कथा : औजार

174 जनाले पढ्नु भयो ।

  • सुरेशकुमार पाण्डे

बिद्रोहको लहर चलेको छ, प्रजाहरुको एकजुट्ताले मेरो पुर्खादेखि चल्दै आएको राजपाठ भत्ताभुङ्ग हुने निश्चित छ । यो खतराबाट कसरी जोगाउँ ? बिक्रमले आफ्नाबाटै गनगन गर्दै “कहिले बगैचाको यो कुना कहिले पल्लो कुना घुम्छ । बाताबरण साँच्चै भन्दा असहज थियो । राजतन्त्र मुर्दावाद ! मुर्दावाद ! जनाधिकार बहालगर ! बहालगर !

अलि परैबाट आएको र्यालीको गगनभेदी नाराहरुले राजाको मुटु धक–धक भएको छ । उसलाई भाउन्ने होला झैँ लाग्छ । त्यहि बगैचाको कुनाबाट उसका एकजना पूर्व सलाहकारले राजाको यो गतिबिधीलाई अबलोकन गर्दै थियो ।

राजाले उप्रति बिश्वास त्यति गर्दैन थियो । उसलाई राजको बिस्वाशको पात्र बन्ने रहर थियो । उ त्यहि मौकाको तलासमा रहि रहन्थ्यो । त्यो जुलुशमा जनताको ओहिरो देखेर राजा डरले थरथर परेको बेला राजको नजिकै पुगेर “महाराज मैले केहि भनु ?”

उ तिर गहिरिएर नियाल्दै’ साहेद कहिले काँही खिया लागेको सिक्का पनि काम लाग्छ भन्छन् । केथा यो सँगपो केहि कला छकि भन्ठानेर, “भन छिट्टै, के छ तँसँग ?” राजाले अलि चर्केरै भन्छन् । नजिकैको कुर्चिमा थचक्कै बस्छ । राजका अनुहारबाट पसिना तपतप खसेको थियो ।

“महाराज बाहिर जुलुसमा आएकालाई सम्मान पूर्वक सम्बोधन गरेर शान्त गर्न सकिन्छ, हजूरले उनीहरुलाई दमन नगरि बक्सियोस् । मैले आफै त्यो जुलुसलाई टुक्रा पार्दिन्छु !” भन्दै राजालाई निश्चित रहन बिन्ति गर्छ ।

राजाले एकछिन उसलाई तलबाट माथिसम्म नियाल्दै– होईन योसँग यस्तो के फर्मुला हुन सक्छ, जो मसँग छैन ! उस्ले मनमनै सोच्छ । “त्यसो हो भने मलाई भनिहाल छिट्टै !” राजाले उसलाई आदेश गर्छन् ।

“महाराज यहाँ भित्ताको पनि कान हुन सक्छ, तसर्थ भन्नु भन्दा मैले यो काम हजुरको अगाडि गरेर देखाए कसो होला ?” भन्दै राजालाई आफ्नो फर्मूला नसोध्न दुबै हात जोडेर बिन्ती गर्छ । जुलुश नजिकै आएको आभास हुन्छ, पूर्व सलाहकारले यो जुलुसलाई औजार बनाएर राजको बिहश्वासको पात्र बन्ने अबसर पाएकोमा मन मनै खुसि हुन्छ ।

सलाहकारले आफ्ना केही बिस्वास पात्रहरुलाई सबै कुरा शंझाएर बिस्तारै त्यो जुलुशमा घुसाउँन सफल भएको थियो । आफुले महाराजको तर्फबाट बोल्ने अनुमति लिन्छ । राजाले पनि अहिले यसैलाई औजार बनाएर यो गौँडालाई ढेकल्नु थियो ।

“हाम्रो देशका महाराजले जनताका सबै मागहरु मानि बक्सिएको छ ।” भन्दै जनतालाई सम्बोधन गर्दै थियो । उता राजाले उसको यो भनाईप्रति आक्रोसित हुँदै थियो । जनतालाई स्वतन्त्रता मिल्नै पर्छ, यसमा महाराजको अर्को मतछैन तर हाम्रो देश बिभिन्न जाति र धर्मको देशहो । यहाँ एउटालाई काखा र अर्कालाई पाखा गराउँन मिल्दै मिल्दैन । बाहुन ठकुरी जिन्दावाद ! जिन्दावाद !

उसको भाषण नसकिदैँ उसैले घुसाएको मान्छेले बिचबाट उठेर नारा लगाउँछ । जनजाति जिन्दावाद ! जिन्दावाद ! अर्कोले बिचबाट उठेर नारा लगाउँछ । दलितहरुप्रति बिभेदको अनत्यै गर ! अन्तै गर ! अर्को उठेर अगाडि सर्दछ । जुलुस भित्रैबाट पत्थर मञ्चमा फाल्छन् । अनि आपसमा पाखुरा ठेलाठेल गर्छन् ।

राजाले तुरुन्तै सेनाहरु पठाएर चुपचाप बसेका जुलुसका अगुवाहरुलाई गिरफ्तार गराउँछ । यसैगरी स्वतन्त्रताको आन्दोलन तिन टुक्रामा तबदिल हु्न्छ । अनि राजालाई त्यो सलाहकारले सम्वोधन गर्न ईसारा गर्छ । “मेरा प्यारा प्रजाहरु तपाईंहरु हिंजोपनि स्वतन्त्र हुनु हुन्थ्यो र आज पनि स्वतन्त्र हुनुहुन्छ । तपाईहरुको केहि कसूर छैन । नेता भनाउँदाहरुले तपाईहरुलाई औजार बनाएर मेरो गर्धन शेर्न लगाउन खोजेका मात्र हुन्, जो सफल भयनन् । म यो देश र जनताका लागि जन्मे र यहिं मर्ने हुँ । मेरा पूर्वजहरुले यो देश र जनताको लागि जीवन अर्पण गरे । आज केहि नीजि स्वार्थका लागि जनतालाई औजार बनाउँदै छन् । राजपाठ खोस्न उक्त प्रजातन्त्रका दुश्मनहरुलाई के सजाए दिनु पर्छ ?” राजाले सोध छन् ।
“मृत्यु दण्ड महाराज !” उताबाट आवाज आउँछ ।

सबैले ताली तररर पिट्छन । राजतन्त्र जिन्दावाद ! जिन्दावाद ! त्यो भिडमा नारा लाग्छ । जनतन्त्रका लागि आवाज बोकेर आएका जेलमा बन्दी बनेका थिए । उक्त पूर्व सलाहकार राजाको बर्तमान सलाहकार मन्त्रि बन्न सफल भयो । राजाले जनतन्त्रलाई काट्ने औजार जनतालाई नै बनायो ।

जातीय संघर्ष र क्षेत्रीय संघर्षलाई औजार बानाएर बर्गिय संघर्ष र जनतान्त्रिक आन्दोलनको जरा काटियो ।

(कथा काल्पनिक हो यसको कुनै ब्यक्तिको निजि जीवन र नामसँग मेल खान गएमा मात्र सयोग हुनेछ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *