कलाकारसँग जोडिएको नेपाली संस्कृति

गोविन्द प्रसाद आचार्य

कहिलेकाही बाल्यकालमा देखेभोगेका कुराहरू जब उमेर परिपक्क हुँदै जान्छ, बिगतमा वास्ता नगरिएका कुराहरू उमेरको परिपक्वतासँग जोडिएर आउँदा रहेछन् । स्मृतिमा जीवित रहँदा रहेछन् । तिनलाई विष्लेषण गरेर त्यहाँभित्रको समाज, संस्कति कस्तो थियो ? विगत र वर्तमानसँग तुलना गर्नु मद्दत पुग्दो रहेछ ।

यहाँ चर्चा गर्न खोजिएको के हो भने हाम्रो नजिक राष्ट्रिय स्तरको पर्व तिज आइरहेको छ । यसको महत्व नेपाली समाजमा अरू पर्वभन्दा बेग्लै प्रकारको रहेको छ । तिजको समय छोटो छ तर यसको मूल्य यति गहन र गहिरो छ कि त्यसलाई कुनै पनि पर्वले वा विचारले कमि देख्न मिल्दैन । तिज पर्व केवल नाचगान र खानपिनका लागि मात्र होइन, यसले नेपाली समाजलाई युगौँदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नविन विशेषतातर्फ घच्घच्याइरहेको छ ।

यसको मूल विषेसता के हो भने वर्षदिनभरि मनभित्र दबिएर रहेका भावनाहरू गीतका माध्यमबाट जे जस्ता छन्, ती सहज रूपमा पोख्नु र चेलीबेटीहरू भेटघाट भएको बेला आ–आफ्नो परिवेश र पारिवारिक स्थिति एक–अर्कासँग गीतका माध्यमबाट गुनासोको रूपमा होस् वा केही कुरा सिक्न होस्, त्यो साटासाट गर्न पाउँदा आन्तरिक रूपमा मन हलुङ्गो पार्दै एक प्रकारको सशक्तीकरणयुक्त चेतनाको विकास भएको हुन्छ । तिजको समयमा गाइने गीतमा न कसैले हस्तक्षेप गर्न सक्छ, न कसैले कसैलाई दोष दिन सक्छ । स्वच्छन्द रूपमा प्रकृति, सामाजिक पारिवारिक, धार्मिक वर्णन, उन्मुक्तिका भावना उराल्दै शब्दको साबुनपानीका माध्यमबाट मनका कसरमसर वा फोहोरमैला पखालेर लिएको आनन्द बराबर संसारमा कुनै पनि अनन्दप्राप्तिको विषयवस्तु नहोला ।

यद्यपि तिजको समयमा यौनमुलक गीतहरूलाई महत्व दिएको पाइन्न । तसर्थ तिज पर्व विशुद्ध रूपमा सामाजिक हो । तर हिजोआज यति सुन्दर पर्वलाई पुरुषको बढी हस्तक्ष्ोप हुनु, यौनउत्तेजक गीत गाएर व्यापारको रूपमा प्रयोग गर्नुबाट तिज पर्वको महत्वलाई गम्भीर रूपले क्षति पु¥याइएको छ भन्नुमा फरक नपर्ला । तिज पर्वसँग जोडेर फेसबुक, युट्युब, टेलिभिजन जस्तो सञ्चारको सञ्जालमा नग्नचित्र एवं उत्तेजक गीतहरू प्रचार प्रसार गर्नुमा कलाकारहरू बढी जिम्मेवार देखिन्छन् ।

हरेक पर्वको आफ्नै महत्व छ । बिहेको बेला रत्यौलीमा खेलिने वा गाइने गीत सबै समयका लागि छुट छैन । तर कलाकारहरूबाट तिज पर्वको गरिमा मेट्दै अनियन्त्रित एवं मनपरी ढङ्गबाट सस्तो लोकप्रियता एवं पैसाका लागि कोठामा बसेर सङ्कलन गरिएका आफ्नो मनका यौन कुण्ठा पोखेर नेपाली समाजलाई अल्मल्याउनुमा कलाकारको भूमिका उच्च रूपमा रहेको छ ।

सबै पर्वको आ–आफ्नो महत्व हुन्छ । तिजको सँगसँगै गाइजात्रा पर्व पनि आफ्नो महत्वका साथ देखा पर्छ, जसमा आरम्भदेखि आजसम्म हास्यव्यङ्ग्य छेडपेचको मात्र प्रचलन छ । यस्तै तिजको पर्वमा पनि आफ्नै प्रकृति, आफ्नै स्वरूपका गीत गाउने प्रचलन रहिआएको छ तर कलाकारहरूले संयमतापूर्वक आफ्नो तिजको पर्वमा देखाउने प्रतिभा देखाएमा तिज पर्वमाथि हिलो छ्यापेको ठहर्दैनथ्यो होला ।

तिज पर्व गाईजात्राको स्वभाव बोकेर आउँदैन, न त रत्यौलीको रूपमा आउँछ । यसको बेग्लै किसिमको विशेषातमा रहेर कलाकारहरूले गीत गाउँदामा के फरक पर्थ्र्यो र ? के पर्वलाई प्रयोग गरेर पर्वका मूल्य र मान्यतालाई तिलाञ्जली दिएर भद्दा र अराजकता प्रकृतिका कला प्रस्तुत गर्नु राम्रो हो र ? नयाँ पिँढीलाई सिकाउने कलाकार हुन् । कलाभित्र संस्कृति, संस्कार सुरक्षित हुनु पर्छ । समाजको पीडामा मल्हम लगाउनु पर्छ ।

तर समाजको मन दुखाएर समाजको टुप्पीमा समातेर रिगाएर पर्वहरूको बदनाम गरेर कलाको पनि इज्ज्यत रहला जस्तो लाग्दैन । हाम्रो संस्कृतिमाथि चारैतर्फबाट आक्रमण भइरहेको बेला कलाकारहरूले पनि त्यसलाई मलजल गर्ने काम गरेमा पर्वको महत्व कहाँ पुग्ला ? हामी तिज पर्वलाई स्वछन्द रूपमा प्रयोग गर्नुभन्दा पर्वको केन्द्रियतामा रहेर यसको मर्यादा नखल्बलिने गरी गीत गायौँ भने कलाकारमाथि कसैले दोषारोपण गर्ने अवसर कसैले नपाउला ।

तिज पर्वमा गाइने गीत विश्लेषण गरेर हेर्ने हो भने समाजको मर्म यति छ कि जसमा भावनाका छल्काहरू बिम्बात्मक रूपमा प्रस्तुत गरी जीवनदर्शनको यथार्थसँग अभिन्न रूपले गाँसिएका छन् । अब हामीलाई समस्या यहाँ परिरहेको छ कि पाका पुस्ताहरू लोप हुँदैछन् । नयाँ पिँढीले पुरानाका कुरा नसुन्ने सस्तो लोकप्रियता र सुविधाभोगी हुने कुनै पनि विचारलाई गम्भीरतापूर्वक नलिने सञ्चारका साधनले आधुनिकताको नाममा समाजको मूल्य र मान्यतालाई चटक्कै बिर्सिएर उम्रिन नपाउँदै तीनपात बन्ने परिपाटीले पर्वका ठोस मूल्य र मान्यतालाई कहाँ पु¥याउने हो वा कसरी छिपाउने हो ? आधुनिक भन्नेहरूले नै जानुन् । आधुनिक भन्दैमा कति कुरा आधुनिक हो र कति कुरा होइन ? के भूत नभइकन वर्तमान यसै पलाएको हो त ? नेपाली कलाकारहरूले यसको जवाफ दिनै पर्छ ।

तिजलाई भड्किलो र पूर्ण स्वछन्दताका दृष्टिले हेरियो भने यसको मौलिकता र गरिमा कहाँ पुग्ला ? समाजभन्दा पर पुगेर पर्वको सीमा नाघेर मनपरी ढङ्गले मैले जे गरे पनि राम्रै हुन्छ भन्ने सोंचाइबाट प्रभावित भएर विचार नभएको कलाको प्रस्तुति पर्वको गरिमाबाट हेर्दा सुन्दर देखिएला जस्तो लाग्दैन । ठोस रूपमा भन्ने हो भने उच्च घराना र कुलीन भन्नेहरूले तिजलाई धर्मको साँघुरो परिधिभित्र राख्ने प्रयास नगरेका होइनन् । तर ठोस रूपमा तिज पर्व जोगाउने भनेको यहाँका जाति÷जनजाति, पूर्व मेचीदेखि महाकालीसम्म नभई नेपालीहरूका हरेक बस्तीले तिज पर्वलाई महत्व दिएका कुरा घाम जस्तै उज्यालो छ ।

आज आएर शहरिया रौनक र पाश्चात्य परम्पराको संस्कृति गीतका माध्यमबाट प्रवेश गराएर नेपाली समाजको आँखामा पट्टी लगाउने विचारमा धमिरो लगाउने तिता र टर्रा लय प्रयोग गरेर समाजभन्दा पृथक रूपप्रदान गर्ने जिम्मा कलाकारहरूले लिए जस्तो लाग्छ । हो, आज पैसा कमाइएला तर भोलि यति विकराल र जटिलता उत्पन्न हुनेछ कि आफैले छ्यापेको हिलोका छिटा आफ्नै सुटटाई र अनुहारमा नपर्ला भनेर कसरी भन्न सकिन्छ र ?

तिज पर्वमा जीवन छ । त्यसभित्र मानवता छ । विरेचनको प्रयोग छ । मनको आनन्द र मानवता छ । महिलाहरूका दुःख–सुखका विचार छन् । कतै सामाजिक चेतनाको प्रवाह छ । समाज बदल्ने रहर छ । सङ्घर्षप्रतिका दृढ आस्था र विश्वास छन् । ती सबैलाई बिम्बका माध्यमबाट प्रस्तुत गरिनु तिज पर्व वा यस समयमा गाइने गीतकोे बेग्लै विशेषता हो । यति सुन्दर पर्वको अनुहारमा व्यापारी पाश्चात्य प्रभाव अराजकता असान्दर्भिक सो स्वछन्दता र नग्नताको हिलो छ्याप्नु कुनै कलाकारको दायित्वभित्र पर्दैन ।

हामी तिजका गीतलाई सान्दर एवं भव्य रूपमा गाउँ नयाँ पिँढीलाई सही र साँचो रूपमा हस्तान्तरण गरौँ । यसमा भएका विकृति हटाउन हामी आफै सक्षम छौँ ? कसैको संस्कृतिको सहारा लिएर कसैका गलत विचार सापट लिएर मौलिकतालाई ध्वस्त नपारौँ । आवश्यक सुधार गरी यसमा भएका विकृतिका कसरमसर हटाई महान् कृतिका रूपमा तिज पर्व मनाऊँ । यही मान्यतामा रहेर तिजका गीत गाउने कलाकारहरू आफ्नो कला सही रूपमा प्रस्तुत गरुन् । सीमा नाघेर हिडियो भने हामी सही ठाउँमा पुग्दैनाौ भन्ने मान्यता कलाकारहरूले बुझ्नु पर्छ । निश्चितै रूपमा तिज पर्व कला, संस्कृतिसंग जोडिएको छ । यी एकापसका परिपूरक वा अभिन्न तङ्खवका रूपमा रहेका छन् । यिनको मौलिकतामा पाश्चात्य प्रभावको भिटामिन हाल्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार