कला संस्कृतिको संरक्षण वा नाफा कमाउने खेलो ?

0Shares

685 जनाले पढ्नु भयो ।

खिमराज चालिसे

कला संस्कृति मानव जीवनको सबैभन्दा अभिन्न पक्ष हो । राष्ट्र र राष्ट्रियता पहिचानको लागि पनि कला, संस्कृति, भाषा र रहनसहनको अति नै महत्वपूर्ण स्थान रहन्छ । त्यसै कारणले कला संस्कृतिलाई राष्ट्रको गहना भनेर वुझिन्छ । हो, राष्ट्र र राष्ट्रियताको लागि सोच्ने, वुझ्ने र सम्झने व्यक्तिहरुको लागि आप्mनो देशको, भाषा, संस्कृति, संस्कार तथा कलाको सरंक्षण एंव सम्वर्धन गर्नु नैतिक दायित्व एंव कर्तव्य पनि हुन्छ, अझ देशको सिमा नै छाडेर कोशौं टाढा विदेशी भुमीमा रहेका नागरिकहरुका लागि यो विषय कति महत्वपूर्ण हुन्छ भन्ने कुरा शाहेदै कुनै शब्दमा वर्णन गर्न सकियोस् ।

देशका प्रत्येक नागरिकहरुले जब आप्mनै देशको संस्कार, भाषा, संस्कृतिको चर्चा गर्ने र अनुभूति प्राप्त गर्ने अवसरहरु आफु जन्मेको हुर्केको, पढेको र बढेको ठाउँ चटक्क छाडेर प्रवासमा पसेको वेलामा मिल्ने गर्दछन्, त्यो वेला त्यी नागरिकहरुको मन खुशीले गदगद हुनु स्वभाविकै हुन्छ । यतिमात्र होइन, हामीलाई हाम्रो संस्कृति तथा कलाको विषयमा अन्य देशका नागरिकहरुसँग चर्चा परिचर्चा गर्न पाउँदा राष्ट्रियता तथा देशप्रेमको अटुट भावना जोडिन पुगेर होला हाम्रो मुटुमा गर्वको रक्तसंचार हुने गर्दछ ।

प्रवासमा रहने हामी लाखौंलाख नेपालीहरुका लागि जब यिनै कला संस्कृति भित्रको अभिन्न अंगको रुपमा मानिने गीत, संगित तथा नृत्यका विषयमा चर्चा गर्दा धेरैजनाका खुट्टा आफै तालमा उफ्रिन थाल्छन् र गलाबाट मन्दमन्द आवाज स्वतह गुनगुनाइ रहन्छन्, मानौं त्यो भन्दा असिम आनन्द र सुखको अनुभूति संसारभरका कुनै वस्तुमा नै छैन तर पनि हामीले भाषा तथा संस्कृतिको सम्मान एंव कला र गलाको लागि प्रोहत्शाहित गर्ने कुराको समर्थन गर्ने वेलामा कला, गलाको नाममा गरिने छाडा, अश्लील तथा वुर्जुवा संस्कारको समर्थन भने गर्न सकिदैन ।

गत केहि समयदेखि भारतका विभिन्न शहरहरुमा व्यावसायी, धार्मिक, साँस्कृतिक, प्रकारका थुप्रै संघ संस्थाहरु देखिन थालेका छन् । अझ आश्चर्यको कुरा त के छ भने, तिनै संघ संस्थाहरुका रोहवरमा नेपालका केही थोरै राम्रा तर धेरै जसोलाई गित, नृत्य, लय, गतिको सामान्य ज्ञानसम्म नभएका व्यक्तीहरुलाई सेलिब्रिटीको नाममा भारतका विभिन्न शहरहरूमा कार्यक्रम आयोजन गरि ल्याउने र छाडा, पाश्चात्य र अर्थहिन वा सामाजिक महत्व नै नभएका गीत गाउने नृत्य देखाउने र टिकट सो वा चंदाकृत कार्यक्रमहरु प्रस्तुत हुने गरिरहेका छन् । त्यी कार्यक्रमहरुको महत्व र फाइदा आयोजकहरुलाई कति भयो वा हुनेछ त्यो चर्चाको विषय होइन । वरु चर्चा कला तथा संस्कृतिको मूल भावनालाई संरक्षण र समर्धनको विषयसँग मात्र हो ।

विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको देश, शान्तिका दूत गौतमबुद्ध जन्मेको हाम्रो देश र संसार मै कहिल्लै गुलाम नभएको हाम्रो देश वा विविध भाषा संस्कृतिको विशिष्ट पहिचानलाई दुनियाँभर चिनाउने थोरै पनि काम जसले गरे पनि हामी खुल्ला ह्रदयले स्वागत, सहयोग र समर्थन गर्न सक्छौ तर कला र गला, सभ्यता र संस्कृतिको नाममा खासगरि अहिले भारतभरी भित्राइएको पश्चिमी संस्कृति, छाडा वा समाजमा कतै कामै नलाग्ने तल्लो स्तरको संस्कृतिलाई समर्थन गर्न सकिदैन ।

हामल म रहँदै गरेको चंडीगढ शहरभित्र पनि विगत करिव २/३ वर्षको अवधिमा नेपालबाट कलाकारहरु ल्याएर दर्जन भन्दा वढि कार्यक्रमहरु सम्पन्न भएका छन् । कैयन कलाकारहरु यो शहरमा भित्राइए, कैयन टिकट शोहरु भए । त्यी आयोजनमा आयोजकले कति फाइदा पाए वा कति नोक्सान वहाँहरुलाई नै थाहा होला तर कार्यक्रमका प्रमुख अतिथिहरु प्रायश : सबै जसो स्थानीयहरु राख्ने, वुर्जुआ प्रकारका गित तथा नृत्यहरु प्रस्तुत गर्ने, कला, गला र गतीसम्म थाहै नभएकाहरुलाई संगितकार र कलाकारको तक्मा भिराइ दिने, सिटी मारेर कार्यक्रम स्थल नै अशोभनीय हर्कत गर्नै दर्शनहरुलाई नियन्त्रण गर्न पनि नसक्ने, कतिपय त प्रमुख अतिथिहरुबाटै नेपालीहरुलाई अपमानित गरिरहँदा मुकदर्शक बन्ने आयोजकका गतिविधि देख्दा नेपाली कला संस्कृतिको नाममा, नामधारीहरुबाटै सभ्यता र संस्कृति माथी प्रहार भइरहेको कुरा दर्शाउँछ । यदी त्यो कला, गला र संस्कृति भित्र गरिब, दुःखी, वेसहाराहरुको मर्म, कथा, व्यथा समिटिएको हुन्छ अथवा राष्ट्र र राष्ट्रियताका पक्षमा सवल र दृढ़ आवाज हुन्छ भने वा भष्टाचार, अनिमियता, हत्या, हिंसा, वलात्कार विरुद्धको संघर्ष र पिछडिएको वर्ग, दलीत, महिला शशक्तिकरणका लागि गरिएको थोरै पनि प्रयत्न हुन्छ भने त्यस्ता प्रायोजित कार्यक्रम र आयोजकहरुको विषयमा कैयन साथीहरुको कलम निकै ठुलो हर्ष र गर्वको साथ उठ्थ्यो होला तर विडम्बना पैसा कमाउने, व्यवसायिक प्रचार गर्ने र सिमित व्यक्तिहरुको स्वार्थको सागुरो घेराभित्र बन्द गरेर आमजनमानस विच कला संस्कृतिको हौवा फैलाएर फेशनको रुपमा भित्राइएको यो स्वार्थी विचारका आयोजकहरुको आलोचना गर्न मलाई भने कत्ती पनि हिचकिचाहट हुने छैन वरु त्यस्ता आयोजनहरूको विरोध गर्नु नै म जस्तै सामाजिक अस्तित्व रहेका व्यक्तिहरुको मौलिक अधिकार मात्र होइन नैतिक कर्तव्य पनि बन्न जान्छ ।

वर्तमान अवस्थामा भारतभरी च्याउ उम्म्रे झैं उम्रिरहेका विभिन्न संघ संस्थाहरुको कला र संस्कृतिको नाममा धेरै ठुलो प्रचारवाजीमा उत्रिएको देखिरहेको छ । निश्चित नीति र विधी विधानको साथ संघ सस्ंथाहरुको निर्माण गरिनु र कुनै सामाजिक महत्वका काम गरिनु नराम्रो कुरा हुँदै होइन तर स्वतंत्र संघ संस्थाहरुका नाममा सिमित मानिसका वेग्लावेग्लै स्वार्थ पुरा गर्ने वा गराउने र त्यो स्वार्थ पुराभए पछि त्यी संघसंस्था बन्द भइहाले भने ? अथवा त्यस्ता संघ संस्थाहरुका सिमित ८–१० जना व्यक्तिहरु मिलेर, आर्थिक अनिमियता गरिहाले भने वा कुनै गैरकानूनी काम गरिहाले भने त्यसको समाधान र सुनवाई कुनठाउँबाट वा कसरी गर्न सकिएला ? त्यो संस्थाको पृष्ठभूमि के हो ? राष्ट्रिय स्तरमा छ या स्थानीय स्तरमा ? आदि विषय माथी गम्भीरता पुर्वक ध्यान दिन पनि अति आवश्यक छ, साथै अगामी कार्यक्रम, विधी विधानको जाँचवुझ नगरि त्यस्ता संघ संस्थाहरुमा प्रवेश गर्नु वा सहयोग, समर्थन गर्नु कदापी राम्रो हुनेछैन । त्यसैले कला संस्कृतिको नाममा, जाति या धर्मको नाममा, ट्रस्टको नाममा, अथवा स्वतंत्रताको नाममा गठित संघ संस्थाहरुसँग पनि सावधानी न अपनाई त्यहाँ सहभागी हुने बानिले फेरी नेपालीहरुलाई अर्को समस्या न आउला भन्न सकिदैन ।

आज नेपाली राजनैतिक दलहरुको अदुरदर्शी नीतिको बहानामा, साम्राज्यवादीहरुको एनजीओ, आइएनजीओ लगाएतका विभिन्न तत्वहरुलाई भारतमा रहने नेपालीहरुको विचमा पनि चलखेल गर्ने र मलजलको अवस्था मिलिरहेको अवस्थामा छ । यो अवश्थामा सम्पूर्ण देशभक्त प्रवासी नेपालीहरुको कर्तव्य त्यी सबैको विरुद्ध निर्ममतापूर्वक संघर्ष गरेर मात्र प्रवासी नेपालीहरुको हकहित र अधिकारको सुनिश्चित गर्ने वाहेक हामीहरुले आफ्नो स्पष्ट दृष्टिकोण बनाउन पनि अति जरुरी हुन्छ । किनकी अझैसम्म प्रवासी नेपालीहरुको दैनिक जीवन अत्यान्त दयनिय, कष्टकर तथा पिडादायी छ । तसर्थ कला संस्कृतिप्रति चिन्तित साथीहरु वा संगितकार तथा संगीत प्रेमीहरुले पनि एकातर्फ प्रवासीएका नेपालीहरुको क्षमतालाई उनीहरुको हकहित, न्याय र अधिकारका लागि बोल्ने, लेख्ने र अभिव्यक्ति दिने मञ्चको रुपमा कार्यक्रमहरुको आयोजन गर्नु एकदम स्वागतयोग्य हुने थियो तर आज विभिन्न संघ संस्थाहरुको नामबाट सञ्चालन भएरहेका विविध गतिविधिहरु व्यक्तिगत लाभका लागि प्रचार तथा मुठ्ठी भर व्यक्तिको उद्धेश्य पुरा गर्ने बाटोमा त गइरहेको छैन ? त्यो विषयमा पनि हामीहरु चनाखो हुन आवश्यक छ ।

उपरोक्त विषयहरु साथसाथै आज नेपाली पर्वहरुलाई महत्व दिनु भन्दा अंग्रेजी पर्वहरु १ जनवरीको नयाँ वर्ष, धार्मिक पर्वहरु राखी, दीपावली, कर्वाचौथ लगाएत कतिपय भारतीय वा पश्चिमीकरणको देखासिकी गर्ने प्रवृत्तिबाट नेपालीहरुलाई सजक पार्ने र राष्ट्रियताप्रति दृढ़ताका साथ उभिन हामीहरुले विषेश ध्यान दिनु पर्दछ । तबमात्र नेपाली कलासंस्कृतिलाई सभ्य र सहजता पूर्वक स्थापित गर्दै संरक्षण र सम्वर्द्धन गर्न सक्ने छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *