कथा : खुसी

  •   
  •  
  •  
  •  
  •  
  •  

412 जनाले पढ्नु भयो ।

  • प्रकाश थापा मगर

एक हुल वसन्तपुर काष्ठमण्डपतिर डौडियो ।

‘के भयो, के भयो ? कसलाई के भयो ?’

‘नाच्दै गरेकी एउटी महिला ढली रे !’

नजिकैको भिडबाट आवाज आयो, तबसम्म ती महिलालाई भिडले घेरी सकेको थियो । भिडले घेरिएको बीच भागमा ती महिला अर्की प्रौढ महिलाको काखमा थिइन् । काखमा टाउको । निस्लोट मुहार । लामो कपाल । एक महिलाले बोटलबाट उनको मुहारमा पानी छर्की रहेकी थिइन् । कसैले चुन्नीलाई पङ्खाको रूप दिँदै हावा दिई रहेका थिए ।

केही बेरमा ती महिलाका आफन्तहरु पनि आए जस्तो लाग्यो । भिडलाई धकेल्दै दुई जना महिला नजिकै आई पुगे ।

‘लौ लौ, हस्पिटल लैजानु प¥यो । जिउका कपडाहरु अलि मिलाई देऊ न ।’

‘एक छिन पर्खिऊँ न । फ्यान्ट भएको हो जस्तो छ । शायद पानीको कमी भयो होला । १०-१५ मिनटमा आफै होश आई हाल्छ कि ?’

टाउको आफ्नो काखमा राखेकी ती प्रौढ महिलाले आत्मविश्वासका साथ भनिन् । आफन्तहरु उनको सुझावप्रति कन्भिन्स भए जस्तो लाग्यो । उनीहरु एक छिन शान्त भएर ती महिलाको वरिपरि बसी रहे ।

‘अलि पर पर बस्नुस् त । यति बेला ताजा हावा चाहिन्छ बिरामीका लागि ।’

ती प्रौढ महिलाले भनिन् । वरपरका मानिसहरुले उनको आग्रहलाई सहर्ष स्वीकार गरे पनि । एकै छिनमा बिरामीलाई ताजा सास लिनलाई सहज होस् भनेर भिडले खुल्ला ठाउँ बनाई दियो ।

ती प्रौढ महिलाको अनुमान सही सावित भयो । केही बेरपछि ती महिलामा होश आए जस्ता लक्षणहरु देखिन थाले । ती महिला अलिकति चल्मलाइन् । विस्तारै अलिकति आँखा खोलिन् ।

‘म कहाँ छु ? मलाई के भएको हो र ?’

‘छोरी, तिमी त बेहोस भयौ नाच्दा नाच्दै ।’

प्रौढ महिलाले विस्तारै भनिन् । होश खुलेकी महिला विस्तारै उठिन्, तिनै प्रौढ महिलाको सहाराले । नजिकै रहेकी अर्की महिलाले उनलाई थप सहारा दिँदै बस्न सघाए । सबैले सुझाव दिए– ‘एक छिन अझै आराम गर्नु पर्छ । अब होश आयो । डराउनु पर्दैन ।’ यो पनि सुझाव माने उनीहरुले ।

होश खुलेपछि मानिसको हुल घट्दै जान थाल्यो । केही बेरपछि ती प्रौढ महिला पनि घरतिर जान थालिन् ।

‘छोरी, अब तिमीलाई होश आयो । अब म गए हुन्छ । तिमीलाई पानीको कमी भए जस्तो छ । औषधि पसलबाट जीवन जल ल्याएर घोल बनाउनू र एक बोटल पानीसित भर्खरै खाई हाल्नू । मलाई पनि जानु प¥यो, नत्र “यी बुढीलाई त रमाइलो पनि ज्यादै नै लाग्छ, अहिलेसम्म पनि नआउने” भन्दै घरमा छोरा बुहारीहरु कराउन थाल्लान् ।’

ती प्रौढ महिला हि“ड्न थालिन् । जवाफमा धरर्र आँशु खसाल्दै, दबिएको स्वरका साथ ती महिलाले भनिन्– ’हुन्छ आमा, जानुस् ।’

प्रतिक्रियास्वरूप प्रौढ महिलाको पनि मन भरिएर आयो । उनले पहिले त ती महिलाको आ“शु पुछिन्, त्यसपछि टाउकोमा हात राखिन् । शायद उनले आशिर्वाद दिएकी थिइन् । आफ्नो सानो पातलो पछ्यौरीले आँखाको कुना पनि पुछिन्, कसैले थाहा नपाउने गरी । उनको मन पनि त्यत्तिकै गहु्रङ्गो भएर आएको थियो ।

उनी हिँडिन् । एक झोक्का चिसो हावा पनि चल्यो । हावाले दुवै काम ग¥यो– भर्खरै ब्युझिएकी महिलालाई ताजा अक्सिजन दियो र प्रौढ महिलाको बिदाइ पनि ग¥यो । चिसो हावाको झोक्काप्रति हृदयतलबाट सह«दयता प्रकट गर्र्दै ती महिलाका कपडा एक छिन अलिकति फुङ्ग उडे । त्यसपछि हावा आवाजहीन भएर मन्द गतिमा बग्न थाल्यो ।

तीजको दिन । भदौको अन्तिम हप्ता । मध्याह्नको समय । वसन्तुपरमा शायद महिलाहरुका लागि वर्षभरिको दुःख र खुसी पोख्ने दिन । सातै काम बिताएर भए पनि वसन्तुपर पुग्दा मन हल्का हुने विश्वास महिलाहरुको थियो । प्रत्येक वर्ष त्यसै दिन त्यहाँ महिलाहरुको घुइँचो लाग्दथ्यो । समूह समूहमा महिलाहरुको नाचगान चल्दथ्यो, साँझसम्मै । कसैसँग लाउड स्पिकर हुन्थ्यो, कसैसँग हुन्थेन । नहुनेले पनि तालीको सङ्गीतमा सुर र लय मिसाएर वातावरणलाई सङ्गीतमय बनाई दिन्थे । त्यसमाथि महिलाहरुको उन्मुक्त मुद्रामा नृत्य । आखिर नृत्य उन्मुक्त मनोभावलाई प्रकट गर्न सकिने एउटा विधा पनि त हो ।

वसन्तपुरको त्यो सौन्दर्यबाट म मुग्ध थिए । समयले साथ दिएसम्म म वसन्तुपर पुग्दथेँ नै, प्रत्येक वर्ष । दुई÷तिन घण्टा त्यहाँ रम्न पाउँदा संसारकै बेजोड फिल्म वा नाटक हेरेको भन्दा मलाई बढी आनन्दको अनुभूति हुन्थ्यो । त्यसमाथि कथाको ‘प्लट’ प्राप्त गर्नु मेरो अर्को उद्देश्य हुन्थ्यो । एक त वसन्तपुरका पुरातात्विक सम्पदाले मलाई ऐतिहासिक प्रकृतिका आख्यान लेख्न प्रेरणा दिन्थ्यो । अर्कातिर, तीजको अवसरमा त झन् बेग्लै सौन्दर्य वसन्तपुरभरि पोखिएका हुन्थे ।

बेहोश महिलालाई देख्दासाथ मैले कथाको नयाँ ‘प्लट’ फेला परेको महसुस गरे“ । त्यसका लागि ती महिलासित थोरै भए पनि कुराकानी गर्नु आवश्यक थियो । तर सरासर गएर उनीसित कुरा गर्दा जुनसुकै अर्थ पनि लाग्न सक्दथ्यो । उनीहरुले षडयन्त्रको गन्ध महसुस गर्न सक्दथे । त्यो समस्या समाधान गर्न एउटा उपाय निकाल्नु पर्ने थियो । मैलै उपाय पनि फेला पारेँ ।

वसन्तपुर परिसरभित्र औषधिका पसलहरु थिएनन् । म न्यूरोडतिर फर्किएँ । औषधि पसलबाट पा“च पोका ओआरएसको प्याकेट र त्यही“बाट एक बोटल पानी पनि किनेँ । त्यसपछि म सरासर ती महिलाछेउ पुगेँ । यतिखेर त्यहाँ बिरामी महिलाका साथ अरू दुई जना महिलाहरु रहेछन् ।

‘ल, यो जीवन जल र पानी, खाई हाल्नुस् त ।’

तर मेरो प्रस्तावले उनीहरुलाई असमञ्जसमा पारी दियो । उनीहरु पहिले त आपसमा नै मुखामुख गर्न थाले । त्यसपछि घरिघरि मलाई हेर्न थाले, तबसम्म मैले बुझी सकेको थिएँ– एउटा अपरिचित व्यक्तिले दिएको जीवन जल र पानी खान उनीहरु तयार थिएनन् ।

‘म पत्रकार, डराउनु पर्दैन ।’

मैले आफ्नो आइकार्ड देखाउँदै भनेँ । त्यसपछि मैले उनीहरुलाई अलि सितलतिर बसौँ भनी प्रस्ताव गरेँ । उनीहरुले मेरो प्रस्तावलाई अस्वीकार गरेनन् । काष्ठमण्डप परिसरभित्रै बसेर मैले एक पोका ओआरएस पानीको बोटलमा मिसाए“ । अलि अलि हल्लाएर बेहोश भएकी महिलालाई दिएँ । उनले बोटलको एक–चौथाइ जति पानी पिइन्, एकै पटक ।

‘हजुरको नाम ?’

‘सुनिता ।’

’उहाँहरु को नि ?’

‘उहाँ मेरी जेठानी, यो चाहि“ बहिनी ।’

उनीहरु मसित अलिकति खुल्न थाले । मैले अझै वातावरण सरस बनाउन थपेँ–
‘साख्खै बहिनी ?’

‘हो नि, साख्खै बहिनी, कान्छी । मलाई तीजमा लिन आएकी ।’

यत्तिकैमा जेठानी बताइएकी महिला बोलिन् :

‘म चाहिँ साख्खै होइन । उसकी ससुरा र मेरा ससुरा दुई भाइ हुन् रे । फेरि पनि म सुनिताकी जेठानी त परी हालेँ ।’

म एक छिन हासेँ । उनीहरु पनि हासे । सुनिता भने खुलेर हासिनन् । शायद उनको शारीरिक अवस्था अझै सहज भई सकेको थिएन ।

म मनमनै हतारिई सकेको थिएँ । डर थियो– कतै यस्तै अनौपचारिक कुरा गर्दा गर्दै उनीहरु हि“डी हाले भने ? त्यसरी त मेरो हातमा आएको ‘प्लट’ गुम्न सक्दथ्यो । त्यतिखेर मलाई निकै पछुतो हुन सक्दथ्यो । त्यस कारण म मुख्य बिन्दुमा प्रवेश गरी हालेँ ।

‘कस्तो नाच्दा नाच्दै लड्नु भएछ त ।’

मलाई आशा थियो, सुनिताले नै केही बताउलिन् त्यसबारे, तर उनकी जेठानी पो बोल्न थालिन् ।

‘यो नाच्न जान्ने त होइन । कहिल्यै नाच्दिनँ पनि । आज के भएछ कुन्नि ? नाच्न तम्सिइछ ।’

अब कान्छी बहिनी बोलिन्– ‘त्यो गीतले गर्दा हो । दिदीको मनमै लागे छ क्या त्यो गीत ।’

‘के गीत थियो र त्यस्तो ?’

मैले जिज्ञासा राखेँ । आखिर गीतले उद्वेलित गरेर नाच्न बाध्य भएको जानकारी पाएपछि मेरो जिज्ञासा बढेर गयो ।

अब भने बाध्यतावश केही बोल्नै पर्ने अवस्था आई लाग्यो सुनितामाथि । उनले सुस्तरी आफूले सुनेको गीत शब्दशः बताइन्, तर लयमा होइन ।

“केको लाज मलाई देखाउँदै नाच्छु फुटेका हत्केला
बाउ बराजुको साँघुरो आँगन भत्के नि भत्केला
हाई मेरो फरिया”

‘यो गीतले मेरो मन छोयो, त्यसपछि अन्तिमसम्मै नाचेँ ।’

“रेशमको सारी भइँभरि झरी ढल्किँदै नाचिन्छ
आघुँको साल खै क्या हो क्या हो मरिन्छ–बाचिन्छ
हाई मेरो फरिया”

‘त्यसपछि त ढले छु ।’

सुनिताको सङ्क्षिप्त जवाफले मेरो जिज्ञासा झनै बढेर गएको थियो । आखिर त्यो गीतले उनको मन किन छोयो त ?

‘तपाईकै मात्र मन छुनु पर्ने किन नि ? त्यत्तिका अरू धेरै महिलाहरु पनि थिए नि त्यहाँ त ।’

मैलै जिज्ञासा प्रस्तुत गरी सक्नुभन्दा पहिले नै जेठानी केही बोल्न खोजे जस्तो लाग्यो । मैले आफ्नो जिज्ञासालाई लम्ब्याउन चाहिनँ ।

‘सुनिताको घर त्यस्तै त थियो पहिले । अहिले पनि धेरै फरक कहाँ छ र ?’

अब अलि खुलेर सुनिताकी जेठानीले बताइन्–

‘सुनिताको पहाड घर पर्वत जिल्लामा थियो । बुबाले छोरी सुखी होस् भनेर धेरै जमिन, पाखापखेरो भएको पराजुली थरका केटालाई सुनिताको सिउँदो सुम्पी दिएका थिए । हुन पनि गाउँमा धनी भनेको धेरै जग्गा जमिन भएकालाई मान्ने चलन अहिले पनि छ । घरमा पाँच भाइ छोरा र दुई बहिनी छोरी । सुनिताको विवाह जेठो छोरासित भएको थियो । सुनिताको पति बाहेक अरू सबै देवर र नन्दहरु स्कुल जाने । विस्तारै सबै हुर्कंदै गए । सबैको विवाह पनि हुँदै ग¥यो, तबसम्म घरको कामको बोझ सुनितामाथि नै हुन्थ्यो । पुछारमा काली गण्डकीको तिरमा खेत, घर वरिपरि बारी । टाढाको खेत, तर अक्षताका लागि भए पनि धान रोप्नै पर्ने । घरको मुख्य खान्की आटो पिठो । त्यसका लागि कोदो नरोपी नहुने । वैशाखमा पानी पर्दा बित्तिकै मकै छर्ने र कोदोको बिउ सँगसँगैजसो राख्नु पर्ने । जेठको अन्तिमतिरबाट कोदो रोप्नु सुरु गरी हाल्नु पर्ने । टण्टलापुर घाम र झरी बादल नभनेर कोदोको खेती गर्नु पर्ने । कोदोको खेती त्यसै पनि दुखालु । हिउँदमा घासको दुःख अलग्गै, सधैजसो । गाईगोरु फुकाउनु पर्ने । भैंसीलाई घास पुर्याउनै गाह । देवर, नन्दले स्कुल नभएका बेला सघाउथे । पछि पछि देवरहरुका विवाह भयो, तर सुख फेरि पनि टाढै । सुनिताका चार सन्तानहरु, तिन छोरा, एक छोरी । देवर–देउरानीहरु भन्न थाले– जसको जहान धेरै, उसैले काम पनि धेरै गर्नु प¥यो नि । त्यो कामको बोझले सुनिता लौरी जस्तै भएकी थिई ।

पछि सुनिताका पतिले आफ्नो शिक्षक जागिर काठमाडौतिर सरुवा गराए । त्यसका पछाडि सुनितालाई केही सुख दिने मनसाय पनि थियो उनको पतिको । तर प्राथमिक विद्यालयका हेड मास्टरको जागिरले मात्र काठमाडौँ बसाइ“को खर्च नचल्ने । सुनिताले पनि पसल व्यवसाय गर्नु पर्ने भयो । सुनिताले आठ कक्षासम्म पढेकी थिइन् । नौ कक्षामा भर्ना हुने बेलामा उनलाई माग्न आए । यत्तिको पढेको केटो र जग्गा जमिन भएको पाइदैन भन्दै सुनिताको विवाह भएको थियो । काठमाडौँमा पसल र चार जना छोराछोरीको हेरचाह, तर श्रीमानको जागिर, जसले गर्दा घरायसी काममा सघाउ नहुने ।

काठमाडौँमा आएपछि सुनितालाई एउटा राहत भने अवश्य मिल्यो । अब उनलाई सासू–ससुराको दकसमुनि रहन नपर्ने भयो । यो एउटा सुख वाहेक उनको दुःख सहरमा आएर पनि खासै कम भएन । बिहान ४ बजे उठेर छोराछोरीहरुका लागि खाना, खाजा बनाउनु, दिउसोभरि र साँझ आठ÷नौ बजेसम्म पसलमा बस्नु, त्यसपछि खाना बनाउनु, कपडा धुनु जस्ता कामले सुनितालाई धपडी हुन्थ्यो । छोराछोरी र श्रीमानले धेरै थोरै काम अवश्य सघाउथे । तर उनीहरुको पनि आ–आफ्नै व्यस्तता थियो । जसरी एउटी जिम्मेवार गृहिणीले घरको काम मसिनो गरी पहिल्याउन सक्थे, त्यो स्थिति छोराछोरी र श्रीमानका तर्फबाट हुन सक्दैनथ्यो । यसरी बाहिरी आवरणमा साहुनी, सुखी देखिए पनि सुनितामाथि कामको बोझ अझै पनि त्यस्तै थियो ।’

जेठानीको बयान सुनिताले सुनी रहेकी थिइन् । उनले त्यसको न प्रतिवाद गरिन्, न स्पष्टीकरण नै, बरु भन्न सकिन्थ्यो– जेठानीको बयानप्रति उनको मौन समर्थन थियो ।

‘जेठानीको बयान सत्य हो त ?’

मैले घटना विवरणप्रति बनावटी आशङ्का व्यक्त गर्न खोजेँ । तर सुनिताले जवाफ फर्काइनन् । यसबाट प्रमाणित हुन्थ्यो– जेठानीको बयान नै सुनिताको जीवनको वास्तविकता थियो ।

अब मेरा लागि सुनितासितको वार्तालापको प्रयोजन समाप्त भइसकेको थियो । तैपनि जुरुक्क उठेर हिँड्नु अस्वाभाविक नहोस् भनेर मैले एउटा अन्तिम प्रश्न तेस्र्याई हाले :

‘तीजलाई महिलाहरुको पर्व ठानिन्छ । त्यस्तो पनि के पर्व ? आवरणमा पर्व जस्तो देखिए पनि यथार्थमा महिलाहरुले क्षणभरका लागि पनि खुसी महसुस गर्न नसक्ने ?’

‘मलाई खुसी नभएर के भयो र ? मेरा कारणले मेरो परिवार चली रहेको छ । श्रीमानले इज्जतसँग नोकरी गरी रहनु भएको छ । छोराछोरीहरु राम्रै स्कुलमा पढी रहेका छन् । घरमा हुँदा पनि त राम्रै थियो । छिमेकीहरु सासू–ससुरासित कस्तो कामकाजी बुहारी पाएको भन्ने गर्दथे । यहाँ पनि श्रीमानले कति पटक भनेको सुनेको छु– आज हाम्रो परिवार जे जस्तो अवस्थामा छ, त्यो सुनिताकै कारणले हो । अनि, छोराछोरीहरु भन्ने गर्दछन्– “मम्मी इज द ग्रेट !” यही खुसी नै मेरा लागि गौरव हो । सक्रियताको कारण हो । मलाई जेसुकै हुनु परोस्, तर मेरो घर–परिवार दुःखी हुनु नपरोस् । मलाई अरू कुराको पर्वाह छैन । सबैलाई एक दिन जानै पर्ने हो ।’

सुनिता विस्तारै उठिन् । उनलाई उनकी जेठानी र बहिनीले उठ्नमा मद्दत गर्न खोजे । तर उनले त्यो आवश्यकता महसुस गरिनन् । त्यसपछि उनीहरु तिनै जना विस्तारै हिँड्न थाले । हिँड्दा हिँड्दै सुनिताले सयको नोट मतिर तेस्र्याउँदै भनिन् :

‘जीवन जल र पानीको पैसान लिनुस् ।’

मैले लिन्नँ भने । उनीहरु न्यूरोडतिर लागे । त्यहाँबाट उनीहरुलाई नारायणस्थानको हाइस पक्रनु थियो । म भने सोच्दै रहेँ– यस्तै अरूको खुशीका लागि बाच्नेहरुको सत्ता संसाभरि हुने हो भने मानव जगत नै कति सुखी हुन्थ्यो होला ? मैले मनमनै सलाम गरेँ ः जय सुनिता र जय सुनिता प्रवृत्ति !

२०७३ साउन
कपन, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *