कथा : जिरेलाई विश्वासमा संकट आएको त्यो दिन

379 जनाले पढ्नु भयो ।

जनक पौडेल

(यो कथा केवल काल्पनिक हो, यदि कहिं कतै मिल्न गए संयोग मात्र हुने छ ।)

एउटा गाउँमा जिरे नाम गरेको साक्षर तर धेरै नपढेको मान्छे थियो । उसलाई कुनै एक जना मान्छेले– “संघ संस्थामा लाग्नु पर्दछ । ज्ञान गुनका कुरा सिक्नु पर्दछ । आफुमाथी परेका अन्याय अत्याचार विरुद्ध आवाज उठाउनु सक्ने हुनू पर्दछ । त्यसको लागि संगठित हुन आवाश्यक पर्दछ । कुरा बुझ्नु पर्दछ । उठ्नु पर्दछ सबै हामी जस्तै निमूखा र निर्धाहरु एक ठिक्का भई जुट्नु पर्दछ । आफ्नो अधिकार मागेर होईन खोसेर ल्याउनु पर्दछ” भन्दै संझाएछन्, जिरेले गम्भिर तरिकाले कुरा सुनेछ ।

घर गएर आफ्नी वुढिसँग– “ए वुढि.. एकजना मान्छेले यसो यसो भने.. संगठित हुन पर्छ रे । आफ्नो मुक्तिको लागि । आफै लड्नु पर्दछ रे ! … अब ति मान्छेले भनेको कुरा तिर विचार गर्नु पर्दछ कि ! साह्रै सिधा भईयो ।”

“खै.. कसो हो तिम्रो कुरा ! जता लागे पनि आफ्नो दुःख कहि जाने होईन.. आफुले दशनंग्रा नखियाई मुखमा जाउलो लाग्ने होईन । जे सुकै गर ! तर केहि बाठो भने हुन पर्दछ । हामीले जसरी जिवन गुजारेका छौ । हाम्रा सन्ततिले पनि यसरी सबै दुःख सहन नपरोस् . वुढा.., दिनहरु वित्दै गए ।” बुढिले थप्छीन् ।

जिरेको मनमा कुरा खल्नसम्म खेले । त्यो संझाउने मान्छे बारे बुझ्न लागिपरे । सोध्ने र बुझ्ने क्रममा जिरे जस्तै मान्छेहरुले भने– “ति राम्रा मान्छे हुन् । गरिव दुखिहरुलाई राम्रो सहयोग गर्दछन् । कुराहरु बुझ्न पर्छ भन्छन्” भने कोहि कोहिले– “त्यसको काम छैन, गाउँ भडाउन हिड्या छ । ख्याल गर तिमिहरु घर नघाट हुन सक्दछौ । आमाको लाम्टो चुसेर नभएको बाऊको घुँडा चुसेर हुन्छ ? मानिस दुखि हुने सुखि हुने आफ्नो चाँदोमा भाविले लेख्नु पर्दछ । कहि खोजेर र अरुको रिस गरेर पाईन्छ ? त्यस्ता मान्छेका कुरा सुनेर बहकिनु भन्दा आफुले गर्दै आएको धन्दा गर्ने बस्ने पो गर्नु नि !”

जिरे यि दुबै तर्फका कुराबाट गहिरो सोंचाईमा पर्यो “खै के खै के….।” जिरेको मनमा कुरा खेल्न छोडेन ।

केहि दिन पछि त्यो पहिला संझाएको मान्छे संयोगबस जिरेसँग भेट्ने अवसर मिल्यो । यि सबै कुरा त्यो मान्छेलाई जिरेले बेलिविस्तार गर्यो । त्यो मान्छेले मुसुक्क हास्दै.. “यहि समस्या छ हामीमा.. आफ्नो मुक्ति अरुको चरणमा खोज्ने..” धेरै संझायो त्यो मान्छेले ।

अब जिरेले ठुलो श्वास फेर्दै आफुले निर्णय गर्यो– “हुन्छ हजुर म अब कसैका कुरा सुन्दिन मलाई कहाँ राख्ने मैले के काम गर्न पर्ने हो.. कोसँग चिनजान गर्ने.. मलाई हजुरले नै सबै चाजोपाँजो मिलाई दिनुस् । मलाई केहि थाहाँ छैन । अब म कुरा बुझ्न अघि वढ्दछु ।”

अनि ति मान्छेले– “हुन्छ.. तपई एक्लै गर्ने काम होईन, तपाई हामी अरु सबैले सर सल्लाह गर्दै गर्ने काम हो” भन्दै त्यहि दिन अरु गाउँका जिरे जस्तै मान्छेहरु जिरेको घरमा भेला भए ।

“हामीले गर्ने काम भनेको अन्याय अत्याचारमा परेका मान्छेहरुलाई न्याय दिने । आफ्नो मुक्तिको खातिर आफै कुरा बुझि अघि वढ्ने हो, हामी मिल्नु पर्दछ । हाम्रा कुराहरु ब्यापक छलफल गर्नु पर्दछ । त्यसको लागि हामीले एउटा विधि पद्धति बनाउनु पर्दछ । अत्यन्तै अनुशासित हुदै जनताहरुको विचमा नमुना बन्न सक्नु पर्दछ । ता कि जनताहरुले हामीलाई पुर्ण विश्वास गरुन् ।”

ति मान्छेले धेरै बेरसम्म कुरा बुझाउन लागे जिरे सहित सबैले उनका कुरा ध्यान पुर्वक सुनिरहे…त्यस पछि… त्यहाँ भेला भएका मान्छेहरु सबैलाई काम कर्तब्य जिम्मा भाडफाड गरियो ।

दिनहरु वित्दै गए जिरेले कुरा बुझ्दै गयो । अन्य गाउँका मान्छेहरुलाई पनि बुझाउँदै गयो । जिरे आफ्नो काम र कतव्र्यप्रति अत्यन्तै इमान्दार र निष्ठाबान बन्दै गयो । समयको रप्तार संगै जिरेलाई पहिला संस्थामा ल्याउने कुरा बुझाउने मान्छे अन्य स्थानको जिम्मा लिएर गए । अब जिरेले पनि धेरै कुरा बुझ्दै गयो । जिरेले आफुलाई सिकाएका कुराहरु अनुशरण गर्दै परिपक्क बन्ने अबस्थामा आई पुग्यो । आफुसंगै संस्थामा रहेका मानिसहरुसँग छलफल गर्ने कुरा सिक्ने प्रश्न गर्ने हैसियत राख्ने हुदै गर्दा । समयको क्रममा एक दुई जना मानिसहरु यस्ता ब्यहोर्न पर्यो ।

काम पनि नगर्ने कुरा ठुला गर्न पनि नछोड्ने । सहयोगको साटो खाली भाडोभैलो मात्र गर्ने । जिरेले धेरै पहिलादेखि यस्ता गतिविधि नजिकबाट नियाल्दै आएको थियो । मन मनै– “किन होला यस्तो हुने, निहुँ मात्रै खोज्ने” धेरै दिन सुन्यो बुझ्यो कसै गरे पनि तर्कसंगत कुरा केहि छैन र कुरा पनि कसैका सुन्दैनन् । यि र यस्ता कुराहरु.. जिरेका मनमा बर्षौदेखि खेलिरहे तर केहि भ्याउ पाउन सकेन ।

अनि विगत संझिदै सोच्यो.. “मलाई त्यो मान्छेले तसंगै मिलेर काम गर्ने हो हामी एउटै परिवार जस्तै हो भन्ने गर्दथे । यहाँ त ठिक विपरित हुदैछ । विना सित्तैको बखेडा ब्यक्तिगत रिसराँग पनि केहि छैन….” जिरेले गहिरा कुरा बुझ्न चाहन्न मात्र इमान्दारिता पुर्वक आफ्नो काम कतव्र्य पहिलो उसको प्राथामिकता ठान्दछ । अरु कुरा समय संगै बुझ्ने हो भन्दछ । उसले ब्यवाहार हेर्दछ ताकि कति कतव्र्य पुरा भए र जनतालाई कति प्रभावित गर्न सकियो र दुःखमा सम्भव मलम पट्टि गर्न कति सकियो र कहाँ चुकियो ।

धेरै समय पछि जिरेलाई कुरा बुझाई अघि वढाउने मान्छे एक दिन भेटघाट गर्न आए सबै कुराकानी जिरेले भन्यो । उसलाई आफ्नो आदर्श ठान्दै बहुत सम्मान गर्यो । जिरे त निर्धक्क छ । ति मान्छेले सिकाएका कुराहरु आफुले रतिभर दायाँ वायाँ गरेको छैन, तर विडम्बना भईदियो अर्कै । जसलाई जिरेले विश्वास मानेको थियो ति मान्छेमा नब्बे डिग्रीको बदलाव आएको रहेछ । जसले भडुवाँ कार्य गर्दै आएका थिए । आफ्नो काम कर्तब्यप्रति कत्तिपनि जिम्मेदार थिएनन् ।

त्यस प्रकारका मान्छेलाई जिरेले आदर्श ठानिएका मान्छेले काखि चाप्दै उल्टै विचरा जिरे जस्ता मान्छे विरुद्ध प्रयोग गर्न पो थाले । तव जिरे तिन छक पर्दै ए बा ! यस्तो पनि हुन्छ ! म निदमा त छैन ! आफुलाई नै चिमोट्न थाल्यो । तर कुरा साँचो रहेछ जे उसका अगाडि उसले देख्यो भोग्यो त्यो सत्य रहेछ भन्ने क्रमसं भ्याउ पायो ।

अब जिरेले आफुलाई सिकाएका कुरा र काम कतव्र्य नछोड्ने अठोट लिदै गहिरा कुरा बुझ्न पट्टी अरु उत्सुकुता पूर्वक जाग्यो तर मनमा गहिरो चोट भने पर्यो । कि आफुलाई सिकाएका गुरुले आफैले सिकाएको कुरा विपरित गर्दै हिड्नेहरु कसरी ठिक भए र मान्नेहरु कसरी अर्गेला बन्न पुगे ? त्यसैले जिरेलाई ति सिकाउने मान्छेप्रति विश्वासमा पहिरो गयो, संकट पर्यो । तर अरु रहस्य बुझ्न जिरे गहिरो तरिकाले आफै कोशिस गर्ने अठोट गरिरहेको छ ।

धेरै गहिरो कुरा बुझ्न भन्दा पनि जिरेलाई सिकाएको कुरा र आफ्नो कतव्र्यप्रति बढि चासो छ । त्यसैलाई तराजुमा जोख्ने बानी पर्यो । उसले ब्यवहारिक पक्षलाई नजिकबाट नियाल्दछ । उसलाई सिकेको र सिकाएको कुराप्रति औधि विश्वास मान्दछ । सिधा जिरेलाई एकै चोटी धेरै बुझ्न सक्ने ज्ञान र क्षमता छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *