकेको थियो । यहि दौरानमा सरकारले लकडाउन घोषणा गर्छ, हर्केले पनि कोठाको हिसाब गरेर खाली गर्छ र स्वदेश हिंड्न ठिक्क परेको हुन्छ । तर बसहरु रेल समेत सबै बन्द भएपछि समस्या जटिल हुन्छ ।

आफ्नो गुण्टो बोकेर उजेलिलाई बच्चा बोक्न लगाउँछ, सानो बच्चाको हात छोपेर अगाडि लाग्छ । बिर्खेले हर्केको यो ब्यबहार देखेर दङ्ग पर्छ ।

दुबै एउटै गाउँका हुन् र आपसमा पनि राम्रो सम्बन्ध भएकोले एकप्रकारका घनिष्ट साथीहरु हुन् । केहि बर्षदेखि यी दुबैले दिल्लीको एउटा होटेलमा काम गर्थे । भारत सरकारले तालाबन्दिको घोषणा गरेपछि होटेलहरु पनि बन्द हुने निश्चित भयो । होटेलको मालिकले घर जाने जतिको हिसाब गर्यो ।

त्यो बेला बोर्डरमा ओहोर दोहोर चलेकै थियो । हर्के बाल बच्चा वाला भएकोले के के गर्दागर्दै ढिलो भयो । बिर्खे, हर्के र उजेली सहित दुई स–साना बच्चाहरु बसअड्डा पुग्दा बस पनि नहिंड्ने जानकारी पायो ।

यो अबस्थामा अब कता जाने ? फर्किन पनि कोठा खाली गरिसकेको छ, होटेलबाट पनि हिसाब गरेर छुट्टि गरेको छ । अलिअलि भएका सरसमान पनि बेचबिखान गरिसकेको थियो । किन कि अब उजेलीलाई उतै छाडेर आउँने उनीहरु बिच सल्लाह भएको थियो । बसअड्डामा आफु जस्तै अरु पनि परिवार बालबच्चाहरु भएका भेट्टिन्छन् । उनीहरुलाई भेटाए पछि हर्के र उजेलीहरुको हिम्मत बढ्छ ।

दुई दिन जति यहिं बसछन्, उनीहरुलाई मिडियाहरु समेतले सम्झाउँछन् तर पनि मान्दैनन् । रैन बसेरामा बस्न पनि मान्दैनन् । यो दौरान कुनै पनि सवारी साधन मिल्दैन । मिल्ने कुरा पनि भएन देशभरमा लकडाउन (ताला बन्दी) चलेको छ । सरकारले पुरै सवारी साधन माथि प्रतिबन्ध लगाएको छ । कैयौं दिनसम्म सवारी साधन मिल्ने सम्भावना नदेखेपछि भोलीपल्ट साथीहरुले हिंडेरै जाने निर्णय गर्छन् ।

विश्व ब्यापि फैलिएको (COVID- 19) कोरोना भाईरसका कारण कैयौँ दिनसम्म लकडाउन रहिरहने निश्चित भैसकेको छ । यहाँ भारतका बिभिन्न ठाउँहरुबाट स्वदेश जान जम्मा भएका नेपाली श्रमिकहरुलाई स्वदेश फर्किने कुनै सवारी साधन नपाए पछि कति दिनसम्म यो अबस्थामा बस अड्डामा बस्ने ? हामीहरु यतिका हिंड्दै भएपनि जान सक्छौँ । यो नेपालीहरुको भिडबाट एउटा आवाज आउँछ, त्यो आवाजलाई धेरैले समर्थन गर्छन् । यो भिड्मा धेरै जसो युवाहरु थिए जसमा महिलाहरु पनि थिए । धेरै जसोको यो राय सल्लाह आए पछि भोलि पल्ट हिंडेर जाने निश्चित हुन्छ ।

बिर्खेले भने स–साना बालकहरु तिर हेर्दै भो हामीत नजाउँ बाटोमा अफ्ट्यारो होला, भनेर प्रश्न हर्केतिर तेर्छाउँछ । तर हर्केर उजेलीले भने उसको बिचारलाई ठुक्राउँदै हिंड्ने निश्चित गर्छन् । बिर्खे एकलै थियो उ, बलियो पनि थियो । समान पनि उसको मात्र एउटा झोला थियो । साथीलाई दुःख होला भनेर उसले यो प्रस्ताब राखेको थियो । ठिकै छ, तिमिहरुले यहि उचित सम्झे…..भन्दै आफ्नो झोला पिठ्युमा बोक्छ र बिर्खे पनि मन नलाइनलाइ उनीहरुको पछिपछि लुरुलुरु हिंड्छ ।

बाटोमा एउटा बच्चा बिर्खेले नै बोकी दिन्छ । बल्ल बल्ल केहि दिनको पदैल यात्रा पछि उनीहरु बोर्डरमा पुग्छन् । उजेलीलाई बाटैमा बिसंचो भएको थियो । बोर्डरमा पुग्दा उ बढि बिमार हुन्छे, बच्चाहरु पनि बिचरा थकित भएका छन् । घरिघरि रुन्छन् । हर्के आफै पनि लखतरान परेको छ ।

बाटोमा बिर्खे लगायत अरुले ति बच्चहरु उचाल्नमा मद्त नगरेको भए उनीहरुलाई बोर्डरसम्म पुग्न अरु केहि दिन लाग्थ्यो ।

जसरी तसरी सुनौलीको बोर्डरमा पुगेपछि त्यो बोर्डर पनि बन्दभएको देखेर निरास हुँदै दशगजा मै बस्छन् । त्यहाँ पहिले नै थुप्रै मान्छेहरु भारतको बिभिन्न ठाउँबाट गएर भरिएका छन् ।

समान एकातिर राखेर भार्लाङ्ग भुर्लुङ्ग पल्टिन्छन् । उजेलीलाई धेरै ज्वरो आएको छ । भुँइमा एउटा च्यादर बिछाएर बच्चाहरुलाई बसाल्छिन् । अनि आफु त्यो गुण्टामा अडेश लागेर स्वाँस्वाँ गर्दै पल्टिन्छिन् । उनलाई देखेर बिर्खेले आफ्नो झोला खोलेर पेन किलरको एउटा गोली दिन्छ । बच्चाहरु रोइरहेका छन् । हर्केले पानीको बोतल एउटा बच्चालाई दिँदै अर्कोलाई काखमा उचालेर भुलाउँदै छ । उजेली ज्वरोले वेहोस् भएकि छिन् ।

यहाँ पहिले नै धेरै मानिसहरु थुप्रेका छन् । यदि ती मध्य कुनै एक जनालाई पनि कोरोना भाइरस हुन्छ भने सबै बिमारी हुने निश्चित छ । सरकारले पनि त्यो बिमारी फैलिने डरले यति ठूलो कदम उठाएको हो ।

उफ……यसरी लामो बाटो पैदल हिंडेर पनि बोर्डर कुर्नु पर्ने ! हर्केले लामो स्वास फेर्दै आफैसँग प्रश्न गर्छ ।

बल्ल थाहा भयो ? मैले भनेको होइन ? कति संझाएको हो मैले, के फाइदा भयो त ? नजिकै बसेको बिर्खेले हर्के तिर हेर्दै अलि जर्केर भन्छ । हर्केले अनसुनि गर्दै बच्चाको हातबाट बोतल लिएर आफुले पानी पिउँछ । घाँटी सुकेको छ । थकाइले लखतरान भएका छन् । धन्न नेपालीहरु भएर अरु भएको भए बाटोमै मर्थे यति लामो बाटोमा बच्चाहरुसँग भैन भनेर गुण्टाहरु……..वा.. नेपाली बहादुर ।

बोर्डरमा तीन दिनबाट चिच्चाएका छन्, कुर्लेका छन् । संसारले सुन्यो तर नेपाल सरकारले अँह उफ……. उसको निद । बोर्डरमा बसेकाहरुको आक्रोश झन् चुल्लिन्छ– जब मन्त्रिको कुनै पनि हालतमा बोर्डर नखोल्ने बयान आउँछ ।

आखिर हामी नेपालीहरुको के कसुर हो ? सरकारले नोकरी पेशा दिंदैन, अर्काको देशमा गएर हामीले मजदुरी गरेका छौँ । अहिले यो बिपत्ति आईलागेको बेलामा सरकारले सहयोग गर्ला भन्दा झन् यसरी हाम्रो अर्काको देशमा बिजोग छ । चीन तथा अमेरीकाबाट आएका ठुला बडाहरुलाई शुरक्षाको लागि मरिमेट्ने यो सरकारले हामी मजदुरहरुको बारेमा किन सोंच्दैन ? भिडबाट आवाज आउँछ, त्यो कुनै एकजनाको आवाज थिएन, बरु लाखौँ नेपालीहरुको आवाज थियो । कोरोना भएकै डरले कतिपयले आत्महत्या गर्ने प्रयत्न गरे, कैयौँ ज्वरो खाँसो भएपछि कोरोना भनेर बिना कुनै उपचार एकान्त मै मरे, यस्तो बिजोग छ ।

अहिले कसैले तीन दिन, कसैले चार दिन त कैसै पाँच दिनसम्म पैदल हिंडेरै आफ्नो देशको बोर्डरसम्म आएको पनि ब्यार्थै भएको छ । आखिर के सोंचेर आका हौँला हामी ? सरकार खुशी हुन्छ, हामीलाई बहादुरीको बेच बृटिशहरुले टाँसेको जस्तै टाँसी दिन्छ ? कति बहादुर हौँ हामी ? पाँच दिनसम्म भोकै, प्यासै आफ्ना बालबच्चाहरुलाई डोर्याउँदै हिंडेर नेपालको बोर्डरसम्म पुग्ने ? उफ……यो दृष्य हेर्दा नालापानी, खलङ्गाको स्मरण हुन्छ ।

बिर्खेले मनमनै गनगन गर्छ । यति गरे पछि त सरकारले स्वागत गर्नु पर्ने, फुलका माला लगाएर बोर्डर भित्र कुनै सुरक्षा केम्पमा राखेर हामी सबैको डाक्टरी गराउनु पर्ने, तर उल्टै सरकारले कुनै पनि हालतमा देश नभित्राउने भन्दै छ । अर्को कुनाबाट आवाज गुँजिन्छ, सबैका आ–आफ्नै प्रश्न । केवल प्रश्नहरु छन् ? तर अनोत्तरित प्रश्नहरु, जसको जवाफ छैन ।

आज यति ठुलो हिम्मतको बाबजुध चैते दशैं नेपाल–भारत बोर्डर मै भोकै प्यासै थकित हालतमा मनाउँन विवश छन् भारत प्रवासबाट स्वदेश फर्किएका नेपाली श्रमिकहरु । उनीहरुका लागि २०७६ को चैते दशैं तितो, दुःखद र ऐतिहासिक बनेको छ ।
२ अप्रेल २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *