कम्युनिस्ट पार्टी असन्तुष्ट वा कुण्ठाग्रस्त भिड होइन

  • रामप्रकाश पुरी

कम्युनिस्ट पार्टीमा आबद्ध हुने सबै पार्टी सदस्यले एउटै साझा राजनीतिक लक्ष्य बोक्नु पर्दछ र त्यो साझा लक्ष्यका लागि फरक विचारका बाबजुद पनि सामूहिक निर्णयलाई कार्यान्वयन गर्नु पर्दछ । यो भन्नुको अर्थ हो– आफ्ना आम सदस्यको साझा राजनीतिक उद्देश्य बोकेको कम्युनिस्ट पार्टीभित्र छुट्टै अस्तित्वका साथ फरक राजनीतिक उद्देश्यको डङ्का पिट्दै अर्को कुनै संस्था जन्मिन सक्दैन ।

तर यो निरपेक्ष कुरा होइन भन्ने कुरामा पनि हामी प्रष्ट हुनुपर्दछ । पार्टीले आवश्यकताका आधारमा ठोस निर्णय गरेर त्यस्ता कतिपय संस्थालाई जन्म दिन्छ । त्यो संस्था जन्माउनका लागि कुनै व्यक्ति विशेषको इच्छा वा गुनासो होइन, पार्टी स्वयम्को निर्णय चाहिन्छ । यसको अर्थ हो– पार्टीको निर्णय र त्यसको कार्यान्वयन । त्यस प्रकारका संस्था, जसलाई हामी जनवर्गीय सङ्गठन भन्दछौँ, केही सामाजिक संस्था वा केही पेशागत सङ्गठनलाई पनि त्यसरी नै बुझ्दछौँ, जसले छुट्टै राजनीतिक उद्देश्य होइन, कम्युनिस्ट पार्टीको राजनीतिक उद्देश्य पूरा गर्नका लागि काम गर्दछन् । तिनीहरूले कम्युनिस्ट पार्टीकोे विरोधभासमा होइन, पार्टीको इच्छानुसार आफूलाई साँचोमा ढाल्दछन् । त्यसैले जनवर्गीय सङ्गठन वा पार्टीले आफ्नो हितका लागि निर्माण गरेका सामाजिक वा पेशागत सङ्गठन स्वतन्त्र छैनन्, तिनीहरू पार्टीका अङ्ग नै हुन् । अनि अरू केही संस्था पनि हुन्छन्, जस्तै कि विकास, पर्यटन, सामाजिक संस्था वा क्लब ।

उनीहरूले राजनीतिक उद्देश्य राख्दैनन् । त्यसैले त्यस्ता संस्थामा पार्टीका सदस्य रहनुपर्ने भए सल्लाह र सहमतिबाट रहनु पर्दछ । स्पष्ट छ, तिनीहरू समाजको विकास वा विभिन्न सामाजिक कार्यका लागि प्रयोगमा आएका हुन्छन् । तिनीहरूमा रहने र नरहने वा त्यस प्रकारका संस्था निर्माण गर्न पाउने वा नपाउनेबारे पार्टीमा सल्लाह गरेर पार्टी सदस्यले काम गर्न सक्दछन् ।

माथि उल्लेखित केही संस्थालाई उदाहरण बनाएर पार्टीको कुनै सदस्यले छुट्टै राजनीतिक उद्देश्य बोक्ने कुनै पनि संस्था निर्माण गर्न पाइँदैन । कम्युनिस्ट पार्टीको योजना र निर्णय बिना राजनीतिक उद्देश्य बोकेका कुनै पनि संस्थाले पार्टीभित्र स्थानलिन सक्दैनन् । त्यस्ता संस्थाले यदि कुनै ठाउँ लिन खोजिरहेका छन् वा त्यस प्रकारको भ्रम सृजना भइरहेको छ भने हामीले प्रष्ट बुझ्नु पर्दछ कि पार्टी माथि आक्रमण भइरहेको छ । पार्टीमाथि आक्रमण विभिन्न दिशा र कोणबाट हुन्छ । त्यो आक्रमणलाई इमान्दार आम पार्टी सदस्यले पहिचान गरेर निष्फल पार्नु पर्दछ ।

एउटा कम्युनिस्ट पार्टीले समकालीन राजनीतिलाई विस्तृत ढङ्गले तर ठोस स्थितिको ठोस विश्लेषण सहित आफ्ना रणनीतिक र कार्यनीतिक योजना निर्माण गर्दछ । कुनै पार्टी सदस्यले कम्युनिस्ट आदर्श वा सिद्धान्तको ह्रास भएको भनी अर्को कुनै राजनीतिक उद्देश्य सहितको संस्था निर्माण गर्नुको अर्थ हुन्छ– ऊ आफू बसेको कम्युनिस्ट पार्टीको राजनीतिक उद्देश्य प्रति उसलाई अविश्वास छ । उसले पार्टीभित्र बसेर नै त्यस प्रकारको कार्य गर्नुमा मुख्यतः दुई प्रकारले उद्देश्य राख्दछ : पहिलो– त्यसले आफ्ना असन्तोष र कुण्ठालाई पार्टीका विरुद्धमा प्रकट गर्नका लागि त्यस प्रकारको संस्थालाई माध्यम बनाउँछ । दोश्रो– पार्टीभित्र व्यापक भ्रम सृजना गरेर उसले आफ्नो गुटबन्दीको कार्यलाई त्यो संस्था मार्फत् विस्तार गर्न खोज्दछ ।

जुनसुकै कारणले भए पनि पार्टीबाट आफूलाई स्वतन्त्र बनाउने दिशामा उनीहरू अग्रसर हुन्छन् वा कुनै संस्थाको आडमा उनीहरूले पार्टी विरोधी आफ्नो राजनीतिक उद्देश्य अगाडि बढाउने प्रयत्न गर्दछन् ।

उसका ती दुबै उद्देश्यले पार्टीलाई ध्वस्त पार्ने लक्ष्य राखेका छन् । हामीले पहिले नै उल्लेख गरिसकेका छौँ, कम्युनिस्ट पार्टीका कुनै पनि सदस्यले फरक र अलग राजनीतिक उद्देश्यका साथ कुनै संस्था पार्टी भित्र निर्माण गर्न सक्दैन । कम्युनिस्ट पार्टीको इच्छा बाहेक त्यस प्रकारको कुनै पनि संस्था पार्टी भित्र निर्माण भएको विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा नै छैन । तर केही घटना हामी देख्दछौँ, तिनीहरूको परिणाम भएको छ : जुनसुकै कारणले भए पनि पार्टीबाट आफूलाई स्वतन्त्र बनाउने दिशामा उनीहरू अग्रसर हुन्छन् वा कुनै संस्थाको आडमा उनीहरूले पार्टी विरोधी आफ्नो राजनीतिक उद्देश्य अगाडि बढाउने प्रयत्न गर्दछन् ।

एउटा कम्युनिस्ट पार्टीको सदस्यले माथिका कार्य गर्नुमा गम्भीर अर्थ लुकेको हुन्छ । पहिलो कुरा, त्यो उसको स्पष्ट विचार र कार्यशैली होइन । त्यसले दुई लाइनको सङ्घर्षसित साइनो राख्दैन । षड्यन्त्र र पार्टी विरोधी गतिविधिमा त्यसले आफूलाई लगाइरहेको छ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । यो कुरा हामीले बिना हिच्किचाहट भन्न सक्दछौँ, उसलाई फरक विचार दर्ज गर्न र आफ्नो विचारलाई पार्टीको नीति बनाउ नपाउने पार्टीभित्र जहिले पनि मैदान उपलब्ध हुन्छ । तर त्यसको अर्थ यो होइन कि उसले रुचि राखेको जुनसुकै बेला पनि उसलाई त्यो अधिकार छ । यसको अर्थ त यो हो, पार्टीमा जुन निर्णय हुन्छ, त्यसलाई एकताबद्ध लागु गर्नमा प्रत्येक पार्टी सदस्यले आफूलाई जुझारू पूर्वक उभ्याउनु पर्दछ ।

गुट वा समूह छन् भने त्यो कम्युनिस्ट पार्टी होइन अथवा गुटबन्दी द्वारा त्यस्ता गुट वा समूह निर्माण गर्न खोजिएको छ भने तिनीहरूले कम्युनिस्ट पार्टीलाई ध्वस्त बनाउने उद्देश्य राखेका छन् भन्ने कुरा बुझ्नु पर्दछ ।

तर यो कुरा पालना नगर्ने व्यक्तिका लागि यस प्रकारको मान्यताले अर्थ राख्दैन । किन भने ऊ भित्र विभिन्न कुण्ठाले स्थान लिएकाले तिनीहरूको परिपूर्तिका लागि पार्टीभित्र वैकल्पिक गुट तयार गर्ने उसको उद्देश्य हुन्छ । दोस्रो कुरा, दुनियाँमा कुनै पनि कम्युनिस्ट पार्टीमा दुई लाइनको सङ्घर्ष चल्दछ । यो कुनै नौलो कुरा होइन कि कुनै बेला बहुमतमा रहेका पक्षकुनै समयमा गएर अल्पमतमा पर्न जान्छ भने कुनै बेला अल्पमतमा रहेको पक्ष बहुमतमा उपस्थित हुन पुग्दछ । यहाँ पक्ष भन्नाले विचारलाई नै बुझ्नु पर्दछ, गुट वा समूहको रूपमा होइन । गुट वा समूह छन् भने त्यो कम्युनिस्ट पार्टी होइन अथवा गुटबन्दी द्वारा त्यस्ता गुट वा समूह निर्माण गर्न खोजिएको छ भने तिनीहरूले कम्युनिस्ट पार्टीलाई ध्वस्त बनाउने उद्देश्य राखेका छन् भन्ने कुरा बुझ्नु पर्दछ ।

कम्युनिस्ट पार्टी गुट वा समूहको आकार होइन र त्यस प्रकारले कम्युनिस्ट पार्टी कहिल्यै पनि निर्माण हुन सक्दैन । तर कम्युनिस्ट पार्टी भिन्न विचारका अस्तित्वका साथमा कार्यमा एकता प्रस्तुत भएको एकात्मक सामूहिक शक्ति हो । यही फरक छ, कम्युनिस्ट पार्टी र अन्य पार्टीका बिचमा । यही एकतालाई भत्काउनका लागि दुश्मनले बारम्बार कम्युनिस्ट पार्टीमाथि विभिन्न प्रकार र कोणबाट आक्रमण गर्दछन् । दुश्मनले कम्युनिस्ट पार्टीका कैयौं सदस्यलाई आफ्नो उद्देश्यका लागि प्रयोग गर्ने प्रयत्न पनि गर्दछन् । तर जसले यो कुराको अनुमान गर्दैनन्, बुझ्दैनन् वा पार्टीलाई जुनसुकै ढङ्गले ध्वस्त पार्ने उद्देश्य राख्दछन्, उनीहरूले दुश्मन पक्षको ताली सहित पार्टी विरोधी काममा आफूलाई सक्रिय बनाउने गर्दछन् ।

कम्युनिस्ट पार्टीको सदस्य पार्टीको मुख्य पुँजी हो । त्यो स्वतन्त्र छैन, अनुबन्धित छ । त्यसले कम्युनिस्ट पार्टीको इच्छा बेगर आफ्नो कुनै पनि स्वतन्त्र राजनीतिक कदम उठाउन सक्दैन । त्यसले कुनै छुट्टै संस्था निर्माण गर्ने ध्येय पनि राख्दैन, किनभने उसको सम्पूर्ण राजनीतिक उद्देश्य कम्युनिस्ट पार्टीमा अनुबन्धित छ । उसले आफ्नो क्षमतानुसार पार्टीका लागि योगदान दिने उद्देश्य बाहेक अरू छलकपट गर्न आवश्यकता ठान्दैन र ठान्नु पनि हुँदैन ।

कम्युनिस्ट पार्टीको मुख्य पुँजीलाई दुश्मन शक्तिले खेलाउन थाल्यो भने पार्टीका अगाडि दुईवटा विकल्प हुन्छन् : पहिलो विकल्प हो– आफ्नो पार्टी सदस्यलाई त्यस प्रकारको गल्ती गर्नबाट जोगाउनु । दोस्रो हो– पार्टीबाट निष्काशित गर्नु । पहिलो प्रकारको विकल्प त्यस्ता पार्टी सदस्यलाई लागु हुन्छ र सफल पनि हुन्छ, जो इमान्दार र अनुशासित हुन्छन् । उनीहरू भ्रममा परेर वा स्थितिको ठोस विश्लेषण गर्न नसकेर दुश्मनको उपयोगमा गएका हुन्छन् ।

कम्युनिस्ट पार्टीको सदस्य पार्टीको मुख्य पुँजी हो । त्यो स्वतन्त्र छैन, अनुबन्धित छ । त्यसले कम्युनिस्ट पार्टीको इच्छा बेगर आफ्नो कुनै पनि स्वतन्त्र राजनीतिक कदम उठाउन सक्दैन । त्यसले कुनै छुट्टै संस्था निर्माण गर्ने ध्येय पनि राख्दैन, किनभने उसको सम्पूर्ण राजनीतिक उद्देश्य कम्युनिस्ट पार्टीमा अनुबन्धित छ ।

तिनीहरूलाई छिटोभन्दा छिटो आत्मीयतापूर्वक र कमरेडली भावनाले पार्टीका नीति र निर्णयबारे स्पष्ट पार्नु पर्दछ । तिनीहरू स्पष्ट भएपछि पार्टीलाई सुदृढ बनाउनका लागि इमान्दारी पूर्वक आफूलाई समर्पित गर्दछन् । दोश्रो विकल्प उनीहरू माथि लागु हुन्छन्, जो बेइमान र अनुशासन विहीन हुन् । उनीहरूले आफूलाई इमान्दार, क्रान्तिकारी र दुनियाँमा नै नभएको अव्वल मानवको आवरणमा आफूलाई प्रस्तुत गरेर ठुलो भ्रम पैदा गर्ने र पार्टीलाई ध्वस्त पार्नका लागि लगातार प्रयत्न गर्दछन् । उनीहरू नियतवश नै पार्टीका विरोधमा उत्रिएका हुन्छन् । त्यसैले उनीहरूबारे छिटो भन्दा छिटो सम्पूर्ण पार्टी सदस्यलाई स्पष्ट गर्नुपर्दछ र व्यापक क्षति हुनबाट पार्टीलाई जोगाउनु पर्दछ । उनीहरूले पार्टीलाई ध्वस्त पार्ने भएकाले उनीहरूलाई पार्टीबाट निष्काशित समेत गर्नु पर्दछ ।

कम्युनिस्ट पार्टीका सदस्यको राजनीतिक संस्थाबारे विचार गरिरहेको बेलामा हामीसित केही प्रश्न छन्, जो हाम्रो पार्टीसित सम्बन्धित छन् । कसैले भन्न सक्दछ वा त्यस्तो कोही सही कम्युनिस्ट छ, जसले क्रान्तिको लक्ष्य सहित वर्तमानमा अपनाउने कार्यनीति नेकपा (मसाल) को भन्दा फरक हुन्छ र त्यसले मसालका कार्यनीतिलाई गलत हुन् भनेर व्यावहारिक जीवनमा समेत पुष्टि गर्न सक्दछ ? हामीले यसको उत्तर अर्को पटक अर्को आलेखमा दिने छौँ । तर यहाँ यो संस्था निर्माणबारे विगतका केही प्रसङ्गलाई उठाउनु असान्दर्भिक हुनेछैन । यो प्रसङ्गबाट नयाँ नाटकलाई बुझ्न सकिने छ ।

हामीले भुल्नु हुँदैन र भुलेका पनि छैनौँ, का. प्रचण्ड लगायत लामो समयसम्म नेकपा (मसाल) र त्यसका नजिकका जनवर्गीय सङ्गठनमा काम गरेका साथीहरू थिए । बाबुराम भट्टराई लगायत पनि त्यस्तै खाले साथी थिए, जो अहिले कम्युनिस्ट आन्दोलनबाट नै अलग्गिएका छन् । का. दिनानाथ शर्मा, का. डिलाराम आचार्य पनि हाम्रो पार्टीमा लामो समयसम्म काम गरेका साथीहरू थिए । तर आज उनीहरू मसालमा छैनन् । उनीहरू सबैले सकेसम्म त नेकपा (मसाल) भनेर नै आफूलाई सिद्ध गर्ने प्रयास गर्नुका साथै मसालको संस्थागत नेतृत्वका विरुद्धमा धावा बोल्ने काम गरेका थिए । त्यसो गर्नुमा एउटै कारण थियो– मसालका सबै सदस्य, समर्थक र शुभचिन्तकमा व्यापक भ्रम पैदा गरी आफ्नो स्थितिलाई बलियो बनाउनु ।

तर सबै भन्दा दुःखको कुरा के छ भने जुन ढङ्गले उनीहरूले मसाल वा त्यसको नेतृत्व माथि आक्षेप लगाएर आफूलाई अलग गर्ने वा भ्रमको खेती गरेका थिए, त्यसका लागि उनीहरूलाई इतिहासबाट लज्जित हुनुपर्ने अवस्था छ । उनीहरूले त्यस बेला मसाल र त्यसका नेतृत्वका विरुद्धमा कस्ता आक्षेप लगाएका थिए र उनीहरूको कतातिर पतन भयो ? त्यसबारे यहाँ चर्चा गर्नपट्टि लाग्दैनौँ । तर उनीहरूमा जुन वैचारिक वा सैद्धान्तिक विचलन भएको थियो, त्यसलाई ढाकछोप गर्नका लागि मात्र त्यो आक्षेप तात्कालिक एउटा अस्त्रको रूपमा अगाडि आएको थियो । समयले पुष्टि गर्दै गयो कि उनीहरू वास्तवमा मसालले निर्भयता पूर्वक कार्यान्वयन गरिरहेको माक्र्सवादी– लेनिनवादी सिद्धान्त, सङ्गठनात्मक नीति, अनुशासन र त्यसका आधारमा निर्माण गरिने पार्टी सदस्यको जीवन शैलीबाट विचलित भएका व्यक्ति थिए ।

उनीहरूले त्यो कुरालाई क्रान्तिकारी शब्दा डम्बर भित्र लुकाएर ल्याएका थिए र पार्टी र पार्टीको नेतृत्व माथि व्यापक रूपले आक्रमण गरेका थिए । उनीहरूको त्यो आक्रमण मसाल सखाप पार्ने एउटा अभियान थियो । नेतृत्व माथि आक्षेप लगाएर उनीहरूले आफूलाई जुन प्रकारले अलग गरेका थिए, त्यस अनुसार उनीहरूले आफ्नो व्यवहारलाई प्रस्तुत नगरेको भए पनि आज पनि उनीहरूलाई हामीले देख्न सक्दछौँ, उनीहरूको सम्पूर्ण कार्यव्यवहार क्रान्ति विरोधी वा कम्युनिस्ट सिद्धान्त, नैतिकता वा कार्यशैली भन्दा फरक छ । त्यसरी स्पष्ट छ, इतिहासमा नेकपा (मसाल) को रक्षा सही विचार र त्यस अनुसारको कार्यशैलीले मात्र भएको हो ।

हामीले दावापूर्वक भन्न सक्दछौँ कि हामीले निर्माण गर्न चाहेको बलियो कम्युनिस्ट पार्टी असन्तुष्ट र कुण्ठाग्रस्त मानिसको भिड होइन, त्यसको ठाउँमा सचेत र अनुशासित मानिसको एकताबद्ध अभियान हो, जसले कम्युनिस्ट सिद्धान्तलाई कार्यान्वयन गर्दछन् ।

एउटा कम्युनिस्ट पार्टीभित्र छुट्टै राजनीतिक संस्था निर्माण गर्ने हाउगुजी एउटा बेकार र अर्थहीन कार्य व्यापार हो । कुण्ठाग्रस्त व्यक्तिले त्यसलाई साकार रूप दिने प्रयत्न गरे पनि अन्ततः तिनीहरूले त्यसको मलामी गर्नु पर्दछ वा त्यो सितै सती जानु पर्ने छ । हामी बुर्जुवा समाजका सदस्यभएका कारणले हाम्रो इच्छामा बुर्जुवा दृष्टिकोण, कार्यशैली, संस्कारको प्रभाव धेरै नै हुन्छ । त्यसरी हामी व्यवहारमा प्रकट हुँदा बढीभन्दा बढी बुर्जुवा व्यवहारबाट आकर्षित हुन्छौँ । त्यस्तो अवस्थामा कम्युनिस्ट पार्टीको संस्कारलाई कार्यान्वयनमा लैजाने कुरा कठिन बन्न जान्छ । मन लागेको बेलामा वा आफ्नो इच्छानुसार भएको बेलामा कम्युनिस्ट संस्कार ठिक हो भन्ने र मन नलागेको बेला वा आफ्नो इच्छा विपरित भएको बेलामा त्यसलाई बेठिक मान्ने वा परित्याग गर्ने बुर्जुवा समाजको सांस्कृतिक प्रभाव हो । त्यसैले हाम्रो इच्छानुसार कम्युनिस्ट संस्कार निर्माण हुन सक्दैन । कम्युनिस्ट सिद्धान्तको संस्कार अनुसार हाम्रो जीवनशैली निर्माण गर्नु पर्दछ र त्यसरी नै हामी भित्र कम्युनिस्ट संस्कारको निर्माण हुन्छ । सङ्घर्षका विभिन्न समय, कालखण्ड वा सन्दर्भमा हामी विभिन्न बहानामा कम्युनिस्ट संस्कारबाट पतन हुने सिलसिला चल्न सक्दछ, तर अन्तिम सत्य त्यो हुने छैन ।

अन्तिम सत्य यो हुने छ : कम्युनिस्ट सिद्धान्त अनुसारको संस्कार निर्माण प्रक्रियामा कोही न कोही लागि रहने छन् । त्यसैले हामीले दावापूर्वक भन्न सक्दछौँ कि हामीले निर्माण गर्न चाहेको बलियो कम्युनिस्ट पार्टी असन्तुष्ट र कुण्ठाग्रस्त मानिसको भिड होइन, त्यसको ठाउँमा सचेत र अनुशासित मानिसको एकताबद्ध अभियान हो, जसले कम्युनिस्ट सिद्धान्तलाई कार्यान्वयन गर्दछन् । तिनीहरू कम्युनिस्ट पार्टीका सदस्य हुनका लागि योग्य हुन्छन् र उनीहरूबाट नै बलियो कम्युनिस्ट पार्टी निर्माणको कार्य पूरा हुन्छ ।

पार्टी सदस्यले आफ्नो राजनीतिक संस्थाबारे यो कुरा बुझनुपर्दछ ः हामीलाई असन्तुष्टि वा फरक विचार प्रति कुनै पूर्वाग्रह हुन जरुरी छैन । त्यो कुराका लागि कार्यान्वयनमा आएको विचारले छुट्टै गर्व गरिराख्नु पर्दैन र अस्वीकृत भएको विचारले पनि नैराश्यता वा कुण्ठा पालेर शोकग्रस्त भइराख्नु पर्दैन । ती विषय त निर्णय गर्ने स्थलमा छलफलमा आउँदा लागु हुने कुरा मात्र हुन् । तर सबै पार्टी सदस्यले गर्व गर्ने कुरा हो– पार्टीको निर्णयलाई हामीले एकताबद्ध भएर कार्यान्वयन गरिरहेका छौँ र गर्व गर्ने कुरा हो– हाम्रो राजनीतिक संस्था भनेको कम्युनिस्ट पार्टी नै हो, जसमा हामी गोलबन्द छौँ ।

(हालै केहीपत्रपत्रिकामाआएकाहामीसित सम्बन्धित विषयबारे हामी अर्को आलेख वा स्पष्टीकरणमा प्रष्ट पार्ने छौँ । यो लेखपहिले नै तयार भइसकेको भएपनित्यसकालागि पूरकका रूपमा रहने छ ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार