कथा : बचन

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

256 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

“सिमा, कति पल्ट भन्नु पर्छ तिमिलाई केटाकेटीलाई आमासँग खान नदिए भनेको होईन मैले ? आमाको नजिक नबसाल आमा रोगी हुँनुहुन्छ । बाबु नानी साना छन्, रोग सल्किन सक्छ । तर तिमिले कुरा बुझ्दै बुझ्दैनौ” रवीले झौँक्किदै सिमालाई हप्काउँछ ।

“तपाईलाई यसरी जोडसँग कराउन किन पर्छ ? आमाले सुनेपछि आमाको मनमा कस्तो असरपर्ला ? हेक्का छ तपाँइलाई ?” सिमाले रवीलाई सम्झाउँने प्रयात्न गर्छे ।

कालीले भर्खर खान थालेकी हुन्छिन् नाति र नातिनीलाई ख्वाई दिँदै आफुले पनि खाँदै गर्दै गर्दा छोराको कुरा कानमा परेपछि उनी आफ्नो थाल लिएर बाहिर दलानमा जान्छिन् ।

सिमा र रवीका स–साना बाबु र नानि छन् । उनीहरुले प्रायःजसो हजुरआमासँग समय काट्थे खाना पनि सँगै खान्थे उनीहरु हजुरआमासँग खुब घुलमिलेका थिए । यो देखेर रवीको अनुहार केहि दिनदेखि अमिलो हुन्थ्यो । जुन दिनदेखि कालीलाई खोकी लागेको थियो । बुढेस्कालमा केहिन केही बिमारी त हुन्छ नै ।

आज रवीको कुराले कालीको हृदयमा तिखो कांडो गडेको जस्तै महशुस् भएको छ । दलानमा आएर भित्ताको अडेस् लागेर बसेकि थिइन् । खानाखाने प्रयत्न गरिन् तर ब्यार्थै भयो । घाँटीबाट तल जाँदै गएन । आँखाबाट आँशुका ढिका खस्छन्, मन खिन्न हुन्छ ।

आफुले खान नसकेपछि भात एकातिर राखेर बसेकी थिइन् । नाति नातिनीहरु कोठामा खान छाडेर खेल्न थालेका थिए । “तिमिलाई थाहा छ ? आमा केहि दिनबाट खास्दै हुनुहुन्छ । मलाई शंका छ टीवी पनि हुन सक्छ ।” रवीले बिस्तारै सिमालाई भन्छ ।

“हजुरले अंघी चिच्याउँदा आमाले सुन्न पनि सक्नु हुन्छ ।” सिमाले रवीलाई सम्झाउँन खोज्छे । “बरु डाक्टर हुनी लगेर राम्रैगरी जाँच गराउँनुस्”

रवीले भात खाएर जान ढिलो भएको छ, उसले फटाफट खान्छ– “मलाई थाहा छैन, अलि सम्लिनु, मलाई सम्झाउँनु भन्दा मैले जे भन्छु त्यसैमा ध्यान पुराउ” भन्दै रवी बाहिर निक्लिन्छ ।

दलानमा बसेकि काली मुर्छा परेको झैँ भित्तामा अडेस लागेकि थिइन्, आँखाबाट आशँु बगेको थियो । आमालाई नदेखेको जस्तै गरेर रवी त्यहि दलानबाट बाहिर निस्किन्छ ।

यो त्यहि रवी हो, जस्को मुख हेरेर काली बाँचेकी हुन् । रवी गर्वैमा छँदा उनको लोग्ने भिरबाट लडेर मरेका थिए । आफुले सकि नसकी अरुको घरको काम गरेर भए पनि रवीको राम्रो पररिस गराईन । पढाई लेखाई गराएर आज उ एउटा इञ्जिनियर भाकोछ ।

रवीलाई यहाँसम्म पुराउँन कालीले कति कष्ट झेल्नु परेको थियो । हिंजो आफुले पिठ्युमा बोकेर अर्काको मेला गरेको, उसलाई ताते गराउँदै हिंड्न सिकाएको अनि आफुले चपाएर उसलाई ख्वाएको एक एक कुरा कालीलाई झलझली आँखाको वरिपरी घुम्दै थियो ।

बच्चाहरु भित्र कोठामा खेली रहेका र आमालाई नदेखेपछि सिमा दलानमा आउँछिन् । आमालाई रोएको देख्दा उनले कुरा बुझिहाल्छिन् । रवीको स्वर टाठो थियो, आमाको कानमा रवीले भनेको पर्यो भन्ने कुरा बुझेपछि– आमाको गालामा बगेको आँसुलाई आफ्नो पछ्यारी पानीमा भिजाएर मुख पुच्छन थाल्छिन् । उनको हातको स्प्रसले काली झसिङ्ग हुन्छिन् ।

“आमा के भयो, किन रुनु भाको ?” भन्दै गालामा कपडाले आँसु पुच्दिनछिन् । कालीको बोलि फुट्दैन बरु उनलाई झनै भक्कानो पर्छ । आँशुको बलेनी पर्छ । सिमाले आफ्नो अँगालोमा कस्दै– “थाहा छ आमा हजुरलाई गहिरो पिर परेको छ । रवीको तर्फबाट मैले माफि माग्छु आमा रवीलाई क्षमा गरिदिनु होला । उनले मुखमा जे आयो त्यही बोल्छन्, तर आमा हजुरलाई धेरै मायाँ गर्छन ।” भन्दै सिमाले बिस्तारै आँशु पुच्छिन् ।

कालीको आँशु कहाँ रोकिन्छन आँखाबाट बग्ने आँशुको मुल त हृदय हो । कालीले केही बोल्न सक्दैन मनमनै– “काश सिमा मेरै कोखबाट जन्मिन्थी ।” सिमालाई बुहारीको रुपमा पाएकोमा पनि कालीलाई गौरभ थियो । बुहारीको ब्यबहारले धेरै राहत महशुस गरेकी थिइन् ।

एकै छिन पछी नाती र नातिनी हजुर आमाको नजिक आउँछन् नाती आएर काखमा बस्छ नातिनीले कपाल मसमसाउँछे । ना–नातिनाको माँया देखेर काली झनै भाबुक हुन्छिन् । उनको मनभित्र एउटा शंकाको छाप बसेको छ– “आफुसँग के यस्तो बिमारी छ, जो आफ्ना फुलजस्ता बाबु र नानीलाई सर्न सक्छ ? यदी साँच्चै त्यस्तो छ भने मलाई ति बाबु नानीबाट टाडै बस्नु पर्छ ?” भन्दै मनैमनमा कुरा खेलाउँछिन् ।

ठिक यहि बेला उनलाई जोडले खोकी लाग्छ, सिमाले उनको टाउकोमा जोडले दबाई दिन्छिन् र एकछिन पछि खाँसो रोक्किन्छ उनका हात छोपेर बिस्तारै बिस्तार आगनमा घुमाउँछिन् । करेसामा टोप्रेको झार टिपेर महमा अरु के–के पकाएर खान दिन्छिन् । “बुहारी तिमिले मेरो कती ख्याल राख्छेउ, तिमिलाई बिमारी सल्किने डर लाग्दैन ?” कालीले आफ्नो बुहारीलाई सोध छिन् ।

करुणा भरिएका आँखाले पिर्लुक्क हेर्दै– “आमा हजुरलाई कुनै पनि बिमारी छैन जो अरुलाई सर्छ ।”

“त्यसो ता तैँले भन्छेस् तर रवीले त्यो दिन मलाई टीवी हुन सक्ने भन्थ्यो, त रवीले ?” कालिले आश्चर्या प्रकट गर्दै सोध छिन् ।

“आमा, रवीले बाबुलाई अन्धो मायाँ गर्छन्, त्यही भएर हो । जे मन लायो त्यहि भन्छन् कामको बोझ भएर पनि होकी अलि चिढचिढाहट भएको देखिन्छन् । हजुरले चिन्ता नलिनुस्, मैले हजुरको सबै बिमारी जाँच गराई दिन्छु ।” भनेर उनलाई आस्वासन दिन्छिन् । अस्पताल लगेर जाँच गराउँदा कालीलाई कुनै बिमारी थिएन । एउटा छोराले दिएको भर्खरको घाउ बाहेक ।

२३ जुलाई २०२०

(पात्रका नाम र कथा एउटा काल्पनिक हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *