काका र फुचुंग्रि (भाग १४)

फुचुंग्रि– काका ! दशैं त सक्कियो, कतिले वलि दिने चलनको विरोध गरे, कतिले मसिनो स्वरमा आफै निधार भरी दही चामलको टीका लगाएर दही र चामल नोक्सान गरेको कुरा पनि गरे, कतिले जाँड रक्सी खाएर पैसा र अन्न सकेको पनि भने, कम्युनिस्ट आन्दोलनमा लागेका मान्छेको विरोध आयो नि है काका ?

काका– सबै विरोधमा सत्यता छैन, मासु खानलाई काटिने कुरामा हाम्रो विरोध हुनुहुँदैन, देवी देउता धर्म आस्थाको नाउँमा वलि दिइने चलन अन्धविश्वास रुढीग्रस्त सोंच हो भन्न खोजेको मात्र हो । दही चामलको टीका लगाएर रमाइलो गर्छन् कसले के खान्छन्, कतिले टीका लगाएर फोटो अपलोड गरे, त्यो निजी व्यक्तिगत पारिवारिक कुरा हो । कम्युनिस्ट पार्टीमा लागेका मान्छेहरू पनि त्यही गाउँ समाजमा हुर्किएका हुनाले दशैंमा टिका लगाई रमाइलो गरे, परिवारको खुशीको लागि । यो अनौठो कुरा होइन। उनीहरु यो व्यवस्था परिवर्तनमा लागेका छन् त्यो ठूलो कुरा हो।

फुचुंग्रि– कम्युनिष्टहरूले धर्म मान्दैनन् भनेको होइन र काका ?

काका– यो त विरोधीले फैलाएको भ्रम हो, कम्युनिस्ट आन्दोलन जनताको बीचबाट हुने हो, जनतासँग अलग भएर आन्दोलनको उठान गर्न सकिँदैन, धर्मको नाउँमा क्रान्ति रोक्ने जालझेलको विरोध हो । धर्मको नाममा लुकेको अन्धविश्वास रुढीग्रस्त सोंचको विरोध हो । जनतालाई सचेत र जागरुक बनाई क्रान्तिको भेलमा समाहित गर्ने प्रयास हो नकि धर्मको विरोध । राज्यको कुनै धर्म हुँदैन ।

फूचुंग्रि– अखिल छैठौंको राष्ट्रिय सम्मेलनले दुइटा केन्द्रिय समिति बनायो भन्दैछन्, के हो काका ?

काका– त पनि कति लाटी, कुनै पनि राष्ट्रिय सम्मेलन भेला गर्ने विधि प्रक्रिया हुन्छ, बन्दसत्रमा उपस्थित नै नभएका मान्छेहरू बिद्रोही केन्द्रीय समितिको नाममा समाचार बनाएका छन्। उद्घाटन फेरि प्रमुख अतिथि चित्र बहादुर केसीले गरेको लेखेका छन् । सकेसम्म पार्टी सिध्याउने खेलमा कसरी हुन्छ लागेका छन् । वार्ताको स्वागत पनि गरेका छन् समानान्तर कमिटी गठन गर्दै पनि हिँडेका छन् । यिनीहरूको चिन्तन् र नियतमा खोट छ ।

फूचुंग्रि– स्वयं आफैले घोषणा गरेको बर्ग दुश्मनको पुच्छर समातेर कांग्रेसको पिछलग्गु भएर हिडेको भन्छन् नि काका ?

काका– मैले पनि यही भन्न खोजेको हो नानि, मसाल विरोधी गतिविधिमा सक्रिय अराजतावादी तत्वहरू यतिबेला टाउको पुच्छरको कुरामा अल्झेका छन् । वर्ग दुश्मन शक्तिसँग पनि संघर्ष एकता संघर्षको विधि अन्तर्गत कार्यक्रम हुने गर्छ, सयुंक्त मोर्चा गठबन्धन हुने गर्छ भन्ने भुली सकेका छन्। जागरणको रतन्धो लागेर होला देख्नै छाडिसकेका छन्। एकोहोरो एउटै कुरा बर्वराई रहेका छन्।

फुचुंग्रि– यिनीहरूले त संघीयताको विरोधको कुरा गर्न छाडेछन् नि काका, के बैद्य माओवादीको समर्थक हुन कि ?

काका– उफ ! के के सोध्छे यो फुचुंग्रि पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार